सोलुखुम्बु: एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पु¥याइएको थियो भने सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो । आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले राससलाई बताउनुभयो । मौसम खुलेपछि बिहानैदेखि काठमाडौँबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताउनुभयो ।
झापाः दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरुलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका प्रमुख मेघराज राईका अनुसार यही साता मात्र जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । गत शुक्रबार राति कमल गाउँपालिका–५ की ५८ वर्षीया खड्गमाया माबो, र बुधबार साँझ शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणम मृत्यु भएको उहाँले जानकारी दिनुभयो । एक सातामै छिमेकी पालिकाका दुई महिलाको मृत्यु भएपछि स्थानीयवासी त्रासमा छन् । हात्तीले कुन बेला कसलाई आक्रमण गर्ने हो भनेर रातभर निदाउन नसकिरहेको कमल–५ की ७० वर्षीया रुमा सुब्बाले बताउनुभयो । जिल्लाका १५ वटै पालिका हात्ती प्रभावित क्षेत्रमा पर्छ । जसमध्ये यस अवधिमा दमक नगरपालिकामा एक जना, शिवसताक्षीमा दुई जना, हल्दिबारीमा दुई जना र कमल गाउँपालिकामा एक जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ । पछिल्लो समय झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका २९ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन त्रस्त बनेको छ । हाल तीन जिल्लामा ६० वटाभन्दा बढी जङ्गली हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
काठमाडौं: महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषदको बैठकले रायलाई नियुक्त गर्न सिफारिस गरेको हो । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो । लामो समयसम्म रिक्त रहेको उक्त पदमा परिषदले रायको नाम सिफारिस गरेको हो । गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएको भएपछि उक्त पद रिक्त थियो । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपतिले उक्त पदमा नियुक्त गर्नेछन् ।
लमजुङ: पहिरोले बेसीसहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मर्स्याङदी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए। पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।
चितवन: पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । शनिवार बिहानै काठमाडौंबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको थियो । यो पनि पढ्नुहोस त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । गोरखा नगरपालिका ७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
गलकोट: पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो । बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ । भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरुका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताए । उनले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । ‘अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ,’ उनले भने । नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ ६.६ मिटर छ । पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइदैछ ।
चितवन: चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् । मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।
काठमाडौंः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापन, उपयोग, संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ठूलो पानीको सहज व्यवस्थापनका सन्दर्भमा भएको अध्ययन प्रतिवेदनलाई राजनीतिकर्मीले स्वीकार गरी नीतिगत कार्यान्वयनमा लैजानुपर्ने मन्त्री बस्नेतको भनाइ छ । पानीको सहज व्यवस्थापनका लागि थप गम्भीर बन्नुपर्ने, समस्याको पहिचान गरेर अगाडि बढ्नु आजको प्रमुख कार्यभार भएको उहाँले स्पष्ट पार्नुभयो । जलस्रोतको व्यवस्थापनलाई एकीकृत दृष्टिकोणका साथ हेर्नुपर्ने विषयमा यस अध्ययनले विशेष जोड दिएकोमा मन्त्री बस्नेतले प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । नदी बेसिनको बहुपक्षीय प्रयोगलाई विशेष ध्यान दिँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको र कानुनी एवं संरचनागत विषयलाई ध्यान दिँदै बजेटको विनियोजनलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । जलवायु उत्थानशील जलस्रोत व्यवस्थापनका लागि विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापनमा परेका बाधा अड्चन लगायतका विषय अध्ययन प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
चितवनः अनुचित लेनदेन (मिटर ब्याज) का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो । अन्य मुद्दामाथिसमेत दुई पक्षलाई बोलाएर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार माघ ११ गतेदेखि गृह मन्त्रालयको निर्देशनअनुसार अनुचित लेनदेनका निवेदन प्रहरीले हेर्न थालेको हो । सो क्रममा १६ लाख बराबरका निवेदनमा मिलापत्र भएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा ८६ निवेदनमध्ये २३ निवेदन कार्यालयले प्रहरीमा नआउँदै मिलापत्र गरेको थियो । भण्डारीका अनुसार अहिले प्रहरीले अनुचित लेनदेनका निवेदन नियमित लिने गरेको छ । निवेदनमाथि छलफल गराउँदा अनुचित ठहरिए सोहीअनुसार अघि बढ्ने र छलफलका क्रममा मिलापत्र भए मिलापत्र गर्ने गरेको उहाँले बताउनुभयो । प्रहरीमा निवेदन आएसँगै अहिलेसम्म कुनै पनि मुद्दा अदालतमा नगएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी छलफलबाट समस्या समाधानका लागि लाग्छौँ, नमिलेको खण्डमा मात्रै मुद्दा दर्ता प्रक्रियामा अघि बढाउँछौँ ।” बाँकी रहेका निवेदनमासमेत वादी र प्रतिवादी बोलाएर छलफल गराउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

