काठमाडौं: बिपी साहित्य महोत्सव आजदेखि शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे। कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उनका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ । बिपीको योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोसत्वमा विभिन्न साहित्यिक स्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव तीन दिनसम्म चल्नेछ । तीन दिनसम्म विभिन्न सत्रमा बिपीका साहित्यिक कृति र व्यक्तित्वका बारेमा बहस तथा छलफल हुँदैछ ।
पोखरा: काठमाडौंबाट बागलुङका लागि छुटेको हाइसले पोखरा २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा नौली बिकको मृत्यु भएको छ । पोखरा २५ हेमजा सापकोटाचोकमा बाटो काट्दै गरेकी नौली बिकलाई काठमाडौंबाट बागलुङका लागि छुटेको बा ३ ख ९७२६ नम्बरको हाइसले ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी नौली छोरीको घर आउने क्रममा हाइसको ठक्करबाट हिजो (शनिबार) मृत्यु भएको बताइएकाे छ । सापकोटाचोकमा हाइसको ठम्करबाट गम्भिर घाइते भएकी नौलीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
मोरक्को: मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविमूढ अभिभावकहरूलाई देखेको बताएका छन् । दश मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए । सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतिको विस्तृत विवरण प्राप्त भएको छैन ।
दार्चुला: दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । हिजो (शुक्रवार) दार्चुलाको व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ । चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) को टोली तिङ्कर पुगेको थियो । तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीको सङ्ख्या पाँच वटा पुगेको छ । दार्चुलाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरु स्थापना भएका छन्। तिङ्करमा बीओपी स्थापना भएसँगै सीमा क्षेत्रको सुरक्षा प्रभावकारी हुने र चोरीतस्करी नियन्त्रण हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले बताउनु भयो । तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने भएको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ को माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ । भारतसँग सीमा जोडिएका व्यासको सीतापुल, सुन्सेराको मलघट्टे, खलङ्गाको घाटबजार, दत्तु, जोलजीवी र लालीमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरबहादुर विष्टले बताउनु भयो । नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमाबिन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुङ्गे पुलबाहेक अन्य सबै ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ । व्यास गाउँपालिकाको तिङ्कर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप बीओपी स्थापनाको काम भइरहेको छ । मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको बीओपीलाई सीमा सुरक्षा गुल्म बनाइएको छ । लाली र दुम्लिङको बीओपीमा इन्स्पेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ । सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागामा ५० नम्बर गुल्मको नेतृत्व डीएसपीले गरिरहेका छन् । सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिनथालेपछि अहिले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु खुशी भएका छन्। तिङ्करको बीओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी अन्य सुरक्षा निकायका प्रमुख, राजनीतिक दलहरुका प्रमुख लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । बोर्डर आउट पोष्ट स्थापना गर्न गएको टोली शनिवार आज भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम आउन लागेका छन् ।
डोटी: डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका–११ सिमारका प्रकाश नेपालीका अढाइ वर्षीय छोरा रेन्जर नेपाली नदीमा बगेर बेपत्ता भएका हुन् । शुक्रवार हिजो दिउँसो नदीमा लुगा धुन फुपूसँगै गएका रेञ्जर बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । शुक्रबार राति सूर्य विनायक नगरपालिका(८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२–०२३ प २८५९ र प्रदेश नं ३–०२–००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् । अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् । घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । मोटरसाइकल अनियन्त्रित भई ०३–००१ ख २४११ नम्बरको टेलर गाडीमा ठोक्किएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले यात्रु लिएर पहिलोपल्ट भुटानको व्यावसायिक उडान भरेको छ । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६ः ४५ मा पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर ८ः१५ मा थिम्पु फर्किएको हो । सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो । भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु युरोपेली पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेको हो । उनीहरू तीन दिन पोखरामा बसेर विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए । उक्त टोली शुक्रबार आठवटा हेलिकप्टरमार्फत कुरिनटार पुगेर मर्स्याङ्दी नदीमा र्याफ्टिङ गरी हेलिकप्टरमै पोखरा फर्किएको थियो ।पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरे ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । इन्टरपोल स्थापना शताब्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री दाहालले डिजिटल युगमा प्रविधिको दुरूपयोगबाट भएका अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताउदै अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आपसी सूचना आदान प्रदान हुनुपर्ने उल्लेख गरे । नागरिकहरू भय र शोषणबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्ने चर्चा गर्दै मानवअधिकारको संरक्षणलाई प्राथमिकतामा राखी र न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्तहरू पालना गरी कानून कार्यान्वयनको सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री दाहालले सो अवसरमा ‘इन्टरपोल कफि टेबल बुक’ विमोचन समेत गरेका थिए । कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास बैरागी, महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल, राजदूतहरू, गृह सचिव लगायत निजामती सेवा तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।
बागलुङ: बागलुङको तारखोला गाउँपालिकाले गाउँपालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न रोक लगाएको छ । गाउँपालिकाले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै गाउँपालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचार क्षेत्रमा माछा मार्न रोक लगाएको जानकारी गराएको हो । ‘ताराखोलाका खोलाहरुमा पाइने माछा जिल्लाकै प्रशिद्ध हुनुका साथै चिनारी समेत हो, यसको संरक्षण र दिगो उपयोगको सुनिनिश्चिता गर्दै दिगो विकासमा जलचरको रुपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा कर्तव्य हो’, सूचनामा भनिएको छ, ‘गाउँपालिकाको जलचर एवं जली जैविक विविधता संरक्षण कार्यविधि,२०८० र गाउँपालिकाको निर्णय अनुसार भदौ २२ देखि कात्तिक १५ गतेसम्म ताराखोलामा माछा मार्न रोक लगाएको छ ।’ सूचनामा भनिएको छ, विशेष गरी वर्षाऋतुमा माछाले फुल पार्ने तथा भुराको वृद्धि विकासको अवधि भएकाले समेत माछा मार्न रोक लगाएको उल्लेख गरिएको छ । गाउँपालिकाले सूचनाको अटेर गरेर सूचना अविधि भर माछा मारेको पाएमा गाउँपालिकाको जलचर एवं जलीय विविधता संरक्षण कार्यविधि, २०८० को दफा १४ बमोजिम दशहजार देखि १ लाखसम्म जरिवाना गर्ने जनाएको छ । ताराखोला गाउँपालिकाभित्रबाट बग्ने विभिन्न खोलाहरु दरमखोलामा गएर मिसिन्छ, यस अगाडि तारखोला गाउँपालिकाको छिमेकी नगर गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न रोक लगाएको छ ।