मुगु: बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो । शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’, भनेको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ र सकारात्मक जीवन महत्वपूर्ण रहेकाले यसका लागि अध्यात्मिक ज्ञान आवश्यक रहेको बताउनुभएको छ । सभ्य समाज निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा उहाँले आभार पनि व्यक्त गर्नुभयो । प्रदेश प्रमुख भट्टको स्वागत तथा सम्मानमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय पोखराले आयोजना गरेको परिचयात्मक स्नेह मिलन कार्यक्रममा प्रदेश प्रमुख भट्टले आफू यस विश्वविद्यालयको अभियानसँग लामो समयदेखि परिचित रहेको र नजिकबाट चिनेको बताउनुभयो । उहाँले अध्यात्म चिन्तनबाट समाजलाई सकारात्मक रुपान्तरण र शान्ति स्थापना गर्नका लागि सक्रिय रुपमा महत्वपूर्ण भूमिका खेलेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको माननीय प्रदेशप्रमुखले मुक्तकण्ठले प्रशंसा पनि गर्नुभयो । ‘समाजमा देखिएका विकृति, विसंगति, वेथितिलाई निरुत्साहित गर्नका लागि अध्यात्मिक ज्ञान आवश्यक छ । सुशासन कायमसँगै सकारात्मक समाज निर्माणका लागि ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो देन छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो । सुन्दर विचारले जीवन सार्थक बन्ने भन्दै विचार सुन्दर पार्न ध्यान, प्रार्थना, योगको महत्वपूर्ण योगदान दिने बताउनुभयो । प्रदेश प्रमुख भट्टलाई निर्देशक तथा अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परनीता दिदी, महासचिव ब्रह्माकुमार शैलेषराज बराल, क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शोभा दिदी, ब्रह्माकुमार लोकनाथ काफ्ले लगायतले स्वागत तथा सम्मान गर्नुभएको थियो । प्रदेश प्रमुख भट्टले पोखराको फूलबारीमा बन्दै गरेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रको निर्माणाधिन भव्य भवनको पनि अवलोकन गर्नुभयो । ३५ करोड बढी लागतमा क्षेत्रीय कार्यालय भवन निर्माण भइरहेको छ ।
काठमाडौं: सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान निषेध गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरी निषेध गरिएको जानकारी दिइन् । यात्रा अनुमति प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरिएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको जग्गा मध्ये पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं अचल सम्पत्तिको खोज र लगत संकलन गरी प्रतिवेदन पेश गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले क्रिकेट सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरे पनि भिसा प्राप्त नभएको भन्दै भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको भएको बताइन् । उनले अहिलेको मुलुकको आर्थिक अवस्थाका कारण बजेटमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएको स्पष्ट पारिन् प्रवक्ता शर्मा प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदा आवश्यक भन्दा बढी मत आएकाले अहिले सरकारलाई अप्ठेरो पर्ने अवस्था नरहेको जिकिर गरिन् ।
तनहुँ: तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्याएको छ । उनले भने, “हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ ।” क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि केही स्थानमा पुगिसकेको प्रजिअ गौतमले बताए । हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्याएको र सबैभन्दा बढी व्यास नगरपालिकामा क्षति भएको जानकारी प्राप्त भएको उनले बताए । चट्याङ पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए । हावाहुरीसँगै आएको असिनापानीले विभिन्न किसानले लगाएको तरकारीमा क्षति पु¥याएको छ । फल लागेका आँप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्याएको छ । हावाहुरीले मानवीय क्षति नभएको प्रजिअ गौतमले बताए । यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युत पोल ढल्दा अवरोध बनेको छ । विद्युत् पोल तथा तारमा भएको क्षतिले विद्युत् प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए । विद्युत् सेवा सुचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिएका छन् । कतिपय स्थानमा सडक अवरोधले गर्दा एम्बुलेन्स रोकिएको जानकारी पाएपछि राति १० बजेसम्म घटनास्थलमा पुगेर काम गरिरहेको केन्द्र प्रमुख रेग्मीले बताए । ठूला–ठूला रुख ढलेर तारमा लागेकाले पोलसमेत ढलेको रेग्मीले जानकारी दिए । व्यास नगरपालिका–१० को बैरेनी, वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर–१२ को छिर्कन, १३ को पोखरीभञ्ज्याङ, १४ नम्बरलगायतका दर्जनौँ स्थानमा विद्युत् पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ । हावाहुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका–१ भैँसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीयले जनाएका छन् ।
