पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार स...

काठमाण्डौ:  सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मंगलवार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।    सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । सोमवार रातिदेखि नै बेपत्ता चौधरीको शव मंगलवार बाँके खोलामा फेला परेको थियो ।    त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बाग्मती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको ज्यान गएको हो । स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेका थिए । बाग्मतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।   यसैबीच बाढीका कारण बाग्मती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मंगलवार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।   त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बाग्मती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए । 

बैतडी:     महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति सर्पले टोकेको र बुधवार बिहान किशोरीको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो । अनिता जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्ययनरत रहेको स्थानीय वीरेन्द्र चन्दले जानकारी दिनुभयो । किशोरीका बुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ ।    छाउपडी कानुन कागजमै सीमित छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि सुदूरपश्चिममा उक्त कानुनबारे गाउँ समाज बेखबर रहेको पाइएको छ ।  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ । यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था यस ऐनमा गरिएको छ ।  सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने सजाय भन्दा दोब्बर सजाय हुने व्यवस्था गरिएको छ ।  सोही कानुनको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडा बापत मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ ।

डोटी:      डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् ।  दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीले जानकारी दिनुभयो । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली छन् ।  बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक जोशीले बताउनुभयो ।

गोरखा:     गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ । स्थानीयसहित विभिन्न सङ्घ संस्थाले बरामद् गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद् सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा। सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा आइपुग्नुभएको गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जानकारी दिनुभयो । “ढुङ्गा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेको थियो”, उहाँले भन्नुभयो, “विभागले परीक्षण गर्न समस्या हुने भएकाले विभागमै ल्याउन भनेपनि लैजान समस्या भएपछि पुनः पत्राचार गरी विज्ञहरुको टोली जिल्लामै झिकाइएको हो ।” विभागले आवश्यक उपकरण सहितको विज्ञहरुको टोली पठाएको उहाँले बताउनुभयो ।  बराम्द गरिएको टल्कने ढुङ्गाको तौल ५४ केजी छ । एकातिरबाट लाइट बाल्दाभित्रैबाट अर्कोतिर उज्यालो बारपार हुने उक्त ढुङ्गा पुर्ख्यौली सम्पत्तिका रुपमा  घरमै राखिएको पाइएको थियो । प्रहरीले बरामद् गरेलगत्तै पनि भूगर्भविद्लाई भिडियो कल गरेर देखाउँदा विज्ञहरुले उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको हुनसक्न बताएका थिए । ‘क्वार्ज क्रिष्टल’ भए पनि कुन गुणस्तरको भन्ने कुराको परीक्षण गर्न विज्ञसहितको टोली नै गोरखा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । टल्कने ढुङ्गा वर्षौंदेखि घरमा पूजा गर्दै आएको पाइएपछि उक्त ढुङ्गा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घ संस्थाले माग गर्दै आएका छन् । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै उक्त शिला गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गर्नुपर्नेमा सङ्घ संस्थाको जोड छ । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अलौकिक प्रकारको बल्ने शीला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाइ मूलधनीको ईच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने माग स्थानीयको छ । 

काठमाडौं:     निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा भएका केही प्रावधान खारेजीको माग गरेर आन्दोलनको घोषणा गरेका छन् ।  निजी विद्यालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन गर्नपर्ने मागसहित विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आज मङ्गलवार काठमाडौं प्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गर्दै विधेयकमा राखिएका केही प्रावधान निजी लगानीका संस्थागत विद्यालयहरूप्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरीत, अव्यावहारिक र अन्यायपूर्ण भएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरूले भोली बुधवार पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पर्सि बिहीवार मस्यौदा विरोध प्रदर्शन गर्ने, साउन २६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, साउन २७ गते आ–आफ्नो सङ्गठनमा समीक्षा गर्ने, साउन २८ गते अनिश्चितकालीन विद्यालय बन्द गर्ने र साउन २९ गते अनिश्चितकालीन विद्यालय बन्दसँगै विद्यालयका गाडी सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् । पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयहरूले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनुपर्ने, पालिकाले तोकेको सीमाभित्र रहेर शुल्क लिन पाउने, फेरि जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग बिउँताउनेलगायतका विधेयकमा भएका विषय संशोधन गर्न निजी विद्यालय सञ्चालकहरूले माग गरेका छन् । अहिले विधेयकमा भएका केही बाध्यात्मक प्रावधान संविधानको भावना विपरीत, अव्यावहारिक र दुराशययुक्त रहेकोले आन्दोलन गर्न बाध्य भएको उनीहरूको जिकिर छ ।

काठमाडौं:     गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई सरकारले दिएको विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ । मन्त्रालयले पुनलाई एक जानकारी पत्र पठाएर नेपाल सरकारले दिएको मानपदवी उज्जवल कीर्तियम राष्ट्रदीप द्वितीय श्रेणी न्यूनतम मूल्यसमेत उल्लेख गरेर बिक्रीका लागि लिलामीमा राखिएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएकोले त्यसो नगर्न आग्रह गरेको हो । कुनै नेपाली र विदेशीलाई दिएको मानपदवी र विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा वा मर्यादा विपरीत हुने गरी प्रयोग गरेमा सरकारले विभूषण रद्द गर्ने विषय पनि स्मरण गराएको छ । यसरी विभूषण नै रद्द भएपछि पाउने व्यक्तिको नामसमेत रद्द गरेर सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन हुने विषय पनि गृह मन्त्रालयले प्रष्ट पारेको छ । महावीर पुनजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त रहेको पनि पत्रमा उल्लेख छ ।  

बेनी:     बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले  वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।  रघुगङ्गा गाउँपालिका–२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो । रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ । त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला सडक योजना०लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगङ्गा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख राजकुमार थापाले बताउनुभयो । बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी–जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ । सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिनुभयो । बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन् । गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्न थालेको थियो ।  यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो । 

चितवन:     कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६  मा पर्ने कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन तयारी भइरहे पनि ठूलो पानी परिरहेकाले कठिनाइ भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । पहिरो हटाउन समय लाग्न सक्ने  भएकाले यो सडक भएर सकेसम्म यात्रा नगर्न प्रहरीको अनुरोध छ । नारायणगढ–मुग्लिन सडक खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

स्याङ्जा:    स्याङ्जाको भिरकोट नगरपालिका –४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट स्याङ्जाको वालिङतर्फ जादैगरेको बा ३ प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमवार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।  घाइतेमध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । माइक्रो चालक गल्याङ नगरपालिकामा बस्ने ४० बर्षीय पूरन बोहोरा र परिचय नखुलेका माइक्रो सहचालकलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ ।  दुर्घटनामा परी स्याङजा वालिङ २ का पबित्रा सोनाम, वालिङ ९ का दुर्गा ब।गुरुङ, वडा नं. २ का मुना गुरुङ, वडा १३ का मन्जु एस्के, वडा ८ का सरिता रेग्मी, भिरकोट घर भई वालिङ १ बस्ने मनसुभा नेपाली, चापाकोट ३ का बेद ब. थापा, चापाकोट ४ का मिन ब. सारु, पर्बतको बिहादी गाउँपालिका ४ का रुकमागत भुसाल, बिहादी ६ का टेक ब. बस्याल, वालिङ २ का सुमित्रा थापा मगर रहेका छन् । सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ । भारतीय बसमा सवार ४८ जना  सबै सकुशल रहेको प्रबक्ता सुवेदीले जानकारी दिनुभयो । दुबै सवारी साधन र भारतीय बस चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।