मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

तनहुँ:     पृथ्वीराज मार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आइतबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालकको मृत्यु भएको छ ।    आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ क ५०१२ नं।को मिनी ट्रक र सोही दिशामा आउँदै गरेको प्र।३–०२–००९प ८५३० नं।को मोटरसाइकल ठक्कर खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका–३ बस्ने वर्ष २६ को सफल राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । दुर्घटनामा घाइते भएपछि रानालाई आबुखैरेनी अस्पतालमा उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा राती १२ बजे चिकित्सकले मृत घोषणा गरेको  उनले जनाए । मिनी ट्रक र त्यसको चालक इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:     स्थानीय तह कर्मचारी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय अधिवेशनले नारायणप्रसाद शर्मालाई अध्यक्ष र शम्भु बराललाई महासचिवमा चयन गरेको छ ।   शनिबार सम्पन्न सङ्घको अधिवेशनले नयाँ शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्ष (खुल्ला)मा जानुका श्रेष्ठ, उपाध्यक्ष महिलामा सृजना लामिछाने चयन भएका छन् भने प्रदेशतर्फबाट उपाध्यक्ष चयन हुनेहरूमा चन्द्रबहादुर बस्नेत कोशी, नवराज खड्का मधेस, विदुर गौतम बागमती, महेन्द्रबहादुर गोदार गण्डकी, दिलबहादुर शाही कर्णाली, करणसिंह धामी सुदूरपश्चिम छन् । त्यस्तै विष्णुबहादुर पौडेल र रुद्रनाथ आचार्य उपमहासचिवमा चयन भएका छन् ।   तीन सचिवमा रेशम जीसी, बबिन्द्रलाल माझी र मन्दिरा श्रेष्ठ चयन भएका छन् । अधिवेशनले कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।

काठमाडौं:    उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचनपछि उनले यस्तो बताएका हुन् । उनले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरे ।   उपप्रधानमन्त्री खड्काले नेताहरुको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरु रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताए । उनले आफू अझै नेता हुन बाँकी नै रहेको आभाष भएको बताए ।   ‘किशोरजीले आफ्नो बोल्ने क्रममा एउटा टिप्पणी गरे । त्यसले मलाई आफूलाई जोड्न मन लाग्यो । उनले भने, राजनीतिक नेताहरुका आफ्नै पत्रपत्रिका छन् । नेताहरु सामाजिक सञ्जालमा खुलेर दोहोरी गरिरहेका छन् । चलिरहेको छ भन्नेकुरासँग जोड्नुभयो । त्यो सन्दर्भमा किशोरजीको त्यो भनाइले म अझै नेता हुने ठाउँमा पुगिसकेको रहेनछु भन्नेकुरा बल्ल भयो ।’’ उपप्रधानमन्त्री खड्काले भने, ‘‘किनभने मेरो नेपालका कुनै मिडियामा एक पैसा लगानी छैन । सामाजिक सञ्जालमा म उहाँले भनेको जस्तो दोहोरी गर्ने, आक्षेपको राजनीति गर्ने, टकरावको राजनीति गर्ने अहिलेसम्म त्यतापट्टि पुगेको छैन । त्यसैले मैले नेता हुन अझै बाँकी रहेछ भन्ने लाग्यो  ।’’ उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शिर्ष नेताहरुको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गरे ।

