काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताए । गएको शुक्रवार राति जाजरकोटमा गएको भूकम्पका कारण भएको क्षतिले गर्दा देश नै शोकमा र सङ्कट परेको अवस्थामा राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय गरेको चालिसेले बताए ।  पौडेलले यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो । राष्ट्रपतिको भ्रमण सरकारले स्वीकृत गरिसकेको थियो ।

जाजरकोट:    जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ ।   स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो ।    जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो ।   त्यस्तै टेकबहादुर पुनको व्यक्ति एकै र नाम दुई हुँदा संख्या दोहोरिएको थियो ।   जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यस मध्ये २८ महिला १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ ।   त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको प्रजिअ सुनारले बताए । मृत्यु हुनेमा ९७ सय महिला र ५६ पुरुष छन् ।

काठमाडौं:    सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरी र टिकटकबिच छलफल भएको छ । सामाजिक सञ्जालनमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीमाथि कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबिच शुक्रबार छलफल भएको हो । उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन सहज हुने गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  ‘जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।  

काठमाडौं:   नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट नौ जना र एक जनालाई उदयपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टुको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित डकुमेण्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताउनु भयो । उहाँले अनसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायीघर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताउनु भयो । एसएसपी राठौरले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरुमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साईरस विशंखे, काठमाडौंका दीपक के।सी र सल्यानका बलबहादुर रावत रहेको बताउनु भयो । एसएसपी राठौरले अनुसन्धानको क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार गिरोहले भिजिट भिषामा नक्कली कागजतामा पठाउने विषयमा कतिपय मानिसहरुलाई थाहा समेत नभएको पाइएको छ । उहाँले विदेश जानको लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको बताउनु भयो । यसैगरी, प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २९६ कागजातहरु बरामत गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका दीपक के.सीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरुबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरु बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ ।

पाेखरा:   बेलायतका कोलिन फिलिप स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ भनिन्छ ।   नेपालमा अध्यापन र पुतली संकलककारुपमा ५५ वर्ष बिताएपछि बाजेले अघिल्लो वर्ष ०७६ मंसिर १६ मा नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए । नागरिकतामा बाजेको जन्ममिति वि.संं. १९९३–०८–०९ उल्लेख छ ।   उनै बाजेलाई भेट्न ७७ मंसिरको एक चिसो दिन पोखरा महानगरपालिका वडा १८ स्थित सराङकोटतर्फ उक्लदै गर्दा गुम्बा तलै सडक छेउ टुसुक्क बसेको भेटियो । उनको साथमा थियो लट्ठी र झोला, जो उनको साथमा सँधै हुन्छ ।   पोखरामा केही किनमेल गरेर उनी उकालो चढ्दै रहेछन् । उमेरले ८४ लागेका बाजेलाई त्यही झोला पनि अब गह्रुँगो लाग्न थालेको रहेछ । शरिरमा थकान बढेपछि उनी सुस्ताउन सडक छेउमै बसेका रहेछन् ।    बाजेसँग गफिन मन लागेको बताएपछि छेवैको घरमा एकछिन बस्ने निधो भयो । खँदिलो झोला देखेर ‘के छ ?’ भनि जिज्ञासा राख्दा उनले डाइजेस्टिभ बिस्कुट र अन्य सरसामान देखाए । पावरवाला मोटो चस्मा भित्रबाट चहकिला आँखाले हेर्दै भने ‘यो नेपाल सरकारको पैसा हो ।’   बाजेको अनुसार उनले गत साउन, भदौ र असोजको एकमुष्ट ९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेका रहेछन् । उक्त भत्ता वडा नम्बर १८ ले उनको खातामा हालिदिएको रहेछ ।    अझै ४ महिनाको भत्ता लिन बाँकी रहेको पनि उनले सुनाए । नेपाल सरकारको नियमानुसार ७० वर्षमाथिका जेष्ठ नागरिकलाई मासिक ३ हजार रुपैयाँ भत्ता तोकिएको छ ।   कोलिन २९ वर्षकै उमेरमा नेपाल आएका हुन् । सुरुवाति दिनमा उनले अध्यापन गरे । कुराकानीकैक्रममा भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र डाक्टर उपेन्द्र देवकोटा –दिवंगत०लाई पढाएको स्मरण गरे । त्यसपछि पुतली संकलन उनको रुचि बन्यो ।    बेलायतमै छँदा पुतलीका शौखिन उनलाई उतै ‘बटराफ्लाई ग्य्राण्डड्याड’ भनिदो रहेछ । उनका अनुसार नेपालमा ६ सय ५० बढी प्रजातीका पुतली पाइन्छन् ।   बाजेलाई यहाँ बस्दा सबैभन्दा बढ्ता खुशी नागरिकता पाएपछि र यस वर्ष भत्ता बुझेपछि लागेको रहेछ । नागरिकता नहुँदा सराङकोटको ग्यारजातीमा बनाएको सानो घर अब आफ्नै नाममा हुने भएपछि उनी थप खुशी देखिएका थिए । त्यसो त नेपालीले गरेको माया देखेर उनी हरपल खुशी नै देखिन्छन् । यसअघि काठमाण्डौंमा नागरिकता पाउन दिएको आवेदन असफल भएको उनले सुनाएका थिए ।    सामान्य जीवनशैलीबीच रम्न जानेका बाजेले नेपालमा पुतलीसम्बन्धी अनुसन्धानमै समय बिताए । बल र उमेरमा डाँडाकाँडा डुलिहिड्ने बाजेको ज्यान बुढ्यौलीमा पनि पोखरा आउजाउ गरिरहेको थियो । तर पहिलेजस्तो तुजुक छैन । प्रायः सहयोगीसँग हिड्थे । लट्ठीको सहारामा आफुलाई बिसाउँदै हिड्नु पर्ने उनले पुतली संकलन गर्न छाडिसकेका थिए । धेरथोर पढाइमा समय काट्ने गरेको बताउँथे ।     बेलायतमा आफ्नो अब कोहि पनि नभएको सुनाउँदै बाजेले नेपालीको माया नै सबथोक रहेको सुनाए । छोटो विश्रामपछि शरिरमा जोश भरिएर होला उनले लट्ठी र झोला सम्हाले । र, उठ्दै भने ‘अब तिमी तल र म माथि जाने ।’ बाजेको यो वाक्य केही दार्शनिकपाराको लाग्यो । ‘तपाइलाई लामो आयूको कामना’ भन्दै म ओरालो झरेको थिए ।  .................................................................................................. त्यसपछि ०७९ चैतमा पुतली बाजे बिरामी भएर हरियो खर्क अस्पतालमा भर्ना भएको सुनेपछि त्यहाँ कार्यरत मित्र गणेशसँग सम्पर्क गर्दा उनले छिटै ठिक हुने बताएका थिए ।    एक हप्तापछि गणेशले भनेजस्तै पुतली बाजे ठिक भएर ग्यारजातीको डाँडा उक्लिए । उनको दैनिकी पहिलेजस्तै तर केही मन्द गतिमा चलिरहेको थियो ।   तर, पछिल्लो समय त्यही अस्पतालमै उपचाररत पुतली बाजेको सोही मन्द गति पनि शनिबारको पहिलो प्रहर रोकिएपछि उनी ‘माथि’ पुगेका छन् ।    बाजेको स्वर्गबास होस् । भावपूर्ण श्रद्धाञ्जली ।।  

