तनहुँ: व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी वर्षायाम प्रारम्भ हुन धेरै समय बाँकी नभएकाले सडक निर्माणकार्यलाई तीव्र गतिमा अघि बढाउन यही महिनाभित्र सडक किनारका भौतिक संरचना हटाउन अनुरोध गरेको हो । साथै उनले सडक विस्तार आयोजना कार्यालमा सम्पर्क गरी मुआब्जा रकम लिन आग्रह पनि गरे। “मुख्य बजार खण्डमा घरटहरा नभत्काउँदा काममा ढिलाइ भइरहेको छ । सडक विस्तार, विद्युत् पोल स्थानान्तरण कार्यमा सहयोग गरिदिनुहुनेछ भन्नेमा नगरपालिका विश्वस्त छ,” विज्ञप्तिमा भनिएको छ । मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछ । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको मूलद्वार, दुर्गा मन्दिरलगायत संरचना परेका छन् । पैतालीस जनाले पहिलो किस्ताबापतको मुआब्जा रकम बुझिसकेका उनले बताए ।
काठमाडौं: रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने १० पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।
काठमाडौं: पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँले वृद्धि भएको छ। सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो। नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ। निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँ ७६ पैसाले बढेर आएको हो। निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ। पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपियाँ एक सय ७२ रुपियाँ ५० पैसा रहेको छ। यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा जीप दुर्घटना हुँदा घाइते भएका १२ जना मध्य २ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा घाइते भएका १० जना मध्य ६ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना मध्ये १ जनालाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको थियो ।
पोखरा: पोखराबाट भदौरे जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिउँसो पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्र्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते मध्य ५ जनालाई उद्धार गरी अस्पताल ल्याउँदै गरेको स्थानीय विश्वदल गुरुङले जाननकारी दिए । दुर्घटना सम्बन्धि थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।
पोखरा: नेशनल क्रियशन एकेडेमी पोखरा– ८ नागढु·ामा शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको २०७९ को शैक्षिक तथा २०८० को अतिरिक्त क्रियाकलापको पुस्कार वितरण गरिएको हो । कार्यक्रममा शैक्षिक तर्फ ट्रफी र अतिरिक्त क्रियाकलाप तर्फ मेडल प्रदान गरिएको थियोे । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हर पल लागि रहेको बताए । ‘नयाँ नयाँ प्रविधिको विकास सँगै विद्यालयको पठन पाठनलाई पनि प्रविधि मैत्री बनाउदै गएका छौं’ संस्थापक प्रिन्सिपल थापाले भने,‘ विश्व वाजरमा विक्ने खालको शिक्षा दिन विद्यालय तल्लीन छ ।’ उनले हरेक वर्ष विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरणले थप उर्जा मिल्ने साथै सांस्कृति कार्यक्रमले प्रतिभा प्रस्फुटन गर्न मद्दत मिल्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रशाशक विक्रम बहादुर थापा, अतिरिक्त क्रियाकलाप प्रमुख सुदामा रेग्मी, नेपाली विभाग प्रमुख सृजना आचार्य थापाले बोलेका थिए । उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।
तनहुँः ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आज संयुक्तरुपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार ४९३ मि लामो सुरुङ ‘ब्रेक थ्रु’ छ । मुख्य सुरुङको व्यास सात दशमलव चार मिटर रहनेछ । अब मुख्य सुरुङको कङ्क्रिट लाइनिङ गरिनेछ । मुख्य सुरुङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ । सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । “कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोसी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ”, उहाँले भन्नुभयो । सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । “मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थु्र गरी आयोजनाका मुख्य माइलस्टोनहरु पूरा भएका छन्, निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणलाई तीव्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेवार भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण चाँडै अगाडि बढाइने बताउनुभयो । आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा जानकारी गराउनुभएको थियो । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरिएको छ । निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । समग्र निर्माण वि.सं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्म नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध निर्माण धमाधम भइरहेको छ । आगामी असार दोस्रो साताभित्र जग खन्ने काम सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । प्याकेज–१को समग्र भौतिक प्रगति २९ प्रतिशत छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेशन, भियतनाम–कालिका कन्स्ट्रक्सनले काम गरिरहेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माणको काम सिनो हाइड्रो कर्पोरेशन, चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने काम सम्पन्न गरी कङ्क्रिटिङ स्वीचयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायतका काम भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३र११ केभीका दुई वटा सवस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्ध निर्माणलगायतका गरी ५६ वटा परियोजना सम्पन्न भएका छन् । सात वटा परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
पोखरा: सेती नदीमा हाम फालेर बेपत्ता भएका पोखरा–१६का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोलिने भएको छ । गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोला नभेटिपछि कास्की प्रहरीले भोलि (सोमबार) ड्याम खोलेर खोज्ने तयारी गरेको हो । पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम भोलि खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने कास्की प्रहरीले जनाएको छ । गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोलालाई प्रहरीले परिवारको आग्रहपछि फागुन २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो । बास्तोलाको परिवारले पुनः दोस्रो ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चैत १५ गते ड्याम खोलेर नदीमा बेपत्ता बास्तोलाको खोजतलाज गर्ने तयारी गरेपनि मौसममा आएको परिवर्तनका कारण ड्याम खोल्न सूचना स्थगित गरेको थियो ।

