पोखरा: यातायात व्यवस्था कार्यालय कास्कीले ‘राइड सेयरिङ’ एपमार्फत प्रदान गरिने सेवालाई असार ७ गतेदेखि रोक लगाएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले एक सूचना जारी गरेर ‘पठाओ’ ‘इन्ड्राइभ’जस्ता राइड शेयरिङमा रोक लगाएपछि तेस्रो दिन ट्राफिक प्रहरीले राइड शेयरिङ गर्ने २२ मोटर साइकल÷स्कुटर र चार ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही गर्यो। सवारी तथा यातायात व्यवस्था नियमावली २०८० मा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सकिए पनि नियमनका लागि कार्यविधि बनेको छैन। कार्यविधि बनाउनुको सट्टा सेवा नै बन्द गराएपछि पठाओ नेपालले आपत्ति जनाएको छ। कानुनी अभ्यासलाई कार्यन्वयनमा लैजानुको सट्टा एकपक्षीयरुपमा राइड सेयरिङ प्लेटफर्ममाथि अंकुश लगाइएकोमा पठाओ नेपालको आपत्ति हो। पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले यातायात व्यवस्था कार्यालयले सिधै बन्द गराउन अग्रसर हुनु उचित नभएको बताए। ‘गण्डकीमा पनि राइड शेयरिङ प्लेटफर्मलाई सहजीकरणको आवश्यकता छ’, उनले भने। काठमाडौँ उपत्यकामा राइड सेयरिङ सेवा दिँदै आएको पठाओविरुद्ध ५ वर्ष पहिला उच्च अदालत पाटनमा रिट दायर भएको थियो। रिटमाथिको सुनुवाइ गर्दै उच्चले सम्बन्धित निकायलाई राइड सेयरिङ प्लेटफर्म व्यवस्थित गर्नलाई आवश्यक थप कानुन तर्जुमा गर्न तथा राइड सेयरिङलाई बन्द नगर्नसमेत आदेश दियो। फैसलामा पेशा, व्यवसाय र रोजगारको हकअन्तर्गत स्वस्थ व्यापार व्यवसायको पनि हक भएकोले सेवा गुणस्तरीय हुनुपर्ने उल्लेख गरेको छ। त्यसपश्चात यातायात व्यवस्था विभागले राइड शेयरिङ बन्द नगराउन २०७६ फागुन २९ गते सूचना जारी गर्यो । तर, गण्डकीमा भने विभागको आदेशसमेत नमानेर धरपकड गरिएको पठाओको आरोप छ। यातायात व्यवस्था विभागले राइड सेयरिङलाई सञ्चालनका लागि अनुमति दिइरहेको र अदालतले पनि बन्द नगर्नु भनेका आधारमा अहिले कम्पनी सञ्चालन भइरहेको पठाओका प्रबन्ध निर्देशक बस्न्यातले बताए। गण्डकी प्रदेश सरकारले ल्याउनेजस्तो सुकै कानुन मान्न तयार रहेको बस्न्यातले प्रतिबद्धता जनाएका छन्। गण्डकी प्रदेशको पोखरामा पठाओ नेपालले गत वैशाख १ देखि मोटरसाइकल तथा गत जेठ २४ देखि ट्याक्सीमार्फत राइड सेयरिङ व्यवसाय सुरू गरेको हो। ३ सय ट्याक्सी र १७ सय मोटरसाइकल, स्कुटरमार्फत सेवा प्रदान गर्दै आइरहेको पठाओले जनाएको छ। पठाओले गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीसँग समेत आवश्यक समन्वय र सहजीकरणका लागि पत्राचार गरेको छ। पठाओमार्फत पोखरामा मोटरसाइकल राइडरले मासिक औसत ६० हजार र ट्याक्सीले एक लाखसम्म कमाउने गरेको उल्लेख छ। पठाओ नेपालले आफ्नो एप्लिकेशन प्लेटफर्मबाट कुनै पनि रुपमा सेवा दिन चाहने व्यक्तिलाई अनिवार्य रुपमा दर्ता गरी, आवश्यक जानकारी र तालिम दिइ, सुरक्षित तथा भरपर्दो रुपमा एप्लिकेशनको सूचना प्रविधि संयन्त्रभित्र परिचालित हुने व्यवस्था रहेको कम्पनीको दाबी छ। अनलाइन राइड गर्ने सेवाग्राही र सेवा प्रदायकलाई कुनै किसिमको शारीरिक चोट, हानी वा नोक्सानी भएको अवस्थामा बीमाको समेत व्यवस्था गरिएको जनाइएको छ।
झापा: घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनाकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनीषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनाकबलकी मनीषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पुर्याउनुपर्ने चिकित्सक बताउँछन् । पूर्वी इलामको सूर्योदय नगरपालिका–१ पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई आइतबार बिहान घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातमा डस्यो । गाउँका मानिसले झारफुक गर्ने धामीको सम्पर्कमा उहाँलाई पुर्याए । सिरु र खरानी दलेर धामीले झारफुक गर्दा ठीक नभएपछि उहाँलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगियो । नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायले सञ्चालन गरेको उक्त केन्द्रमा उपचार गराएपछि बल्ल उहाँको स्वास्थ्यमा सुधार आएको छ । