काठमाडौं: थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए। थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो। गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए। गाडी के कारणले दुर्घटना भएको हो भन्ने विषय खुलेको छैन। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ। घटनास्थलमा पानीघाटमा रहेको सेनाको टोली समेत पुगेको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो । बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । यसअघि असार ३१ गते आइतबार बसेको प्रतिनिधि सभाको बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको थियो । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो । अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदेनसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा बिहीबार राष्ट्रिय सभाले संशोधन स्वीकार गरी पुन: पारित गरेको थियो ।
पोखरा: कर तिर्नेलाई कदर गर्ने नीतिका साथ पोखरा वडा नंं ९ कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने दुई संस्थालाई सम्मान गरेको छ । वडा स्थित पोखरा ओम हस्पिटल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. र गोशली हाउसलाई सम्मानपत्र र मायाको चिनो दिएर कदर गरेको हो । पोखरा वडा नंं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले नियमित कर तिर्ने दुई संस्थालाई गरिएको सम्मान करदातालाई उत्साहित गर्ने अभियान रहेको बताए । ‘राज्यले कर लिने मात्र होइन, व्यवसायीलाई उत्साहित गर्नका लागि सम्मान गर्न पनि यस्ता कार्यक्रम जरुरी छ । त्यसैले हामी करदाताकै कार्यालयमा स्वयं उपस्थित भएर सम्मान गरेका हौँँ ।’ वडा अध्यक्ष मर्सानी नेतृत्वको टोली प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिलाई साथै लिएर करदाताकै कार्यालयहरुमा पुगी सम्मान गरेको हो । अध्यक्ष प्रजापति, वडाध्यक्ष मर्सानीले ओम हस्पिटल प्रालिका अध्यक्ष डा. मुकुन्दप्रसाद आचार्यलाई र गोशली हाउसका अध्यक्ष शुशिल कुमार गोशलीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे । पोउवा संघ अध्यक्ष प्रजापतिले मुलुक चलाउनका लागि अर्थतन्त्र मूल आधार भएकाले करको दायरालाई फराकिलो बनाउँदै सबैलाई कर प्रणालीमा सहभागी गराउनुपर्नेमा जोड दिए । व्यवसायीसमेत रहेका प्रजापतिले करको दर नभई दायरालाई बढाउनुपर्ने धारणा राखे । व्यवसायी मैत्री कर प्रणालीलाई ध्यान दिँदै मित्रवत् व्यवहार गर्नुपर्नेमा पनि उनले जोड दिए । वडासचिव कुलराज पौड्यालले करदातालाई करको दायरामा समाहित गराउनका लागि कर शिक्षा जरुरी रहने भएकाले वडाबासीलाई सचेत गराइने बताए । सबैभन्दा बढी व्यवसाय शुल्क तिरेर सम्मानित करदाता ओम हस्पिटलका अध्यक्ष डा. मुकुन्द आचार्यले पहिलो पटक घरदैलोमै आएर वडाले सम्मान गर्दा स्थानिय सरकार रहेको अनुभूति भएको बताए । सबैभन्दा बढी एकीकृत सम्पति कर बुझाउने गोशली हाउसका शुशिल कुमार गोशलीले कर तिर्दा मुलुक सञ्चालन र विकास निर्माणमा सहयोग पुग्ने भएकाले सबैले कर तिर्नुपर्ने बताए । व्यवसाय दर्ता अभियान तथा अनुगमन कार्यक्रम यसैबीच, वडाले राजश्व अभिवृद्धिका लागि व्यवसाय दर्ता अभियान तथा अनुगमन कार्यक्रम पनि गरेको छ । अध्यक्ष, सचिव, जनप्रतिनिधिहरू भावना श्रेष्ठ, गीता चर्माकार, नन्दराम गिरी, लक्षमी पहारीसहितको वडाको टोली पसल पसल पुगी व्यवसाय दर्ता भए नभएको अनुगमन गरी नगरेको खण्डमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ। जंगली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन्। बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो। स्थानीय नेत्रबहादुर सारुले भने, ‘उपचारका क्रममा मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको हो,’ उनले भने, ‘लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको हो।’ बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको स्थानीय सारुले बताए। गत वर्ष पनि जङ्गलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जङ्गलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् रहेको स्थानीयवासी तारा पुलामीले बताए।
काठमाडौं: युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ बस्ने २२ वर्षीय मोहन भण्डारी रहेका छन् । प्रहरीलाई प्राप्त सूचना अनुसार फरार भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौंबाट खटिएको विशेष प्रहरी टोलीले नयाँ बानेश्वरबाट आज पक्राउ गरेको हो । उनी विरुद्ध (परतिवर्तित नाम) गोयलीले जाहेरी दिएकी थिइन् । त्यसपछि सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ खोजी गरेको थियो । अहिले घटनासम्बन्धि थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर गैरहाजिरी हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । गैरहाजिरी रहेका एक जना हवल्दार, पाँच जना सहायक हवल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो । निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
पाेखरा: अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्। सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ। यस्तै, बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गतको सडक पाल्पाको ६ स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको छ। यसवर्ष मनसुन सुरू भएयता ११४ स्थानमा सडक अवरूद्ध भएको विभागले जानकारी दिएको छ। त्यसमध्ये ३ राजमार्ग ८ ठाउँमा अवरूद्धको अवस्थामा छन् भने १९ स्थानमा एकतर्फी सञ्चालनमा छन्। ८७ स्थानमा दुवैतर्फ चालु रहेको विभागको भनाइ छ। मौसमजन्य विपदका कारण राजमार्गमा २४ करोड ९८ लाख ३० हजार बराबर क्षति पुगेको विभागको अनुमान छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीको निजी सचिवालयले अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो । साथै प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भ्रष्टाचार र तस्करीलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा तपाईँहरूको साथ आवश्यक रहेको बताउनुभयो । यसैगरी, सो अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरूमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिनुका साथै आफूहरू साथमा रहने प्रतिबद्धता प्रतिनिधिहरूले जनाउनुभयो । कार्यक्रमको सुरुमा प्रधानमन्त्रीकी जीवनसङ्गिनी स्व। सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
ढोरपाटन: ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् । यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ । उच्च पहाडी क्षेत्र भएको हुँदा शान्त वातावरण र स्वच्छ हावापानी यहाँ पाइन्छ । बजारको गर्मीले आजित बनेकाहरू शीतलताका लागि बर्खायाममा ढोरपाटन पुग्छन् । ढोरपाटनसम्म साना खहरे खोला पार गर्दै पुगे पनि उत्तरगङ्गा नदी तर्न गाह्रो पर्छ । हरेक वर्षातको समयमा उत्तरगङ्गा नदीमा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रबाट पारीपट्टीका सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायतका ठाउँमा पुग्न पैदल यात्रा नै गर्नुपर्ने बाध्यता छ । विशेषगरी सेलपाखे र सिकार आरक्ष क्षेत्र घुम्न अतिउपयुक्त मानिन्छ । पुल नबन्दा ढोरपाटन पुग्ने धेरै जसो पर्यटक यी ठाउँमा पुग्नबाट वञ्चित हुने गरेका छन् । बुर्तिबाङदेखि ढोरपाटन सडकले जोडिएको दशक बढी हुन थाल्यो, तर उत्तरगङ्गामा पुल निर्माण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । उत्तरगङ्गा नदी हिउँदमा वारपार गर्न सकिने हुँदा स्थानीयले पशुचौपाया पनि खोला तार्ने गर्छन् भने गाडी पनि सहजरुपमा वारपार गर्न सक्छन् । केही दिनदेखिको वर्षाले उत्तरगङ्गा बढेर सतह पार गरेको छ । मान्छे वारपार गर्न नवी र मोराङ दोगाडी घाटमा झोलुङ्गे पुल बने पनि मोटरेवल पुल भने अहिलेसम्म बन्न सकेको छैन । सेलपाखे मैदानमा यतिबेला वनफूलसँगै विभिन्न प्रकारका फूलले भरिएको र पारी पुग्ने पुल नहुँदा टाढैबाट पर्यटक लोभिने गरेका छन् । उत्तरगङ्गा नदीमा पुलको माग गरेको बर्षौँ भए पनि अहिलेसम्म बन्नका लागि कुनै प्रक्रिया अगाडि नबढेको स्थानीय कुलबहादुर सुनारले बताउनुभयो । उहाँले नदिमाथि पुल बने ढोर बराह मन्दिरमा आउने सबै पर्यटक सिकार आरक्ष कार्यालय क्षेत्र तथा ठुलो समरथर मैदानमा पुग्नसक्ने बताउनुभयो । सुनारले भन्नुभयो, “ढोरपाटन मोटरबाटले जोडिएदेखि हामी यहाँका गाउँलेले सरकारलाई धेरैपटक पुल बनाउनका लागि माग ग¥यौँ, तर अहिलेसम्म कुनै पनि निकायबाट सुनुवाइ हुन सकेको छैन, मान्छे तर्ने झोलुङ्गे पुल पनि दुई ठाउँमा मात्रै छ, बीच भागमा मोटर गुड्न पुल बने धेरै सजिलो हुने थियो, घुम्न आउने पनि गाडीमै ढोरपाटन उपत्यका घुम्न पाउँथे, अहिले त बराह मन्दिर नजिक गाडी पार्किङ गरेर पारी पुग्नुपर्ने अवस्था छ ।” ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले उत्तरगङ्गा नदीमा एउटा पनि मोटरेवल पुल निर्माण नहुँदा स्थानीय र पर्यटकलाई वारपारमा समस्या भएको बताउनुभयो । हिउँदको समयमा कुनै समस्या नपर्ने र बर्खामा नदीमा बाढी आउँदा यात्रा गर्न नसकिने उहाँको भनाइ छ । उहाँले नगरपालिकाले आर्थिक वर्ष २०७९र८० मा नवी गाउँ नजिकै पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरेको बताउनुभयो । डिपिआर तयार गर्दा नगरपालिकाले रु १० लाख खर्च गरेको उपप्रमुख कायतको भनाइ छ । “ढोरपाटन प्राकृतिक सौन्दर्यले गर्दा विश्वमा चर्चित बन्यो, तर यहाँ अहिलेसम्म ठूलाठूला विकास निर्माणका काम हुन सकेका छैनन्, हामी निर्वाचित भएर आएपछि केही कामको थालनी गरेका छौँ, अहिले तत्कालका लागि उत्तरगङ्गामा पुल आवश्यक छ, नगरपालिकाको बजेटले भ्याउँदैन, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर बनाउने योजना छ”, उहाँले भन्नुभयो, “पुल नबन्दा ढोरपाटन पुगेका हजारौँ पर्यटक वास्तविक ढोरपाटन देख्न र घुम्नबाट वञ्चित भएका छन्, अहिले त नदी बढेर माथिमाथि आएको छ, केही दिन अगाडि म ढोरपाटन पुगेको थिए, खोला तर्न सकिएन, अब हिउँद नलागेसम्म यस्तै हो ।” ढोरपाटन पुग्न छैन सहज बुर्तिबाङ बजारदेखि बोबाङ गाउँसम्म सडक सहज भए पनि दुनेपँधेरा, फल्लेघर हुँदै ढोरपाटन पुग्न भने निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधन ढोरपाटन पुग्न सक्दैनन् । यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधन बीचबाटोमै बिग्रने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेको स्थानीय बुद्धिमान पुनले बताउनुभयो । वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन हुने पुन बताउनुहुन्छ । यो सडक राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गतको सालझन्डी–ढोरपाटन आयोजनाअन्तरगत पर्छ । सडकले रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहजरुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा बस्तुभाउ तथा मान्छेलाई लेकबेँसी गर्न सकस पर्ने पुनको भनाइ छ ।