काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न निर्देशन दिनुभएको छ ।नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुसँग त्यसबारे बुधबार जानकारी लिनुभएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आजै जहाज पठाउन निर्देशन गर्नुभएको हो । आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको छ । जहाज आज राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभएको छ । गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् । घर फिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।
काठमाडौं: सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
म्याग्दी: दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिनुभयो । “जोमसोमको नाकाबाट मङ्गलबार मात्रै चार सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो तीन दिनको अवधिमा एक हजार दुई सय च्याङ्ग्रा निकासी भएको छ ।” प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई रु १५ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । यस वर्ष दसैँका लागि मुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरेको पोखरेलले बताउनुभयो । कृषकले प्रतिगोटा रु ३५ देखि ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेका उहाँले बताउनुभयो । गत वर्ष छ हजार छ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । पछिल्लो चार वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको कृषक करन गुरुङले बताउनुभयो । तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ । मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । पैसठ्ठीवटा ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन् । हिमचितुवा, ब्वाँसो र जङ्गली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु २५ हजार थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको व्यापारी यामबहादुुर कार्कीले बताउनुुभयो । वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । मुस्ताङी च्याङ्ग्राको हुल भित्रिएसँगै दशैँ आगमनको महसुस गराउँछ ।
काठमाण्डौ: सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे आज शोक वक्तव्यमार्फत् १० जना नेपालीको निधनमा दुःख व्यक्त गरी शव ल्याउन ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले आक्रमणमा परि घाइते भइ स्थानीय अस्पतालमा उपचाररत नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै सम्पर्कविहीन रहेकाको खोजबिनका लागि पनि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यसअघि इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ । गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो । यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ । हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् । उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् ।
सत्तारूढ नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलको मंगलबारको बैठकले इजरायलमा हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेको छ। ‘हमासको आक्रमणमा परी घाइते भई उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको नेपाल सरकारले सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरिर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन, सम्पर्कमा नरहेका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न र इजरायलमा भएका नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्न कांग्रेसले आग्रह गरेको हो। रोजगारी तथा अध्ययनका लागी इजरायल गएका नेपालीहरु इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
बाँके: नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा र कर्फ्यू पूर्ण रुपमा हटाएको छ । आज बिहान ४ बजेदेखि निषेधाज्ञा पूर्ण रुपमा हटाएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । एक हप्ता अघि नेपालगञ्जमा दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो ।
म्याग्दी: मुस्ताङमा रहेको नेपाल(चीनबिचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । “अनुमतिपत्र बुकलेट छपाइसम्बन्धी सबै काम पूरा भएको छ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयले पठाएको नमुनाअनुसार चीन प्रवेश पास छपाइ गरेर वितरणका लागि तयारी गरेका छौँ ।” चीनको सिमाना नजिकको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाबाट प्रवेश पासको आवेदन सङ्कलन गरिएको छ । बोर्डर पास वितरणका लागि चार कर्मचारीलाई सोमबार लोमान्थाङस्थित इलाका प्रशासन कार्यालय पठाइएको प्रजिअ पन्तले बताउनुभयो । “नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन,” उहाँले भन्नुभयो, “चिनियाँ सुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौँ ।” कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुई पटक सञ्चालन हुँदै आएको अन्तर्देशीय व्यापार मेला वि।सं।२०७६ देखि भएको थिएन । दसैँअघि नै व्यापार मेला आयोजना गर्ने मुस्ताङका सुरक्षा अधिकारी र जनप्रतिनिधिहरूले पहल गरेका छन् । प्रवेश पास भएका नागरिकहरू जुनसुकै समयमा पनि चीन जाने आउने सुविधा पाउने छन् । असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रजिअ पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबिच बैठक बस्ने तयारी भएको बताउनुभयो । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि।सं।२०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । वि।सं।२०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसै गरी, पस्मिना, जडीबुटी निकासी गर्न पनि सकिने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले बताउनुभयो ।
काठमाडौं: इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो । गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि उनी इजरायल गएका थिए । दंगीशरण गाउँपालिका–३ का वडाअध्यक्ष सुकलाल चौधरीले पनि प्रविणको अपरेसन सफल भएको जानकारी पाएको बताए । प्रविण र उनका बुवा निमबहादुर डाँगीबीच अपरेसनपछि पनि कुराकानी भएको आफूले थाहा पाएको वडाध्यक्ष चौधरीले बताए ।