पोखरा: पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईले प्रस्तुती दिने भएका छन् । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ । महोत्सवमा बुधवार पछिल्लो समय चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । शान्तिले बोल माया, गलबन्दी, चौका दाउ, अरेली काँडैले लगायतको गितहरु मार्फत दर्शकलाई नचाउद सफल रहिन । महोत्सवमा शान्ति संगै जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सव सातौ दिनमा आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिती रहेको छ भने महोत्सवमा कारोबार समेत वढिरहेको आयोजकले जनाएको छ । महोत्सवमा बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि कलाकार प्राज्ञ नगेन सिंहको कलाकृतिहरु “विश्वको उत्कृष्ट गन्तव्य नेपाल दोस्रो कला प्रदर्शनी“ समेत भएरहेको छ । त्यसैगरी महोत्सवमा याकको अवलोकन, भेषभूषामा फोटो खिचाउने संगै नेपाल टेलिकमको निशुल्क सिमकार्ड लिनेको भीड रहेको छ । महोत्सवमा जारी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता अन्तर्गत बुधबार सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधवार विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मेट्रोपोलिटन, सेन्ट मेरिज, सरस्वती आवासिय मावि र बालकल्याण बिचको प्रतिस्पर्धामा सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सव अवधिभर रेभल एप मार्फट टिकट काट्नेहरु मध्ये गोलाप्रथाद्धारा एकजनालाई वल्र्डलिंकको इन्टरनेट एक महिना निशुल्क, होटल स्नो पिकमा एक जोडीलाई डिनर सहित बास बस्ने ब्यवस्था र लेकसाइडमा रहेको प्याराडिसो बार एण्ड ग्रीलमा एक जनालाई एक हजारको कुपनको ब्यवस्था गरिएको र प्रत्येक दिन तीन जनालाई निशुल्क टिकटको ब्यवस्था गरिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् । बुधवार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए । बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ। यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्ग्याउनुस्।’ प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्य सञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्ग्याउन निर्देशन दिनुभएको हो।
लमजुङ: रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए । उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए । गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
चितवन: चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनीष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय अविनाश फर्टिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।
झापा: झापाको बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । घाइते गणेशलाई उपचारका लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईले बताए । विद्यालय सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो । घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । उक्त ग्यास सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत बिर्तामोड ७ बस्ने टीका तामाङकी छोरी १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ । उपचारका लागि उनलाई पनि बीएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
चितवन: त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ। मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ। ‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका हौं,’ मुग्लिन प्रहरीका वरिष्ठ सई राजेन्द्र अर्यालले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन। गोताखोर परिचालन गरेर खोजी कार्य जारी छ।’ प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ। त्यसैको आधारमा दुर्घटना भएको यकिन गर्न नमिल्ने प्रहरीले बताएको छ। ‘अलि अघिसम्म बत्ती बलिरहेको थियो, अहिले बलेको छैन, गोताखोर परिचालन गरिएकाले यकिन हुन्छ,’ अर्यालले भने। स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको पनि उनले जानकारी दिए।
पोखरा: माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिए। श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँ मै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए। उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०:५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए । दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमान्को नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन । “उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ”, प्रतिभाले भनिन्, “आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।” दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । “त्यो बेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन”, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भनिन्, “सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।” प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ । दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । “अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ”, प्रतिभाले पीडा सुनाइन् । सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन्। “भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ”, उनले भनिन्, “तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन्। अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल कामविशेषले केरला पुगेका थिए। अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए। प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए । सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन्। दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ । आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताएका हुन् । संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याए । माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक(अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । नेपाल भौगोलिक रूपले सानो भए पनि जातीय, भाषिक, सांस्कृतिक विविधता निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्तिका रूपमा रहेको उनको भनाइ छ । उनले माघे सङ्क्रान्ति पर्व खस(आर्य, मगर, राई, थारु, लिम्बू, नेवार, गुरुङ, मैथिली, कुमाललगायत जाति जनजातिको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्वका रूपमा रहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले माघी पर्वले नेपालको सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई प्रमाणित गरेको बताए । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्तिलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । तिल, तरुल, घिउ, सख्खरलगायत परिकार खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँक्री, पूजाआजा, पारिवारिक भेटघाट तथा सामाजिक पुनःमिलन गर्ने पर्वका रूपमा माघीलाई लिइन्छ ।
काठमाडौं: प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ । मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।