काठमाडौं: भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । यसैगरी भारतको हिन्दुस्तान टाइम्सले सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको जनाएको छ । भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।
स्याङजाः स्याङजाको आँधिखोलामा पौडि खेल्ने क्रममा १ जना बेपत्ता भएका छन । गल्याङ नगरपालिका–२ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता रहेको प्रहरीले जनाएको छ । मंगलवार बिहान अन्य ६ जना साथिहरु सहित पौडि खेल्न गएका राना खोलामा बेपत्ता भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता रानाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका १ र २ नम्बरको सिमानामा ४ दिन अगाडिदेखि लागेको डढेलो बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको १ र २ नम्बरको वडाको सिमानामा ४ दिन अगाडि लागेको डढेलो गुराँसेको बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको वडाध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए । ‘ताराखोला गाउँपालिका १ र २ जोड्ने सिमानाको धुरीमा ४ दिन अगाडि आगो लागेको देखिएको थियो’, वडाध्यक्ष घर्तीले भने, ‘४ दिन अगाडि लागेको आगो बस्तीतीर आउने देखिएपछि हिजो र आज बस्ती जोगाउन स्थानीयसहित लागि परेका थियौं, दिउँसो खाना खाने समयमा बस्तीमा आगो पस्दा क्षति पुग्यो ।’ ताराखोला गाउँपालिका २ का वडाध्यक्ष घर्तीका अनुसार जंगलको बीचमा रहेको बस्ती जोगाउन अग्नि रेखा बनाएपनि बस्तो जोगाउन नसकिएको सुनगाभा न्यूजसँग बताए । ‘बस्ती जोगाउन हामी स्थानीयहरुसँग लागि परेका थियौं, आज बिहान अग्नि रेखा बनाएर बस्ती जोगाउने प्रयास गरेका थियौं’, उनले भने, ‘ बस्ती जंगलको बीचमा छ, बस्ती तल र माथी झाडी र खडेरीका कारण सुकेका स्याउला घाँसमा डढेलो बढ्दा नियन्त्रण गर्न सकेनौं ।’ स्थानीय नर बहादुर परियार खरको घर गोठ,हरिलाल परियारको खरको घर गोठ,अमृत परियारको २ वटा गोठ इश्वरा परियारको ढुङ्गाको घर र खरको गोठ, याम बहादुर परियारको खरको गोठ फुलकुमारी परियारको खरको घर र गोठ डढेलो जले नष्ट भएको हो । डढेलोका कारण घर जलेर नष्ट भएपछि उनीहरुलाई दाजुभाई घरमा राखिएको वडा कार्यालयले जनाएको छ । उनका अनुसार २ घरसहित ५ वटा गोठ जलेर नष्ट हुँदा ४ वटा बाख्रा, १ वटा बोका, १ पाठी, २ वटा भैसी, १ वटा राँगो जलेर मृत्यु भएको छ । भने, आगोले २ वटा भैसीको केही भाग समेत जलेको छ । आगोले जलेका २ वटा भैसीको गाउँपालिकाबाट भेटेनरी डाक्टरले उपचार गरिरहेको वडाध्यक्ष घर्तीले बताए । ४ दिन अगाडि लागेको डढेलो पूर्ण रुपमा नियन्त्रणमा नआउँदा वस्ती जोखिमै रहेको स्थानीयहरुले बताएका छन् । आगलागी हुँदा मानवीय क्षति भने भएको छैन् ।
काठमाडौं: सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो । आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकस्थित मेश्रम बराह माविलाई गुरुङ चलचित्र शिरसुवा टिमले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ब्रेज मेश्रों फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित गुरुङ कथानक चलचित्र शिरसुवाको टिमले विद्यालयलाई आज एक कार्यक्रमको आयोजना गर्दै २ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । घान्द्रुकस्थित मेश्रम माविमा कक्षा ११ र १२ सञ्चालनका लागि फिल्मको आम्दानीबाट २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको पोखरा प्रतिनिधि अमृत लामा गुरुङले बताए । उनका अनुसार घान्द्रुकमा छायाङ्कन गरिएको गुरुङ कथानक चलचित्र शिरसुवाको आम्दानीबाट २ लाख मेश्रम माविमा कक्षा ११ र १२ कक्षा सञ्चालनार्थ सहयोग गरिएको हो । उनले उक्त चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन भएपछि बेलायतमा ७ पटक प्रदर्शन भइसकेको छ । मेश्रम माविमा कक्षा ११ र १२ सञ्चालनार्थ गठित अर्थ संकलन उपसमितिका संयोजक कमल गुरुङले सबैको साथ सहयोगमा कक्षा सञ्चालन गर्न सफल भएको बताए । ‘हामीले गाउँमा नै कक्षा ११ र १२ सञ्चालन गर्न सफल भएका छौं, कक्षा सञ्चालनमा सबैको साथ सहयोग अनिवार्य छ, गुरुङले भने, ‘घान्द्रुकमा छायाङ्कन भएको चलचित्र शिरसुवाले पनि कक्षा सञ्चालनका सहयोगार्थ भनेर नै फिल्म तयार गरेको छ, हामी यसमा आभारी छौं ।’ चलचित्र शिरसुवाका निर्माण समूहले घान्द्रुुकमा रोधीं क्लबको भवन निर्माण गर्नका लागि ५ लाख रुपैयाँसमेत आर्थिक सहयोग गरिसकेको छ । मेश्रम बराह माविमा २०७४ सालमा अस्थायी अनुमति लिएर कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन भइरहेको छ । हाल सो विद्यालयमा ११ र १२ मा गरी करिब ५० बढी विद्यार्थी अध्ययनरत छन् ।
