काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

पोखरा:    नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रूपमा परिचित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। पङ्गेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।  बुधबार दिउँसो सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित सेती नदीको फूलबारी घाटमा पगेनीको दाहसंस्कार गरिने भएको छ। ६८ वर्षीय पङ्गेनी निमोनिया लगायतका समस्याबाट पीडित थिए ।  सोमबार साँझबाट मणिपाल शिक्षण अस्पतालको भेन्टिलेटरमा राखी उनको उपचार भएको थियो। कास्कीको रुपा गाउँपालिकाको देउराली घर भए पनि उनी लामो समयदेखि पोखराको बाटुलेचौरमा बस्दै आएका थिए ।  पङ्गेनीका जुनको चिठी जुनालाई, प्रणय वेदका ऋचाहरू लगायतका कृति प्रकाशित छन्। उनको परिवारमा पत्नी, छोरा र छोरी छन् ।  

बैतडी:     भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ ।  भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा लोकसभाका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताउनुभयो । सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।  नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ । कुनै देशमा चुनाव हुँदा  सीमा बन्द गर्ने चलन छ ।

धादिङः  धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।    यससँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । नीलकण्ठ नगरपालिका–५ खाल्टेमा भएको मिनिट्रक दुर्घटनामा परी पाल्पाली टोलका ११ वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा रामबहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।    धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएका छ जना घाइतेको भने काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार जारी छ । दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुवैजना स्थानीय पतेनी आधारभूत विद्यालयका विद्यार्थी हुन् । विद्यालय बिदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकहरुको मृत्युले गाउँ नै शोकमा परेको छ ।   साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको मिनिट्रकमा एकै परिवारका पाँचसहित नौ जना सवार थिए । घाइतेमध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेलको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीको भनाइ छ । 

ढोरपाटन:     आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो ।  हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दैआएका छन् भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजा आराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउनेगरेका छन् । बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैँमा हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएको उहाँले बताउनुभयो ।  मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीनसय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको छ । चैतेदसैँका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगितालगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । आयोजकहरूका अनुसार लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, द्वितीयलाई एक लाख र तृतीय हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने छ ।  दोस्रो आकर्षणका रूपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । तीन लाख पुरस्कार राशिको सो प्रतियोगितामा द्वितीय हुनेले एक लाख ५० हजार र तृतीय हुनेले एक लाख पाउनेछन् । 

काठमाडौं:     पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको जनाएको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।  

पोखरा:    मिस नेपालको पोखरा अडिसन भोलिदेखि सुरु हुने भएको छ । ‘मिस नेपाल २०२४’ को चितवन अडिसन सम्पन्न भएसँगै पोखरामा भोलिदेखि अडिसन लिन लागेको हो ।  पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरिन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि ३ बजेबाट सुरु हुने जानकारी दिए । पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल अर्थ रैना मजगैयाँ पनि सहभागी थिए । हिडन ट्रेजरका प्रमुख राजकर्णिकारले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । व्यक्तित्व विकास र सशक्तीकरणको लागि मिस नेपालजस्ता प्लाटफर्मले भूमिका खेल्ने उनले बताए । मिस नेपाल सृच्छा र मिस नेपाल अर्थ रैनाले अनुभव सुनाउँदै प्रतिस्पर्धामा आउन युवतीलाई आग्रह गरे। मंगलबार र बुधबार पोखरा अडिसन हुने र छुटेकाले मे १८ मा काठमाडौंमा हुने अडिसनमा सहभागी हुन पाउने हिडन ट्रेजरले जनाएको छ । पोखरासंगै , २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवा र १८ मेमा काठमाडौंमा अडिसन हुँदैछन् । ४ र्मे जेठ १ गतेसम्मै इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले हुने हिडन ट्रेजरले जनाएको छ । यस्तै पोखरा अडिसनलाई पोखरा जेसीजले समन्य गरेको छ। पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माले सामाजिक क्रियाकलाप अन्तर्गत मिस पोखरा यही बर्ष आयोजन गर्ने पनि बताए। भोलिको अभिमुखीकरण कार्यक्रम र अडिसनलाई भव्य बनाउने गरि कार्य गरेको कार्यक्रम संयोजक(जेसी किसान सुनारले जनाए।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले फेवातालका डुङ्गा चालकहरुको मापसे जाँच गरेको छ ।  पोखरा महानगरपालिका–६ लेकसाइड बाराही घाटमा आज (सोमवार) फेवातालका डुङ्गा व्यवसायी तथा चालकहरुसँग अन्तरक्रिया कार्यक्रमसँगै २५ जना डुङ्गा चालकको मापसे जाँच गरिएको हो ।  फेवातालका २५ जना डुङ्गा चालकको मापसे जाँच गर्दा एकजनाले मादक पदार्थ सेवन गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा फेवातालका डुङ्गा व्यवसायी र चालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

काठमाडौं:      नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक ‘थ्रू’ भएको छ । आज एक औपचारिक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ आरपार भएको घोषणा गर्नु भएको हो । दुवै तर्फ छेडिएको सुरुङ मार्गको औपचारिक ब्रेक थ्रुका लागि आज कार्यक्रम आयोजना गरिएको थियो ।औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुने कार्यक्रम रहेको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान ,अक्सिजन पाइप जडान लगायतका काम बाँकी नै रहेको आयोजनाले जनाएको छ ।