काठमाडौं: सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनकारी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसके पनि प्रतिनिधि सभामा छलफल जारी छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित हुने छ । त्यसपछि संसदमा आर्थिक वर्ष २०८० र ८१ को बजेट प्रस्तुत हुनेछ । संविधानको व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने भएको छ ।
गण्डकी: वनपाखा चहारेर ऐँसेलु टिप्छन् । मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन् । त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन् । ऐँसेलु टकार्दै गाडीको झ्यालतिर हात लम्काउँछन् । यात्रुलाई ऐँसेलु किन्न विनयपूर्वक आग्रह गर्छन् । कसैले गाडी रोकेर ऐँसेलु किन्छन्, कोही वास्तै नगरी हुइँकिन्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेका कतिपय महिलाले हिजोआजको दैनिकी यसरी नै कटाउँछन् । मङ्गलबार मध्यपहाडी पुष्पलाल लोकमार्गमा मनमाया विकसँगै तीन महिला ऐँसेलु बेचिरहेका भेटिए । झरीकोसमेत पर्वाह नगरी उनीहरु हातमा ऐँसेलु लिएर सडक किनारमा उभिइरहेका थिए । विकले काँडाले कोतरेका हत्केला देखाउँदै ऐँसेलु टिप्नु दुःखजिलो काम भएको सुनाउनुभयो । “बिहानमा ऐँसेलु टिप्छौँ, दिउँसो बाटोमा ल्याएर बेच्छौँ”, उहाँले भन्नुभयो, “टाढाटाढा वनमा जानुपर्छ, गाह्रो भए पनि घरखर्च जुटाउन काम गर्नैप¥यो ।” महिला टपरी झैँ खिपेको हरियो पातमा ऐँसेलु राखेर बेच्छन् । एउटाको मूल्य रु एक सय राखेका छन् । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्छन् । दैनिक ज्यालादारी कामकोभन्दा धेरै पैसा आउन थालेपछि महिला ऐँसेलुतिर आकर्षित भएका हन् । “ऐँसेलु बेच्न सजिलो त छैन, धेरैले त वास्तै गर्नुहुन्न, कोहीकोहीले गाडी रोकेर चाख मानीमानी किनेर खानुहुन्छ”, विकले भन्नुभयो, “फुर्सदका दिनको सदुपयोग पनि भएको छ, घरगुजारा चलाउन अलिअलि पैसा पनि हुन्छ ।” बढीजसो सहरिय मानिसको रोजाइमा ऐँसेलु पर्छ । विदेशी पर्यटकले पनि किनेर खान्छन् । लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्तयाममा ऐँसेलु बेच्ने भेटिन्छन् । पहाडी भेगका अरु राजमार्ग छेउछाउ पनि ऐँसेलुको किनमेल हुन थालेको छ । बिदाका दिनमा त बालबालिका पनि ऐँसेलु बेच्न बाटोमा निस्कन्छन् । वयस्क पुरुष भने यो काममा खासै भेटिन्नन् । बागलुङको काठेखोला गाउँपालिका–५ का दुई दाजुभाइ शिशिर र विश्वास पनि केही दिनअघि सडकमा ऐँसेलु बेचिरहेका भेटिए । शनिबारको फुर्सद पारेर गाउँ नजिकैको वनबाट ऐँसेलु टिपेर ल्याएको शिशिरले सुनाउनुभयो । त्यसअघि उनीहरुलाई ऐँसेलु बिक्री हुन्छ भन्ने थाहा पनि थिएन । अन्यत्र पनि सडकमा ऐँसेलु बेचेको देखेर आफूहरुले सिकेको शिशिरले बताउनुभयो । कापीकलम र खाजाखर्च जुटाउने सोचले ऐँसेलु बेच्न बसेको उहाँको भनाइ थियो । उनीहरुसँग ऐँसेलु किनेर खाएपछि गोरखाका अमृतराज उपाध्ययले बालपनको सम्झना आएको बताउनुभयो । उहाँले पोखरादेखि गलकोटसम्म पुग्दा ठाउँठाउँमा ऐँसेलु बेच्न बसेका मानिस भेटेको सुनाउनुभयो । पहिलेपहिले वनपाखा धाएर ऐँसेलु, चुत्रोलगायत फल खाने चलन थियो । पछिल्लो समय त्योक्रम हट्दै गएको छ । चैतदेखि जेठसम्म डाँडापाखामा एँेसेलु पाँक्ने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो । “ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने विज्ञले बताएका छन्, तर हामीकहाँ यसबारे खासै चासो र अध्ययन भएको पाइँदैन”, उहाँले भन्नुभयो, “केही ठाउँमा ऐँसेलु सङ्कलन गरेर बेच्न थालिएको छ, वनमा यसै खेर जाने फलबाट किसानले कमाइ गर्नु सुखद कुरा हो ।” वनस्पति विज्ञका अनुसार मझौला काँडेदार बुट्यान ९झाडी०मा ऐँसेलु फल्छ । पहाडी भेगको सातसयदेखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ । यो फल रसिलो र गुलियो हुन्छ । ऐँसेलु प्रकृतिमा आफैँ उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो । अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ । ऐँसेलुमा भिटामिन सीलगायत सुक्ष्म पोषकतत्व पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ । यो पूर्णरुपमा जैविक फल हो । ‘गोल्डेन हिमालयन रासबेरी’ले चिनिने ऐँसेलु वाइनका लागि खपत हुन थालेपछि तेह्रथुमलगायत पहाडी जिल्लाका किसानको आयआर्जनको बाटो बनेको छ, ऐँसेलु ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले मेयर नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै छानबिनका लागि निलम्बन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हामी निष्पक्ष छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौं,’ दवाडीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहकारीका अध्यक्ष नेपाली र सञ्चालकहरूलाई सर्वसाधारणको रकम यथाशिघ्र फिर्ता गर्न र छानबिनमा सहयोग गर्न पनि आग्रह गर्दछौं।’ सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका दोस्रो पटक निर्वाचित मेयर समेत हुन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आरोहण गर्नुभएका हरिबहादुर बुढामगरलाई बधाई दिनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा भेटेर बुढामगरलाई बधाई दिनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ। यसअघि मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेललेसमेत बधाई दिनुभएको छ। ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राख्नुभएको विश्व कीर्तिमानको सबैले प्रशंसा गरेका छन्। बुढामगरले सगरमाथा आरोहण गरेर शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास बढाउनुभएको छ।
काठमाडौं: घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुग्नुभएका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गर्नुभएको हो । भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाई दिनुभयो । “हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएको छ”, मन्त्री किरातीले भन्नुभयो, “उहाँले विश्व समुदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।” सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टिमलाई विशेष धन्यवाद दिनुभयो । “आफ्नो व्यस्त समयका बाबजुद पनि तपाईँहरू मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्याउने टिम बिना मेरो प्रयास सफल हुने थिएन ।” उहाँले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
पोखरा: विज्ञापन बोर्ड नेपालले पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन जेठ १५ देखि रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोर्डको उक्त निर्णयले पत्रपत्रिकाको नियमित प्रकाशन तथा पत्रकारहरुको रोजगारमा समेत प्रत्यक्ष असर पर्ने भन्दै लोककल्याणकारी विज्ञापन प्रकाशनलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । संघका तर्फबाट केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी र हालको आर्थिक मन्दीका कारण अप्ठेरोमा परेको सञ्चारजगतलाई अनुदान कटौतीले अझै आहत पुग्ने भन्दै सरकारलाई यसतर्फ छिटो ध्यान दिन आग्रह गरिएको छ ।
काठमाडौं: सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको जानकारी दिएका छन् । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक ९२८ औंपटक० सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् । सबैभन्दा पहिले उनको सगरमाथा आरोहण यात्रा १९९२ मा सपोर्ट स्टाफको रुपमा सुरु भएको थियो । हालसम्म उनले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्से लगायतका हिमाल समेत आरोहण गरिसकेका छन् ।
पोखरा: पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ । होटल टास्कको तीनवटै आउटलेटबाट MRP (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ आगामी जेठको १३ गते शनिबार चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने होटल टास्कका सञ्चालक मीन गुरुङले जानकारी दिए । “सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने उद्घोषका साथ सञ्चालित लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारबाट गण्डकी प्रदेशकै एकमात्र न्युनतम खुद्रा मुल्य MRPमा गोर्खा बु्रअरीको उत्पादनका टुबोग, गोर्खा (प्रिमियम) र काल्सबर्ग बियरहरु सहित पोर्क ( कालो धराने बंगुरको परिकारहरु) मटन, चिकन र बफका परिकारहरु बिक्री गर्दै आइरहेको छ । खानाका परिकारहरु सहित स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत ग्राहकको रोजाइमा पर्न सफल भएको छ । कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला सेवामुलक व्यवसायमार्फत ग्राहकहरुलाई सर्वसुलभ मुल्यमा बियर र खानाका परिकारहरु पस्कदै आइरहेको समेत संचालक गुरुङले जानकारी दिए । शनिबार अपराह्न ४ बजेदेखि सुरु हुने ग्राण्ड ओपनिङ कार्यक्रममा बहुचर्चित गायक तथा मोडल प्रकाश सपुतसहित स्थानीय लोक ब्याण्डको समेत प्रस्तुती रहने छ । उक्त कार्यक्रममा प्रवेश शुल्क रु. १ हजारको टिकटको व्यवस्था गरिएको छ । उक्त टिकटमा एक क्यान वियर निःशुल्क उपलब्ध गराइने छ । गोर्खा ब्रुअरिको सहकार्य रहेको उक्त कार्यक्रमका सहभागी हुनका लागि पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपर मार्केट, लेकसाइडको कफी ब्रेक र डुंगा रेष्ट्रो एण्ड लाउन्ज बार, चिप्लेढुंगामा रहेको रुपाहिल दोहोरी सांझ,लेकाली चुलो घर र होटल टास्कको तीनवटै आउटलेटका फेसबुक पेज अनलाइनबाट समेत टिकट खरिद गर्न सकिने छ ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि समान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।