काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

  काठमाडौं:   बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।   जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएअनुसार आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरुका साथै कन्काई, कमला र पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने छ ।   आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ ।   आज र सोमबार नारायणी, कोशी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नारायणी, कोशी र महाकालीमा उच्च जोखिमको अवस्था हुने पूर्वानुमान छ ।   यसैगरी कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेतीमा मध्यम जोखिमको सम्भावना छ ।   झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बग्ने नदी तथा खोलाहरुमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।   यसैगरी मध्यम जोखिम हुने अन्य जिल्लाहरुमा नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बैतडी र बझाङ समेत छन् ।   सोमबार देशका अधिकांश स्थानका साना नदीहरुमा बहाज बढ्ने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम र मधेश प्रदेशका नदी तथा खोलाहरुमा बाढीको जोखिम छ ।

दाङ:     राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ ।  शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।  यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ । उनको शव खोलाको बगरमा  फेला परेको हो ।  हस्नापुर घाटबाट राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मुलुकका विभिन्न भागमा अविरल वर्षापछि आएको बढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन गरेका हुन् । प्रधानमन्त्री दाहालले यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढीपहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको जनाएका छन् । उनले सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध समेत गरेका छन् । प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपील समेत गरेका छन् ।

चितवन:     नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे  बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ ।   शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले स्थानान्तरण गरेको हो ।

सुनसरी:     सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

पर्वत:    पर्वतमा पहिरोले गोठ बगाउँदा बेपत्ता भएका यहाँका दुई जनाको शव भेटिएको छ । पर्वतको फलेवास नगरपालिका १  कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले उनकै गोठ बगाएको थियो । गोठका भैंसी, बाख्रा बचाउन गएको बेला पाध्याका छिमेकी स्थानीय ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्मा बेपत्ता भएका थिए । शनिबार दिउँसो साढे ३ बजेतिर बेपत्ता भएकोमा बेलुकी ७ बजे दुवैको शव भेटिएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । मृतक तुलसीप्रसादको घटनास्थलदेखि १ सय मिटर तल खोल्सामा शव भेटिएको हो । झलकको भने खोलाले बगाएर आँधीखोला पुर्‍याएको अवस्थामा शव भेटिएको हो । दिउँसो साढे ३ बजेतिर घरदेखि १ सय मिटर माथिबाट खसेको पहिरोले गोठ सहितको संरचना बगाएको थियो । सुरुमा स्थानीयले घटनास्थलमै खोजी गरेका थिए । पछि बगेको अनुमान गरेर विभिन्न स्थानमा प्रहरी र स्थानीय परिचालन भएपछि शव भेटिएको हो । शव खोज्न स्याङ्जासम्मका प्रहरी र स्थानीय खटिएका थिए । उक्त घटनामा पाध्याका घरमा पालेका २ भैंसी, १ पाडो र ४ बाख्रा पनि मरेका छन् । घर पनि पहिरोको जोखिममा परेको छ । पाध्याको परिवार छिमेकीको घरमा आश्रय लिन गएका छन् ।

काभ्रे:    काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रेको स्थानीय भ्याकुरे खोला तर्ने क्रममा एक वृद्धा र एक बालिकालाई खोलाले बगाएको थियो । रोशी गाउँपालिका ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाएर सोही स्थान बस्ने ६५ वर्षीया जालमाया रुजालमगर र उनकी भदैनी ५ वर्षीया सेतीमाया रुजालमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ ७ बजेको समयमा खोला तर्ने क्रममा उनीहरुलाई बगाएर ९०० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

स्याङ्जा:   स्याङ्जाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो । पहिराको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा जानुभएका उहाँहरूको पुरिएर ज्यान गएको हो । उहाँहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो । बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उहाँहरूको मृत्यु भएको हो । उक्त पहिरामा परी पाँचजना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।

पोखरा:     गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो ।  शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो । प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शुन्यमा झार्ने प्रयास भइरहेको तथ्याङ्क उहाँले उल्लेख गर्नुभयो । मन्त्री थापाले निशुल्क डायलसिस सेवा प्रवाहले पैसाको अभावमा उपचार नपाएर वञ्चित भएका नागरिक लाभन्वित भएको बताउनुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकार संवेदनशील भएको बताउनुभयो । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उहाँको छ । प्रदेश सरकारले सुत्केरी महिलाहरुको लागि एयरलिफ्टिङ सेवाको व्यवस्था समेत निशुल्क गरिदिएको उहाँले बताउनुभयो । जसले गर्दा ग्रामीण भेगका दुरदराजमा रहेका महिलाहरुलाई तत्काल सेवा प्रवाह गर्न सहज भएको छ । स्वास्थ्य बीमामा सोचेजस्तो प्रगति हुन नसकेता पनि यसको व्यवस्थापनमा लागिरहेको उहाँले बताउनुभयो । योगा, ध्यानमा बजेट विनियोजन गरि सकेसम्म रोग लाग्नै नदिने वातावरण सिर्जनामा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई उहाँको छ । नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले स्वास्थ्यमा जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नागरिकको स्वास्थ्यको उपचारको बारेमा सरकारले सोच्नुपर्ने बेला आएको बताउनुभयो । सर्ने रोग सँगसँगै नसर्ने रोगको नियन्त्रणमा समेत लगानी गर्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभयो । डा।अभिषेक मास्केले सुगर र उच्च रक्तचापका कारण मृगौलामा समस्या पर्ने उल्लेख गर्नुभयो । प्रत्येक ६ महिना वा वर्षदिनमा मृगौलाको जाँच गर्नुपर्ने भनाई उहाँको छ । आदी भन्दा बढी बिरामी मृगौला बिग्रेपछि मात्रै उपचारका लागि आउने गरेको उहाँले उल्लेख गर्नुभयो । मोटोपना, रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको सेवन गर्नाले मृगौला रोग लाग्ने भनाई उहाँको छ ।  मृगौला रोग लाग्न नदिन जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पोखरा १४ परिवर्तन टोल सुकुम्बासी बस्ती बस्ने वर्ष ३२ की मृगौला पीडित लक्ष्मी विश्वकर्मालाई एक लाख रुपैयाँ नगद सहयोग गरिएको छ ।  चन्द्र कृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, भीरकोट नगरपालिका स्याङजाका प्रमुख गोविन्द कुमार बसन्त कर्माचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्य लगायतले बोल्नुभएको थियो भने स्वागत मन्तव्य पुरस्कार दाता दिवंगत लक्ष्मीसुन्दरी कर्माचार्यका छोरा माइकल कर्माचार्यले गर्नुभएको थियो ।