मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौंः     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलालाई बधाई तथा शुभकामना दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्राथमिकता दिन सरकार कटिवद्ध रहेको बताउनुभयो । उहाँले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन पनि लाग्ने उल्लेख गर्नुभयो । त्यसअवसरमा जिल्ला कमिटिका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

झापा:     झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।  सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो। घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रहरीले बस चालक इलाम माई नगरपालिका वडा नम्बर ८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका वडा नम्बर २ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ। बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ। 

चितवन:     चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये १३ जनाको शव भेटिएको छ । नवलपुरमा नौवटा शव भेटिएका छन् । चितवनमा तीन र नवलपरासी, बर्दघाट–सुस्तापश्चिममा एउटा शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले हिजो मात्रै जिल्लामा चारवटा शव भेटिएको जानकारी दिनुभयो । नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । हिजो बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । यस्तै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिनुभयो । जिल्लाको गैँडाकोट–७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताउनुभयो । माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गर्नुभएको थियो । माझी काठमाडौँबाट रौतहट जाने गणपति डिलक्स र परियार वीरगञ्जबाट काडमाडौँ जाँदै गरेको एन्जल डिलक्समा सवार यात्रु भएको जनाइएको छ । शनिबार गैँडाकोट–७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिनुभयो । यस्तै आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको पहिचान भएको छ । गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर–२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गर्नुभएको थियो । सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु हुनुहुन्छ । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका–४ का १७ वर्षीय राहुम मियाको भएको उहाँका बुवा इस्लम मियाले पहिचान गर्नुभएको छ । पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस–४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ । हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए ।

रुकुम पश्चिम:   गएरातीको अबिरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख रबी केसीले बताउनुभयो । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । त्यस्तै बाढीबाट अन्य सातजना घाइते भएका छन् । घाईते हुनेमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

काठमाडौं:     नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी गएरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो । मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः रु एक सय ६८ रुपैयाँ ५० पैसा, एक सय ७० र एक सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ र एक सय ६० कायम भएको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल रहेका छन् । निगम सञ्चालक समितिको आजको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ४८ पैसा र डिजेलमा दुई रुपैयाँ ८३ पैसाले बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिपो(कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलिम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

काठमाडौं:     सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि उहाँले बताउनुभयो । साउन महिनामा विशेषगरी हरियो कपडा र चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएका उहाँले दिउँसो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा (एमाले) का नेता पृथ्वी सुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यतर्फ लमजुङबाट विजयी सांसद हुनुहुन्छ ।   उहाँले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउँदै विजयी हुनुभएको थियो ।  गुरुङले ३४ हजार ९८५ मत ल्याउनुहुँदा उहाँका प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७९१ मत ल्याउनुभएको थियो । उहाँ तीन हजार १९४ फराकिलो मतान्तरले विजयी हुनुभएको थियो । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले तीन हजार १ सय ८८ मतको फराकिलो मतान्तरले देवप्रसाद गुरुङलाई हराउनुभएको हो ।  उहाँ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुनुहुन्छ ।  उहाँको जन्म २०१४ साल फागुन २ गते भएको हो। विद्यार्थी जीवनकालदेखि राजनीतिमा प्रवेश गर्नुभएका गुरुङ (२०३७–२०३८) सालमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा दुई पटक हिरासतमा पर्नुभयो । २०३८ सालमा एमाले इलाका पार्टी संगठन कमिटीको तर्फबाट ज्याला वृद्धिका लागि किसान आन्दोलन, २०४५ सालमा नेकपा ९माले० द्वारा सञ्चालित पञ्चायत विरोधी संघर्ष, २०४७ सालमा भएको माले र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजकका रुपमा आन्दोलनको नेतृत्व गर्नुभएको छ । 

काठमाडौं:    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।  राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दल कांग्रेस र एमालेबिचको यही असार १७ गते भएको सहमतिका आधारमा प्रचण्डलाई विस्थापित गरेर  ओली प्रधानमन्त्री बनेका हुन् ।