काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

धनगढी:    धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक मृत फेला परेका हुन्। बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। उनको परिवार धनगढीमा बस्दै आएको थियो। कामबाट बिदा मागेर उनी धनगढी आएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तनहुँ:    तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन्  । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो ।  फौजी कीराले मकैमा क्षति भएको  स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिए । फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उनले बताए । उनले भने, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी  प्रयोग पनि भएको छ ।” आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी छरिएको जानकारी दिए । उनले भने, “हालसम्म गाउँपालिकाको वडा नम्बर २ ढापटारमा समस्या देखियो, जानकारी पाउनेबित्तिकै हामीले कीटनाशक औषधि छरेर  किसानलाई यसबारेमा सचेत पारेका छौँ ।” विषादी प्रयोगबारे जानकार किसानले रोग नियन्त्रण गरिरहेका छन् ।  रोग नियन्त्रणका लागि जैविक विषादी झोल (निम, खुर्सानी, तितेपानी, लसुन, असुरो) प्रयोग गर्न सकिने केसीले बताए । मसिनो माटो, बालुवा, काठको धुलो, खरानी हालेर पनि कीरा नियन्त्रण गर्न सकिने उनले जानकारी दिए । 

चितवन:    त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्। गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोकाको शव भेटिएको हो। उनको शव बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको छ। गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो। बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको थियो। मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ। दुर्घटनामा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोका, २८ वर्षीया अन्जना रोका, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोका र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।

सप्तरी:     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ  । लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत राजेशकुमार झाले राससलाई जानकारी दिनुभयो ।  वडा सदस्य रायको ७० वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ  । न्यायिक समितिमा रही निजले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । गाउँपालिका तथा मातहतका कार्यालय ९अति आवश्यक सेवाबाहेक० आज बन्द रहने गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । दिवङ्गत रायको दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ । दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सद्गत गरिने वडा नं ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले बताउनुभयो  ।

पोखरा:     सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले २१ औ स्थापना दिवस मनाएको छ । स्थापनासँगै नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले सामुदायिक सेवा केन्द्र वगरका हरेक गतिविधि उत्कृष्टता रहेको बताए ।  ‘सामुदायिक सेवा केन्द्रका हरेक गतिविधिले समाजका विकृति विसंगती न्यूनिकरण गर्न प्रहरीलाई सहयोग पुगेको छ’ प्रहरी उपरीक्षक थापाले भने, ‘आगामि दिनमा पनि संस्था गतिविधि क्रियाशिलता रहने विश्वास व्यक्त गर्दछु ।’ कास्की जिल्लामा सामुदायिकको सक्रियता नमुनाको रुपमा रहेको उनको भनाई थियो । वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सामुदायिक सेवा केन्द्र बगरले गर्ने हरेक गतिविधिमा आफ्नो कार्यालयको तर्फबाट सहयोग रहने बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले प्रहरी र नागरीक वीचको सम्वन्ध जोड्ने काममा सामुदायिक सेवा केन्द्र अग्रणी भागमा रहेको बताइन् ।  कार्यक्रममा अस्थायी प्रहरी पोष्ट वगरका इन्चार्ज कृष्णबहादुर लामिछाने प्रहरी वरिष्ठ नायव निरीक्षक बाट प्रहरी निरीक्षकमा पदोन्नती भएकोमा सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा रामजी पौडेल, सदस्य लागु औषध नियन्त्रण तथा समाज स्ुधार आमा समूहकी अध्यक्ष कल्पना आचार्य बास्तोला सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष धर्मराज आचार्य, सामुदायिक सेवा केन्द्र वगरका निवर्तमान अध्यक्ष रामभूषण पराजुलीले र सचिव शिवराज अधिकारीले बोलेका थिए ।  

पर्वत:    पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पती मृत फेला परेका छन् ।  अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।  उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको बारेमा जानकारी पाएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।