काठमाडौं:   चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ ।  जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी...

पोखरा:     सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पोखरा ३३ का वन समुहको भेलाले विजय आचार्यको नेतृत्वमा ७ सदस्य वडा कमिटि सर्वसम्मत चयन गरेको छ ।       सो कमिटिको उपाध्यक्ष गंगाबहादुर पुन, सचिव कर्णकुमारी महत,कोषाध्यक्षमा पवित्रा सुनार र सदस्यहरुमा यज्ञ प्रसाद लामिछाने, निशा थापा र सम्वरबहादुर पौडेल रहनु भएको छ ।      पोखरा महानगरपालिका वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले भेलाको उद्घाटन गर्दै विकास निर्माणमा वन ऐन तथा नियमावलीहरु बाधक बन्न नहुने बताउनुभयो ।      सामुदायिक वनको विचमा रहेको वस्तिका जनतालाई बाटो निर्माण गर्न स्थानीय सरकारले बजेटको व्यवस्था बाटो खन्दा वन समुहका पदाधिकारीलाई कार्वाहीमा पर्र्ने अवस्थाको अन्त्य हुनु पर्नेमा उहाँको जोड थियो ।       प्राकृतिक श्रोतलाई विकास निर्माणसंगै स्थानीय जनताको जिविकोपार्जनको आधार बनाउनु पर्ने बताउँदै अध्यक्ष अधिकारीले वन समुहलाई वडा कार्यालयमा सुचिकृत हुन आग्रह गर्नुभयो ।      सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बाँस्तोलाले वन क्षेत्रमा काठ मात्र नभई अन्य आयआर्जनका सम्भावना खोज्नु पर्ने आवश्यकता औल्याउनुभयो । स्वदेशी काठ जंगलमा कुहिएर खेर जाने र विदेशी काठ आयात गर्ने परिपाटिको अन्त्य हुनु पर्नेमा उहाँको जोड थियो ।      वन महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वन पैदावार उपयोग गर्दा प्रकृया मिलाउन उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । समुहको वन कार्ययोजनाले दिएका अधिकार भित्र रहेर वन पैदावारको उपयोग गर्नुहोस अप्ठेरो पारेमा महासंघले सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो ।      महासंघ कास्की अध्यक्ष विश्वनाथ लामिछानेले जिल्लामा ५०९ वटा सामुदायिक वन समुह रहेको जानकारी दिंदै आर्थिक पारदर्शिता र सुशासानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।      बाँदर लगायतका जंगली जनावरले दुःख दिएको, स्थानीय सरकारले वन क्षेत्रमा बाटो खन्दा उपभोक्ता कार्वाहीमा पर्ने, वन पैदावार उपयोगमा झन्झटीलो व्यवस्थाको कारण दुःखका साथ हुर्काएको जंगल अहिले आएर प्रयोग विहिन बन्दै गएको सहभागि उपभोक्ताको गुनासो थियो । पोखरा वन महासंघका उपाध्यक्ष भरतराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव सिता सापकोटाले सञ्चालन गर्नुभएको थियो । सो वडामा ३१ सामुदायिक वन रहेका छन् ।     

काठमाडौं:    आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।   पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ ।   आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ मा इटालीको रोमनबाट शुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाए पछि यसविरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।   आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो । यसैबीच भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवसको अवसरमा चितवको सौराहामा फुड फेस्टिवल भैरहेको छ ।   रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल ९रेवान० सौराहा चितवनको आयोजनामा १८ औँ संस्करणको फुड फेस्टिवल भैरहेको हो । आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएका छन् । व्यवसायी समेत उत्साहित भएका छन् । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताउनुभयो । फुड फेस्टिवल भोलिसम्म चल्नेछ ।

काठमाडौं:    आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ ।  आज काठमाडौंको हनुमानढोकाको नासल चोकमा वसन्त श्रवण गरिँदैछ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारा, ललितपुरको लेलेलगायत अरु जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, छात्रछात्राको घुइँचो छ । यस्तै, वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गर्दैछन् । आजका दिन तराई मधेश तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिन मानिन्छ ।

पोखरा:    सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर वडा नं. २० को अध्यक्षमा  रेशम खत्री चयन हुनु भएको छ । वन समुहको भेलाले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले उपाध्यक्षमा लक्ष्मी परियार, सचिव पवित्रा परियार, मुक्तिनाथ अधिकारी र सदस्यमा काशिराम गुरुङ, तुलसी तिमिल्सिना, धनबहादुर गुरुङ रहनु भएको छ ।  पोखरा महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले भेलाको उद्घाटन गर्दै स्थानीय सरकार र वन समुह बिच सुमधुर सम्वन्ध कायम गर्दै प्राकृति स्रोतको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । वन महासंघ वडालाई व्यवस्थित र चलायमान बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले कार्यालय स्थापनाका लागि आवश्यक कोठाको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।   सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्यद्धय दिनेश श्रेष्ठ र जितवहादुर वस्नेतले प्राकृतिक स्रोतलाई जनताको जिविकोपार्जनसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो । फेकोफन पोखरा महानगरका अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव पार्वती सुवेदी, सदस्य विष्णु आचार्य लगायतले वनको महत्व माथि प्रकाश पार्दै स्वदेशी काठ उपयोग गर्नेखालको नीतिको खाँचो औल्याउनुभयो ।    

