काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

पोखरा:   पोखरा महानगरपालिका–२३ पन्चासेकी एक महिला खाना पकाउने क्रममा आफैले लगाएको कपडामा एक्कासी आगो लाग्दा  जलेर घाइते भएकी छिन् ।  बिहीबार बेलुका आफ्नै घरमा खाना पकाउने क्रममा आफैले लगाएको कपडामा एक्कासी आगो लाग्दा ८२ वर्षीय​ भैखु नेपाली जलेर घाइते भएकी हुन् ।  खाना पकाउने क्रममा आफैले लगाएको कपडामा आगो लागेर जलेर घाइते भएकी नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  नेपालीको दुवै खुट्टा र कम्मरको ३६ प्रतिशत भाग  जलेको प्रहरीले जनाएको छ ।  

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।  विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४ को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा भन्नुभएको छ, “स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो ।” बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले समाचारमाथि नागरिकको सहज पहुँच स्थापित हुने बताउँदै उहाँले यस प्रकारको पत्रकारिताले सञ्चार माध्यमबाट सबै वर्ग समुदायको आवाज मुखरित हुने विश्वास व्यक्त गर्नुभएको छ ।  प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउँदै उहाँले सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्बाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो भन्नुभएको छ ।  युनेस्कोले तय गरेको ‘पृथ्वीका लागि प्रेसः वातावरणीय सङ्कटको युगमा पत्रकारिता’ भन्ने नाराले समेत वातावरणीय सङ्कट निवारणमा प्रेसको भूमिका अपेक्षा गरेको उहाँको भनाइ छ । सन्देशमा उल्लेख छ, “नेपाली सञ्चार जगत् संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने छ भन्ने पूर्ण विश्वासका साथ राज्यका तीन वटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्यसम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न प्रेस जगत्लाई सफलता प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु ।”  

काठमाडौं:     आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस: वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।

सोलुखुम्बु :   हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।   जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो ।   यस्तै बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरी निरीक्षक साहले बताउनुभयो । उहाँका अनुसार घटनामा दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।   उहाँले भन्नुभयो, “वनमा फैलिएको डढेलो निभाउन प्रहरीसहित स्थानीय जनशक्ति सक्रिय थिए, एक्कासी आगो गाउँमा सल्कियो र गाउँ नै सखाप बनायो, त्यो आगो हावाले उडाएर ल्याएको झिल्कोबाट सल्किएको हुनुपर्छ, त्यहाँका अधिकांश घरमा खरको छानो भएकाले नियन्त्रणमा लिन समय लाग्यो ।” गाउँमा सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउँपालिकालगायतको सक्रियतामा नियन्त्रणमा लिन सफल भएको छ भने जङ्गलको डढेलो नियन्त्रण बाहिर रहेको छ ।   घटनाको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगोले सबै धनसम्पत्ति जलेर खरानी भएपछि पीडितहरू अर्धचेत अवस्थामा पुगेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताउनुभयो । “आगोले सबै नष्ट गरायो, भएभरका सबै गुमाएपछि अहिले यहाँका स्थानीयमा चेत छैन, पूरै गाउँ नै रुवाबासीमा परिणत भएको छ, बस्ती नै खरानी भयो, जङ्गलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन, धुवाँ र धुलोले अझै आँखा हेर्न सक्ने अवस्था छैन”, समन्वय प्रमुख निरौलाले भन्नुभयो ।   एकाबिहानै दुई घर र एक खोर जले, ६५ लाखको क्षति जिल्लाको नेचासल्यान गाउँपालिका–२ डिटीमा आज बिहान दुईवटा घर र बाख्राको एउटा खोर जलेर नष्ट भएको छ । बिहान ४ः३० बजे डिटीका ज्ञानबहादुर खत्रीको दुईवटा घर र एउटा खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।   प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार आगलागीबाट रु ६५ लाख बराबरको क्षति भएको छ । ज्ञानबहादुरको दुईवटा घरमा भएको रु ५० हजार नगद, नौ तोला सुन, २० तोला चाँदी, २० मुरी अन्न, एक थान मोबाइल, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताउनुभयो । आगोले नजिकै रहेको बाख्राको खोरसमेत जल्दा एउटा बोका र एउटा बाख्रा जलेर मरेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।  

