काठमाडौं: सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो । अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो । सहिद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ ।
धनकुटा: खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन् । गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए । “नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु”, मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो ।
पोखरा: कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
भक्तपुर: भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । फागुन २४ गते बेलुकी सवा ६ बजे झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको हो । पवित्राको उपचारको क्रममा भक्तपुर अस्पतालमा फागुन २४ गते बुलुका सवा सात बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेका थिए । पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको छ । प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता पाठकले जानकारी दिए ।
काठमाडौं: आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकोछ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ । आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।
काठमाडौं: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती पनि हुनेछ । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिएका छन् । सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल छ । सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहन्छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले सेना सबैको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७३ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६८ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ६ सय ६२ महिलासहित पाँच हजार आठ सय ९० नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पहिलो स्थानमा छ । विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्त सहभागीले यसलाई पुष्टि गरेको छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको नेपाली सेनाका प्रवक्ता भण्डारी बताउँछन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिए । माओवादीका संस्कृति, नागरिक तथा पर्यटन उड्डयन मन्त्री हितबहादुर तामाङले यसअघि शपथ लिइसकेका छन् । यसैगरी, सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले)का तर्फबाट नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरि उप्रेतीले पद तथा गोपनीयताको शपथ लिए। कानुन न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीले यसअघि शपथ लिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नवनियुक्त मन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिए। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले यसअघि शपथ लिइसकेका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीद्वय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढाले पद तथा गोपनीयताको शपथ लिए । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गरे। नवनियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
धादिङ: धादिङको गजुरी गाउँपालिका-५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । प्रहरी उपरीक्षक गौतमका अनुसार घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मनाङ: मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिरोले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।” दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिरोले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।” समय सकिनलाग्दा आएको भारी हिमपातले पहिरो गएको छ । किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ । यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन । यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उहाँले अनुरोध गर्नुभएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन् ।