बाँके: बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो । जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए । गए राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो । घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । जीपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् । अस्पतालमा उपचारत संगम मिश्र बुवा औषधी किन्न गएका समयमा बेपत्ता भएका थिए । तनहुँ स्थायी घर भएका संगम मिश्र बिरामी भएपछि लामाचौरबाट गएको मंसिर २५ गते उपचारका लागि मणिपाल अस्पतालमा आएका थिए । आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट बेपत्ता भएका संगम खोजतलाज गर्ने क्रममा सेती नदीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए । मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड फेला पारेको थियो । ‘परिवारले पोखरा–१६स्थित सेती नदीको ड्याम खोलेर खोजतलास गरिदिन आग्रह गरेपछि आज (दिउँसो ) ड्याम खोलेर खोजतलाज गर्ने क्रममा पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदीमा संगम मृत फेला परेको सूचना अधिकारी विकले बताए । सेती नदीमा मृत फेलाका संगमको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको छ । उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो । यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए । दुवै न्यायाधीशहरु बीचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको हो । उच्च अदालतको यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछन् । खाणले पनि आफूलाई धरौटीमा छाड्ने आदेश गलत भएको भन्दै साधारण तारेखमा छाड्न माग गर्दै सर्वोच्चमा निवेदन दिन पाउँछन् । उच्च अदालत पाटनले गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो । २० मध्ये बालकृष्ण खाँणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो । नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा छन् ।
ढोरपाटन: बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ । बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशक अघि बुर्तिबाङ बजार सानो थियो । फोहर पनि थोरै निस्कन्थ्यो । सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए । र त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ । बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ । खोलाले बगाएर फोहर पुनः बजारसम्म पुर्याउँछ । फोहरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमूना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ । आर्थिक वर्ष २०६७÷६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ । फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरु बताउँछन् । हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ । बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फालिँदै आइएको छ । खोला छेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ । वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन् । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ । बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व बढ्दै गएको छ । तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन । सबै फोहर खोलाले बगाएर जताततै पुर्याउँछ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको बताए । आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास छ
प्युठान: प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका (३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो । प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले समाएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। भन्सार कार्यालयको टोलीले सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पुष्टि गरे। मंसिर २१ गते राति ११ः४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घले पक्राउ परेका थिए। उनले ज्याकेट बनाएर १४ किलो सुन ल्याएका थिए। सुन भित्रिँदैछ भन्ने सूचना पाएको भन्सार कार्यालयले उनी आउन बित्तिकै विमानबाटै पक्राउ गरेको थियो। उनले सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यही राति नै मीनबहादुर घलेलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। १४ किलो सुन बरामद भएपछि भन्सार कार्यालयले त्यसको छानबिन गर्न समिति पनि गठन गरिसकेको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ । हस्तकला दिवसको अवसरमा आयोजित २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको बिहीबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सृजना गर्न आवश्यक रहेको औंल्याउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचिन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् सम्वर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवम् गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ ।’’ राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भएकाले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ ।’’ प्रत्यक्ष–अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको यो क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वरभर फैलाउन योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, ‘‘हाल करिब ८५ देशमा हस्तकला उद्योग व्यवसायबाट उत्पादित वस्तुहरूको निकासी भएको छ भने कतिपय देशहरूमा निकासी गर्न बाँकी छ । थोरै पूँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पर्दाथ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछि देशमा गाँउ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो । सहजै स्थानीयस्रतमा गर्न सक्ने व्यवसाय पनि यो हो । यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन ।’’ उहाँले हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ संघ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले हाम्रो पर्यटन व्यवसायमा पनि योगदान पुर्याएको छ । हस्तकला सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ ।’’ स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्दछ । राष्ट्रपति पौडेलले विश्ववजार प्रतिस्पर्धी बन्दै गइरहेको बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा क्रियाशील उत्पादन, बजारको माग, वस्तुको डिजाईन र विकास गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजीङ्ग, व्यापारमेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो मेलाले उद्यमी, कलाकार, कालीगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र नयाँ नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्न मद्दत पुर्याउने मैले विश्वास लिएको छु ।’’ सो क्रममा राष्ट्रपति पौडेलले प्रर्दशनीमा राखिएका विभिन्न स्टलहरूको अबलोकन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उतकृष्ट हस्तकला निर्यात कर्तालाई सम्मान गर्नुभएको थियो ।
पोखरा: पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई प्रदान गरिने भएको छ । कास्की शाखाले सञ्चालन गरेको पत्रकारिता वृत्ति सम्मानबाट पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित हुने भएका हुन् । नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न लागिएको हो । सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिने भएको हो । यस्तै, महासंघले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट टंक अधिकारी र दिनानाथ बराल पुरस्कृत हुने भएका छन् । सो पुरस्कारको २०७८ बाट राष्ट्रिय समाचार पत्रमा कार्यरत अधिकारी र २०७९ बाट कारोबार दैनिकमा कार्यरत बराल पुरस्कृत हुन लागेको महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए । पुरस्कारको राशी नगद २० हजार, दोशल्ला र सम्मान पत्र रहेको छ । उनीहरुलाई आगामी पुस ४ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
पोखरा: लामाचौरबाट उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुगेका संगम मिश्र बेपत्ता भएका छन् । आफ्नो बुवा औषधी लिन गएको समयमा तनहुँ स्थायी घर भएका संगम मिश्र बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘तनहुँ स्थायी घर भएका हाल लामाचौर बस्दै आएका मिश्र ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पताल गएका रहेछन्’, सूचना अधिकारी बिकले सुनगाभा न्यूजसँग भने, ‘अस्पतालमा उपचार गराइराखेका मिश्रका बुवा औषधी किन्न गएको समयमा अस्पतालबाट हराएका हुन् ।’ उनले इमजेन्सी वार्डमा उपचार गराइराखेका संगम आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट हराएको सूचना आएको बताए । मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड भेटिएको उनले बताए । ‘अस्पतालबाट हराएका मिश्रको खोजतलास गर्ने क्रममा नदीपुरतर्फ आउने पुलमा आइडीकार्ड फेला परेको छ’, उनले भने, ‘भोलि पोखरा–१६स्थित ड्याम खोलेर खोजतलास गर्छौं ।’ उनले सेतीको ड्याम खोलेर मिश्रको खोजीकार्य गर्ने भएकाले भोलि सेती नदीमा पानीको बहाव बढ्ने भएकाले नदी किनारामा नजानसमेत आग्रह गरे ।