पोखरा: पोखरा चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ्ग प्रा.लिले ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्कला प्रतियोगिता आयोजना गरेको छ । आगामी साउन २४ गते ११ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा ट्रेड मलका अध्यक्ष मिनराज काफ्ले बताए । ‘पोखरा ट्रेड मलमा साउन २४ गतेदेखि व्यवसायीक यात्रा सुरु भएको हो, ०७२ देखि साउन २४ लाई ट्रेड मलको स्थापना दिवसको रुपमा मनाउँदै आएका छौं’, काफ्लले भने, ‘स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिकाका विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै छौं ।’ पोखरा महानगरभित्रका ७२ वटा सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेपनि २९ विद्यालयले मात्र प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको अध्यक्ष काफ्ले बताए । ‘पर्यटन र सम्भावना विषयकमा हुने वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्र ७२ वटा विद्यालयलाई पत्राचार गरेका छौं’, उनले भने, ‘पत्राचार गरेका ७२ मध्ये २९ विद्यालयले सहभागिता जनाउने जानकारी दिएका छन्, भोलिसम्म नाम दर्ता गर्ने समय थप गरेका छौ ।’ उनका अनुसार प्रतियोगितामा पहिलो विजेताले रु १० हजार, दोस्रोले रु ७ हजार, तेस्रोले रु ४ हजार र सान्त्वना हुनेले रु १ हजार ५ सय प्राप्त गर्ने छन् । पोखरा पर्यटकिय नगरी भएको र यस सम्बन्धमा यस क्षेत्रका बालबालिकाको धारणा बुझ्न र समग्र पोखराको आर्थिक सम्भावनाको बारेमा आम जनातालाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष घिमिरेले जानकारी दिए ।
पाल्पा: पाल्पामा डेङ्गु सङ्क्रमित महिलाको मृत्यु भएको छ । डेङ्गु संक्रमित तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो । मृतक महिलामा एकसाताअघि डेङ्गु संक्रमणको पुष्टि भएको मिसन अस्पतालले जनाएको छ । पाल्पामा पछिल्लो समय डेङ्गु संक्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिनुभयो ।
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्नुभएको छ । गृहमन्त्री श्रेष्ठले घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारबाही गर्ने र घाइतेको उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज मन्त्रालयमा तामाङ घेदुङ र मगर सङ्घका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाउनुभएको हो । तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ सङ्घीय समिति र नेपाल मगर सङ्घ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिइएको थियो । सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा करिब ३६ जनाभन्दा बढी धर्नाकारी घाइते भएका थिए । सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौँको आदेशले रिहा भए पनि धर्नाकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिइएको तामाङ घेदुङ र मगर सङ्घले बताउनुभएको छ । मरणासन्न घाइते दर्जनौँ महिला र पुरुष आन्दोलनकारीको उपचार जारी छ । अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारबाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर सङ्घले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिएको हो ।
पाल्पा: सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लु २ च २८४९ नंको जीपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नंं को गुडिरहेको जीपमाथि पहिरो खस्दा जीपमा सवार चालक सहित तीनजना घाइते भएको स्थानीय विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ढुङ्गासहितको पहिरोले जीपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको स्थानीय पाण्डेले जानकारी दिए । पहिरोका कारण केही बेर राजमागको बुटवल–पाल्पा सडक अवरुद्ध बने पनि अहिले भने पुनःसञ्चालन भइसकेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेको नेपालगञ्जका ६ जनाको ज्यान गएको छ । भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेको भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाको ज्यान गएको हो । दुर्घटनामा परि नेपालगन्ज सदरलाइनका ३५ वर्षीय वैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताको ज्यान गएको छ । यस्तै, नेपालगञ्जको त्रिभुवनचोकका सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । शनिवार हिजो बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा कार दुर्घटना भएको हो ।
काठमाडौं: आज, भोलि र पर्सि झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । गएराति बाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा पानी परेको थियो । यस्तै, मधेस प्रदेशको पश्चिम र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि गएराति पानी परेको थियो । मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । गण्डकी प्रदेशका एकरदुई ठाउँमा राति नै आरीघोप्टे वर्षा हुने सम्भावना पनि रहेको मौसमविद् मानन्धरले बताउनुभयो । यस्तै, भोलि र पर्सि पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । यसले गर्दा नदी, खोलामा बाढी आउने तथा पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