काठमाडौंः   सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने संस्था तथा व्यक्तिलाई पुरस्कृत गरेको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिसम्बन्धी विभिन्न विधाका पुरस्कार प्रदान गर्नुभयो ।   कार्यक्रममा प्रधानमन्त्री दाहालले ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि उत्कृष्ट पुरस्कार–२०८०’ डा शैलेन्द्र गिरी (प्यूठान) लाई प्रदान गर्नुभयो । यस्तै महिलातर्फको उत्कृष्ट पुरस्कार लेना केशरी कंशाकार (काठमाडौं) लाई प्रदान गरियो ।   यस्तै ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि आविष्कार पुरस्कार–२०८०’ वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि स्टार्टअप पुरस्कार–२०८०’ मोनालटेक प्रालि (चाबहिल) लाई प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।   प्रधानमन्त्री दाहालले सार्वजनिक क्षेत्रतर्फको ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि पुरस्कार–२०८०’ सामाजिक सुरक्षा कोष (काठमाडौं), निजी क्षेत्रर्फ डाटाहव प्रालि (थापाथली) र प्रदेशतर्फ डाइनामिक टेक्नोसफ्ट प्रालि (वीरगञ्ज) लाई प्रदान गर्नुभयो । कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा सूचना प्रविधि क्षेत्रतर्फ सबैभन्दा बढी राजस्व बुझाउने नेपाल दूरसञ्चार कम्पनी र सोही आर्थिक वर्षमा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरेर बढी विदेशी मुद्रा भित्र्याउने स्प्राउट टेक्नोलोजी सर्भिस (ललितपुर) लाई पनि सम्मान गरिएको थियो ।   सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित प्रदर्शनी देखाउने विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा सूचना प्रविधिबारे अध्ययन गरिरहेका विद्यार्थीले यससँग सम्बन्धित विभिन्न प्रदर्शनी देखाएका थिए ।  

