पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

गोरखा:     गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ ।  अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुलदेवता मानेर पूजा गर्दै आएको र  गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिनुभयो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।  ‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनलाई समेत थप आकर्षण गराउँछ”, उपप्रमुख थोकरले भन्नुभयो, “गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।” बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहना र भावनाअनुसार नै दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएको उहाँले बताउनुभयो ।  “खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हो”, उपप्रमुख थोकरले भन्नुभयो, “राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्र्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित सङ्घसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो ।”  आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरुले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेको उहाँले बताउनुभयो । सर्वपक्षीय बैठकमा अलौकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णय गरिएको थियोे ।  त्यस्तै जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालयलाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारी गराउन आवश्यक निर्देशन दिइएको उपप्रमुख थोकरले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्किने ढुङ्गाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुङ्गा ‘क्वार्ज किष्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो ।  भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो ।  परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए ।  उक्त ढुङ्गा ५२ किलो तीन सय ३० ग्रामको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । 

मुस्ताङ:      मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान गएराति खाना खाने तयारी गर्दै हुुनुहुन्थ्यो । तर, एक्कासी बाढी आएको सूचना पाएपछि कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने उहाँलगायत अन्य शिक्षक, विद्यार्थी र स्थानीयवासीको भागदौड मच्चियो ।  ‘खाना खाने तयारी गर्दै थियौँ । बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौँ, उहाँले भन्नुभयो, यहाँका बूढापाका हिजो र अस्ति अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन् ।’   कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो । मुक्तिनाथबाट शुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । तिरिखोलामा आएको बाढीले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १० वटा घर बगाएको छ ।   यस्तै, एउटा प्रहरी चौकी र दुई वटा पुल पनि बाढीले बगाएको छ ।  हिजो बेलुका आएको बाढीले १० वटा घररहोटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मानिस ओहोरदोहोर गर्ने पुल, दुई गाडी र तीन  विद्युतका पोल समेत बगाएको छ । तर, बाढीबाट कुनै मानवीय क्षति भने भएको छैन ।  कागबेनीकी कल्पना मगर बाढी आएको पूर्वसूचना पाएर भागेर ज्यान बचाउन सफल भए पनि घरबारविहीन हुनुपरेकोमा दुःखित हुनुभएको छ । ‘कागबेनीमा सबैको ज्यान बचेकोमा सुखी मान्नुपर्छु, उहाँले भन्नुभयो ,ज्यान त बच्यो तर हाम्रो घरबास केही रहेन ।’ गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० वटाभन्दा बढी घर/होटल भत्काएको बताउनुभयो ।  ‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘रातभर विस्थापितको व्यवस्थापनमा लाग्यौँ । बिहानदेखि क्षतिको विवरण सङ्कलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ ।’ कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पुर्याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् । कागबेनीको बीच भाग भएर कागखोला बग्छ ।  बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडक अन्तर्गत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ ।  पुलको स्ल्याब बाढीले बगाएर केही तल पुर्याएको छ । पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो ।  विद्युतका पोल पनि बाढीले बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । पार्किङ गरेर राखेका गाडी पनि बाढीले बगाएको र पुरिएको बताइएको छ । कागबेनीमा पितृलाई तर्पण दिने ठाउँ बगाएको छ । भक्तजनले आवासका रुपमा प्रयोग गर्ने तीर्थयात्री निवासमा बाढी पसेको छ ।  नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्याबियन पर्खाल बाढीले बगाएको छ । कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।    बस्तीभित्र बाढी पसेर हिलाम्मे भएको छ । जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । पाण्डा खोलाको बाढीले सुरक्षाकर्मीलाई समेत जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ ।  प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको बताउनुभयो । क्षतिको विवरण सङ्कलन, थप क्षति हुन नदिन गर्नुपर्ने काम, अवरुद्ध सडक, विद्युत् सुविधा आपूर्ति गराउने विषयमा बैठकमा छलफल भइरहेको उहाँले बताउनुभयो ।  दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ । स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालिजस्तो धेरै र ठूलो वर्षा भएको थिएन । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलमा रहेको मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।  मुस्ताङको बाढीका कारण म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले सोमवार बिहान म्याग्दीको कालीपुलमा कालीगण्डकीमा बाढीको सतह चार दशमलव ३१ मिटर पुगेको जनाएको छ ।    कालीगण्डकी पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै देवघाटमा पुगेर त्रिवेणी नदीमा मिसिन्छ । भारी बर्सातका कारण कालीगण्डकी र सहायक नदीमा बाढी आएकाले म्याग्दीका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।  तटीय क्षेत्रमा प्रहरी खटाएर अनुगमन गरिरहेका छौँ, उहाँले भन्नुभयो, ‘म्याग्दीमा क्षति गरिसकेको छैन । जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेका छौँ ।’ अन्नपूर्ण गाउँपालिका–४ कोप्नेपानीको पाखोबाट कालीगण्डकीमा पहिरो खसेको छ । पानीको सतह बढ्दो क्रममा रहेकाले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा संयन्त्रलाई तयारीमा अवस्थामा राखिएको प्रजिअ पौडेलले बताउनुभयो । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने अधेरीखोलामा पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक एक हप्तायता अवरुद्ध छ ।    हवाई र सडक मार्गबाट सम्पर्क टुटेको मुस्ताङको जनजीवन प्रभावित बनेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले बताउनुभयो । मुस्ताङमा पेट्रोल डिजेललगायत इन्धनको अभाव हुन थालेको विषयमा प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । 