पोखरा:    कास्कीको रूपा–५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् ।  सुवेदीले जनप्रतिनिधि भएबापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् ।    सुवेदीले यसअघि पनि चण्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेका थिए । उनले गत आर्थिक वर्षमा आमा समूह, युवा क्लब, टोल सुधार समिति, युवा समूह, विद्यालयलाई सहयोग, बिरामीको औषधीलगायत ७० भन्दा बढी योजनामा ७ लाख रुपियाँभन्दा बढी खर्च गरेका थिए । चालु आर्थिक वर्षमा जनस्वास्थ्यमा ५० हजार, खेलकुद तथा युवा प्रोत्साहनमा १ लाख र विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्तर्गत डेढ लाखभन्दा बढी रकम खर्च गरिसकेका छन् भने केही विद्यालयमा सहयोगको तयारी भइरहेको सुवेदीले जानकारी दिए ।   सुवेदीले राजनीतिलाई पेसाका रूपमा नभई समाजसेवाका रूपमा अघि बढाउनुपर्ने मान्यता आफ्नो रहेको बताउँदै जीविकोपार्जनका लागि जनप्रतिनिधिले पनि कुनै उत्पादनमूलक काम गर्नुपर्ने धारणा राखे । आफूले पाएको सबै रकम जनताकै सेवामा खर्च गर्ने उनले प्रतिबद्धता दोहोर्‍याए । ‘कुनै पनि गरिब जनता उपचारको अभावमा मर्नुनपरोस्’ सुवदीले भने, ‘जनप्रतिनिधि भइन्जेल सधैँ म जनताको दुःखमा साथमै रहने छु ।’ उनले आफ्नो कामलाई आन्दोलनको संज्ञा दिँदै जनप्रतिनिधि जागिरे होइन भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिए । पोशाक वितरण कार्यक्रममा साविक रूपाकोट गाविसका पूर्व अध्यक्ष टीकाराम पगेनीले राजन जस्ता युवाको राजनीतिक चेतनासहितको कार्यशैलीले आशाको किरण देखा परेको बताए । नेकपा एमाले कास्की क्षेत्र नम्बर १ इन्चार्ज र गण्डकी प्रदेश सदस्यसमेत रहेका पगेनीले अबको विकासको मोडल उत्पादनमा आधारित हुनुपर्नेमा जोड दिए । नेकपा एमाले गण्डकी प्रदेशका सदस्य विष्णु पुनले समृद्धिको अभियान राजन जस्ता त्यागी र सकारात्मक सोच भएका युवा राजनेताहरूबाट मात्रै सफल हुन सक्ने धारणा राखे । जनताको सेवामा लाग्ने राजन र राजन जस्ता युवाहरूका पक्षमा आफू सधैँ लागिरहने पुनको भनाइ थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तकुमार श्रेष्ठले आफ्नो आम्दानी विद्यार्थीका लागि खर्चेर राजनले असल जनप्रतिनिधिको परिचय दिएको बताए । रूपाका विद्यालयमा मात्र नभई हरेक बस्ती र कुनामा पुगेर सेवा गर्दै आएका राजनबाट अन्य जनप्रतिनिधिले पनि पाठ सिक्नुपर्ने बताउँदै श्रेष्ठले विश्वशान्तिका विद्यार्थीका लागि गरेका सहयोगप्रति धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक बुद्धिसागर अधिकारीको स्वागत तथा शिक्षक बाबुराम सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय युवा सङ्घ, रूपाका अध्यक्ष सुजन श्रेष्ठ, उपाध्यक्ष हिमाल गुरुङ, खेलकुद महासङ्घ, कास्कीका सदस्य खेम गुरुङलगायतको सहभागिता रहेको थियो ।

पोखरा:    वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ ।  मञ्चका सभापति राजु क्षेत्री (अपुरो)को संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।  मञ्चका कोषाध्यक्ष लबि क्षेत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।  मञ्चका सदस्य क्यामबहादुर घतानेको संयोजकत्वमा क्रियाशील पदाधिकारीले लाहाचोकको जनकल्याण आधारभूत विद्यालय जोगीचौरका २९ जना विद्यार्थीलाई स्विटर टोपी, पञ्जा र मोजासहितका न्यानो कपडा वितरण गरेको छ । सहयोग हस्तान्तरण समारोहकी प्रमुख अतिथि कार्यपालिका सदस्य श्रीदेवी विकले मञ्चको सहयोगले विद्यार्थी, विद्यालय र अभिभावकलाई थप प्रोत्साहन मिल्ने बताइन् । उक्त कार्यक्रमका लागि चन्द्रमोहन (अर्बिन) पौडेल, क्यामबहादुर घताने, पूर्णबहादुर शाही नर्वे, बिष्णुहरि अधिकारीले आर्थिक सहयोग गरेका थिए । यसैगरी महेन्द्र मा.वि. लाहाचोकका विद्यार्थीलाई आर्थिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । उक्त विद्यालयमा एसइइ तयारीमा रहेका ५ जना विद्यार्थीलाई होस्टल खर्च अभावको विद्यालयका प्रधानाध्यापक मिनराज अधिकारीबाट जानकारी प्राप्त भएपछि उक्त सहयोग गरिएको छ । जसका लागि मञ्चका पदाधिकारी पूर्णबहादुर शाही (नर्वे) र अञ्जु लम्साल (काठमाडौं) बाट १६–१६ हजार, राजेश घले (हङकङ) बाट आठ हजार सहयोग भएको थियो । सोही अवसरमा पूर्णबहादुर शाहीबाट ५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो । सहयोग ग्रहणपछि विद्यालयका प्रधानाध्यापक अधिकारीले मञ्चको सहयोगप्रति आभारसहित धन्यवाद ज्ञापन गरे । कार्यक्रमका व्यवस्थापक सुशील श्रेष्ठले मञ्चका सचिव पुष्पराज अधिकारीको संयोजकत्वमा मञ्चले दुर्घटनामा परेका घाचोक निवासी क्षितिज नेपालीका लागि रु ३२ हजार ५ सय ५५ सहयोग हस्तान्तरण गरेको जानकारीसमेत गराएका थिए ।  प्रदीप क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मञ्चका पदाधिकारी भुपेन्द्र सुनार, दिलिप रानाभाट, गोमा घले, राजु परियार, रूपा अधिकारी, देवी तिवारीले कार्यक्रम व्यवस्थापनमा सहजीकरण गरेका थिए ।   

