काठमाडौं: नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ । सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ । यसैगरी सूचना प्रविधि निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जम्मा १६ जनामा भर्ना खुलेको छ । यस्तै भौतिक पूर्वाधार निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियरिङ, सर्भे, स्यानेटरी र सिभिलतर्फ ८ जनामा भर्ना खुलेको छ । यसैगरी अटोमोबाइल, भेटेरिनरी, हातहतियार, एमबीबीएस मेडिकल अफिसर, अस्पताल व्यवस्थापन अधिकृत, स्टाफ नर्स, फिजियोथेरापी, फार्मेसी असिस्टेन्ट, ल्याब असिस्टेन्ट, सीएमए र एएनएममा पनि भर्ना खुलेको छ । दरखास्त दिने म्याद मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म छ । प्रहरी निरीक्षक वा सोसरहको पदका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको, प्रहरी नायब निरीक्षक पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको छ । प्रहरीले उक्त राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गरिरहेको उनले बताए । प्रहरीले यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।
काठमाडौंः देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् । यो अवधिमा शुक्रवारको दिन भने दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ । गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।
काठमाडौं: सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे फैसला आज सुनाउँदै छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने जानकारी दिएको हो । संविधान दिवसका अवसरमा गएको असोज ३ गते मन्त्रिपरिषद् बैठकले योगराज ढकालको आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको यो सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन्। गएको असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि हिजोका लागि सुनुवाइ निर्धारण भएको थियो । गएको असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।
बारा: कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रुपेश सराफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार दिउँसो कलैया भरतचोक नजिकै सञ्चालक सराफको गोली हानी हत्या गरिएको थियो । सर्राफको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको पाँच जनालाई बारा प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ बस्ने राधा गुप्ता, जमिल अख्तर, रियाज अन्सारी र भारत मोतिहारि घोडासहन-१२ बस्ने २३ वर्षे चन्दन यादव र सोही ठाउँका २३ वर्षीय अभिनव कुमार सिंह रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी हत्याका मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेको उनको भनाइ छ । पक्राउ परेका राधासँग दुई पक्षीय प्रेम प्रसङ्ग रहेकाले सराफ र मनोजबिच केही दिन अघि कलैयामा झगडा समेत भएको थियो । राधा सराफले सञ्चालन गरेको स्कुलमा विगत एक वर्षदेखि लेखापालको रूपमा काम गर्दै आएकी थिइन् । दुई पक्षीय प्रेम प्रसङ्गका कारण सर्राफको हत्या भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
काठमाडौं: भ्रमण भिषामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विमानस्थलको अध्यागमन कार्यालयले शङ्का लागेर पठाइएका उनीहरूमाथि अनुसन्धान गर्दा सो तथ्य खुलेको जानकारी दिए । विमानस्थल कार्यालयले गत असोज २९ गते ती व्यक्तिका कागजातहरू पठाएको थियो । उक्त कागजातमध्ये केही उच्च माविका शैक्षिक प्रमाणपत्र नक्कली देखिएकामा उक्त कागजात बनाउने उदयपुर घर भई पेप्सीकोला बस्ने आशिष श्रेष्ठ र काभ्रेपलाञ्चोकको पाँचखाल घई भई सिनामङ्गल बस्ने २८ वर्षीय जीवराज तामाङ रहेका पाइएको छ । उनीहरूले पीडितबाट रु पाँच लाख लिई विमानस्थलमा सेटिङ मिलाई विदेश पठाउन खोजेको भेटिएको पनि