काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेको स्वागतमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको छ । विगत केही वर्षदेखि जापानमा बस्दै आएका घलेलाई पोखरा आएको मौका पारेर मञ्च गण्डकीले स्वागत गरेको हो । पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गरें । उनले मञ्च स्थापनादेखि आफ्नो कार्यकाल पुरा गर्दाका दिन स्मरण गरें । मञ्चले गरिरहेका कार्यक्रमका कारण यसको गरिमा बढ्दै गएको उनले बताए । मञ्चले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा यथाशक्य सहयोग गर्ने वाचा उनले गरें । ‘अवार्ड कार्यक्रम निरन्तर गर्नुपर्छ, बरु खर्चमा कटौती गरौं’ उनले भने । खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि नेपालका विभिन्न ठाउँमा रहेका एकेडेमीहरुको अवलोकन भ्रमण गर्न नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष समेत रहेका घलेले सुझाए । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व सल्लाहकार सुदर्शन रन्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य उमेश पुनले नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएका कार्यक्रम सहित आगामी योजनाको बारेमा समेत अवगत गराए । यसैबिच यहीं कार्तिक १५ गते पोखरामा आयोजना गरिने मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशनको तयारी समेत अन्तिम चरणमा पुगेको महासचिव पौडेलले जनाए । मञ्च गण्डकीमा खेलकुद बिटमा काम गर्ने पोखराका ७४ जना पत्रकार आवद्ध छन् ।

महोत्तरी:     महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका( ५ हर्दियाटोलका  १९ वर्षीय आशिक पासवानको हत्या भएको हो । हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो । दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई  युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए । घटनास्थलको मुचुल्का गरी आशिकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । पक्राउ गरिएका दुवै युवकको अहिले नाम खुलाइएको छैन ।

पोखरा:   पोखरा नदीपुरमा घाँस काट्ने क्रममा भीरबाट लडेर अभिनेता प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर–३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको कास्की प्रहरीले जनाएको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको जनाएका छन् ।

काठमाडौं:     मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।    गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते हुनुभएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो ।  क्याप्टेन सेढाईंको पार्थिव शरीर आजै काठमाडौँ ल्याइएको मृतकका मामा एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो । दुर्घटनामा घाइते सेढाईंको काठमाडौँमा उपचार हुन नसकेपछि भारत लगिएको थियो । क्याप्टेन सेढाईँको पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । स्व सेढाईंलाई छोरा सौहार्द्रले दागबत्ती दिनुभयो । सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता अर्जुननरसिंह केसी, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री बुद्धिमान तामाङ, पूर्वमन्त्री  शङ्कर कोइरालासहित धादिङबाट काठमाडौँ आई बसोबास गर्ने धादिङ्गबासी तथा हवाई उड्डयन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । विभिन्न एयरलाइन्स कम्पनीसँग आबद्ध भई करिब २५ वर्ष सेवा गर्नुभएका क्याप्टेन सेढाईं लामो समयदेखि मनाङ एयरलाइन्समा वरिष्ठ क्याप्टेनका रुपमा कार्यरत हुनुहुन्थ्यो । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रबाट पर्यटक, तीर्थयात्री र  बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा स्व सेढाईंको अतुलनीय योगदान रहेको मनाङ मनाङ एयरले जनाएको छ । 

रुपन्देही:   दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा अस्ति मङ्गलवार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुई जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएको थिए ।  रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । राजभरको शव आज भेटिएको हो । दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो ।  त्यस ठाउँका स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति विसर्जन गर्न बडादशैँका दिन ती युवा नदी किनारमा पुगेका थिए । खोजीका क्रममा आज अपरान्ह घटनास्थलबाट केही तल तैरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए ।

पर्वत:    पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ। बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो।  खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले गत भदौ २१ गते पहिरोस्थलमै पुगेर अध्ययन तथा अनुसन्धान गरेको थियो। विभागका भूगर्भविद अनिस खनाल, प्राविधिक विरास मल्ल र ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले हालै अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ती घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिए।  पहिरोको चपेटामा परेका स्थानीय नगेन्द्र कार्की, पदम कार्की, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर कार्की र डेकबादुर कार्कीको घर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने भएको आचार्यले जानकारी दिए। पहिरोस्थलको अध्ययनपछि भूगर्भविद्ले दिएको प्रतिवेदनको आधारमा पीडित परिवारलाई स्थानान्तरणका लागि आवश्यक जग्गा व्यवस्थापन र समन्वय तथा सहकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जलजला गाउँपालिकाले पहल गरिरहेको छ।   आगामी वर्षा हुनु अगावै ती घरहरू सुरक्षित स्थानमा सारिएन भने फेरि पहिरोले जोखिम निम्त्याउन सक्ने भएकाले पालिका र पीडितबीच समन्वय गरेर नयाँ ठाउँमा घर निर्माण गर्नका लागि पहल गरिएको समेत प्रजिअ आचार्यको भनाइ छ। कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका–६ वटा घर विस्थापित हुनुका साथै झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आउने लेदो सहितको पहिरोले हालसम्म ६ वटा घरपरिवार समस्या परेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।  ‘पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, हामीले आगामी वर्षायाम अघिनै उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकेनौँ भने फेरि ठूलो जोखिम आउन सक्छ, हामी त्यसतर्फ सचेत बनेर कार्ययोजनामा लागेका छौं,’ आचार्यले भने। वर्षायाममा ती पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिएर बसेका थिए। वर्षा सकिएसँगै उनीहरू घर फर्किएका छन्।  कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरो पीडित पदम कार्कीले बताए। पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको थियो। उक्त पहिरोकै कारण पूर्ण गाउँमा रहेको बराह ताल पूर्णरुपमा बगर बनेको छ। त्यहाँ रहेका कार्की र घर्तीका दुई वटा मन्दिरमा क्षति पुगेको छ।  त्यसैगरी मल्लाजहुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडक पूर्णरूपमा क्षति पुर्‍याएको थियो। जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार यस वर्षको वर्षायाममा जिल्लाभर २७ वटा घरमा क्षति पुगेका छ।

धादिङ:     धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका–३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ । ‘बिहान ६ः४५ बजे शव भेटिएको भन्दै खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर साबसहितको टोली पठाएका छौं’, उनले भने, ‘उहाँ पुगेर थप अनुसन्धान सुरु हुन्छ ।’ उनी गंगाजमुना–४, गुम्दीका स्थायी वासिन्दा हुन् । श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।   उनी धादिङको टिमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । उनी टिमसहित सलाङमा बस्न गएको बताइएको छ । श्रेष्ठकी श्रीमती विदेशमा छिन् । मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । 

काठमाडौं:    इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाइ दुबईको विमानमार्फत आज बिहान ७ बजे  शव नेपाल आइपुगेको हो । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये यसअघि चारजनाको शव आएको थियो । बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उनको भनाइ छ । हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा  ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् ।  सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् । 

काठमाडौंः     आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजाकोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।  टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ । आज बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ ।     घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।   आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।   त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।    विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–   आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे ।    ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।​   शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।       विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।   अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।   यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्नलिखित मन्त्रले आशीर्वाद दिइन्छ ।    जयन्ती मङ्गला काली भद्रकाली कपालिनी  ।   दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।