मोरङ: सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका छन् । युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् । पोलमा चढेर विरोध गरिरहेका बुढीगंगा-७ डंग्राहाका ४० वर्षे युवा दिनेशकुमार माझीलाई त्यहाँबाट उद्धार गर्न प्रहरीलाई माथि चढाउँदा जोखिम हुनसक्ने भन्दै प्रहरीले युवाको माग पूरा गर्न आग्रह गरेको छ । माझीले गुणस्तरीय निर्माणको विश्वास दिलाउनु पर्ने र त्यसका लागि गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार तथा वडाध्यक्षसमेत उपस्थित भएर आफूसँग छलफल गर्न तयार हुनुपर्ने माग राखेका थिए । हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलमा बिहान ६ बजेदेखि माझी पोलमा चढेर बसेको प्रहरीले जनाएको छ । उद्धारका लागि पोलका तल सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहे पनि युवा पोलबाट उत्रन मानेका छैनन् । सुरक्षाकर्मीले माझीलाई तल झार्न निरन्तर प्रयास गरिरहेको छ । तर युवा पोलबाट झर्न नमानेको मोरङ प्रहरीले जनाएको छ । अहिले पनि प्रसारण लाइनमा १ लाख ३२ हजार भोल्ट विद्युत प्रवाह भइरहेको छ । हाइटेन्सन पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत प्राधिकरणले बिजुली काटेको छैन । झापालगायत मेची पहाडका जिल्लामा विद्युत अवरुद्ध हुने भएकाले उद्धारको सबै तयारी पूरा नभई प्राधिकरणले विद्युत प्रसारण बन्द नगरेको जनाएको छ । उद्धार गर्न १५–२० मिनेटका लागि विद्युत बन्द गर्न सकिने तर लामो समय विद्युत बन्द गर्न नसकिने प्राधिकरणले सुरक्षाकर्मीलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताए । उनले भने, ‘हामी माथि चढेर उनलाई झार्न सक्छौँ, तर उद्धारका लागि माथि चढ्दा उनी हाम्फाल्ने जोखिम छ ।’ पोलको ३० मिटर माथि पुगेर ती माझी युवा बसेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त माझीले राखेको प्रहरीको भनाइ छ । गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर आज धनकुटा जानुभएको छ । प्रहरीले अध्यक्ष र वडाध्यक्षलाई त्यहाँबाट फर्काउने पहल थालेको छ । अध्यक्ष आएपछि माझीको माग सम्बोधन गराएर सहज रूपमा तल झार्ने विकल्प प्रहरीले रोजेको छ । आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी माझीले दिएको प्रहरीले जनाएको छ ।
म्याग्दी: धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए । ‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छु,’ उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ ।’ शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौँको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए ।
काठमाडौं: मर्मतका लागि मेलम्चीको पानी वितरण कार्य आउँदो सोमबारदेखि रोकिने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले यहि जेठ १ गतेदेखि दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा वितरण गरिएको थियो । तर जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढीरपहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर पुनः २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण कार्य गएको मंसिरदेखि पुनः सुरु गरिएको थियो ।
काठमाडौं: नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रवार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस हुनेहरूको नाम सार्वजनिक गरेको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताए। प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए र उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने समेत बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका थिए, र प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि यो महत्वपूर्ण अवसर रहेको भन्दै कुनै पनि कमी कमजोरी हुन नदिने बताएको उनले जानकारी दिएका छन्।
झापा: पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिएका छन् । यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । उक्त अवधिमा रू १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रू १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए । त्यस्तै जुट रू दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास रू दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना रू एक अर्ब ६० करोड २९ लाख, तरकारी रू एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन रू ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ रू ९५ करोड ५६ लाख, दाल रू ८४ करोड ४१ लाख, कपडा रू ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन रु ८० करोड ५५ लाखको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै रू छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ । फलामजन्य सामग्री रू दुई अर्ब ९८ करोड ९९ लाख, चिया रू दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड रू एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो रू ७२ करोड ९० लाख, अदुवा रू ४३ करोड ५२ लाख, पशु आहार रू ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी रू २८ करोड ८४ लाख, दलहन रू २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ रू २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।
जाजरकोट: भेरी नगरपालिका-७ मा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको मृत्यु भएको हो । भेरी नगरपालिका-७ का वडाध्यक्ष दीपबहादुर शाहीले आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्ष कार्कीको मृत्यु भएको जानकारी दिए । बिहीबार दिउँसो सामुदायिक वनमा आगो फैलिए पछि अध्यक्ष लगायत उपभोक्ताहरू आगो निभाउन सामुदायिक वनमा गएका थिए । दिनभरि प्रयास गर्दा पनि आगो नियन्त्रण गर्न नसकेपछि राती गाउँलेहरूले आगो नियन्त्रण गरेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकृत प्रहरी निरीक्षक नवीन चुदालीले क्रममा सामुदायिक वनका अध्यक्षको जलेर मृत्यु भएको खबर पस्चात प्रहरी घटनास्थलमा पठाइएको बताए ।
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’ लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । आज बिहीवार आफूसँग भेट गर्न आएका नेकपा ९एकीकृत समाजवादी० का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्’, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ । ‘यो भ्रष्टाचारमात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो’, उनले भने । यस प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ । ‘मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिएका छैनन्। दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस्, निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।’ उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईँहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु’, भने । भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उनीहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए ।
पोखरा: जनआन्दोलन २०६२/६३ मा घाइते भएका काभ्रे बनेपाका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने बनेपा नगरपालिका–८ का कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपैयाँको व्यवस्था गरेको थियो ।