दैलेख: जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले राससलाई बताउनुभयो । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उहाँले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।तृत्व विकास तालिम
विराटनगर: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताउनुभयो । “वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।” दीगो विकासका लक्ष्यहरू तथा सरकारको अन्य नीति तथा योजनाले परिकल्पना गरेअनुरूप श्रम क्षेत्रमा पनि स्वास्थ्य र आरोग्यताका लागि काम गरी श्रमिकको हकहित संरक्षण गरिने बताउँदै प्रधानमन्त्रीले रेमिटेन्सबाट अर्थतन्त्रको उत्पादनशिलता बृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागि परेको बताउनुभयो । उहाँले सबै क्षेत्रको संयोजन गरी तत्कालका लागि सुरक्षित र उपलब्धिमूलक वैदेशिक रोजगारी र दीर्घकालीन रूपमा आन्तरिक रोजगारी बढाएर देशको समृद्धि र नागरिकको सन्तुष्टि बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । “सरकारले श्रमिकहरू समस्यामा परेपछि होइन, श्रममा प्रवेश गर्न चाहनेहरूको सीप तथा क्षमता अभिबृद्धि गरेर प्रतिस्पर्धी बनाउनेसमेत लक्ष्य राखेको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “यसको कार्यान्वयनले श्रममा प्रवेश गर्न चाहने धेरै युवा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।” रोजगारीको सिर्जना र मर्यादित श्रम क्षेत्रको विकास गरेर समृद्धिको यात्रालाई तीव्रता दिन सकिने बताउँदै उहाँले त्यसका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास एवं सहकार्यका लागि अपिल गर्नुभयो । ‘श्रमाधान रोजगार मेला’ सरकारको अर्थपूर्ण कार्यक्रम भएको बताउँदै प्रधानमन्त्रीले श्रम र रोजगारीसँग सम्बन्धित सम्पूर्ण अवसर र समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने र नागरिकको रोजगारीको संवैधानिक हक प्रत्याभूत गर्न यसले विषेश भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत मुलुकभित्र रोजगारीका अवसर बृद्धि गर्न धेरै नयाँ कार्यक्रमहरू ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले रोजगार बैंकको अवधारणा, वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको उद्यम विकास, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना, कृषि क्षेत्रको पुनरोत्थान, औद्योगिक विकास, सूचना प्रविधिको विकासलगायत कार्यक्रमबाट रोजगारी सिर्जना हुने बताउनुभयो । नेपालमा उत्पादित वस्तुहरूको उपयोग र खपतका निम्ति प्रोत्साहन, ‘मेड इन नेपाल, मेक इन नेपाल’ को अवधारणा अगाडि बढाइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले डाटा सेन्टर तथा सूचना प्रविधिको विकासमा उच्च प्राथमिकता, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गरिने बताउनुभयो । “स्टार्ट अप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना, स्टार्ट अप बोर्डको गठन र कोष स्थापना, सातै प्रदेशमा बिजिनेस इन्क्युवेसन सेण्टर सञ्चालन गरिनेछ”, प्रधानमन्त्रीले भन्नुभयो, “सार्वजनिक–निजी साझेदारीमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण, महिला उद्यमीद्वारा उत्पादित वस्तु बिक्री गर्न कोसेली घरको स्थापना र सञ्चालन, उद्योग र लगानीसँग सम्बन्धित कानुनमा परिमार्जन गरिनेछ ।” प्रधानमन्त्री प्रचण्डले स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्यम व्यवसाय सञ्चालन, रैथाने कृषि बाली विकास, कृषि प्रदर्शन, साप्ताहिक मेला र हाट बजार सञ्चालन लगायतका धेरै कार्यक्रम आगामी वर्षको बजेटमा सम्बोधन गरिएको जानकारी दिनुभयो ।
सुर्खेत: सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोट शुभकालिका गाउँपालिका–३ का ४० वर्षीय तन्त बि.क., सोही ठाउँका १७ वर्षीय वीरेन्द्र बि।क, २७ वर्षीय नवराज बि.क. र दैलेख भैरबी गाउँपालिका-४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । जीपमा ६ जना सवार रहेकोमा दुई जना गम्भीर घाइते छन् । कालीकोटका नरी विक र नरेन्द्र विष्ट घाइते भए हुन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेत: सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जीप सडकबाट तीन सय मिटर तल खसेको थियो । जीपमा ६ जना सवार रहेका थिए । ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको जानकारी दिए । घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ ।

