काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।       पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।  सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो । जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उहाँको भनाइ थियो ।       “सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु”, सचिव अर्यालले भन्नुभयो ।       सो अवसरमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका विविध गतिविधिबारे सचिव अर्याललाई जानकारी गराउनुभएको थियो । 

चितवन:     नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।   जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा पाँचवटा, २०७४/७५ मा चारवटा, २०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् ।  आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् ।    उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।  

भोजपुर:    बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ ।       भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिनुभयो ।      इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताउनुभयो ।  यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको  अस्थाइ बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ ।    यो पनि पढ्नुहोस   भोजपुरमा बाढी: जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता      यसैबीच मङ्गलवार राति आएको बाढीले षडानन्द नगरपालिका–२ मा दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो ।       बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए । बाढीले एक तले घर र गोठ बगाउँदा रु ६ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । बाढीले गोरु, बाख्रा र कुखुरा पनि बगाएको छ । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरुलाई स्थानीय महेन्द्र राईको घरमा बस्दैआएका छन् ।         बाढीले निर्मलाको घर, रु ५० हजार, चार तोला सुन, ६ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ । उनको करिब रु १० लाख बरावरको क्षति भएको छ । निर्मलाको परिवार स्थानीय राम राईको घरमा बस्दैआएको प्रहरीले जनाएको छ । 

पोखरा:     पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ । हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा ब्राञ्च म्यानेजर अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सम्झौता अनुसार होल बडी चेकअपमा २० प्रतिशत, बेडमा १० प्रतिशत, ल्याब, रेडियोलोजी र अप्रेशनहरुमा १० प्रतिशत तथा फार्मेसीमा औषधि किन्दा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । पछिल्लो समय सामाजिक योगदानलाई प्राथमिकता दिँदै आएको चरक हस्पिटलले गण्डकी प्रदेशका लगभग सबैजसो जिल्लामा स्थानीय संघसंस्थासँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । आवश्यकता अनुरुप ग्रामीण ठाउँहरुमा लक्षित गरी हस्पिटलले निःशुल्क शिविरलाई निरन्तरता दिने एमडी पोखरेलले जानकारी दिए । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ । बैेंंकले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

काठमाडौं:    भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।  काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।  ललितपुरको युएन पार्क  क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

चितवन:    भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय  सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उहाँ तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुनुहुन्छ ।    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते हुनुभएको । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उहाँहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।   दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो ।

लमजुङ:     पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।  गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो ।  सो स्थानभन्दा मुनि  मस्र्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थल हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ । 

भोजपुर:     अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् ।  बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ । प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।

काठमाडौं:     कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित हुनुभएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गर्नुभयो ।  समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त हुनुभएपछि सो पद रिक्त हुनपुगेको थियो ।  समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो ।