उदयपुर: होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएकी त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेको र बिहान जाल हेर्न जाँदा मृतक मगरको शव पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रेखाको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बताए ।मङ्गलबार मात्र बेपत्ता तीनमध्ये ८ वर्षीय रिदम मगरको शव पनि घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो । तीन दिनअघि त्रिनपा–१४ साउनेका १२ वर्षीया रेखा मगर, १४ वर्षीय लोकबहादुर मगर र ८ वर्षीय रिदम मगर होली खेलेर सुनकोशीमा नुहाउन जाँदा नदीमा बेपत्ता भएका थिए । बेपत्ता बालबालिकाको प्रहरी र स्थानीयसहित सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी जारी राखेका छन् । हराएकामध्ये मङ्गलबार साँझ रिदम मगरको शव फेला परेको थियो । अर्का बेपत्ता १० वर्षीय लोकबहादुर मगरको शव फेला पर्न नसकेको पनि प्रहरीले जनाएको छ ।
पाल्पा: पाल्पामा एक युवती धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेकी छन् । रिब्दीकोट गाउँपालिका वडा नं। १ ख्याहाकी १८ वर्षीया पद्यमा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी हुन् । बिहान नौ बजेतिर नुहाउन भनी घरबाट हिडेकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि एक किलोमटिरको पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिए । वडाध्यक्ष पोखरेलकाअनुसार उनको हातको औला, पाखुरा र अन्य स्थानमा पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । घटनाबारे अनुसन्धानका लागि जिल्लास्थित प्रहरीको टोली र स्थानीय घटनास्थलमा पुगेका छन् । घटनास्थल पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठले पनि धारितो हतियार प्रयोग भएको हुँदा हत्या भएको हुने सक्ने बताए । अनुसन्धान जारी रहेको हुँदा घटनाको पूर्ण विवरण आउन बाँकी रहेको श्रेष्ठको भनाइ छ ।
पाल्पा: पाल्पामा अवैध भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध भरुवा बन्दुक बोकेर हिंडेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङ्ग्ढीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रैनादेवी छहरा(७, का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका(५, का ३८ वर्षीय सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु र रैनादेवी छहरा–७ का २४ वर्षीय रमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। उनीहरुको साथबाट एक थान भरुवा बन्दुकसहित छर्रा र बारुद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै सोही गाउँपालिकाको अर्को वडाबाट एक जनालाई पनि प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।
तनहुँ: तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताउनुभएको छ । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उहाँले बताउनुभयो । विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।
काठमाडौंः इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ । पाँचथर तथा ताप्लेजुङ जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसन लाइनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाउँपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेशनमा जडान गरिएको छ । २०७८ साल साउन २३ गतेबाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पूरा गरेको हो। यो आयोजना निर्माण सम्पन्न गर्नका लागि एक सय ९४ करोड रुपियाँ लागत लागेको छ । जसमध्ये संस्थापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नविल बैङ्क लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाउँपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावर हाउसमा पानी खसाली विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावर हाउसको काम लटिनाथ कन्स्ट्रक्सन कम्पनी प्रालि र इन्टेक तथा पाइप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो । यसको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो । यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरू युरोपियन प्रविधिको छनोट गरी जेपट हाइड्रो अस्ट्रियाबाट खरिद गरिएको कम्पनीका कार्यकारी सञ्चालक सतिस न्यौपानेले जानकारी दिनुभयो । जेपट हाइड्रो अस्ट्रियाबाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनबाट आयात गरिएको जेनेरेटर राखिएको छ । कन्ट्रोल रुममा राखिएका प्यानल वोर्डहरु क्रोएसियाको प्रो–इन्ट्रीगिस कम्पनीबाट आयात गरिएको समेत न्यौपानेले बताउनुभयो । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको छ । गुरुप्रसाद न्यौपानेको अगुवाइमा प्रवर्द्धन गरिएका न्यौपाने समूहको अगुवाइमा रहेका आयोजनाको सङ्ख्या १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सबस्टेशनमा जडान गरी आरपुर–दमक १३२ केभि ट्रान्समिसन लाइनमार्फत नेपालभर आपूर्ति भएको छ ।
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको छ । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली २४ सै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए । उनले सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको बताए । यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ । जिम्मेवारी ईलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका वर्तमान स्थितिबारे जानकारी लिनुकासाथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणबारे जानकारी अद्यावधिक हुनगई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिबृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरु समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन हुनेछ । साथै एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग ‘लिङ्कअप’ गरी गस्तीलाई चक्रको रुपमा निरन्तरता दिने जनाइएको छ ।
काठमाडौं: प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । उनका अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो । निजहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए ।
धनुषा: धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए ।
म्याग्दी: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिनुभयो । “नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।” सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताउनुभयो । यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ । सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो । विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “सामान्य अवस्थामा २० मिनेटमा बेनीबाट मालढुङ्गा पुगिन्थ्यो, अहिले एक घण्टा लाग्छ”, उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो भएकाले बेनी–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्नुपर्दा गाडी र ढुवानी भाडा बढेको छ ।” यो सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । बेनी–मालढुङ्गा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरलानाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।