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् । पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खा याममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् । मेचीनगर–१५ बिचार्नीका ५१ वर्षीय जुपुइ हेमरम सोही सर्पदंश उपचार केन्द्रमा उपचाररत हुनुहुन्छ । उहाँको देब्रे औँलामा आइतबार बिहान ओछ्यानमै सर्पले डस्यो । सन्थाल समुदायमा सर्पको विष झार्न झारफुक गर्ने परम्परागत प्रचलन छ । आधा घण्टाभन्दा बढी समय तन्त्रमन्त्र प्रयोग गरेर विष झार्दा पनि सुधार नभएपछि उहाँलाई मोटरसाइकलमा चढाएर चारआलीको सर्पदंश उपचार केन्द्र पुर्याइयो । सर्पले डसेपछि धेरैजसो पीडित डरले सिकिस्त हुने गरेका छन् । कोहीले जिउँदो सर्प समातेर चिकित्सकलाई प्रमाण देखाउन अस्पताल पुर्याउने गर्छन् । इलामको माइजोगमाई–१ का १५ वर्षीय विनोद राईले घाँस काट्दा देब्रे हातको औँलामा डस्ने विषालु हरेउ सर्प जिउँदै समातेर चारआलीको सर्पदंश उपचार केन्द्रमा पुर्याए । अहिले राईको उपचार भइरहेको छ । मेचीनगर–६ का ३२ वर्षीय मुन्ना कार्की प्रख्यात सर्प उद्धारकको रुपमा चिनिनुहन्छ । उहाँले विगत ११ वर्षमा एक हजारभन्दा बढी सर्प मानिसका घरबाट उद्धार गरेर जङ्गलमा पुर्याइसक्नु भएको छ । तीन दिनअघि छिमेकीको घरमा उद्धार गर्ने क्रममा विषालु गोमनले डस्दा उहाँ आफैँ घाइते हुनुभएको छ । उद्धार गरेर ल्याएको कालो गोमनलाई बट्टामा राखिरहेका बेला उहाँलाई डसेको थियो । उहाँको स्वास्थ्य सुधार भइरहेको छ । सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । जसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहनुभएका उहाँ पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमासमेत सर्पको बिगबिगी बढ्न थालेको बताउनुहुन्छ । चारआलीको उपचार केन्द्रमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भारतको दार्जिलिङ एवं विहारका जिल्लाबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । “पहाडमा गुर्बे, हरेउ र तराईमा गोमन र करेत प्राणघातक सर्प हुन्”, उहाँले भन्नुभयो, “हामीकहाँ उपचारका लागि आउने अधिकांश बिरामीले तिनै सर्पले डस्यो भन्ने गर्नुभएको छ । बर्खाको चार पाँच महिना त सर्पको डसाइको प्रकोप नै हुने गरेको छ ।” केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका बिरामीले उपचार पाएको बताउनुभयो । केन्द्रले बिरामीको दर्ता शुल्क रु। एक सय र साधारण उपचार सेवा शुल्क रु. छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु. एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को रु एक हजार पाँच सय र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु। तीन हजार शुल्क लिने गरिएको केन्द्रले जनाएको छ । विपन्न र असहाय बिरामीका लागि निःशुल्कसमेत उपचार गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१ जना, जेठमा एक सय २३ जना र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय ७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र छन् । झापामा मात्रै चारवटा छन् । चारआलीस्थित नेपाली सेनाको ब्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । नेपाल रेडक्रस सोसाइटीले दमक र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाई र कचनाकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा सञ्चालित छन् ।
काठमाडौं: नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ । निगमको सूचना अनुसार आज बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६४ दशमलव ५० कायम गरिएको छ । त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५४ दशमलव ५० कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६६ कायम भएको छ । डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५६ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ ।
ताप्लेजुङ: पहिरोमा परेर घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर गम्भिर घाइते हुनुभएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोबेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार शुक्रबार साँझ राहत सामग्री लिएर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोले बगाएको थियो । पहिरोले करिब १५ मिटर तल बगाएर हाङ्खोलामा पुगेका लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो । लिम्बूलाई गाउँलेले उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए । गएको जेठ ३२ देखि असार ४ गतेसम्मको पहिरोले मामाखेमा धेरै क्षति पुगेको छ ।
