काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गरेका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक नीति, कानुन र संरचनात्मक विकासमा ध्यान दिएको उल्लेख गर्नुभयो । दूरसञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार प्रयोगको नीति अघि सार्ने तयारी गरिएको जानकारी दिनुभयो । “यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने र सेवालाई थप प्रभावकारी बनाउँदै उपभोक्ताबाट लिने शुल्क घटाउन सकिन्छ भन्ने विश्वास लिएका छौँ, त्यस्तै सेवा प्रदायकबाट पनि कूल आम्दानीका हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागू गर्नेगरी ऐन संशोधनको काम भइरहेको छ”, उहाँले भन्नुभयो । ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको मन्त्री शर्माले बताउनुभयो । राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नुका साथै सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको विकासका लागि संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका लक्ष्यलाई ध्यान दिएर नेपालले आफ्नोतर्फबाट पनि काम गरिरहेको बताउनुभयो । सामाजिक र आर्थिक विकास प्रवद्र्धन गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वबारे चेतना जगाउने, डिजिटल डिभाइडलाई कम गर्न र सबैलाई आइसिटीको पहुँच सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य सेवा र अन्य सामाजिक विकास लक्ष्यका लागि आइसिटीको प्रयोग वृद्धि गर्ने, समावेशी र मानव अधिकारको सम्मान गर्ने तरिकामा आइसिटीको प्रयोग सुनिश्चित गर्ने तथा दिगो विकासका लागि आइसिटीको प्रयोग बढाउनेलगायत राष्ट्रसङ्घले अघि सारेका लक्ष्यहरु पूरा गर्न नेपालले मुख्यतः डिजिटल पूर्वाधार निर्माणमा ध्यान दिएको मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशका अधिकांश भू–भागमा दूरसञ्चार र अधिकांश वडा केन्द्रमा ब्रोडव्याण्ड इन्टरनेट पुगेको छ, नेपाल टेलिकमले ७५ जिल्लामा फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरेको छ । हालसम्म २५ हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर विस्तार गरिएको छ । पछिल्लो समय सूचना प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रकारुपमा स्थापित हुँदै गएको छ ।” नेपालको दूरसञ्चार क्षेत्रको विकासमा आइटियुले गर्दै आएको सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री शर्माले आइटियुले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापनजस्ता विषयमा सदस्य राष्ट्रलाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । विश्व परिवेशमा इन्टरनेट र टेलिफोनको पहुँचमा देखिएको डिजिटल डिभाइडलाई कम गर्न आइटियुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले सदस्य राष्ट्रका हैसियतले नेपालकोतर्फबाट आइटियुलगायत विभिन्न सङ्घसंस्थासँगको सहकार्य अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नेभयो । ‘दिगो विकासका लागि डिजिटल नवप्रवर्तन’ नाराका साथ आज विश्वभरि विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारस् न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा९प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरु भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ । नेपाल बार एसोसिएसनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ ।
काठमाडौं: प्रतिनिधिसभाको बैठक ढिलोगरी सुरु हुने भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलले केही समय माग गरेकाले केही समय ढिलोगरी सुरु हुने भएको सभामुखको सचिवालयले जनाएको छ। यसअघि बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले नाराबाजी गरेको थियो। कांग्रेसको नाराबाजीपछि संसद् बैठक आजका लागि स्थगित गरिएको थियो। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता भएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। समिति बनाउन दलहरू तयार भएपनि टीओआर ९कार्यादेश० कस्तो हुने भन्ने कुरामा सहमति हुन नसक्दा दलहरूबीच थप समस्या उत्पन्न भएको छ।
काठमाडौं: वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिए । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दलको समर्थन छ ।
डोटी: जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो। उनीहरूको कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए। अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए।
पाल्पा: पाल्पामा बुधबार बेलुका भएको बोलेरो जीप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं.४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जीप दुर्घटनामा निस्दी गाउँपालिका वडा नं.४ का ६ वर्षीय राजिव सुनारी र वडा नम्बर ४ का २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो । उक्त जिपमा सवार अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै जीपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको नवलपरासीको अस्पतालमा उपचार जारी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
काठमाडौं: आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ । रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ ।
बागलुङ: बागलुङको ढोरपाटन नगरपालिकामा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुतिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको ग२च २३१४ नम्बरको बोलेरो जीप मस्तीमा दुर्घटना हुँदा चालकसहित हुँदा १६ जना घाइते भएको इलाकाप्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। दुर्घटनामा ढोरपाटन नगरपालिका(५ चौरकी २४ वर्षीया सावित्रा विक, २३ वर्षीया लक्ष्मी विक, २३ वर्षीया अनुसा विक, १० बर्षीय मनोज विक, २३ वर्षीया टिका विक, २९ वर्षीया पुजा विक, ४० वर्षीया पूर्णकला विक, २३ वर्षीया अनिता पौडेल र उनका १८ महिनाको छोरा प्रिन्स पौडेल, ४२ वर्षीया ज्ञान बहादुर घर्ती, २८ वर्षीया मिना विक, ढोरपाटन नगरपालिका–२ अर्नाकोटका २० वर्षीया धनकुमारी क्षेत्री, १९वर्षीया सिता रोका,निसीखोला गाउँपालिका–२ का २० वर्षीया मिना कार्की र उनको तीन महिनाको छोरी सुहाना कार्की र चालक तमानखोला गाउँपालिका–४ का ३० वर्षीय अमन सिर्पाली घाइते भएको प्रनि विकले बताए। घाइतेहरूको उद्धार गरेर उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए। जीप व्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेको प्रनि विकले बताए।

