काठमाडौं:   चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ ।  जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी...

पोखरा:   नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिलिप रानामगरले पाएको छन् । रानामगर मगर विद्यार्थी संघ गण्डकीको उपाध्यक्ष हुन् ।  मगर विद्यार्थी संघ गण्डकीका अध्यक्ष डेक पुनमगरले स्वास्थ्य अवस्थाका कारण रानामगरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताए ।  ‘स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाह अनुसार केही समय आराम गर्न सल्लाह दिएकाले संस्थालाई चलायनमान र गतिशिल बनाउन तीन महिनाका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो’, अध्यक्ष पुनमगरले भने ।  उनले मगर विद्यार्थी संघ गण्डकी प्रदेशको सांगठनिक गतिविधिहरु गरि थप मजबुत र चलायमान बनाउन कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।   

पोखरा:   नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनमा भरत विक अध्यक्षमा निर्वाचित भएका हुन् ।  पोखरामा शनिबार सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघको दशौ साधारण सभा तथा पाँचौ अधिवेशनमा भरतको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।  व्यवसायी संघको प्रथम उपाध्यक्षमा मनबहादुर सुनार, द्धितिय उपाध्यक्षमा सुरेन्द्र विश्वकर्मा (रामदाम), महासचिवमा दिपेश सुनार, सचिवमा सुरेन्द्र बहादुर विश्वकर्मा, कोषाध्यक्षमा अर्जुन कुमार सुनार र सहकोषाध्यक्षमा  रमेश खड्का विक चयन भएका हुन् ।  यस्तै सदस्यहरुमा नरेश वि.क, समीर बराल सुनार, विर बहादुर सुनार, दिपक बिश्वकर्मा, सन्तोष दियाली र  सुरेन्द्र सुनार निर्वाचित भएका हुन् । यस्तै दुईजना सदस्य भने समितिको बैठकले मनोनित गर्ने जनाईएको छ । 

बलेवा:    सञ्जिता अधिकारी आगामी माघ ६ गते  बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुर्ख्यौली कर्मघर देख्नुभएकै थिएन ।   बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहनुहुन्थ्यो । दुर्भाग्य सञ्जिताले श्रीमानको जन्मथलो त टेक्नुभयो । तर त्यो बाटो अब कहिल्यै फर्किनुहुने छैन  । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाउनुभयो । दुर्घटनामा उहाँको परिवारका सबै सदस्य घाइते भएका छन् ।  ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लाग्नुभयो । दीपक पहिलेदेखि नै बेलायत बस्नुहुन्थ्यो । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याउनुभएन । काठमाडौँमै बिहे भयो । उतैबाट बेलायत लाग्नुभयो ।  बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उहाँहरू नेपाल आउनुभयो । करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौँ बस्दै आउनुभएकी सञ्जिताको रहरअनुसार दीपक र उहाँको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुग्नुभयो । “घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई”, दुर्घटनामा घाइते हुनुभएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भन्नुभयो । सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको बताउनुहुन्छ मनकुमारी । गत पुस २६ गते साँझ उहाँहरू गाउँ पुग्नुभएको थियो । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उहाँको परिवारले सात वर्षअघि छाडेर काठमाडौँ पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाउनुभएका दीपक दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ ।  सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको ज्यान गयो ।   सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आउनुभएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।  मृतक सञ्जिताका श्रीमान् दीपक, उहाँका आफन्त विवराज, जोगनारायण गैरे र उहाँकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उहाँकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताउनुभयो । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो ।   थप उपचारका लागि उहाँहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । 

पोखरा:    नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको अध्यक्षतामा रामबहादुर विक निर्वाचित भएका छन् ।    पोखरामा सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा रामबहादुरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति निर्वाचित भएका हुन् । महासंघको उपाध्यक्षमा पदमबहादुर विश्वकर्मा, महासचिवमा सालिकराम गहतराज, सचिवमा इश्वरबहादुर विक र कोषाध्यक्षमा बलबहादुर विक निर्वाचित भएका छन् ।  यस्तै सदस्यमा गोपाल सुनार, भिम वहादुर विक, कमला विक, पदम वहादुर विक, मनोज कुमार स्वर्णकार, राम माया सुनार, श्रेया सुनार, विष्णु देवि विक चयन भएका छन् ।   

पोखरा:   भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खा सैनिकको माग चाँडै सल्टाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु माग राखेको छ। ६ महिनाभित्र माग पूरा नभए थप दबाबमूलक कार्यक्रम गर्ने गेसोले जनाएको छ।   शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर गेसोले अबको ६ महिनाभित्र मन्त्रिस्तरीय वार्ताबाट सबै गोर्खा संघसंस्थाको समान सहभागितामा गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीसामु माग राखेको जानकारी दिएको हो। गेसोका प्रतिनिधिले गत बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।   गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले राज्यले गरेको गल्ती सच्याउन आफूहरू लागि परेको बताए। राज्यले खडा गरेको समस्यालाई समाधान गर्न सरोकारवालाले नजरअन्दाज गरेको हुनाले आफूहरू नै लाग्नु परेको उनको भनाइ छ। ‘सात समुद्र पारीको शासकसँग लड्न सजिलो थिएन। कानून हाम्रो थिएन, भाषा हाम्रो थिएन। तैँ पनि हामी लड्यौँ,’ उनले भने, ‘दयाको भिख मागेको होइनौँ। रगत र पसिनाको मूल्य खोजेका हौँ।’ आफूहरूको लगाइँ ब्रिटिश सरह पेन्सनका लागि मात्रै नदाँज्न उनको आग्रह छ। ब्रिटिशले नेपालका गाउँगाउँबाट लगेर बेपत्ता पारिएका पीतापुर्खाको हिसाबकिताब गर्नुपर्ने उनको माग छ। नेपालीलाई २०० वर्षदेखि युद्धमा प्रयोग गरेको हरेक हिसाब खोज्ने उनले दाबी गरे।   गेसोका कानूनी सल्लाहकार डाक्टर गोपाल शिवाकोटी ‘चिन्तन’ले गोर्खा भर्तीबारे नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए। बामपन्थी राजनीतिक दलले गोर्खा भर्ती खारेज गर्नुपर्ने माग राख्दै आए पनि अहिलेसम्म समस्या सुल्झिन नसकेको उनले बताए। ‘गोर्खा भर्ती बन्द गर्नुपर्ने माग राख्ने सबै राजनीतिक दल सत्तामा पुगे। यो भर्ती प्रथा कहिलेसम्म चल्ने त?’ उनको प्रश्न छ।   अझैँ पनि तटस्थ नहुने हो भने ढिलोचाँडो नेपालको हालत अहिलेको युक्रेनको जस्तै हुने उनले बताए। साथै, अहिलेसमम रहस्यमय बनाइएको सुगौली सन्धी सार्वजनिक हुनुपर्नेमा गेसोले जोड दिँदै आएको छ। त्रिपक्षीय सम्झौता सार्वजनिक नगरे कानूनी लडाइँमा जाने गेसोले तयारी गरिररहेको उनले बताए।   गेसो सभापति कृष्णकुमार राईले वार्ताको नाममा वार्ता मात्रै भइरहेको भन्दै दुखेसो पोखे। अबको बाटो ठोस अजेन्डा बोकेर अघि जानुपर्ने उनले बताए। ‘अबको वार्ता हामी सबै गोर्खाको प्रतिनिधित्व गर्ने संस्थासहितको हुनुपर्छ। अब वार्ताको लागि वार्ता मात्रै होइन, वार कि पार गर्ने हिसाबले जानुपर्छ,’ उनले भने, ‘गत २५ गते हामीले प्रधानमन्त्री ज्यूलाई ज्ञापन पत्र पनि बुझाएका छौँ। उहाँ पनि सकारात्मक हुनुहुन्छ। यसपटक हामी अलि आशावादी छौँ।’ अब हुने वार्ता साँच्चिकै अन्तिम हुने उनले जनाए। परराष्ट्र सचिवको तयारीमा दुई देशीय वार्ता गर्ने उनले सुनाए।   गेसोले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बेलायती सेनामा भर्ती हुने नेपाली नागरिकले ब्रिटिश सरह सेवा सुविधा पाउनुपर्ने, लडाइँमा मृत्यु हुनेको हकमा परिवारको सदस्यको लागि क्षतिपुर्ति र परिपुरणको व्यवस्था, समान पेन्सनका हकमा बेलायती उच्च अदालतले गरेको फैसलाबमोजिम व्याखाको कार्यान्वयन, विभिन्न कारण अवकाश दिइएका सैनिकलाई एकमुष्ट पेन्सन, गोर्खा सैनिकका विधवालाई बेलायती सैनिकका विधवासरह पेन्सन, नेपालमा रहेका गोर्खा सैनिकलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अनुसारको स्वास्थ्य सेवा लगायतको माग उल्लेख छ। 

ढोरपाटन:    बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज ९शनिबार० बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

दाङ:    नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङमा शुक्रबार राती दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । १३ जना घाइतेलाई कोहलपुर ल्याइएकोमा बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्किएका छन्े । उनी डिस्चार्ज भएसँगै अस्पतालमा १२ जना उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय र २० वर्षका अरवाज नाउको अवस्था गम्भीर रहेको डिएसपी तिवारीले जानकारी दिए ।  शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकाहरूमा नेपालगन्जका २४ वर्षीय आशुतोष गौतम, २० वर्षीय निरञ्जन कोरी, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बिक, बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाईं, नेपालगन्जकी ३५ वर्षीया लीला वली, बाँकेकै २१ वर्षीय शङ्कर थारु र रावलकुमार यादव छन् । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई शुक्रबार राति १०ः३० बजे पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ ।  बसमा सवार ३५ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

काठमाडौं:    युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिनुभयो । उहाँको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो । गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गरिने बताइएको छ । गङ्गामायाका एक छोरा र एक छोरी हुनुहुन्छ । ।

काठमाडौं:   राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । उम्मेदवारहरुले चाहेमा आज नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली हिजो सार्वजनिक गरिएको थियो । मनोनयनपत्र दर्ता गराएका सबै जनाको उम्मेदवारी कायम भएको छ । सात वटा प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेका हुन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ५२ जनाकै उम्मेदवारी कायम भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गरेका दुई जना उम्मेदवार बिरुद्ध उजुरी परेको थियो । तर ति उजुरीका सम्बन्धमा कुनै कार्वाही गर्नु नपर्ने निर्णय सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयले गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले प्राप्त उजुरीमाथी छानविन गरी कार्वाही गर्नु नपर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभाका १९ सिटका लागि गत सोमबार सात प्रदेशमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारलाई निर्वाचन चिन्ह भने भोलि प्रदान गरिनेछ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।