काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे । ‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ’, उनले भने, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु ।’ नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ः१५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
काठमाडौं: ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए। उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्। गोदावरीको ढुंगा–गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानिनोक्सानी पुर्याएको उनीहरूमाथि आरोप छ। उनीहरूविरूद्ध एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग गरेको छ।
गुल्मी: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । उहाँका अनुसार घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ ।
गण्डकी: उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उनले सो कुरा बताएका हुन् । आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागेको बताए । उनले राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आफ्नो समुदाय र देशमा नेपालको पर्यटनबारे प्रचारप्रसार गरिदिन आग्रह गरे । ‘अतिथि देवो भवः’को आदर्श वाक्य उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालीहरु आतित्थ संस्कारका दृष्टिले विश्वभर चिनिएको बताए । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै अग्लो शिखर सगरमाथालगायत अनेकौँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा हेर्न विश्वभरका पर्यटक नेपाल आउने गरेको उनको भनाइ छ । उपप्रधानमन्त्री श्रेष्ठले पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटन गतिविधिमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास भइरहेको उल्लेख गरे । उनले ध्यान, योग र आध्यात्मिक पर्यटनका माध्यमबाट पनि पोखराको थप विकास गर्न सकिने दाबी गरे । अन्नपूर्ण दिवसका अवसरमा आइतबार नै विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए । विश्वमै पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा उक्त पदयात्राको आयोजना गरिएको थियो । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा बर्सेनि अन्नपूर्ण दिवस मनाउने गरिन्छ । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रमसहित आज ७४औँ अन्नपूर्ण दिवस मनाइँदैछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए । “तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा कार्यक्रम निर्माण गर्न, दलित सशक्तीकरण कार्यक्रम बनाउन, छुवाछूत विरूद्धको ऐन प्रभावकारी कार्यान्वयन गर्न सबैमा विशेष अपील गर्दछु”, सन्देशमा भनिएको छ । दलित समुदायलाई छुवाछूत र विभेदबाट मुक्त गर्दै बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै विगतको राज्य संयन्त्रले गरेको अन्यायको परिपूरण र समानताको आधारशिला खडा गर्न सकिने र त्यसका लागि राज्यका सबै संयन्त्र गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए । दलित समुदायको समग्र विकासको लागि दलित विकास प्राधिकरण गठन गर्ने नीति र कार्यक्रम ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, “सरकारले यसलाई कानुन नै बनाएर संस्थागत गर्नेछ, यसमा दलित आन्दोलनले पनि निरन्तर सङ्घर्ष र खबरदारी गरिराख्नुपर्दछ ।” उनले छुवाछूतको समूल नष्ट गर्न राज्यका तीनै तहमा छुवाछूत निगरानी तथा अनुगमन संयन्त्र आवश्यक रहेको र आफूले यस विषयलाई गम्भीररूपमा लिएको बताएका छन् ।
चितवन: चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना ४ च ८८५५ नम्बरको जीप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै भारतको महाराष्ट्र प्रान्तको मुम्बईको बेण्डाली थानाका रहेका प्रहरीले जनाएको छ । घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशङ्कर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर तथा ६२ वर्षीय पङ्कज गुप्तेश्वर रहेका छन् । घाइते पर्यटकको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको छ । चितवनको रत्ननगर नगरपालिका–४ घर भएका चालक ४५ वर्षीय सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागलुङ: प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बागलुङमा रहेको न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरद्वारा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई सुविधा दिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दाङ: दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा अश्रूग्याँस लागेर चार जना घाइते भएका छन् । स्वर्गद्वारी आश्रमको जग्गामा मोहि कायम भएका दाङका किसानहरुले मोही कायम भएको जग्गाको माग गर्दै घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेपछि प्रहरि अश्रुग्याँस प्रहार गरेर ताला फोडेको छ । ताला फोडेपछि कार्यालयको काम सुरु भएको छ । प्रर्दशनकारीले सरकारी कार्यालयमा तालाबन्दी र तोडफोड गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरि उनीहरुलाई हटाएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनु भयो । आन्दोलनरत किसानलाई हटाउन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो । सरकारले पटकपटक आफूहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवाव स्वरुप तालाबन्दी गर्नु परेको गुठि पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ । तालाबन्दी गरिएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरुले घेरेपछि प्रहरी उनीहरुलाइ हटाउन अश्रुग्याँस प्रहार गरेको हो ।
सुनसरी: सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् । सहप्रवक्ता थापाका अनुसार सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो । बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ । सहप्रवक्ता थापाले रकमसँगै कार र चालक अन्सारीलाई नियन्त्रणमा लिइएको बताए । प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत खुलाउन नसकेको उनको भनाइ छ । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहिका लागि राजश्व कार्यालय इटहरीमा अनुसन्धानका लागि बुझाउने प्रक्रियामा रहेको छ ।