चितवन: चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् । यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ । क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । नेपालको धानखेती आकासे सिचाइँमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देसमा भनिएको छ । राष्ट्रपति पौडेलले कृषि क्रान्तिको पहिलो कदम सिँचाइ सुविधा भएको भन्दै आधुनिक खेती प्रणालीमार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बीऊ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो । धान एवम् चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको भन्दै उहाँले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रपति पौडेलले देशको श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँका सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद् हो भन्दै कृषिलाई आकर्षक पेसाका रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमा नै रोक्ने पहल गर्न आग्रह गर्नुभयो । साथै, उहाँले खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रुपमा लिई खाने बानी परिवर्तन गरेर अन्य बालीलाई समेत प्रवद्र्धन गर्न हामीले उत्तिकै ध्यान दिनु जरुरी छ भन्नुभयो । उहाँले धान दिवसका अवसरमा सम्पूर्ण नेपाली किसान, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ । धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवद्र्धन गर्ने हेतुले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । यसवर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो ।
बागलुङ: बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।
काठमाडौं: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । आज धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनतको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले आयोजना गरेको तीन महिने सीप विकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले युवा जनशक्तिहरुलाई श्रम बजार अनुुकुलको ज्ञान र सीपको आवश्यकता रहेको बताएका हुन् । “सीपले आत्मनिर्भर बनाउछ, स्वरोजगार बन्न प्रेरित गर्छ । आशा छ, प्रदेश सरकारले उपलब्ध गराएको तालिमले सहभागी सबै युवाहरु लाभन्वित हुनुुभयो । स्वरोजगार बनी अन्यलाई रोजगार दिने बाटोमा यहाँहरु अग्रसर रहनुहुुनेछ भन्ने अपेक्षा लिएको छु ।’, उनले भने । मन्त्री थापाले सीप सिकेर खेर नजाने र कुुनै न कुुनै समयमा काम लाग्ने उल्लेख गरे । आफुु पनि सुरुवातको समयमा बेरोजगार हुँदा परदेशिने योजना बनाएता पनि सीप विकास तालिमले नै देशमै बस्ने वातावरण सिर्जना गरेको र यहाँसम्म पु¥याएको अनुभव सुुनाए । आत्तिएर कुुनै पनि काम नबन्ने र धैर्यताको खाँचो युवामा रहेको भनाई उनको छ । प्रदेश सरकारले नेपालमा नै बसेर स्वरोजगार तर्फ आकर्षण बढाउन युवा लक्षित कार्यक्रम ल्याएको उनले उल्लेख गरे । सीप सिक्नेहरुका लागि अवसर थुप्रै रहेको बताउँदै सीपबाट वञ्चित नहुन उनको आग्रह छ । बेसीकसँगै एडभान्स लेवलको सीप विकास तालिममा समेत प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता उनको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्लेले चालु आर्थिक वर्षमा मात्रै ३६ वटा तालिम गर्न आफुहरु सक्षम भएको बताए । जसमा १९५१ जनाको आवेदनमा ७०५ जनाले तालिम लिएको भनाई उनको छ । तालिमबाट सीप सिकी नेपालमा नै बस्ने प्रेरणा युवालाई मिलेको विश्वास उनले लिएका छन् । तालिम लिएर आफ्नो अनुभव सुनाउँदै पोखरा २० की अस्मिता बस्नेतले सीप विकास तालिमले आफुलाई दक्ष बनाएको बताइन् । आधारभूत केश श्रृङ्गारको तालिम लिएकी उनले स्वरोजगार बन्न प्रेरित भएको सुुनाइन् । उनले आफुले सिकेको सीपलाई कार्यान्वयनमा लाने र नेपालमा नै केही गर्ने प्रतिबद्धता व्यक्त गरिन् । फेशन डिजाइन, प्लम्बिङ, आधारभूत केश श्रृङगार, कपाल काट्ने सैलुन, विद्युत जडान, एडभान्स ब्युुटिपार्लर जस्ता विभिन्न ६ वटा विषयगत तालिम उपलब्ध गराइएको थियो । जसमा करिब १ सय ६० जना प्रशिक्षार्थीको सहभागिता रहेको जनाइएको छ ।