प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरूसँग खानतलासी गर्दा मोबाइल दुई थान, रु ९५ हजार र जेम्स दामदाली नामको राहदानीसमेत फेला परेको छ । रेग्मीका अनुसार यसैगरी विमानस्थलबाट फर्काएका अर्का व्यक्तिको कागजात अध्ययन गर्दा राहुलकुमार मण्डलको नामको कक्षा १२ को ‘ट्रान्सक्रिप्ट’ नक्कली फेला परेको छ । उक्त कागजात बनाउने काठमाडौँ बस्ने साइरस विसङ्खेलाई पनि पक्राउ परी आवश्यक अनुसन्धान थालिएको छ । नयाँ बानेश्वरमा ग्राफिक डिजाइनिङ एन्ड प्रिन्टिङ सर्भिस सञ्चालन गर्दै आएका विसङ्खेका उक्त प्रिन्टिङ सर्भिस खानतलासी गर्दा केही शैक्षिक प्रमाणपत्रहरू बरामद गरिएको छ । उनीहरू तीन नै जनालाई थप कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा बुझाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी आहृवान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आहृवान गरेको हो । उनी राजदूतका लागि उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ । समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिबारे सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको थियो । उनले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रशारण गर्न समिति सचिवलाई निर्देशन दिए ।
गण्डकी: कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा रहेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उनको उठिबास गराएको थियो । पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् रु कुनै ठेगान छैन । “आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले लग्यो”, उनले भने, “सरकारले हाम्रो दुःख देखोस्, केही व्यवस्था गरोस् ।” दुई महिना बितिसक्दा पनि बाढीमा घरबास गुमाएकाको पुनःस्थापना हुन सकेको छैन । यसपालिको वर्षात्मा कागखोलाले नराम्ररी झुक्काएको कर्माले सुनाए । “पानी पर्ने, खोला घटबढ हुने त भइरहन्थ्यो, तर यसरी बाढी नै आएको कहिल्यै थाहा पाएका थिएनौँ”, उनले भने, “कहिल्यै नसोचेको घटना हामीले व्यहोर्नुपर्यो, हेर्दाहेर्दै बस्ती नै बगरमा परिणत भयो ।” कर्माको दुईतले घर, च्याङ्ग्रा गोठ, खेती उब्जाउने जमिनलगायत सबै बाढीले बगाएको थियो । उनीझैँ कागबेनीका नौ परिवारले बाढीमा सर्वश्व गुमाएका छन् । राहतका भरमा उनीहरुको गुजारा चलिरहेको छ । बाढीले घरमा आंशिक क्षति पुगेका २३ परिवार पनि कष्टपूर्ण दिन काटिरहेका छन् । कृष्ण गुरुङ अहिले बाढीबाट क्षतिग्रस्त भएको घरको जीर्णोद्धारमा जुटिरहेका छन् । उनको घरगोठ, होटललगायतमा बाढीले क्षति पुर्याएको थियो । “बाढी आउँदा ज्यान जोगाउनु नै ठूलो कुरा भयो, के–कति सरसामान हरायो एकिन छैन,” ६३ वर्षीय गुरुङले भने, “मेरो घरमा रु २० लाख बढीको भौतिक क्षति भएको छ, भत्किएको घरगोठको आफैले मर्मतसुधार थालेको छु ।” कृष्णले विभिन्न सङ्घसंस्था र जनस्तरबाट जुटेको राहत सामग्री र आर्थिक सहयोगका भरमा बाढी प्रभावितले दिन गुजारिरहेको बताए । “सरकारबाट आउने राहत रकम अझै आइसकेको छैन, बाढीबाट घरबास गुमाएका परिवारलाई यथाशक्य चाँडो पुनःस्थापना गर्नुपर्ने आवश्यकता छ”, उनले भने। सामान्य क्षति पुगेका निजी संरचनाको जीर्णोद्धारमा स्थानीयवासी आफै जुटेको कृष्णले बताए। कृष्णले सञ्चालन गर्दै आएको होटल माउन्ट एभरेष्टका सात कोठामा बाढीले पूर्ण रुपमा क्षति पुर्याएको थियो । उनले हावापानीमा भइरहेको फेरबदलका कारण मुस्ताङमा बाढी, पहिराजस्त विपद् निम्तन थालेको बताए । “पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ”, कृष्णले भने, “कागखोलाको बाढीले हामी सबैलाई झस्काएको छ ।” अनेपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको पवित्र तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो । बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयवासी बताउँछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागखोलाको जोखिम न्यूनीकरण र बस्ती पुनःनिर्माणबारे सरकारी तबरबाट भौगर्भिक अध्ययन भइरहेको बताए । “बाढी प्रभावितको तत्कालीन राहत तथा उद्धारमा सबै क्षेत्रबाट सहयोग जुट्यो, अब विस्थापितको पुर्नस्थापना र कागबेनी बस्ती र अरु भौतिक संरचनाको पुर्ननिर्माणमा तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ”, अध्यक्ष रिङजीनले भने, “बाढी प्रभावितले सरकारबाट पाउने राहत सहयोग छिटो उपलब्ध गराउन पनि पहल भइरहेको छ ।” अध्यक्ष रिङजीनले सरकारले विस्तृत अध्ययन गरेर मात्र कागबेनी बस्ती पुर्ननिर्माणको योजना ल्याउनुपर्ने बताए । उनले खोलाको दायाँबायाँ २० मिटर छोडेर घरलगायत भौतिक संरचना बनाउनेबारे स्थानीयस्तरमा पनि छलफल भइरहको उल्लेख गरे । “बाढीको घटनाले हामी सबैलाई पाठक सिकाएको छ, पूर्वअध्ययनविना भौतिक निर्माणका काम अगाडि बढाउनुहुँदैन”, अध्यक्ष रिङजीनले भने, “ऐतिहासिक महत्त्व बोकेको धार्मिक तथा पर्यटकीयस्थल भएकाले कागबेनी पुनःनिर्माणमा ढिलाइ गर्नुहुँदैन ।” पर्यटक र तीर्थयात्रीको चहलपहल हुने कागबेनी अहिले उराठलाग्दो बनेको छ । पितृ तर्पण दिने र स्नान गर्ने ठाउँसमेत बाढीले बगाएपछि त्यहाँ पुग्ने श्रद्धालुसमेत निराश हुनुपर्ने स्थिति छ । बाढीले मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुल, सामुदायिक भवनलगायत करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ । विस्थापित हुने परिवारको सङ्ख्या नौ भए पनि बाढीबाट ५० स्थानीयवासीका घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको अनुमान गाउँपालिकाको छ । बाढीबाट धेरै–थोरै प्रभावित हुने घरधुरी भने सयौँको सङ्ख्यामा छन् । “२३ घर आंशिक क्षतिमा समेटिए पनि ती घर पनि बस्नलायक छैनन्, पुनःनिर्माण नै गुर्नपर्ने अवस्थाका छन्”, अध्यक्ष रिङजिनले भने, “बाढी प्रभावितको अवस्था हेरेर सबैलाई उचित राहत र पुनःस्थापनाको योजना बनाउँछौँ ।” विस्थापित भएका नौ परिवारका लागि तत्काल आवासका लागि अस्थायी संरचना बनाउन सुरु गरिएको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङले बताए । उनले बाढी प्रभावितलाई राहत जुट्ने क्रम अझै जारी रहेको बताए । हालसम्म झण्डै रु ८० लाख सङ्कलन भएको संयोजक उनको भनाइ छ । “देशविदेशमा रहनुभएका मुस्ताङवासी दाजुभाइ, दिदीबहिनीहरुबाट सहयोग आइरहेको छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्”, संयोजक फेन्चोकले भने, “स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।” सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताए । “बाढी आउँदासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए”, उनले भने “प्रधानमन्त्री तहबाटै कागबेनीको पुर्ननिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ, आशा छ छिट्टै दीर्घकालीन पुनःनिर्माणको काम सुरु हुनेछ ।” बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको संयोजक फेन्चोकले बताए । उनले जोखिम अध्ययन गरेर मात्र कागबेनीमा नयाँ बस्ती बसाउनुपर्ने धारणा राखे । “कागबेनी पहिलेदेखि नै खोला माथि बसेको बस्ती हो, करिब एक सय २० वर्ष पहिले पनि यहाँ बाढी आएको पाकापुराना बताउँछन्”, उनले भने, “प्राविधिक अध्ययन नगरी सडक, पुल, भवनजस्ता भौतिक संरचना बनाउनुहुँदैन ।” तीनै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीनरचार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिने संयोजक फेन्चोकले बताए । धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । मुक्तिनाथ, कोराला नाका र डोल्पा जाने बाटोको सङ्गमस्थलका रहेकाले कागबेनीको महत्व थप चुलिएको संयोजक फेन्चोकले उल्लेख गरे । कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । बर्सेनि हजारौँ देशीविदेशी पर्यटक तथा तीर्थयात्री कागबेनी पुग्छन् । हिन्दु धर्मवालम्बीहरूले