काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् । अर्धठोस बनाएर ल्याइएको आठ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थलबाट पक्राउ गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार राति फ्लाई दुबई उडानद्वारा दुबईबाट काठमाडौं आएका गफुरलाई विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्दा सुन फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
चितवन: चितवनको खैरहनी नगरपालिकामा(२ चैनपुरमा एक जना युवको हत्या भएको छ । आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उहाँले भन्नुभयो, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’’ पत्रकारिता जगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गर्नुभयो । आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उहाँले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताउनुभयो । “लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ”, उहाँले भन्नुभयो । सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री प्रचण्डले सरकारले थालनी गरेको अभियानमा सञ्चार जगत्बाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।
बाजुरा: वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ । बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् । चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा वर्षा र हिमपात हुँदा किसान खुसी भएका हुन् । हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताउनुभयो । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए । हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा प्रभावित भएको छ ।
दोलखा: दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतक हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जिप खस्दा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, छ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका–३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । यसैगरी आँबुखैरेनी–६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी–१ गिरौनचौर बस्ने जीपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी–६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते हुनुभएको छ । उहाँहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थामा भएका कम्जोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०८०’ मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका उहाँले आजको दिन नेपाली जनताका लागि ऐतिहासिक भएको बताउनुहुँदै सबैमा शुभकामना समेत दिनुभयो । यो सरकारले जनउत्तरदायी भएर काम गर्दै आएको र सबै निकायलाई जनताको पक्षमा काम गर्न निर्देशित गरेको उहाँले सम्बोधनका क्रममा बताउनुभयो । सन् २०३० सम्ममा कम विकसित मुलुकको सूचिबाट विकसित राष्ट्रमा सूचिमा परिणत गर्नुपर्ने जरुरी भएको र रोजगारी सृजना गरी बौद्धिक पलायन रोक्नु पर्ने दायित्व सरकारको रहेको उहाँले बताउनुभयो । त्यसैले नागरिकको सक्रिय सहभागीबाट मात्र समुन्नत र सार्वभौम मुलुक बनाउन सकिने भएकाले सबैले प्रजातन्त्र र लोकतन्त्रको रक्षामा उभिन आग्रह समेत गर्नुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो भन्नुभएको छ । “राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ,” शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ–मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ । लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने हामीले बिर्सन नहुनेमा राष्ट्रपति पौडेलले जोड दिनुभएको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अङ्गिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सन्देशमा राष्ट्रपतिले प्रजातन्त्र दिवसले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ ।
काठमाडौं: आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिँदैछ । विक्रम संवत् २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । सरकारले दिवसको अवसरमा फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने यसअघि नै निर्णय गरेको थियो । सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा आज नेपाली सेनाले सैनिक मञ्च, टुँडिखेलमा विगुल बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा भोलिसम्म प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्ज्वलन गरिनेछ ।

