ताप्लेजुङः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन कुल १२ मेगावाट क्षमता भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ । आयोजनाका प्रतिनिधि मेघनाथ ढुङ्गानाका अनुसार गत २०७९ साल पुस अन्तिम सातादेखि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । उहाँका अनुसार एक हजार ८३७ मिटर दूरी भएको सुरुङ निर्माण बिहीबार पूरा भएको हो । उक्त एचआरटी सुरुङ निर्माण सम्पन्न भएसँगै अब आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र वडा ८ याम्फुदिन भई बग्ने काबेली खोलाबाट विद्युत उत्पादन गर्ने गरी सुपर काबेली ‘ए’ क्यासकेट आयोजना सुरु गरिएको हो। आयोजनाको मुख्य प्रवर्द्धक हिलटन इनर्जी लिमिटेड रहेको छ । यो आयोजनाबाट उत्पादन हुने विद्युत पाँचथरको अमरपुरस्थित १३२ केभीए क्षमताको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रशस्त मात्रामा लाभ लिन सक्ने बताउनुभएको छ । चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बिएफए) लाई बिहीबार नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, जिडिआइ) अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिनसक्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल रहेको र यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जिडिआइ समूहमा सामेल हुने निर्णय गरेको जानकारी दिनुभयो । जिडिआइको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सि चिनफिङको मानवजातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तर–सम्बन्धलाई जोड दिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “एक साँच्चै साझा भविष्य तब मात्र साकार हुनसक्छ जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन् ।” पूर्वअर्थमन्त्री पौडेलले भन्नुभयो, “चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छ । पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता विकासजस्ता क्षेत्रमा बढ्दो सहयोगले नेपालको राष्ट्रिय विकास प्रयासलाई गति दिनेमा हामी विश्वस्त छौँ । हामी पनि हाम्रो अर्थतन्त्रमा परिवर्तन ल्याउने र नेपालको विशिष्ट विकास आवश्यकतालाई सम्बोधन गर्नेगरी परियोजनाहरू अघि बढाउन तत्पर छौँ ।” जिडिआइको दिगो र समतामूलक विकासका लक्ष्य हासिल भएको सुनिश्चित गर्न, यसका चुनौतीहरु स्वीकार गर्न र सम्बोधन गर्न आवश्यक रहेको चर्चा गर्दै उहाँले यसको पारदर्शिता र ऋण दिगोपनका चिन्तलाई भने दूर गर्न जरुरी रहेको बताउनुभयो । त्यसैगरी, सहुलियतपूर्ण वित्तीय सहायता, ज्ञान आदानप्रदान र विकासोन्मुख देशहरूको विशेष आवश्यकता अनुरूप निर्माण हुने परियोजनाहरूले जिडिआइको उद्देश्य, आपसी विश्वास र समावेशीतालाई थप बलियो बनाउने उहाँको धारणा थियो । नेपालले बहुपक्षीयतालाई महत्व दिने र जिडिआई ढाँचा र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने छलफलमा सक्रियरूपमा योगदान गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामी सार्वभौमिक र सबैका लागि लाभदायक विकास एजेन्डालाई थप प्रवर्धन गर्न चीन र समान विचारधाराका साझेदारहरूसँग काम गर्न इच्छुक छौँ । विश्वमा थप समृद्धि, शान्ति र दिगो भविष्य निर्माण गर्न जिडिआइ एक शक्तिशाली माध्यम बन्न सक्छ भन्ने कुरामा नेपाल विश्वस्त छ ।” बोआओ फोरमले एसिया र समग्र विश्वको विकासका लागि आवश्यक मुद्दाहरूमा संवादका लागि महत्वपूर्ण अवसर दिएको उहाँको भनाइ छ । यस वर्षको विषयवस्तु ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वल्र्ड पिस’ समयसापेक्ष रहेको र यसले विश्वको विकास र शान्तिको आगामी मार्गका लागि सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।
डोटी: वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न जानुभएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते हुनुभएको थियो । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उहाँलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उहाँको निसर्ग अस्पतालमा आज बिहान एक बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तिकरणको लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’ सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएकोमा प्रधानमन्त्रीको भनाइ छ । उनले अगाडि भने, ‘सशक्तीकरण आजको दुनियाँमा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तीकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।’ सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिनेसमेत बताएका छन । ‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ। सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रबर्द्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ,’ प्रधानमन्त्रीले भने ।
