काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

मकवानपुरः  चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सम्झौता भएको छ ।   सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान र प्रदेशका छ स्थानीय तहका प्रमुख-उपप्रमुखबिच सहमति भएको हो ।    चेपाङ समुदायको बाहुल्यता रहेको प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवनका गरी छ वटा पालिकासँग सम्झौता भएको हो ।   जसअनुसार मकवानपुरको राक्सिराङ, धादिङको गजुरी र बेनिघाट रोराङ तथा चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकासँग प्रदेश सरकारले सम्झौता गरेको हो ।   प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यक्रममा नै समावेश गरी सिमान्तकृत जातिको उत्थानका लागि चिउरी र चमेरो संरक्षणको कार्यक्रम अघि सारेको थियो ।    उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले गत ११ माघमा बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० स्वीकृत गरेको थियो ।   यस्तै प्रदेश सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ५० लाख बजेटसमेत विनियोजन गरेको छ । कार्यक्रम स्थानीय तहको २० प्रतिशत र प्रदेश सरकारको ८० प्रतिशत साझेदारीमा कार्यान्वयन हुनेछ ।   कार्यक्रममा स्थानीय सरकारले सात लाख ७५ हजार लगानी गर्नुपर्नेछ । सम्झौता कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थानका लागि उनीहरुको परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरो संरक्षणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।   सरकारले कार्यविधि नै बनाएर काम सुरु गरेकाले यसमा पालिकाहरुले पनि अपनत्व लिनुपर्ने उहाँको भनाइ छ । 

काठमाडौंः  मुलुकभरका सामुदायिक वनहरूको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले वन डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन  माग गरेको छ ।   फेकोफनले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेकोफनले घाइतेहरूको उपचार समयमै र निःशुल्क हुनुपर्ने र मृतकको परिवारलाई उचित राहतको व्यवस्था हुनुपर्ने माग गरेको हो ।   विगत केही दिनदेखि मुलुकभर बढ्दो वन डढेलोका कारण व्यापक रूपमा हुन गएको जनधनको क्षतिप्रति सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आफ्नो गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ ।   लामो समयदेखि हिउँदे वर्षाको कमी, निरन्तर तापक्रमको वृद्धि, गर्मी मौसमको सुरुआतलगायतका प्राकृतिक कारण र सचेतनाको कमी, लापरबाहीका कारण वन डढेलो लागेको भन्दै महासङ्घले नियन्त्रणमा पहल नभएको पनि फेकोफनले गुनासो गरेको छ ।   नियन्त्रणसम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनको कमी र सम्बन्धित निकायबिच समन्वयको अभाव जस्ता मानवीय कमजोरीका कारण डढेलोका कारण क्षति हुने गरेको फोकोफनको भनाइ छ ।   फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले  हालै डोल्पाको ठूलीभेरी नगरपालिकाको मस्ता सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा मृत्यु हुनेको परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार हुनुपर्ने बताउनुभयो ।   “उक्त स्थानमा डढेलो नियन्त्रण गर्ने क्रममा तीन जना नेपाली सेनाको मृत्यु भएको छ भने कालिकोट, भोजपुर, धनकुटा, ललितपुरलगायतका जिल्लामा वन डढेलो निभाउने क्रममा सामुदायिक वनका उपभोक्ताहरूको मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “घाइतेहरूको तत्काल निःशुल्क उपचार र आगलागीबाट मृत्यु हुने व्यक्तिका परिवारका लागि उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारी निकाय र सरोकारवालासँग सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल हार्दिक अपिल गर्दछ ।”  

पाल्पाः  पाल्पाको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी कोरिडोर सडक खण्डअन्तर्गत कालीआँप ट्याक्टरले ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका छन् ।   स्याङ्जाको चापाकोटबाट रामपुर–७ रातमाटातर्फ आउँदै गरेको लु ९२ प ८२५७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट गइरहेको लु ४ त ४०२ नम्बरको ट्याक्टरले बिहीबार दिउँसो ठक्कर दिएको थियो ।   घाइते हुनेमा स्कुटर चालक चापाकोट नगरपालिका–२ स्याङ्जाका २४ वर्षीय छविलाल श्रेष्ठ, स्कुटरमा सवार रामपुर नगरपालिका वडा नं. ७ रातमाता पाल्पाका ४९ वर्षीय विष्णु कुमारी श्रेष्ठ र बौदीकाली गाउँपालिका–२, डेढगाउँ बस्ने शान्ता श्रेष्ठको ७ वर्षीय छोरा संस्कार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।   घाइतेहरूको रामपुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।   ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

