पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार स...

काठमाडौं:   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संसद र सदन अरुले नै चलाउने अनुभूति आफूले गरेको बताएका छन् ।   मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताए ।   मन्त्री किरातीले मन्त्री अरुले नै चलाउने भन्दै आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे ।   उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको बताए । त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरुलाई उनले आग्रह गरे । संसदमा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ छ ।

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सोमबार पद बहाली गरेका छन् । शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको गत बैशाख २८ गतेको निर्णयले उनलाई रिक्त सदस्य सचिव पदमा नियुक्त गरेको हो । सदस्य सचिव शर्मालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले पद बहाली गराएका थिए । सो अवसरमा बोल्दै नवनियुक्त सदस्य सचिव शर्माले आफूले संधै अनुशासनमा रही खेलकुद विकासलाई अघि बढाउने बताए । उनले भने–“प्रदेश सरकारले मलाई जुन जिम्मेवारी दिएको छ त्यसका लागि म आभार व्यक्त गर्न चाहन्छु । आफू बाट नै खेलकुदले दिएको अनुशासनलाई मार्गदर्शनको रुपमा अघि बढाउने छु ।” आफ्नो कार्यकालमा कुनै गल्ती नगर्ने प्रतिवद्धता जनाउँदै उनले खेलकुद र परिषदको गरिमालाई बचाउन सके परिषदले ठूलो फड्को मार्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले सबै मिलेर नै खेलकुदको विकासलाई अघि बढाउन सकिने उल्लेख गरे । लामो समय पछि परिषदले सदस्य सचिव पाउनु सुखद रहेको बताउँदै उनले खेलकुदमा रहेका चुनौतीहरुलाई समाप्त गर्न सबैको एकता आवश्य रहेको बताए । मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तथा यस अघि सदस्य सचिवको रुपमा कार्यरत पौडेलले नवनियुक्त सदस्य सचिवलाई पदबहाली गराउँदै खेलकुदमा संघियताको मर्म अझै प्राप्त नरहेको बताउँदै प्रदेश खेलकुदमा रहेका चुनौतीहरु चिर्न सबैको सहयोग र सहकार्य रहेको बताए । सो अवसरमा प्रदेश खेलकुदका कार्यालय प्रमुख टोपलाल भुसालले समेत आफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, तारामायाँ थापा मगर लगायत परिषदका सदस्यहरुले नवनियुक्त सदस्य सचिव शर्मालाई स्वागत गरेका थिए । यस अघि परिषदको सदस्य सचिवको रुपमा तेज बहादुर गुरुङ कार्यरत रहेका थिए । उमेर हदका कारण गत २०७९ असोज २५ गते उनले अवकाश पाएका थिए । सदस्य सचिवको पद चार वर्षको रहने प्रदेश खेलकुद विकास ऐनले तोकेको छ । 

बागलुङ:    चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको छ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा रहेको उक्त बस्तीमा यसअघि मोवाईल सेवा नहुँदा त्यहाँका नागरिकलाई समस्या हुँदै आएको थियो । गाउँ देखि माथि भित्रेनी डाँडामा नेपाल टेलिकमले टावर निर्माण गरि नमस्ते मोवाईल सेवा सुचारु गरेपछि अहिले स्थानियबासी खुसी भएका छन । मोबाइल सेवा सञ्चालन भएपछि बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठेको टुनीबोट सँगै अमिले, जैबाने, भित्रेनी, छेपारे, ओखरेनी, पदमभीर र वडा नं ८ को दोभान सिमा क्षेत्रका झण्डै २ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन । सदरमुकाम बागलुङ बजार देखि ८२ किलोमिटर पश्चिम उत्तरमा अवस्थित उक्त गाउँमा यस अघि कुनै पनि मोबाइल सेवा उपलब्ध थिएन । मोबाइल सेवा नहुँदा सुचना र सञ्चारमा त्यहाँका नागरिकले सास्ती खेप्दै आईरहेको बडिगाड गाउँपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष कृष्ण गुरुङले बताए । स्थानिय लघु जलविद्युतबाट टावर सञ्चालन भएपछि अहिले जिएसएम मोबाइल सेवा टुजी र तेस्रो पुस्ताको मोवाईल सेवा थ्रिजी एकैसाथ सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्ताले भ्वाईस र डाटा चलाउन पाएको कार्यालय प्रमुख शर्माको भनाई छ । निकट भविष्यमा उक्त टावर मार्फत चौंथो पुस्ताको मोवाईल फोरजी सेवा उपलब्ध गराईने शर्माले बताए । पहिले फोन गर्न छिमेकी गाउँ र भिमगिठे बजार नै पुग्नु पर्ने त्यहाँका स्थानियको बाध्यताको अन्त्य भएको स्थानिय बिमल पाईजाले बताए । टावर निर्माण, उपकरण टावर सम्म पुर्याउन स्थानियले सहयोग गरेका थिए । टुनिबोटमा मोबाइल सेवा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले बताईन् । गाउँपालिका अध्यक्ष थापाले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम टुनिबोट र आसपासका नागरिकको दैनिकी सहज बनेको बताईन । उनले गाउँपालिकाका सबै वडामा गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन टेलिकम सँग आवश्यक समन्वय गरिने समेत उल्लेख गरिन् । पहिलो पटक मोबाइलमा कुराकानी गर्दै इन्टरनेट चलाउन  पाउँदा वडाबासी नागरिकहरु खुसी भएको बडिगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र प्रताप केसीले बताए । नेपाल टेलिकमले बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ नयाँ गाउँमा रहेको टावरबाट रेडियो लिङ्कमार्फत त्यहाँ टुजी र थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ ।