सोह्रश्रद्धामा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्ने चलन छ । दामोदर कुण्डबाट आएको कालीगण्डकी र मुक्तिनाथबाट बगेर आउने कागखोलाको दोभानमा पर्ने कागबेनीमा पिण्ड दान गर्दा उत्तम फल मिल्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ । प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलगायतले कागबेनी बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कमी हुन नदिइने बताएकाले छिट्टै पुनःनिर्माण सुरु हुनेमा स्थानीयवासीमा आशा जागेको संयोजक फेन्चोकले बताए । गत भदौ १९ गते बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्ती पुर्ननिर्माण सरकारको प्राथमिकतामा रहने उल्लेख गरेका थिए । ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको स्थल भएकाले पुनःनिर्माण योजनालाई शीघ्र अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा उन्नत र व्यवस्थित ढङ्गलले कागबेनी बस्तीको पुन:निर्माण गरिने प्रतिबद्धता जनाएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि गत महिना कागबेनी पुगेर पुर्ननिर्माणमा प्रदेश सरकारले हातेमालो गर्ने बताएका थिए । यही कात्तिक दुई गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । सो क्षेत्रको निरीक्षणपछि जोमसोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बाढी पहिरोजस्ता घटनाबाट मुस्ताङमा पुगेको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका थिए । उनले जलवायुजन्य विपद् सामनाका लागि दातृ निकायबाट आउने रु ५० करोड मुस्ताङलाई दिने घोषणा गरेका थिए ।
म्याग्दी: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । “कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरु धुलो खाँदै असहज रुपमा हिँडिरहेको देख्दा दुस्ख लाग्यो,” थापाले भन्नुभयो, “नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुुन् । पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।” पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ थियो । काठमाडौँदेखि पोखरा आएर नयाँ पुल उल्लेरी पैदलयात्रामार्फत घोडेपानी आउनुभएका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीयस्थल घुम्नुपर्नेमा जोड दिनुभयो । “स्वदेशी पर्यटक विदेश घुम्न जाने धेरै हुँदा नेपालको पैसा बाहिरिएको छ”, महामन्त्री थापाले भन्नुभयो, “नेपालमै प्राकृतिक सम्पदा तथा पर्यटकीयस्थल धेरै छन् । कतिपय पर्यटकीय ठाउँ ओझेलमा छन् । ती ठाउँहरुको पहिचान, प्रवर्द्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रुपमा पहल गर्नुपर्ने छ ।” समुद्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूूर्ण, माछापुच्छ्रे, निलगिरि लगायतका हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । लालीगुराँस जङ्गलको टाकुरामा रहेको पुनहिलको सौन्दर्यले आफूलाई मोहित बनाएको थापाको भनाइ थियो । घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । असोजरकात्तिक पर्यटकको यामका रुपमा मानिन्छ । गत वर्षको तुलनामा पर्यटक आगमन बढेपनि कोभिड अगाडिको अवस्थामा जस्तो पाहुना आउन नसकेको अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहनुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिनुभयो । “घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो । कोभिड अगाडिको छ महिनामा ३० हजार भन्दा बढी पर्यटक आएकामा यस वर्ष वैशाखदेखि कात्तिक दोस्रो सातासम्म चौध हजार मात्रै पर्यटक आएका छन्”, होटल व्यवसायी थापाले भन्नुभयो । उहाँका अनुसार यहाँ २५ वटा सुविधायुक्त होटल छन् । कोभिड अगाडि भरिभराउ हुने होटलमा आधा मात्रै पाहुना रहेका होटल टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो । महामन्त्री थापाको टोली घोडेपानीदेखि आज कास्कीको पर्यटकीयस्थल घान्द्रुक गएको छ ।