म्याग्दी :   म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरु गरेको छ ।   गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरुलाई तालिम दिइएको हो ।   किसानलाई कृषि पेसामा प्रोत्साहन गर्ने, अनुदान, सहयोग तथा अन्य सेवासुविधालाई कृषकमैत्री बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत गाउँपालिकाका आठवटै वडाका तीन हजार छ सय घरधुरीमा पुगेर सहजकर्ताले विवरण सङ्कलन गरेपछि वडा कार्यालयले प्रमाणीकरण गरेसँगै परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “कृषकको पहिचान आवश्यक छ, अब परिचयपत्र पाएका कृषकलाई मात्रै अनुदान वितरण गरिनेछ”, उहाँले भन्नुभयो ।    गाउँपालिकाले बुधबार कृषकको पहिचानका लागि छनोट भएका सहजकर्तालाई तालिम दिएर पालिकाभित्रका सबै घरधुरीमा स्थलगत तथ्याङ्क सङ्कलनका लागि परिचालन गरेको छ । तालिमका अवसरमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनले सूचीकरण अभियानले व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न सघाउने बताउनुभयो । “कृषिकर्ममा लागेकाको वास्तविक तथ्याङ्क आउँदा आगामी दिनमा कार्यक्रम बनाउन सहज हुन्छ, एक जना पनि कृषक नछुट्ने गरी तथ्याङ्क ल्याउने गरी सहजकर्ता परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो ।   कृषकलाई उत्साहित गर्न उन्नत बीउबिजन, सिँचाइ, सिँचाइ, प्रविधि हस्तान्तरण, मलखाद एवम् किसान बजार व्यवस्थापन प्रोत्साहनका लागि सघाउने गाउँपालिकाले जनाएको छ । सरकारको मापदण्डमा आठ आना वा सोभन्दा बढी जग्गामा कृषि गर्नेलाई सूचीकरण गरी किसान परिचयपत्र लिनुपर्ने प्रावधान रहेको छ ।   सहजकर्तालाई गाउँपालिकाकी कृषि शाखा प्रमुख कृति आचार्यले सहजीकरण गर्नुभएको थियो । सहजकर्ताको तथ्याङ्कलाई वडा कार्यालयबाट प्रमाणीकरण भएपछि चालु आवमै परिचयपत्र वितरण गर्ने तयारीमा रहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।   किसान भएरपनि परिचयपत्र नपाउँदा पहिचानविहीन बनेका किसानले परिचयपत्रको माग गर्दै आइरहेका छन् ।   

सिन्धुलीः सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको स्थानियले जनाएका छ्न ।     विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ ।   विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ भने बिस्फोट गर्नेहरुको खोजी हुनुका साथै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।   यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।

अछामः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।   विनायकबाट तोली गइरहेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक रहेका छन् ।   बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।   घाइते दुवै जनालाई उपचारका लागि एम्बुलेन्सबाट जिल्ला अस्पताल, मंगलसेन ल्याइएको छ । चालक भारतीलाई बढी चोट लागेको छ भने विकको खट्टा भाँचिएको बताइएको छ ।

काठमाडौं:    देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । इद तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभएको छ । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । “जकात ९दान० यही महिनामा दिइन्छ”, उहाँ भन्नुहुन्छ, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।” इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उहाँले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताउनुभयो । काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उहाँ बताउनुहुन्छ । “संस्कृति बचाउन स्थान चाहिन्छ”, उहाँ भन्नुहुन्छ, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।” इद पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

पोखरा:    पोखरा महानगरपालिकाका सव–इन्जिनियर उषा करिण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवा सुरज कुँवर १ लाख ५० हजार घुससहित प्रकाउ परेका छन् ।  पोखरामा घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनीहरुलाई घुससहित प्रकाउ गरेको हो ।  पोखरा महानगरपालिका सव–इन्जिनियर रोकाय र कन्सल्टेन्सी सेवाका कुँवरलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले गएराति १ लाख ५० हजार रुपैयाँ घुससहित प्रकाउ गरेको हो । 

पोखरा:  पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।   कास्की प्रहरीका अनुसार आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको दुर्घटना हुँदा बागलुङको तमानखोला गाउँपालिका ३ तमान बस्ने २५ वर्षीया रीता घर्तीसहित ( अवस्था मध्यम )७ जना घाइते भएका हुन् ।   यस्तै घाइते हुनेहरुमा  म्याग्दीको मालिका गाउँपालिका वडा ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा (अवस्था सामान्य), सोही गाउँकै ६ वर्षी निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमित्रा फगामी रहेका छन् ।   यसैगरी मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नर बहादुर पुन र सोही वडाकै ६५ वर्षीया कृष्णकुमारी पुन रहेकी छिन् । घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।    कास्की प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।