काठमाडौं:    काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गडिरहेको बस भासिएको छ । तिकुनेबाट रत्नपार्क जाँदै गरेको बा।३ ख। ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर बसको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए ।

म्याग्दी:     म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ। बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरले जानकारी दिए। डिएसपी कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको टाउको र छातीमा चोट लागेको छ। थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  

पोखरा:    क्रान्तिकारी युवा संगठन नेपालले हुलाकमार्फत जनप्रतिनिधिहरुको तलब भत्ता खारेज गर्न माग गर्दै २० बुँदे माग प्रधामन्त्री कार्यालय पठाएको छ ।    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै २० बुँदे माग बुझाउन गएपनि समय नपाएपछि पुष ३ गते हुलाकमार्फत पठाएको क्रान्तिकारी युवा संगठनका केन्द्रीय संयोजक हरिश भट्टले जानकारी दिए ।    क्रान्तिकारी युवा संगठनले उक्त माग प्रधानमन्त्रीले १० दिन भित्र पुरा नगरे दबाब दिन संघर्षका कार्यक्रमको तयारी रहेको पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको छ ।    क्रान्तिकारी युवा संगठन गण्डकीका इन्चार्ज प्रमोदले माग पत्रमा सबै तहका जनप्रतिनिधिहरुको तलब भक्ता खारेज, सबै तहका कर्मचारीहरुका सम्पत्ति छानबिनदेखि एनसेल, एमसिसी खारेज सम्मका मागहरु उल्लेख गरिएको बताए ।    उनले जनजिविका मागहरु राखेर भेट्न खोज्दा प्रधानमन्त्री प्रचण्डले समय नदिएको गुनासो गरे ।    ‘हामीले जनजिविकाका माग राखेका प्रधानमन्त्रीलाई भेट्न खोजेका थियौं तर प्रधानमन्त्रीले समय दिनुभएन’, प्रमोदले भने, ‘प्रधानमन्त्रीले समय नदिएपनि २० बुँदे मागपत्र हुलाक मार्फत पठाएका छौं, १० दिनभित्र पुरा नभएर संघर्षका कार्यक्रमबाट दबाब दिन्छौ ।’   गण्डकी इन्चार्ज प्रमोदले संगठनले राखेको मागहरु पुरा नभए जनसंघर्षका कार्यक्रमको आयोजना गर्ने  घोषणा गरेका थिए ।  

मनाङः    हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उहाँले बताउनुभयो । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लामिछानेले भन्नुभयो, “चिसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्णरूपमा पानी जमेको छ । हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ ।” चिसो पनि उसैगरी बढ्दै गएको उहाँले बताउनुभयो । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उहाँले बताउनुभयो । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन् ।” पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भन्नुभयो, “चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ । अन्य कार्यालयसम्बन्धी कामलाई प्राथमिकता दिएर नै काम गरिरहेका छौँ ।” विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम पूर्णरूपमा रोकिएको छ । चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माणको सेटिङ र हार्डिङ प्रक्रियामा समस्या हुने भएकाले यससम्बन्धी काम बन्द गरिएको विष्टले बताउनुभयो । त्यस्तै चिसोका कारण मङ्सिरदेखि नै स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवाप्रवाह भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एकाइ कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसोमा पनि न्यून मात्रामा पर्यटकको आगमन भइरहेको बताउनुभयो । सिजनमा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उहाँले बताउनुभयो । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका छन् । तर हामी घर कुर्ने र चौँरी हेर्न यहीँ बसेका बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोमा माउ चौँरी र युवावस्थाका चौँरीलाई खुवाउन बचाउन सजिलै हुन्छ । तर चिसोमा बच्चालाई जोगाउनै मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् । बच्चाले सक्दैनन् । जाडोमा यिनीहरूलाई ध्यान दिनुपर्छ ।” “लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ । खान नपाई दुब्लाएर मर्ने गर्छ । जाडो भइरहेका बेला बच्चालाई भने गोठ बनाएर राखिन्छ । हिउँ बढी परे पनि ठूला भएका चौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुँदा दुध पनि कम हुने हुँदा बच्चालाई मात्र ठिक्क हुन्छ । हामीले यो समयमा दूध दुहुदैनौँ”, उहाँले भन्नुभयो, “लेकका खर्कबाट गाउँघर नजिक चौँरी ल्याइन्छ । नावर पनि चौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि चौपाय नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउनकै लागि हामी यहाँ बस्नुपर्ने भएको हो ।” यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । जसले गर्दा बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ चौँरी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिनुभयो । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि जिल्ला फर्कन थाल्दछन् ।