जाजरकोट:    जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।  प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन् । जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका  भूकम्प पीडितले भन्नुभयो “भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुुटु कापिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ । ”  भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा  धेरै भौतिक क्षति पु¥याएको छ ।  बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् ।   परम्परागत घरमा क्षति धेरै  जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पुगेको छ । प्रहरीले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको देखिएको हो । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरी जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको जानकारी दिनुभयो  ।  विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ । ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल विक बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन ।” तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ । भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ भने घर भत्किँदा मानवीय र भौतिक क्षतिसमेत भएको छ । भिरालो जमिनमा रहेको खलङ्गा बजारमा खचाखच घर बनाइएको छ । साँघुरो बाटो, बजारभन्दा तलतिर पहिराको जोखिम देखिन्छ । बजारमा घरमा घर जुधाएर दुवैतिरबाट सडकलाई च्यापिएको छ । यसले गर्दा भूकम्प आउँदा न त खुला ठाउँ छ न भाग्ने ठाउँ नै ।   खुला आकाशमा रात बिताउँदै  भूकम्प पीडितले  खुला आकाश पालमुनि बसेर रात बिताएका छन् ।  घरहरू भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घर भएपछि बाहिर बस्नुपरेको उनीहरूको दुःखेसो छ । बाहिर बस्नुपरेपछि चिसोको समस्या बढेको उनीहरूको भनाइ छ । जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकाशमुनि बसिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो । साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु । सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि धेरै समस्या छ ।”   उद्धारको काम करिब अन्तिम चरणमा सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकाको समन्वयात्मक काम गरेको देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताउनुभएको थियो । यसअन्तर्गत भूकम्प प्रभावितको उद्धार करिब अन्तिम चरणमा पुगेको हो ।  यस्तै प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन् । कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने अन्य विभिन्न सङ्घसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ ।

काठमाडौं:   शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय सरकारले गरेको हो ।

डोटी:    कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।  बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति २ बजे दुर्घटनामा परेको हो ।

बुटवल:   लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।   शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।   उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ ।   यसअघि सुदुरपश्चिम प्रदेश सरकारले १ करोड सहयोग गर्ने निर्णय गरिसकेको छ । यस्तै बुद्ध एयरले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको छ ।    साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निणर्य समेत गरेको छ ।