पोखरा: नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको अध्यक्षतामा रामबहादुर विक निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा रामबहादुरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति निर्वाचित भएका हुन् । महासंघको उपाध्यक्षमा पदमबहादुर विश्वकर्मा, महासचिवमा सालिकराम गहतराज, सचिवमा इश्वरबहादुर विक र कोषाध्यक्षमा बलबहादुर विक निर्वाचित भएका छन् । यस्तै सदस्यमा गोपाल सुनार, भिम वहादुर विक, कमला विक, पदम वहादुर विक, मनोज कुमार स्वर्णकार, राम माया सुनार, श्रेया सुनार, विष्णु देवि विक चयन भएका छन् ।
पोखरा: भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खा सैनिकको माग चाँडै सल्टाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु माग राखेको छ। ६ महिनाभित्र माग पूरा नभए थप दबाबमूलक कार्यक्रम गर्ने गेसोले जनाएको छ। शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर गेसोले अबको ६ महिनाभित्र मन्त्रिस्तरीय वार्ताबाट सबै गोर्खा संघसंस्थाको समान सहभागितामा गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीसामु माग राखेको जानकारी दिएको हो। गेसोका प्रतिनिधिले गत बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले राज्यले गरेको गल्ती सच्याउन आफूहरू लागि परेको बताए। राज्यले खडा गरेको समस्यालाई समाधान गर्न सरोकारवालाले नजरअन्दाज गरेको हुनाले आफूहरू नै लाग्नु परेको उनको भनाइ छ। ‘सात समुद्र पारीको शासकसँग लड्न सजिलो थिएन। कानून हाम्रो थिएन, भाषा हाम्रो थिएन। तैँ पनि हामी लड्यौँ,’ उनले भने, ‘दयाको भिख मागेको होइनौँ। रगत र पसिनाको मूल्य खोजेका हौँ।’ आफूहरूको लगाइँ ब्रिटिश सरह पेन्सनका लागि मात्रै नदाँज्न उनको आग्रह छ। ब्रिटिशले नेपालका गाउँगाउँबाट लगेर बेपत्ता पारिएका पीतापुर्खाको हिसाबकिताब गर्नुपर्ने उनको माग छ। नेपालीलाई २०० वर्षदेखि युद्धमा प्रयोग गरेको हरेक हिसाब खोज्ने उनले दाबी गरे। गेसोका कानूनी सल्लाहकार डाक्टर गोपाल शिवाकोटी ‘चिन्तन’ले गोर्खा भर्तीबारे नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए। बामपन्थी राजनीतिक दलले गोर्खा भर्ती खारेज गर्नुपर्ने माग राख्दै आए पनि अहिलेसम्म समस्या सुल्झिन नसकेको उनले बताए। ‘गोर्खा भर्ती बन्द गर्नुपर्ने माग राख्ने सबै राजनीतिक दल सत्तामा पुगे। यो भर्ती प्रथा कहिलेसम्म चल्ने त?’ उनको प्रश्न छ। अझैँ पनि तटस्थ नहुने हो भने ढिलोचाँडो नेपालको हालत अहिलेको युक्रेनको जस्तै हुने उनले बताए। साथै, अहिलेसमम रहस्यमय बनाइएको सुगौली सन्धी सार्वजनिक हुनुपर्नेमा गेसोले जोड दिँदै आएको छ। त्रिपक्षीय सम्झौता सार्वजनिक नगरे कानूनी लडाइँमा जाने गेसोले तयारी गरिररहेको उनले बताए। गेसो सभापति कृष्णकुमार राईले वार्ताको नाममा वार्ता मात्रै भइरहेको भन्दै दुखेसो पोखे। अबको बाटो ठोस अजेन्डा बोकेर अघि जानुपर्ने उनले बताए। ‘अबको वार्ता हामी सबै गोर्खाको प्रतिनिधित्व गर्ने संस्थासहितको हुनुपर्छ। अब वार्ताको लागि वार्ता मात्रै होइन, वार कि पार गर्ने हिसाबले जानुपर्छ,’ उनले भने, ‘गत २५ गते हामीले प्रधानमन्त्री ज्यूलाई ज्ञापन पत्र पनि बुझाएका छौँ। उहाँ पनि सकारात्मक हुनुहुन्छ। यसपटक हामी अलि आशावादी छौँ।’ अब हुने वार्ता साँच्चिकै अन्तिम हुने उनले जनाए। परराष्ट्र सचिवको तयारीमा दुई देशीय वार्ता गर्ने उनले सुनाए। गेसोले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बेलायती सेनामा भर्ती हुने नेपाली नागरिकले ब्रिटिश सरह सेवा सुविधा पाउनुपर्ने, लडाइँमा मृत्यु हुनेको हकमा परिवारको सदस्यको लागि क्षतिपुर्ति र परिपुरणको व्यवस्था, समान पेन्सनका हकमा बेलायती उच्च अदालतले गरेको फैसलाबमोजिम व्याखाको कार्यान्वयन, विभिन्न कारण अवकाश दिइएका सैनिकलाई एकमुष्ट पेन्सन, गोर्खा सैनिकका विधवालाई बेलायती सैनिकका विधवासरह पेन्सन, नेपालमा रहेका गोर्खा सैनिकलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अनुसारको स्वास्थ्य सेवा लगायतको माग उल्लेख छ।
ढोरपाटन: बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज ९शनिबार० बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
