काठमाडौं: नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६.३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।
तनहुँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताउनुभएको छ । तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग बताउनुभयो । सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गर्नुभएको थियो । पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री महतसमक्ष आग्रह गर्नुभयो । देवघाट विश्वभरका हिन्दु धर्मावलम्बीको गन्तव्यस्थल बन्दै गइरहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा घोषणा गर्न थापाले महतको ध्यानाकर्षण गराउनुभयो ।
मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिनुभयो । संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले कोशीमा ३० दिन नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८(४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको हो । अहिले कोशी प्रदेश सभामा एमालेसँग ३९ मात्रै सांसद (उपसभामुखबाहेक) छन् । कांग्रेसको २९, माओवादी केन्द्र को १३, राप्रपाको ६ एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् ।
बाँके: नेपालगञ्जमा मङ्गलवारदेखि जारी कर्फ्यु र निषेधाज्ञाको समय घटाइएको छ । बिहीबार र शुक्रवार राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिवार राती ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो । नेपालगञ्जमा दिउसो निषेधाज्ञा र रातीको समयमा कर्फ्यु लाग्दै आएको छ । शनिवार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । यसअघि बिहान ८ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञा जारी हुँदै आएकोमा शनिवार एक घण्टा घटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन नपाउने गरी निषेधज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी आचार्यले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले समग्र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न र मानव अधिकारको सम्मान गर्न सबैमा अनुरोध गर्दै सार्वजनिक स्थलमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू, सामाजिक सञ्जालमा कुनै व्यक्ति सङ्घ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने वा धार्मिक विद्वेष फैलाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न हार्दिक आव्हान गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
काठमाडौं: दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
पोखरा: पर्वत तमादीखोलामा एक्कासी आएको बाढीमा परि मृत्यु भएका माधव पौडेल (विजय)लाई उनका सार्थीहरुले सम्झिएका छन् । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत मानविकी संकायका विद्यार्थीहरुले आज (बिहीबार) मृतक पौडेलको सम्झनामा श्रद्धाञ्जली सभासँगै दीप प्रजलन गरेका हुन् । मानवीकी संकायको आयोजनामा बिहीबार भएको श्रद्धाञ्जली सभामा विद्यार्थी अपिल अधिकारीले मृतक पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली एवम् परिवारप्रति समवेदना प्रकट गरे । गत असोज १३ गते शनिबार बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी पर्वत तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा पौडेलसँगै तीन जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ता भएका मृतक पौडेलको शव स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युतको ड्याममा फेला परेको थियो । बाढीमा बेपत्ता भएका रुपन्देही घर भएका ३४ वर्षीय गोपाल बस्याल र कास्की घर भएका माधव पौडेलको शव भेटिएपनि बागलुङ घर भएका डम्मरबहादुर थापाको अवस्था अझै अज्ञात रहेको छ ।
गोरखा: उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीयलाई चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) वितरण शुरु भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवासस्थित इलाका प्रशासन कार्यालयबाट पास वितरण कार्य थालिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । पास वितरणका लागी सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमबार नै सिर्दिवास पुगेको थियो । पहिलो दिन २० जनालाई पास वितरण गरिएको सहायक प्रजिअ रानाले बताउनुभयो । उहाँका अनुसार वडा नम्वर ३ बाहेकका अन्य नागरिकलाई पास वितरण गरिने छ । उक्त पासको म्याद एक बर्षको हुने उहाँको भनाइ छ । ‘हामीले बितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि फेरी रिन्यू गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो । यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उहाँको भनाइ छ । नेपालभरका सबै बोर्डर पासमा एकरुपता ल्याउने उदेश्यले नयाँ डिजाइनमा पास छपाइ भएकाले पुराना पास भएकाहरुले पनि त्यो बुझाएर नयाँ लिनुपर्ने उहाँले जानकारी दिनुभयो । गृहमन्त्रालयले पठाएको डिजाइन अनुसार जिल्लामै पास छपाइ गरिएको हो । बिगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । तर पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् । पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए । गृहमन्त्रालयले निर्देशनपछि पास वितरण कार्य थालिएको प्रशासनले जनाएको छ । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दाले मात्र पास पाउने पालिकाले जनाएको छ । नागरिकता भएको व्यक्तिलाई मात्र पास उपलब्ध गराइने बताइएको छ । पास पाएपछि स्थानीय खुशी छन् । उत्तरी गोरखाका स्थानीयको मुख्य व्यापारिक केन्द्र तिब्बत मानिन्छ । खाद्यान्न देखि आवश्यक सबै उपभोग्य वस्तु उनीहरु तिव्वतबाट ल्याउने गर्छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई तत्काल राहत दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोगको प्रक्रिया तत्काल अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्धार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने स्पष्ट पार्नुभयो । बझाङ भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा गम्भीर छलफल भएको छ । प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको पनि उहाँले बताउनुभयो । बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्रीले आज बैठक बोलाउनुभएको थियो ।
काठमाडौं: सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले बुधबार पनि प्रदर्शन जारी राखेका छन् । सोमबारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका हुन् । बुधबार माइतीघरमा पानी परेको समयमा समेत उनीहरूले आफ्नो आन्दोलन यथावत् राखेका छन् । स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले सङ्घीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । सङ्घर्ष समितिका संयोजक दीपक गौतमकाअनुसार स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् । उनीहरूले एकीकृत निजामती सेवा ऐन जारी गर्, अन्तर प्रदेश सरुवा लागू गर्, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर, लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।