पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार स...

सिन्धुपाल्चोक:    नेपाल-चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसको आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।  सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।  नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुग्नुभएको थियो । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा  पुग्नुभएका उहाँले अब नाका पूर्ण सञ्चालनमा आएको बताउनुभयो ।  विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।  चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसदमा सापकोटाले आवाज पनि उठाउनुभएको थियो । साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण  गराउनुभएको थियो ।  केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । 

पर्वत:     पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कुल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।   स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।  वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।

गोरखा:    पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।   पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।

भोजपुर:    भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंका अनुसार गएराति १ बजेर ११ मिनेटमा तुङ्गेछा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो । भोजपुर आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ । यसअघि गएको साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्र मानिन्छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम निरन्तर छ ।

ढोरपाटन:     उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज (बिहीबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ । ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकामा अवस्थित यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । केही वर्षअघिसम्म जनैपूर्णिमामा मात्रै पूजाआजा गर्ने गरिएकामा टाढाबाट भाकल गरी आउने दर्शनार्थीलाई लक्ष गरी वैशाखपूर्णिमा पनि पूजा गर्न थालिएको स्थानीय कुलबहादुर घर्तीमगरले बताउनुभयो । वर्षमा दुई पटक मन्दिरमा पूजाआजा गर्न थालेपछि उत्तरगङ्गा बराह मन्दिरमा जनैपूर्णिमाका दिन केही कम दर्शनार्थी आउन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले त जनैपूर्णिमाका दिन हजारौँ बोका, पाठा र भेडाको बलि दिइन्थ्यो, लाखको हाराहारीमा पूजा गर्नका लागि दर्शनार्थी आउथे, बर्खाको हिलो, बुर्तिबाङबाट आउने सडक पनि अप्ठ्यारो हुँदा दर्शनार्थीले दुःख पाउँथे । अहिले वर्षमा दुईपटक पूजा गर्न थालेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ । ढोरपाटन सडकले जोडिएपछि भक्तजनलाई सहज भएको छ । सडक नहुँदा भाकल गरेका बोकापाठा ल्याउन गाह्रो थियो, अहिले सजिलो भएको छ । भक्तजनको सजिलोका लागि ढोरपाटन नगरपालिकाले ठाउँठाउँमा डोजर राखेर सडक मर्मत गरिरहेको छ । वर्षाले सडकका विभिन्न स्थानमा क्षति पु¥याएकाले मर्मत गरिएकोध  ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । आज बिहानैदेखि उत्तरगङ्गा मन्दिरमा बलि दिइ पूजाआजा भइरहेको बताउनुभयो । यस अवसरमा यहाँका स्थानीय क्लबले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन् ।

भक्तपुर:    मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गएराति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उदयपुरको बलैया नगरपालिका–५ घर भइ लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो ।  सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले माझीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा ४३ प ९००० नम्बरको स्कुटर बरामद गरेको छ । माझीसँगै रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।  यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । विकृतिका विरुद्ध हाँस्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हाँस्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हाँस्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ ।   आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ ।    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो ।    आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिनुभयो । हङकङ जाने यात्रुलाई काठमाडौँ हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ ।    महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिनुभयो । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो ।    नेपाल वायुसेवा निगमले मलेसिया(भैरहवा रुटमा थप जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो ।  रासस

पोखराः   सधैं झै तनहुँका १६ वर्षीय युनिश थापा साउन ३० गते पनि झोला बोकेरै स्कुल गए ।   विज्ञान विषयको गृहकार्य (होमवर्क) नगरेपछि सजायस्वरुप सय पटक उठबस गरे । पछि गणित विषयको समयमा सोही कक्षाकै एकजनासँग झगडा गरेपछि थापालाई गणित शिक्षकले फेरि उठबसको सजाय सुनाए । त्यसपछि सजाय भोगीरहेका युनिश १ सय पटक गर्दै गर्दा एक्कासी ढले ।   यो घटना तनहुँको ब्राइट फ्युचर स्कुलको हो । स्कुल अवधिमै ढलेका थापाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएपछि कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिइएको खुल्न आएको हो । अस्पतालको रिपोर्टका अनुसार  युनिशको पिसाबमा रगत देखिएको, खुट्टाको मसल च्यातिएको र कलेजोमा समस्या देखिएको उनका आमा सुनिता खत्री थापाले बताइन् ।   ‘विद्यालयमा झगडा र होमवर्क नगरेको भन्दै सजाय दिँदा अहिले बाबुको स्वास्थ्यमा असर परेको छ’, खत्री थापाले भनिन्, ‘विद्यालयमा दिएको सजायको कारण नै बाबु राम्रोसँग बस्न र ट्वाइलेट बस्न पनि नसकेपछि भदौ १ गते अस्पताल भर्ना गरेको हो । अहिले उपचार पछि घर फर्किएका छौं ।’ विद्यालयमा सजाय पाएकै कारण युनिश साउन ३१ गते विद्यालय जान नमानेपनि फकाएर विद्यालय पठाएको सुनिताले सुनाइन् । उनका अनुसार ३२ गते झन् गाह्रो भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । युनिश ६ दिनको उपचारपछि अहिले घरमै आराम गरिरहेका छन् । विद्यालय प्रशासनसँग सो विषयबारे बुझ्दा प्रशासन शाखामा कार्यरत कर्मचारी मनिषा थापाले भनिन्, ‘होइन त्यो बच्चा आफै के–के लागुपदार्थ सेवन गर्ने गरेको, बाबामम्मीले पोखरामै कता कता लानुभको र नसकेर पोखराको स्टुडेन्ट यहाँ लिएर आका हुन् के उल्लाई ।’ तर विद्यालयमा दुईजनाबीच झगडा भएपछि शिक्षकले उठबस गराउन लगाएको भने उनले स्वीकारिन् । ‘त्यो बाबुचाँही क्लासमा आफ्नो साथीसँग झगडा गरिराको रैछ । टाउकोमा हानाहान गरिरराको रहेछ । त्यसपछि उनीहरुलाई गणित शिक्षकले सक्छौ भने उठबस गरन भनेपछि गर्दै गर्दा १ सय चोटीमा उ ९युनिश थापा० लडेको हो,’ उनले भनिन् । दुई विद्यार्थीबीच कुटाकुट गरेको भिडियो सिसिटिभी फुटेजमा देखिएको उनले बताइन् । ‘विद्यालयमा यस्तो घटना भएको भनेर जानकारी आएपछि सिसीटिभी हेर्दा फुटेजमा त्यो रेकर्ड देखिएको छ’, ति कर्मचारीले भनिन्, ‘घटना भएको भोलिपल्ट विद्यार्थी विद्यालय आएपनि त्यसपछि विद्यालयमा आएका छैनन् ।’