दाङ: नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङमा शुक्रबार राती दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । १३ जना घाइतेलाई कोहलपुर ल्याइएकोमा बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्किएका छन्े । उनी डिस्चार्ज भएसँगै अस्पतालमा १२ जना उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय र २० वर्षका अरवाज नाउको अवस्था गम्भीर रहेको डिएसपी तिवारीले जानकारी दिए । शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकाहरूमा नेपालगन्जका २४ वर्षीय आशुतोष गौतम, २० वर्षीय निरञ्जन कोरी, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बिक, बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाईं, नेपालगन्जकी ३५ वर्षीया लीला वली, बाँकेकै २१ वर्षीय शङ्कर थारु र रावलकुमार यादव छन् । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई शुक्रबार राति १०ः३० बजे पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ । बसमा सवार ३५ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौं: युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिनुभयो । उहाँको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो । गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गरिने बताइएको छ । गङ्गामायाका एक छोरा र एक छोरी हुनुहुन्छ । ।
काठमाडौं: राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । उम्मेदवारहरुले चाहेमा आज नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली हिजो सार्वजनिक गरिएको थियो । मनोनयनपत्र दर्ता गराएका सबै जनाको उम्मेदवारी कायम भएको छ । सात वटा प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेका हुन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ५२ जनाकै उम्मेदवारी कायम भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गरेका दुई जना उम्मेदवार बिरुद्ध उजुरी परेको थियो । तर ति उजुरीका सम्बन्धमा कुनै कार्वाही गर्नु नपर्ने निर्णय सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयले गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले प्राप्त उजुरीमाथी छानविन गरी कार्वाही गर्नु नपर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभाका १९ सिटका लागि गत सोमबार सात प्रदेशमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारलाई निर्वाचन चिन्ह भने भोलि प्रदान गरिनेछ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।
काठमाडौं: राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मनुभएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो । उहाँले आफ्नो शासनकालमा दिनुभएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिनुभएको थियो । पछिल्ला वर्षमा उहाँको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । उहाँको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट महानुभावले शुभकामना सन्देश दिनुभएको छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । राष्ट्रनिर्माताले त्यसबेला दिनुभएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । उहाँको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको हो ।
पोखरा: पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ । विद्यालयको ७७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा आज (बिहीवार) रक्तदान कार्यक्रममा आयोजना गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् । ।कार्यक्रममा बोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपुर्ण योगदान पु¥याएको बताईन् । कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपुर्ण भुमिका रहेको बताउँदै नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । । यसैविच विद्यालयमा आजदेखि विज्ञान प्रर्दशनी समेत शुरु भएको छ । विद्यार्थीले निर्माण गरेका विज्ञान र प्रविधीसँग सम्बन्धित बस्तुहरु प्रर्दशनीमा राखिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
सर्लाही: हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ। जिल्ला अदालत, सर्लाहीबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो। उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरूद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो।

