बागलुङ: बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय खमबहादुर पुनको मृत्यु भएको हो । घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते भएका पुनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । ‘उपचारका लागि स्वास्थ्य केन्द्रमा ल्याईएका पुनलाई चिकित्सकले मृत घोषित गरेका थिए’ यादवले भने, ‘शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईसकिएको छ ।’
ओखलढुंगा: ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो । सोमबार अपरान्ह उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो निजी खरबारीमा प्रवेश गर्दा उक्त घटना घटेको हो ।
काठमाडौं: अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै प्रश्न उठ्न थालेपछि त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिनुभएको छ । अनुसन्धानका लागि पक्राउ गरिएकाहरू प्रायजसो पहुँचवालाहरू अस्पतालमा बसेर हिरासत छल्ने गरेकोमा जनस्तरबाट नै प्रश्न उठ्ने गरेको थियो। सोमबार लामिछानेले निर्देशन जारी गर्दै दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न निर्देशन गर्नुभएको छ। अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन निर्देशन दिइएको छ । त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउन भनिएको छ । मन्त्रालयले चैत १३ मा मेडिकल काउन्सिललाई त्यसबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेको थियो । सो प्रतिवेदनको आधारमा ३ बुँदे निर्देशन जारी गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।
मकवानपुर: आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ । गत असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कात्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको एक सय ८०औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार वैशाख २४ अर्थात् आजदेखि ऐन कार्यान्वयन गरिन लागिएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाकारूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ । प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आज बिहान काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको छ । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक रहेको र सांस्कृतिक बहुलतालाई संविधानले अङ्गीकार गरेकाले भाषिक–सांस्कृतिक विविधतालाई व्यवस्थापन गर्न व्यवस्था परिवर्तन भएकाले सो ऐन कार्यान्वयन जरुरी रहेको प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिनुभयो । भाषा ऐन कार्यान्वयन घोषणापश्चात् बागमती प्रदेश सरकार मातहत र प्रदेशका एक सय १९ स्थानीय तहको नाम चार भाषामा लेखिने उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अङ्ग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ । संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ जारी गरेको र सो ऐन आजदेखि लागू हुने उहाँले बताउनुभयो ।
जनकपुरधाम: जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८० लाख रुपैयाँ लुटिएको छ । जनकपुरधामबाट पैसा लिएर धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा तर्फ जाँदै गरेका एक जनाको ८० लाख रुपैयाँ लुटिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौना गाउँमा यो घटना भएको प्रहरीले जनाएको छ् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौँ राष्ट्रिय पत्रकारिता दिवस् २०८१ का अवसरमा शीतल निवासमा सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्ष भएको बताउनुभयो । पत्रकारिताको धर्म र व्यवसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवद्र्धन गर्न यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो,“पत्रकारिता क्षेत्रमा खोज र नवीनता प्रवर्द्धनमार्फत अझ बढी व्यावसायिक, जिम्मेवार र समाजप्रतिको उत्तरदायित्व बहन गर्ने गरी प्रेसप्रतिको जनविश्वास बढाउने कार्यमा तपाईँहरू लाग्नुनै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।” निरङ्कुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो । “लोकतान्त्रिक शासन प्रणालीमा मात्र निष्पक्ष र स्वतन्त्र पत्रकारिता सम्भव छ, त्यसैले अब यसको सुदृढीकरण र यो व्यवस्थाप्रति जनताको भरोसा अभिवृद्धिमा तपाईँहरू अझ क्रियाशील हुनुहुनेछ”, उहाँले भन्नुभयो । सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझैँ प्रभावकारी ढंगले अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत हुनुभयो ।
काठमाडौं: सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएका छन् । सभामुख घिमिरेले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरुसँग बैठक गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको वर्षे अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।
पाँचथर: पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्। उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए। परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। यस क्रममा योङ्याको साथबाट रु। १५ हजार नगद बरामद गरिएको थियो। तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,’ सूचना अधिकारी कुशवाहले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो। गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु। एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, धरौटी रकम जम्मा गर्न नसकेपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहले बताए।
पोखरा: पोखरा चाइल्ड स्टार सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनरअप ईन्दु सेन, सेकेण्ड रनरअप नज्योसा सिंह ठकुरी, थर्ड रनरअप शिरीषा पौडेल, फोर्थ रनरअप स्वेच्छा क्षेत्री भए । केटातर्फ फस्ट रनरअप जोनाथान बाबु लम्साल भए । सेकेन्ड रनरअप इभान रावत र थर्ड रनरअप कृशव सुवेदी बने । नन्द इन्टरटेनमेन्ट हाउसले पोखराा आयोजना गरेको उक्त इभेन्टमा १४ जनाले भाग लिएकोमा फाइनलमा ९ जना पुगेका थिए । कार्यक्रममा चाइल्ड स्टार सिजन–१ विजेता विल्सन ठकुरीको म्यूजिक भिडियो लोकार्पण गरियो । साथै, साहित्य सम्राट तथा अलौकिक कवि देशभक्त कुँवर, संकेत अगस्ती र गायक विश्वराज न्यौपानेलाई सम्मान गरियो । निर्णायक मण्डलको प्रमुख डा. जग्गनाथ रेग्मी थिए । अन्य निर्णायकमा मोडल विराज बास्कोटा, मोडेल तथा गायिका एलिना थपलिया, समाजसेवी तथा शिक्षिका जमुना गिरी थिए भने । निर्णायक व्यवस्थापनमा प्राडा यमबहादुर पौडेल क्षत्री थिए । विजेतालाई प्रमुख अतिथि एसएसपी शारदाप्रसाद चौधरीबाट अवार्ड, ताज तथा प्रमाणपत्र वितरण गरिएको थियो । पूजा शर्मा र रोहन गुरुङको कोरियोग्राफी रहेको कार्यक्रमको संचालन सुमी पुरी र देवेन्द्र शाहीले गरे भने स्वागत सोनी पुरीले गरिन् । समापन आइक्यास पोखराका प्रबन्ध निर्देशक समीर थापाले गरेका थिए । नन्द इन्टरटेनमेन्ट हाउसले यसअघि गण्डकी डान्स, सोसल अवार्ड जस्ता कार्यक्रम गरिसकेको छ ।