काठमाडौं :   अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताउनुभएको छ ।   मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग बजेटका सन्दर्भमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।   छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुनसक्ने बजेट ल्याउन सुझाए । पुँजीगत खर्च बढाउनुपर्ने र साधारण खर्च घटाउन, आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धनको नीति अख्तियार गर्न सुझाव दिनुभएको थियो । यस्तै प्रदेश र स्थानीय तहको क्षेत्रमा पर्ने साना आयोजनामा बजेट विनियोजन नगर्न, सहकारी समस्या समाधान गर्न, बजेट खर्च गर्ने निकायको संरचनागत सुधार गर्नुपर्ने उहाँहरूको कथन थियो ।   त्यस्तै सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन, चालु ठूला आयोजनाका काम सम्पन्न गर्न, वैदेशिक सहायता वृद्धि गर्न,  तथा कर्मचारी संयन्त्रको मनोबल उकास्न सुझाव दिनुभयो ।   छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा पुष्पराज कँडेल, डा दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वअर्थसचिवहरू कृष्णहरि बाँस्कोटा, सुमन शर्मा, शङ्कर अधिकारी, राजन खनाल, रामशरण पुडासैनीलगायत सहभागी हुनुहुन्थ्यो ।   पूर्वप्रशासक र विज्ञको सुझाव लिएपछि अर्थमन्त्री पुनले आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्नेबारे सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशील र चिन्तित भएको रहेको बताउनुभयो ।   “आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्ने विषयमा सिङ्गो देश नै एक ढिक्का छ र चिन्तित पनि छ । यो धेरै सकारात्मक कुरा हो”, मन्त्री पुनले भन्नुभयो ।  उहाँले गत वर्षको तुलनामा अर्थतन्त्रका धेरै सूचकमा सुधार देखिए पनि केही क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताउनुभयो ।   उहाँले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । अर्थतन्त्रमा सङ्कट हुँदा गरिएका कडाइहरूमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिनुभयो ।   निजी क्षेत्र र प्रशासन संयन्त्रको कमजोर मनोबल उठाउने गरी सरकार अघि बढेको उहाँको भनाइ थियो । “निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ”, उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको छ ।”   मन्त्री पुनले काम गर्नेले सबैतिर जवाफ दिनुपर्ने र कामै गर्नेहरु लोकप्रिय हुने अवस्था आउनु चिन्ताजनक भएको बताउनुभयो । काम गर्दा असल नियत राखेको होला वा विवेक प्रयोग गरेको होला भन्नेबाट भन्दा फट्याइँ गरेको होला भन्ने कोणबाट सोच्ने प्रवृत्ति समाजमा संस्थागत हुन खोजेको उहाँले स्पष्ट पार्नुभयो ।    “कसैले न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैन । राजनीतिक वा प्रशासनिक नेतृत्वमा बस्नेहरु जसले काम गर्दैन त्यो ठीक र लोकप्रिय, जसले काम गर्यो त्यसले जवाफ दिनुपर्ने जस्तो सोच समाजमा हाबी हुन थालेको छ”, उहाँले भन्नुभयो, “काम गर्दा मानिसले विवेक प्रयोग गर्छ, असल नियतले गर्छ भन्ने पनि सोच्नुपर्छ । सबैतिर अविश्वासको वातावरण छ । सबै लोक रिझ्याइँको पछि लागेर हुँदैन । मुलुक बनाउने हो भने यो अवस्था हटाउनुपर्छ ।”   राजनीतिक र प्रशासनिक नेतृवले कामका लागि आँट गर्नुपर्ने र त्यसमा समाजका अरु पक्षले साथ दिनुपर्ने उनले बताउनुभयो । “सबैले एकपटक आँट गर्नुपर्ने भएको छ । राजनीतिक कोर्षभित्रै रहेर काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने भएको छ । सबैले सबैलाई शङ्का गर्ने र कसैले केही पनि गर्नुनपर्ने जस्तो भइरहेको छ”, उहाँले भन्नुभयो ।   फरक प्रसङ्गमा मन्त्री पुनले विकासका संरचना बनाउँदा आर्थिक क्षेत्र, कृषि र बजारको व्यवस्थासमेत गर्नुपर्ने महसुस गरिएको बताउनुभयो । “हामीले मध्यपहाडी राजमार्ग बनायौँ तर बजार र आर्थिक कार्यक्रम बनाएनौँ । उत्पादनको क्षेत्र बनाएनौँ । पूर्वपश्चिम हुलाकी राजमार्ग छ, तर सबैभन्दा गरिबी त्यसकै आसपासमा छ”, उहाँले भन्नुभयो, “विकासका संरचना निर्माण गर्दा आर्थिक कार्यक्रम नबनाउँदा त्यस्तो भयो ।”   मन्त्री पुनले उच्चस्तरीय कर सुधार सुझाव आयोगको प्रतिवेदन अध्ययन क्रममा रहेको र आयोगका सुझावका आधारमा बजेटमार्फत सुधारका कार्यक्रम ल्याउने पनि उल्लेख गर्नुभयो । सरकारले लगानी सम्मेलनमा अध्यादेशमार्फत ऐन संशोधन गरेर लगानी वातावरण बनाएको चर्चा गर्दै उनले अर्थतन्त्रको ९० प्रतिशत हिस्सा धान्दै आएको निजी क्षेत्रको मनोबल उठाउन सरकार प्रयासरत रहेको बताउनुभयो । “लगानी गर्ने, रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो”,  उहाँले भन्नुभयो, “सरकारले त सहजीकरण गर्ने, नीतिगत सुधार गर्ने र प्लेटफर्म दिने हो ।”    

चितवनः   पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो ।   उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।  

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताउनुभएको छ ।  एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताउनुभयो । “मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु । साथै रोजगारदाता संस्थाहरूसमेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।” प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वका रुपमा लिँदै कानुनी आधार तयार गर्न लागिएको जानकारी दिनुभयो । स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरेको उहाँले बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपाली नागरिकको ‘कोखदेखि शोकसम्म’को सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराइने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पु¥याउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउनुभयो । “सीमित साधनस्रोत र असीमित आकाङ्क्षाका बीच सन्तुलन कायम गर्दै श्रमिकमैत्री नीति, कानुन र कार्यक्रमका निम्ति सरकार सधै सकारात्मक रुपमा प्रस्तुत हुनेछ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “मुख्यतः विदेशमा रहेका नेपालीको स्वाभिमान र हितरक्षा, नीति निर्माणमा श्रमजीवी वर्गको सम्मानजनक प्रतिनिधित्व, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, श्रमको सम्मान र श्रम संस्कृतिको विकासमा सरकारले प्राथमिकताका साथ काम गर्नेछ ।” देश आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ ।” सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लिखित ‘निरासा चिर्दै, भरोसा जगाउँदै’ मूलमन्त्रलाई व्यावहारिक रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नाका साथै यसले बेरोजगारी न्यूनीकरण र रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “सरकारको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियनहरू, निजी क्षेत्रलगायत सबैको साथ रहने मेरो विश्वास छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।