ढोरपाटन: बागलुङको तमानखोला गाउँपालिकामा कृषि संकलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट संकलन केन्द्र निर्माण गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज(वस्तुलाई संकलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए। ‘तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म संकलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ’, उनले भने। अध्यक्ष मगरले तमानखोला–१ स्थित बोङ्गादोभानमा केन्द्र बन्ने भन्दै उक्त केन्द्र निर्माण भएपछि कृषकलाई राहत हुने बताए। अहिले किसानले उत्पादन गरेका वस्तुले बजार पाउन नसकेको भन्दै केन्द्र बनेपछि गाउँगाउँबाट कृषि उत्पादन संकलन गरेर यहाँ ल्याउने र बिक्री वितरण गरिने उनले जानकारी दिए। ‘यहाँका धेरै किसानले तरकारी, फलफूललगायत अन्य कृषिजन्य वस्तु उत्पादन गर्दै आएका छन् । उत्पादनले सजहरुपमा बजार पाएको छैन’, अध्यक्ष मगरले भने, ‘पालिका केन्द्र सञ्चालनमा ल्याएसँगै बजारीकरणको जिम्मा लिएर कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने योजना बनाएको छ । किसानलाई उचित मूल्य दिलाउन हामीले योजना बनाएर लाग्नेछौँ । संकलन केन्द्रमा छवटै वडाबाट उत्पादन ल्याइनेछ ।’ यही चैत ४ गते सम्झौता भएर केन्द्रको काम सुरु भएको छ । धमनी देउराली निर्माण सेवाले आगामी जेठ मसान्तमा सक्नेगरी ३० लाखमा निर्माणको जिम्मा लिएको गाउँपालिकाका इन्जिनियर अर्जुन यादवले बताए। केन्द्रमा पशुजन्य वस्तु र कृषि उत्पादन संकलन गर्ने फरकफरक कोठाहरू निर्माण हुने उनको भनाइ छ । केन्द्रमा दुई वटा ‘कोल्ड रुम’ समेत बन्ने उहाँले जानकारी दिए। स्थानीय प्रेमबहादुर पुनले गाउँमा उत्पादन भएका तरकारीले बजार नपाउँदा कृषकहरू मारमा पर्दै आएको भन्दै संकलन केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिल्ने बताए। तमानखोलामा ठूलो बजार नरहेको हुँदा किसानले डोकोमा बोकेर बुर्तिबाङ बजारसम्म पुर्याउनुपर्ने बाध्यता रहेकामा उक्त बाध्यताको अन्त्य हुने उनको भनाइ छ । गाउँपालिकाले निर्माण गरिरहेको उक्त केन्द्रमा सबै वडाबाट तरकारी तथा कृषिजन्य उत्पादन संकलन गरी ल्याउने र ठूला(ठूला बजारमा यहीँबाट ‘सप्लाई’ गर्ने हुँदा बजार र उचित मूल्य पाउनेमा आशावादी रहेको पुनको भनाइ छ ।
काठमाडौं: भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडाँैको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन् । एसपी रेग्मीले पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताउनुभयो । यसअघि पनि यसैगरी शङ्कास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो । पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिनुभयो । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् । धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताउनुभयो । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिनुभयो । उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ । धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।
काठमाडौं: नेपालकी कराते स्टार एरिका गुरुङ अमेरिकामा नौ लाख रुपियाँ भन्दा बढि नगद पुरस्कारबाट सम्मानित भएकी छिन् । चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक विजेता एरिकालाई च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आयोजना गरेको कार्यक्रममा नौ लाख ३२ हजार चार सय ६३ रुपियाँ (सात हजार ११ अमेरिकी डलर) सहित सम्मान गरिएको हो । एरिका हाल युएसए ओपन कराते च्याम्पियनसिप खेल्न अमेरिका गएकी थिईन् । एरिकाले युएसए ओपन करातेमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण र सोही तौलको सिनियर खुलामा रजत पदक जितेकी थिईन् । एरिकालाई ११औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रमबिच नगदसहित सम्मानपत्रबाट सम्मान गरिएको हो । एरिकाको सम्मानका लागि तमु परिवारले दुई हजार सात सय ५६, तमु सोसाईटीले नौ सय ५३, सुदूरपश्चिम समाजले पाँच सय ५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले एक सय ९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी रकम च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीबाट प्राप्त रकमबाट सम्मान गरिएको च्याम्पियन मार्सल आर्ट्स क्लबका लामाले जानकारी दिए । सो अवसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष एवं आठौँ र नवौँ सागका स्वर्णपदक विजेता दीपक श्रेष्ठ, १०औँ सागमा स्वर्ण विजेता एवं प्रशिक्षक कुशल श्रेष्ठ, १३औं सागका स्वर्णपदक विजेता अनु अधिकारी र विप्लवलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। अनु अमेरिकामा बस्दै आएकी छिन् भने एरिका, विप्लव, दीपक र कुशल युएसए ओपनमा भाग लिन अमेरिका पुगेका हुन्। एरिका लगायतलाई क्लबका लामा, १३औँ एसियाडका कांस्य पदक विजेता सम्बरबहादुर गोलेलगायतले सम्मान गरेका थिए ।