कैलालीः कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीको गोताखोर टोलीले आज टिकापुरस्थित सन्कट्टी घाटमा शाहीको मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शाहीको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो । खोजी गर्न बुधबारदेखि रानीजमरा सिचाइँ योजनाको नहर नै बन्द गरिएको थियो । सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक डाँगीका अनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए । उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । उहाँका अनुसार सोधपुछका क्रममा नियन्त्रणमा लिएका एकजनाले त्यो दिन हाम फाल्ने कुनै पनि योजना नभएको बयान दिएका छन् । “फोटो खिच्न पुलतर्फ गएका हौँ, पुलमा पुग्दा एक जनाले हाम फाले, उसलाई देखेर अरु सबैले पालैपालो कर्णालीमा हाम फाल्यौँ”, पक्राउ परेकाहरुले सोधपुछका क्रममा भनेका प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । कर्णालीमा हाम फाल्नेहरु १७ देखि ४० वर्षसम्मका हुन् । उनीहरु होली खेल्दै चिसापानी बजार पुगेका थिए ।
झापाः झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन् । घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका श्रीमान ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पुर्याएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । यस वर्ष साउनदेखि हालसम्म जिल्लामा हात्तीको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ । जङ्गली हात्तीले बुधबार अर्जुनधारा नगरपालिका–९ बाह्रघरेका नन्दप्रसाद पौडेल र दुर्गा बस्नेतको घर भत्काएको छ । हात्तीले गोठमा रहेको धानसमेत खाएको छ । हात्तीले यसअघि मङ्गलबार कमल गाउँपालिका–५ सिम्लेका आइतराज लिम्बूको खेतको मकै खाएको थियो । हात्तीले आइतबार मेचीनगर नगरपालिका–३ दोकानडाँडाका टङ्कप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उहाँलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उहाँलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो । “उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो”, डा पौडेलले भन्नुभयो, “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।” उहाँको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताउनुभयो ।
तनहुँ: बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए । एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो । अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ । भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा भौतिक प्रगति नभएकाले पुन: २०८१ असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए । बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या हुने गरेकाले यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उदयपुरः उदयपुर गाइघाटकको त्रियुगा नगरपालिका वडा नं–१४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव फेला परेको छ। आइतबार होली खेलेर कोसीमा नुहाउने क्रममा बेपत्ता भएका १२ वर्षीय लोकबहादुर मगर, रेखा मगर र ९ वर्षीय रिदम मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो। मंगलबार साँझ रिदम र बुधबार लोकबहादुर र रेखाको शव भेटिएको उहाँले बताउनुभयो। साउनेस्थित माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रेखा, कक्षा ४ मा अध्ययनरत रिदम र कक्षा ५ मा अध्ययनरत लोकबहादुर होली खेलेर नुहाउन गएको बेला दिउँसो ३ बजेतिर सुनकोसी नदीमा डुबेर बेपत्ता भएका थिए । त्यसलगत्तै उनीहरूको खोजी भइरहेको थियो। रेखा मगर र लोकबहादुर मगरको शव उनीहरू हराएको स्थानभन्दा करिब चार किलोमिटर तल बुधबार भेटिएको हो। उपरीक्षक चौधरीका अनुसार बालबालिका बेपत्ता भएको स्थानदेखि करिब दुई किलोमिटर तल रिदमको शव बग्दै गरेको अवस्थामा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त वस्नेतसहितको टोलीले मंगलबार साँझ फेला पारेको हो।

