पोखरा: भूकम्प पीडितका लागि राहत लिएर आएको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ । भूकम्प पीडितका लागि समाग्र्री ल्याएको चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । चिनियाँ सेनाको जहाजसँगै कार्गाे विमान पनि विमानस्थलमा अवतरण भएको छ । सो जहाजले १ लाख ७९ हजार किलो राहत सामग्री ल्याएको छ । चिनियाँ जनमुक्ति सेनाको वाई–२० जहाज (पिएलए एएफ) बिहान छेन्दुबाट पोखरा आएको उडान भरेको थियो । राहत सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट रुकुम पश्चिम र नेपालगन्ज पु¥याउने बताइएको छ । उक्त राहातका समाग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्गले बुझेका थिए । चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको हो ।
जाजरकोट: जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब १ लाख ८० हजार नागरिक प्रभावित भएका छन् । जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ । प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ।
पाल्पा: पाल्पाको तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविनको नदीमा डुबेर मृत्यु भएको हो । मङ्गलबार दिउँसो भारतबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा आएका प्रविनको तिनाउ नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित ड्यामनजिकै साथीहरूसँगै फोटो खिच्ने क्रममा तिनाउ नदीमा लडेपछि डुबेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
गलकोट: बागलुङमा गत वर्षदेखि निर्माण थालिएको बिपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । बिपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । बिपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ । सहयोग सङ्कलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ । अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा झण्डै रु। एक करोड खर्च भइसकेको अध्यक्ष आचार्यले बताउनुभयो । उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट रु ५० लाख, बागलुङ नगरपालिकाबाट रु। २० लाख र जैमिनी नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ । यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट रु एक करोड ५९ लाख र जापानबाट रु ५० लाख सङ्कलन भएको छ । “सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ”, अध्यक्ष आचार्यले भन्नुभयो “अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आशा छ, सहयोग उठ्ने क्रम जारी छ ।” नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग सङ्कलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताउनुभयो । शेरचन हालैमात्र जापान भ्रमणमा पुगेर भवन निर्माणका लागि रु। ६० लाख सहयोग सङ्कलन गरेर फर्कनुभएको छ । रु १० करोड सहयोग जुटाउने नेपाली कांग्रेसको अभियान छ । बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद गरेर भवन निर्माण थालिएको हो ।
जाजरकोट: जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताए । भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उनले बताए ।
काठमाडौं: प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीन दिनभित्रै राहत सामग्री पठाइ सक्ने बताउनुभएको छ । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उहाँले राहत वितरणको काम तीव्र पारिने बताउनुभयो । “हामीले योजना बनाएर नै राहत वितरणको काम सुरु गरेका छौँ । कुन ठाउँमा कति क्षति भएको छ । कस्तो खालको राहतका सामग्री आवश्यक पर्ने हो । कुन क्षेत्रलाई हामीले बढी प्राथमिकतामा राखेर राहत वितरणको काम गर्ने भन्ने योजना बनाएर नै राहत वितरण हुन्छ”, शर्माले भन्नुभयो । राहत वितरणपछि पुनः निर्माण नभएसम्मका लागि अस्थायी बासको व्यवस्थाका लागि काम गर्ने र पुन: निर्माणमा लाग्ने उहाँको भनाइ थियो । भूकम्पका कारण अवरुद्ध भएको विद्युत तथा सडक मर्मत र फोन सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको शर्माले बताउनुभयो । जिल्ला व्यवस्थापन समितिमा आएको राहत स्थानीय तहलाई दिने र स्थानीय तहले बाँड्ने व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताए । गएको शुक्रवार राति जाजरकोटमा गएको भूकम्पका कारण भएको क्षतिले गर्दा देश नै शोकमा र सङ्कट परेको अवस्थामा राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय गरेको चालिसेले बताए । पौडेलले यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो । राष्ट्रपतिको भ्रमण सरकारले स्वीकृत गरिसकेको थियो ।
जाजरकोट: जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो । त्यस्तै टेकबहादुर पुनको व्यक्ति एकै र नाम दुई हुँदा संख्या दोहोरिएको थियो । जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यस मध्ये २८ महिला १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको प्रजिअ सुनारले बताए । मृत्यु हुनेमा ९७ सय महिला र ५६ पुरुष छन् ।