पोखरा:     नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो पोखरा चाईल्ड स्टारको उपाधि विल्शन ठकुरी र सायना श्रेष्ठ जितेका छन् । विल्नशन शिशु निकेतनका विद्यार्थी हुन् भने सायना कुश्माकी हुन् । तीन हप्ताको विभिन्न तालिमपछि पोखराको उद्योग बाणिज्य संघको हलमा ग्राण्ड फाईनल भएको थियो । उक्त कार्यक्रममा १२ जनाको सहभागिता रहेको थियो । पोखरा चाईल्ड स्टार केटातर्फ फस्र्ट रनर अप कान्तिपुर एकेडेमीका प्रनिश सिंह भण्डारी, सेकेण्ड रनर अप लावि रेसिडेन्टलका प्रविश गुरुङ्ग, थर्ड रनर अप प्राञ्जल पोखरेल, फोर्थ रनर अप मदरल्ययाण्डका श्रीयान पोखरेल हुन सफल भए । छात्रातर्फ फष्ट रनर अपमा हिमाञ्चल बार्डिङकी स्वस्तिका शर्मा, सेकेण्ड रनर अपमा मदरल्याण्डकी अदिती पौडेल, थर्ड रनर अपमा कुमुदिनी होम्सकी सरगम क्षेत्री र फोर्थ रनर अप मदरल्याण्डकी आरोही आचार्य भए । मोस्ट ईन्टलएक्चुल अवार्ड गण्डकी बोर्डिङ स्कुलकी आलिया सिटौला र मिस एन्जल टाईटलको उपाधि कुमुदिनी होम्सकी अल्जिना सिटौलाले हात पारेका थिए । वेस्ट फादर अवार्डद्धारा निमेस सिटौला सम्मानित भए । उक्त कार्यक्रममा क्राउन र अवार्ड, मिस पोखरा २०१८ विजेता सारा बजिमय, समाजसेवि माया गुरुङ्ग, साहित्यकार चन्दावती वाग्ले, फेसन डिजानर एवम मोडल रोशनी छिनाल, सञ्चारकर्र्मी आर्जु बिष्ट सल्यानी र प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले प्रदान गरेका थिए । पोखरा चाईल्ड स्टारको कोरियोग्रफर रक्षा कुँवर रहेकी थिइन् । गण्डकी प्रदेश तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले । प्रतियोगिताले पोखराका बालबालिकामा रहेको प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर हुन आवश्यक भएको बताए । यसअघि कार्यक्रममा सहभागिहरुलाई सार्थक अधिकारीले गरेका थिए । शूभकामना मन्तव्य गीता पाण्डे, शारदा रेग्मी, सफल देवकोटाले दिएका थिए भने कार्यक्रमको निर्देशकमा कमलराज खनाल रहेका थिए । कार्यक्रमको मुख्य प्रयोजक इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम निर्देशक रोशन गुरुङ्ग र सञ्चारकर्मी देवेन्द्र शाहीले गरेका थिए ।  

काठमाडौं:   नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । २० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

 काठमाडौं:    भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफवार छलफल संसदीय विषयगत समितिमा हुने भएको छ ।   सोमबार बस्ने प्रतिनिधि सभाको बैठकले यो विधेयकलाई सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची छ । यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था रहेको छ । विधेयकमा भएको व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा चल्नेछैन । विधेयकमा सार्वजनिक सम्पत्ति हानीनोक्सानीको भ्रष्टाचारमा भने हदम्याद नलाग्ने व्यवस्था छ ।    भ्रष्टाचार निवारणसम्बन्धी विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधिसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले पाँच वर्ष हुनेछ ।’