काठमाडौं: सहकारी पीडितहरुले सडक प्रदर्शन गरेका छन्। उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको बिजुलीबजारस्थित आर्क ब्रिजमा सहकारीपीडितले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा करिब १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। सहकारी पीडित लामो समयदेखि माइतीघर मण्डलमा आन्दोन गर्दै आएका छन्।
विराटनगर: मोरङका मिटरब्याज पीडित एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका मिटरब्याज पीडित विनित सोनारको मृत्यु भएको हो । यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका कटहरी गाउँपालिका-३ का अन्दाजी ३२ वषर्ीय विनित सोनारको बुधबार बिहान मृत्यु भएको हो । डा. नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफल पछि बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरेका थिए । विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।
ढोरपाटन: बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ , ताराखोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् । अर्बौँ लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन् । स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन । मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी सिमाना मालढुङ्गाबाट पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ । यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौँलगायतका ठूला सहरबाट यातायात सञ्चालन हुन्छ । यस सडकले जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन, गलकोट नपा, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिका गरी छवटा पालिका जोडिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले जैमिनी नपा र बागलुङ नपा जोडिएको छ । यो सडकमा स्थानीय गाडीमात्रै चल्छन् । ठूला सहरबाट गाडी आउँदैनन् । सालझण्डी–ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ । यस सडकमा पनि ठूला सहरबाट गाडी सञ्चालन भएका छैनन् । मध्यपहाडी लोकमार्गको अब करिब १२–१४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने सालझण्डी–ढोरपाटन स्तरोन्नतिका लागि सरकारले रु ६२ करोड विनियोजन गरे पनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन । नेपालको एकमात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ । कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत करिब ३२ किलोमिटर पर्छ । अहिले यस खण्डमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । उहाँले राष्ट्रको गौरवको आयोजनाका काम तीव्रगतिमा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको बताउनुभयो । विसं २०७३ मा खुलेको करिडोरको ट्रयाक अहिले बल्ल स्तरोन्नति हुन थालेको छ । समयमा योजनाको काम नसकिँदा व्यापारिक केन्द्रबाट चल्नुपर्ने गाडी चल्न नसकेको उहाँको भनाइ छ । कालीगण्डाकी करिडोर कालोपत्र भएर निरन्तर सञ्चालनमा आए बागलुङबाट बुटवल पुग्न झन्डै दुई घन्टाको दूरी छोटिने उहाँले बताउनुभयो । “करिडोर दुई–तीन देशमात्रै जोड्ने सडक नभएर व्यापारिक सडक पनि हो, यो सडक सञ्चालनमा आए भारतबाट सिधै बागलुङमा सामान ढवानी गर्न सकिन्थ्यो, बुटवल, भैरवहालगायत तराईका व्यापारिक केन्द्रमा पुग्न पोखरा पुग्नुपर्ने थिएन”, उपप्रमुख शर्माले भन्नुभयो, “करिडोर हुँदै बुटवल पुग्न पोखराबाट भन्दा यताबाट झन्डै दुई घन्टा छोटो हुन्छ, अहिले काम भइरहेको छ, निरन्तर यातायात सञ्चालन हुन थाल्यो भने यो सडकले बागलुङको मुहार फेर्ने छ ।” मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये अधिकांश क्षेत्रमा कालोपत्र भए पनि काठेखोला खण्डमा काम हुनसकेको छैन । ट्रयाक खुलेको साढे दुई दशक बढी हुँदा पनि सडक स्तरोन्नति हुन नसक्दा लोकमार्गमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती खेप्नुपरेको काठेखोलाका अध्यक्ष राजु थापाले बताउनुभयो । यो सडकमा हरेक दिन दर्जनौँ साना–ठूला गाडी गुड्ने गरेको भन्दै सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना जोखिम पनि उत्तिकै बढेको उहाँको भनाइ थियो । सालझण्डी–ढोरपाटन सडक बागलुङ खण्डमा गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ । गुल्मी खण्डमा कालोपत्र गर्ने ठेक्का लगाइएको छ भने अर्घाखाँची खण्डमा १३ किलोटिर कालोपत्र भएको छ । यस सडकलाई यस वर्ष रु ४० करोड विनियोजन भएको थियो । ढोरपाटन नपाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले घरै अगाडि सडक भए पनि स्थानीयले सहजरूपमा प्रयोग गर्न नपाएको बताउनुभयो । ढोरपाटन प्राकृतिकरूपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो । उहाँले निर्माण कम्पनी र आयोजना कार्यालयलाई काम तीव्रगतिमा अगाडि बढाउन आग्रह गरे पनि सुनुवाइ नभएको बताउनुभयो । केन्द्रीय आयोजना हुँदा नगरपालिकाले काम गर्न नसकेको भन्दै सडकलाई सहज नबनाएसम्म नागरिकले दुःख पाइराख्ने उहाँको भनाइ छ । हिउँदमा धुलो र बर्खामा हिलोले आजित हुनुका साथै साँघुरो सडक हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको उहाँले बताउनुभयो । “दिनदिनै ढोरपाटनमा पर्यटक आउने गर्छन्, सडकको अवस्था देखेर निरास भएर फर्किन्छन्, निर्माण कम्पनीले समयमै काम नगर्दा यसको असर स्थानीय र पर्यटकलाई परेको छ”, उहाँले भन्नभयो, “हामीहरू भन्दाभन्दा हैरान भयौँ, जनताले नगरपालिकाले सडक बनाएन भन्छन्, यो सडक बनाउने अधिकार हामीलाई छैन, पर्यटकीय गन्तव्यका रूपमा उत्कृष्ट रहेको ढोरपाटन सडकका कारण पछाडि परेको छ ।”