तनहुँ:   पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ ।  मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएकामा पहिरो हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको हो ।  स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।  केही दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम बढेको छ । राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार आयोजनाको कामका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ ।  शनिबार र आइतबार तनहुँ खण्डका दुई ठाउँमा पहिरो गएको थियो । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै ठूला ढुङ्गा खसी सुक्खा पहिरो जाँदा केही समय राजमार्ग अवरुद्ध भएको थियो । राति नै ढुङ्गा पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको थियो भने आइतबार दिउँसोमात्रै राजमार्ग दुईतर्फी भएको थियो ।      आइतबार बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा पहिरो जाँदा अवरुद्ध सडक डेढ घण्टापछि सञ्चालनमा आएको थियो । पहिरो खसेर सडकमै लेदो जमेपछि सडक विभागसँग समन्वय गरी बाटो खुलाइएको थियो ।           वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो जान थालेको छ । शुक्रबार मात्रै कन्टारमा सडक भाँसिएर चार घन्टा राजमार्ग अवरुद्ध भएको थियो । त्यसअघि गत मङ्गलबार व्यास नगरपालिका–१२ स्थित देउरालीमा सडक भासिँदा दिनभर यातयात अवरुद्ध भएको थियो ।

सप्तरी:   सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा  पानीको बहाव उच्च भएको हो  । पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ ।             प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको बताउनुभयो । यद्यपि पानीको वहाव केही  घट्दो क्रममा रहेको छ ।       सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान पनि चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कल्टोलरुमले जनाएको छ । चैतीस वर्षपछि यस वर्ष कोशीमा पानीको बहाव उच्च देखिएको हो ।  पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

मुस्ताङ:     मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने भएको छैन । कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘१५-१६ घर बगेको बताएका छन् । उनका अनुसार कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् ।’ प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् । कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको प्रजिअ केसीले जानकारी दिए । काग खोला मुक्तिनाथ मन्दिर हुँदै आउने खोला हो । यो खोला कागबेनीमा कालीगण्डकी नदीसँग मिसिन्छ । राति ठूलो वर्षासँगै खोलामा बाढी आएको थियो । बाढी कागबेनीको बीच बस्तीसम्म पसेको छ । बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।  अहिले पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा परिचालित छ । कागबेनी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र र प्रसिद्ध धार्मिकस्थलसमेत हो । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । उनले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए । उनका अनुसार बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

मुस्ताङ:      छायाँवृष्टी हुने भनिएको हिमालपारिको जिल्ला मुस्ताङमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले तल कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ । झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ । प्रहरीका अनुसार दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ ।   ‘बाढी आउनासाथ प्रहरी र त्यहाँ रहेको सेनाको टुकडीले स्थानीयलाई सचेत गराएकोले मानवीय क्षति भएको खबर छैन । प्रहरी चौकी समेत केही सर्वसाधारणका घर भत्काएको खबर छ । बाढीले बिजुलीको तारपोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ । थप विवरण आउन सकेको छैन,’ मुस्ताङका जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र पौडेलले भने, ‘कागवेनी र जोमसोम बीचमा पर्ने पाण्डाखोलामा आएको बाढीले जिल्लाबाट थप सहयोग पठाउनसमेत समस्या भएको छ ।’ मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ । साभार कान्तिपुर राष्ट्रिय दैनिक

लमजुङ:    पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँशीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो ।   जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ । पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन् । “तत्काल सडक खुलाउन असम्भव छ”, उहाँले भन्नुभयो ।  सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन् । उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।    