पोखरा:     गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ । माघ २९ गते सोमबार बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोट बैठकमा बस्ने तयारी भएको प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन् । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई रोजिएको प्रदेश सरकारको भनाइ छ ।

काठमाडौं:     पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन्। परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारी अनुसार रूसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपाली युवाको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन्। यसैगरी कन्सुलर सेवा विभागमा करीब १४० जनाका परिवारले उद्धारका लागि आवेदन दिएका छन्। यस बाहेक केकति संख्यामा नेपाली नागरिक रूसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थपरक विवरण छैन। मन्त्रालयले हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रूसी सेनामा कार्यरत रहँदा मृत्यु भए जनाएको छ। यसैगरी रूस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्। त्यस्तै, रूसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। रूसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ। रूसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसा मार्फत खाडी मुलुकबाट त्यहाँ गएका पाइएको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रूस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए। साथै, उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए। मन्त्रालयले नेपालीलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रूस सरकारलाई अनुरोध गरेको छ। गत महीना युगान्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रूसका सहायक विदेशमन्त्रीसँग  नेपाल सरकारका प्रतिनिधिले रूसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउन कुरा गरेको मन्त्रालयले जनाएको छ। नेपाली युवा रूसी सेनामा भर्ना भएको भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलो पटक प्रेस विज्ञप्ति मार्फत परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो। त्यसैगरी, मन्त्रालयले सरकारी कामकाज, रूस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रूस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्शन लेटर’ लिन अपील गरेको छ। कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ।   उपरोक्त व्यवस्थालाई विस्तार गरी हाल भारत, बाङ्लादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार, ओमान र बहराइनबाट समेत रूस यात्रा गर्नुपरेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरूबाट जारी गरिने ‘एनओसी’ लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपील गरेको छ। नेपाल सरकारले रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरूको अवस्थाबारे रूस सरकारबाट आधिकारिक रूपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखे पनि हालसम्म यस सम्बन्धमा यकीन तथ्यांक प्राप्त हुन सकेको छैन। हाल परराष्ट्रमन्त्री एनपी साउद अस्ट्रेलिया र न्यूजिल्यान्डको भ्रमणमा रहेको र उनले स्वदेश फर्के लगत्तै यस विषयमा कार्यक्रम गर्ने योजना रहेको प्रवक्ता राईले जानकारी दिए। मन्त्री साउदले काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करीब २०० नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको हुन सक्ने बताएका थिए। हराइरहेका र घाइते भएको भन्ने मन्त्रालयमा प्राप्त आवेदनका आधारमा त्यसभन्दा केही बढी नेपाली भर्ना भएको हुन सक्ने उनको भनाइ थियो। पछिल्लो समय रूस–युक्रेन युद्ध चर्किंदै गएपछि र ‘रेडजोन’ मा पठाउन थालेपछि रूसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्त मार्फत उद्धारको याचना गर्ने गरेका छन्। यही वर्षको दशैं लगत्तै रूसी सेनामा भर्ना हुन गएका एक नेपालीका आफन्तले कहिले सम्पर्क हुने र कहिले नहुने गरेको दुखेसो पोख्दै उद्धारका लागि आग्रह गरेका छन्।  

झापा:    झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं। ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न।को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय रामकृष्ण पौडेलको उपचारका लागि अस्पताल पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ बर्सिया लीला गौतम घाइते भएका छन् । दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको गिरीले बताएका छन् । 

काठमाडौं:     नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।  विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ९६ खानीलाई उत्खननका लागि अनुमति दिएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्वल एक, रातोमाटो दुई, फलाम एक, जिङ्क एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन् । घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिए । पछिल्लो समय नेपालमा उत्पादित सिमेन्टसमेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । ‘नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चापदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो’, उनले भने । यस्तै विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा सुरु नगरेको भन्दै रद्द गर्दै आएको छ ।

काठमाडौं:    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ। त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो। माघ १२ गते विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। उक्त घटनापछि विमानस्थल सुरक्षा प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा बुझाएका थिए। तर उनको राजीनामा फिर्ता गरी प्रहरी प्रधान कार्यालयले उनलाई प्रदेश समन्वय विभागमा सरूवा गरेको थियो।