काभ्रे:   काभ्रेको रोशी गाउँपालिका वडा नं ९ चिउरीखोलामा बाढीले बगाएर ल्याएको लेदोले एक घर र ४ वटा गाडी पुरिएको छ ।  बाढीले बगाएर ल्याएको लेदोले रोशी गाउँपालिका वडा नं ९ का क्षेत्र बहादुर तामाङको घर पुरिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । कार्यालयका अनुसार, आइतबार साँझ ९ बजेको समयमा बाढीले बगाएर ल्याएको लेदोले घर पुरिंदा कुनै मानवीय क्षति भने भएको छैन । घरमा भएका दुई वटा खसी, तीनवटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको छ । सोही बाढीले बगाएर ल्याएको लेदोले चारवटा गाडी पुरिएको थियो । लेदोले पुरिएको दुईवटा हायस र दुईवटा जिपमा पनि कुनै मानविय क्षति भएको छैन । लेदोले पुरिएका चारवटा गाडीमध्ये एउटा मात्रै निकालिएको र बाँकी तीन वटा गाडी निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । बाढीले बगाएर ल्याएको लेदोले अबरुद्ध भएको बि।पी राजमार्ग एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।

तनहुँ:   इनारमा डुबेर तनहुँमा एक युवकको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा व्यास नगरपालिका-१३ पोखरीभञ्ज्याङमा काम गर्ने २७ वर्षीय विपिन भन्ने छत्रबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा सुमन एन्ड सचिन पोल्ट्री फार्ममा काम गर्दै आएका ऋषिङ गाउँपालिका-७ निवासी आलेको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानबहादुर आलेले सञ्चालन गरेको सो फार्ममा डोरीको सहायतामा इनारभित्र पसी सफा गर्ने क्रममा अक्सिजनको कमीले गर्दा आलेको मृत्यु भएको हो । अक्सिजनको कमीले अचेत भएपछि उपचारको दमौली अस्पतालमा लगिएकोमा त्यहाँ चिकित्सकले आइतबार मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

काठमाडौं:    बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार मोखा अति शक्तिशाली चक्रवात का रूपमा परिणत हुँदै उत्तर र उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको छ । जसको सोझो असर बङ्गलादेश र म्यान्मारको तटीय क्षेत्रमा अत्यधिक परेको छ । भारतको पूर्वी क्षेत्र नेपालमा भन्दा अधिक असर परेको छ । बङ्गलादेशमा चव्रmवातका कारण झन्डै पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।  चक्रवातका कारण वायुको बहाव सात माइल प्रतिघण्टाका दरले उत्तरपूर्व सरिरहेको छ । १७० माइल प्रतिघण्टाको उच्च वेगमा यो जमिनतर्फ सोझिएको थियो । जसको प्रभावले १२ फिटमाथिसम्मको आँधी र हावाहुरीको सिर्जना भएको छ । मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “त्यहाँको जस्तो कडा प्रभाव नेपालमा पर्दैन तर बदलीसहित छिटपुटदेखि हल्का वर्षा केही दिन रहने छ ।” उहाँका अनुसार उच्च हावाहुरी र जलवाष्पसहित घुमिरहेको ‘मोखा’ चक्रवात  आइतबार जमिनमा झर्ने प्रव्रिmयामा अग्रसर रहेकाले यस क्रममा यसको जलवाष्पको शक्ति नेपालसम्म आइपुगेको हो । नेपालमा पश्चिमी र स्थानीय वायुको चाप पहिल्यै रहेकाले पनि उत्तरपूर्वबाट आइरहेको चक्रवातको वायु कमजोर बनेको हो ।  तीनदेखि चार दिनसम्म हल्का बदली र वर्षा भएपछि नेपालमा चक्रवातको असर साम्य हुनेछ । बुधबारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।  चक्रवातले समुद्रको तातो पानीलाई आफ्नो फेरामा बढी लिएको छ । चक्रवात  वैज्ञानिक जेफ मास्टर्सले यसको असरस्वरूप यो विकास भएको र अवसान हुने आसपासका क्षेत्रमा पनि एक सातायता तापक्रम वृद्धि उच्च रहेको औँल्याउनुभएको छ । असामान्य रूपमा यसले ग्रहण गरिरहेको ३१ डिग्री सेल्सियस हाराहारीको तातो पानीको वाफका कारण यसको असर पनि दक्षिणपूर्वी एसियामा अत्यधिक तातो मात्रा बढाउनमै केन्द्रित रहेको अनुमान गरिएको छ । जसको असर नेपालमा थोरै जोडिन्छ । चक्रवातको थप असरका विषयमा जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा र मौसम पूर्वानुमान महाशाखा दुवैले अध्ययन गरिरहेको छ । यसले नेपालमा मनसुन भित्र्याउन थप वातावरण बनाउने सम्भावना देखिएको छ । आगामी जुन ११ मा नेपालमा मनसुन भित्रिने समयअगावै हुने यस्ता मौमसी प्रणालीले वायुमण्डलमा परिवर्तन ल्याउन सहायक भूमिका निर्वाह गर्छ । बङ्गालको खाडीको जलवाष्पयुक्त वायुले नेपालमा मनसुनी प्रणाली सबल बनाउने गर्छ ।