दमौली:   पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको हो । दमौली बजारको घरटहराको क्षतिपूर्ति मुआब्जाको निर्धारण पनि हालैमात्र भयो । अब धमाधम काम अगाडि बढ्छ ।” आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्याङ्कन हालैमात्र भएको छ । दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उहाँको भनाइ छ । यो खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनुपर्नेमा हालसम्म तीन सय ५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा रु २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म रु १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।  व्यास नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रभित्र सडक केन्द्रविन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा भएकाले सो सडक क्षेत्रभित्रका संरचना हटाई सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरिसकेको छ । एउटा खण्डको प्रगति ३१ प्रतिशत  मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१ दशमलव पाँच प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा आठ प्रतिशत प्रगति भएको छ । यो खण्डमा काम सुस्त छ ।  पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।  पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।  चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । 

पर्वत:     मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा जोड दिइएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तक्र्रियामा सहभागीले नेपालमा मात्र नभई विश्वमै कालीगण्डकी नदीको छुट्टै पहिचान र विशेषता रहेको तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको सभ्यता जोगाउनुपर्ने बताएका छन् । नदीको पर्यावरणीय संरक्षण र यहाँको प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गरी नदीको सभ्यतालाई जोगाउनुपर्ने, पर्यावरण नखलबल्लिने गरी नदीजन्य पदार्थ उपयोग गर्नुपर्नेजस्ता विभिन्न विषयमा चर्चा-परिचर्चा गरिएको हो । कालीगण्डकीको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले कागवेनीबाट त्रिवेणीधामसम्मको कालीगण्डकीको सभ्यता जोगाउनका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं पर्यटकीय र पर्यावरणीय हिसाबले समेत उत्तिकै महत्त्वपूर्ण रहेको कालीगण्डकी नदी र शालग्राम शिला सङ्कटमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको संरक्षण तथा विकासका लागि आफू निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो । उहाँले कालीगण्डकीको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आगामी फागुन ९ देखि २३ गतेसम्म बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आयोजना गरिएको बताउनुभयो ।  कार्यक्रममा प्राध्यापक डा जगन्नाथ रेग्मीले कालीगण्डकीको अस्तित्व जोगाउन नसके मानव जीवन नै सङ्कटमा पर्ने बताउनुभयो । जन्मेदेखि मृत्युपर्यन्त आवश्यक गण्डकीको जल संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा उहाँको जोड छ । पछिल्लो समय अवैधरूपमा भइरहेको नदीजन्य वस्तु उत्खननले कालीगण्डकी र शालिग्राम शिला सङ्कटमा परेको जनाउँदै यस्तो गैरकानुनी कार्य तत्काल रोकिनुपर्नेमा जोड दिनुभयो । कालीगण्डकी नदी धार्मिक एवं पर्यटकीय हिसाबले उत्तिकै महत्त्वपूर्ण रहेकाले यसको उचित संरक्षण र संवर्द्धन गर्न सकेमा सिङ्गो मुलुकको अर्थतन्त्र माथि उकासिने उहाँको भनाइ छ । कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वमन्त्री विकास लम्सालले कालीगण्डकीको सभ्यता संरक्षणका लागि आफू लामो समयदेखि सक्रिय रहँदै आएको जनाउँदै मुक्तिनाथबाट देवघाटसम्मको नदीको अस्तित्व जोगाउनका राज्यले नै ध्यान दिनुपर्ने बताउनुभयो ।  गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण पवित्र कालीगण्डकीको संरक्षणका लागि प्रदेश सरकारमार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । अवैधरुपमा नदी दोहन रोक्न, शालिग्राम शिलाको संरक्षणलगायत नदी वरपर पाइने जलचर, थलचरसमेतको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । मुक्तिनाथबाट देवघाटसम्म थुप्रै धार्मिकस्थल जोडिएका छन् । कालीगण्डकी नदीलाई संरक्षण र संवर्द्धन गरिएन भने संस्कार, संस्कृति र यहाँको पर्यावरणमा ठूलो असर पर्ने प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताउनुभयो । उहाँले राज्य र प्रशासन मात्र नभई आम नागरिकसमेत कालीगण्डकीको संरक्षणमा जुट्नुपर्ने बताउनुभयो । कालीगण्डकी नदीको पर्वत र म्याग्दी खण्डमा भइरहेको अवैध दोहनले पर्यावरणमा समेत असर गर्दै गएको छ । यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर संरक्षणमा लाग्नुपर्ने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताउनुभयो ।