पोखरा: रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेललाई मातृशोक परेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२:४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) हुनुहुन्छ । स्वर्गीय आमा इन्द्रकला पौडेलको आज (मंगलबार) विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले बताएको छ ।
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आउँदो चैत १७ गते शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २२ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । सोमबार बसेको बैठकले राजाराम पौडेललाई संयोजक र कञ्चन थापालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । आरजु बिष्ट सल्यानीलाई प्रचारप्रसार र संघसस्था परिचालनको जिम्मेवारी दिइएको हो । त्यस्तै बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ । प्रमाणपत्र वितरण तथा रेकर्डमा सुरज थापा ,स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, र प्राविधिकमा अरबिन बिक्रम राणालाई जिम्मेवारी दिइएको हो । रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ ।
काठमाडौं: सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न दुई मन्त्रीलाई जिम्मा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो । मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘बालकुमारी घटनाका सम्बन्धमा जुन प्रतिवेदन प्राप्त भएको छ, समितिले यसको अध्ययन गर्ने छ र कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्नेछ ।’ बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ । साथै सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्त थप गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
बारा: निजगढ नगरपालिका –७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोहित वर्कसप लेथका सञ्चालक सोही ठाउँ बस्ने वडा –५ का ४५ बर्षे रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेसप्रसाद काफ्लेले बताए । फलाम काट्नेक्रममा ग्याँस सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएको मगरको वीरगञ्जस्थित नेपाल मेडिसिटी व्योधा अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । सोही अस्पतालमा उपचार गराइरहेका अन्य घाइतेहरु वीरगञ्ज महानगरपालिका –९ बस्ने ३४ वर्षीय फिरोज देवान, सोही ठाउँका २० वर्षीय रितु रजत, भारतको गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल, सोही ठाउँ रामगढवा बस्ने २० वर्षीय अरविन साहको उपचार भइरहेको उनले जानकारी दिए । यसैगरी निजगढ नगरपालिका –५ बस्ने ४५ वर्षीय सुर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । सोमबार दिउँसो १२ बजेतिर ग्याँस सिलिण्डरको सहयोगले फलाम काट्नेक्रममा सो सिलिण्डर विस्फोट हुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।
काठमाडौं: सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पर्वत फूलबारी–२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, “दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।” गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।
कास्की: पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् । चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् । यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ । कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्ग अन्तरगत पर्ने खुमैडाँडा यतिबेला हिउँले ढपक्क ढाकिएको छ र सेताम्मे बनेको छ । पदयात्रामा रम्नका लागि यो वर्षको सिजन अब सकिनेवाला छ । त्यसैले हिउँ खेल्न र लालिगुँरास हेर्नका लागि खुमैडाँडा उपयुक्त मानिन्छ । पर्यटकलाई सेवा सुविधाका दिनका लागि खुमैडाँडामा नयाँ ४ होटल थपिएसँगै अहिले ७ वटा होटल सञ्चालनमा छ । तर कोर्चाङमा भने होटलको व्यवस्था छैन । स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखरादेखि तातोपानी खारपानी हुदैं मिर्सासम्म यातायातको व्यस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ भने (अर्काे रुट) घाचोक हुदैं पनि जान सकिन्छ । जुन समुद्री सतहबाट ३ हजार २ सय ४५ मिटरको उचाइमा रहेको छ । त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । जुन ३ हजार ६ सय ८२ मिटर उचाइमा छ । कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृङलाको नेत्रभोजन र प्राकृतिक सौन्दर्यतासँग पिरती गाँस्न पाइन्छ । तस्बिरः राकेश मगर /अर्जुन गाहा सुशान्त (सुनगाभा न्यूज)
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ। प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो। बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गका साथै म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वतमा विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई छिटो बनाउने उद्देश्यले बेस राखिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक श्यामकुमार पौडेलले जानकारी दिए। ‘दुर्घटना, बाढी पहिरो, नदीमा डुबेको, आगलागीजन्य विपद्को अवस्थामा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन तालिमप्राप्त जनशक्तिको व्यवस्थापन गरेर एकाइ राखिएको हो,’ उनले भने, ‘पायक पर्ने र नजिकै तालिमप्राप्त जनशक्तिको टोली भएपछि खोज तथा उद्धार कार्य प्रभावकारी हुनेछ।’ यसअघि म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङमा खोज तथा उद्धारका लागि पोखरा र कुरिनटारबाट सशस्त्र प्रहरी बलको टोली बोलाउने गरिएको थियो। टाढाबाट टोली आउन ढिलाइ हुँदा खोज तथा उद्धार कार्यमा ढिलाइ हुने गरेको थियो। एकाइमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त जनशक्ति रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक फडिन्द्र गोलेले बताए। स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–जोमसोम–कोरला सडकमा हुने दुर्घटना, कालीगण्डकी र आसपासका नदीमा डुबेर बेपत्ता हुने, भिरमा अड्किने, पदयात्रामा हराएकाको खोजी र हिमाल आरोहणका टोलीलाई पर्ने समस्या समाधानका लागि विपद् व्यवस्थापन बेस भएपछि सहज हुने अपेक्षा गरिएको छ। गत असोज महिनायता बेनी–जोमसोम सडकबाट मोटरसाइकलसहित भिरमा खसेका एक जना पर्यटक र कालीगण्डकीमा खसेर स्थानीय अर्का युवाका ज्यान गएको छ। नारच्याङमा जलविद्युत् आयोजनाले बनाएको भवनमा सशस्त्रको बेस राखिएको छ । अन्नपूर्ण गाउँपालिकाले भवनको व्यवस्थापन गरेको हो। सो भवनमा कोरोना महामारीको समयमा अस्थायी अस्पताल सञ्चालन भएको थियो। यसैबीच सशस्त्र प्रहरीले म्याग्दीमा समुदायस्तरमा खोज तथा उद्धारका लागि आधारभूत सीप हस्तान्तरण गर्न थालेको छ। छ स्थानीय तहबाट पाँचरपाँच जनालाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम दिन लागिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। यही फागुन १६ र १७ गते गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा खोज तथा उद्धारको नमूना प्रदर्शनी गरिने उनले बताए।
पोखरा: सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला परेका छन् । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका २ जना मध्य १ जनाको शव गएराति फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एव्म प्रहरी निरीक्षक सुर्यबहादर रानामगरले जानकारी दिए । ‘आइतबार बेलुका पोखरा स्थित सेती नदीमा माछा मार्ने क्रममा २ जना बेपत्ता भएको सूचना आएको थियो’, प्रहरी निरीक्षक रानामगरले भने, ‘माछा मार्ने क्रममा २ जना बेपत्ता भएको सूचनापछि खोजी कार्य गर्दा एकजना मृत फेला परेका छन् भने, अर्का एक जनाको खोजी कार्य जारी छ ।’ उनका अनुसार आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सक्से तामाङ बेपत्ता भएका थिए । सेती नदीमा बेपत्ता भएका मंगा तामाङलाई सशस्त्र प्रहरी बल, नम्बर २४ कालिका गण र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ः१० बजेको समयमा मृत फेला पारेको छ । यस्तै सेती नदीमा बेपत्ता सक्से तामाङको खोजी कार्य बिहानबाट पुनः सुरु भएको प्रहरी निरीक्षक रानामगरले जानकारी दिए । नदीमा मृत भेटिएका मंगा तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल छन् ।
पोखरा: नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विजय थापामगर सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न १५ औं जिल्ला अधिवेशनले विजय थापामगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा ससिता थापामगर, सचिवमा रुद्र गरङ्जा मगर, सह–सचिवमा विनिता थापामगर र कोषाध्यक्षमा अमर थापामगर चयन भएका छन् । यस्तै सदस्यहरु.साजन गर्जा मगर, विकास थापा मगर, सिर्जना राना मगर, ममता राना मगर, सफलता थापा मगर, उषा आले मगर, एलिना थापा मगर, सन्जय आले मगर, बिपना थापा मगर र सुनिता माकिम मगर चयन भएका छन् ।

