काठमाडौं: नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
काठमाडौंः होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनले भने, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको हकमा छानबिन भइरहेको छ ।” जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे्रे सात वटा सवारी साधनलई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ । लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो । फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताउनुभयो । भेटमा प्रधानमन्त्री दाहालले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी हुनुभएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिनुभएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । सो अवसरमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो । भेटघाटका क्रममा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।
अछाम: अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएको प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
ललितपुर: ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । होली खेल्ने क्रममा गएराति दुई समूहबीच झडप भएको थियो । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए । उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
डोटी: डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज मृत्यु भएको बताए । ओझासँगै ढिस्कोमा पुरिएका ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको प्रनाउ श्रीवास्तवले जानकारी दिए । खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको बताइएको छ । स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो वढी मात्रामा प्रयोग गर्दछन् ।
स्याङ्जा: स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ६ भिडाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ५४ वर्षीय हर्कबहादुर गोदरको मृत्यु भएको स्थानीय ऋषि तिवारी(राजु)ले बताए । गोदार घर नजिकैको गोरेटो बाटो हिँड्ने क्रममा हाइटेन्सन लाइन चुटेर घाटीमा छोइँदा घटनास्थलमै मृत्यु भएको हो । प्रहरी घटना स्थलमा पुगेको र अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं: उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा जाँदैछन् । श्रेष्ठ परराष्ट्रमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ सहितको टोली चीन भ्रमण जान लागेको हो । उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने कार्यसूची छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

