काठमाडौं:   रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्...

काठमाडौं:     प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।  उनका अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो । निजहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए । 

धनुषा:     धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए ।

म्याग्दी:   म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिनुभयो । “नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।” सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताउनुभयो । यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ । सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो । विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “सामान्य अवस्थामा २० मिनेटमा बेनीबाट मालढुङ्गा पुगिन्थ्यो, अहिले एक घण्टा लाग्छ”, उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो भएकाले बेनी–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्नुपर्दा गाडी र ढुवानी भाडा बढेको छ ।” यो सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । बेनी–मालढुङ्गा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरलानाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।

काठमाडौं:    नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।  

काठमाडौंः    होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।  गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।    उनले भने, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति  उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको  हकमा छानबिन भइरहेको छ ।”   जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे्रे सात वटा सवारी साधनलई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।   लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो ।    फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।  चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताउनुभयो ।  भेटमा प्रधानमन्त्री दाहालले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी हुनुभएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिनुभएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।   सो अवसरमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो ।  भेटघाटका क्रममा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

अछाम:    अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएको प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

ललितपुर:    ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । होली खेल्ने क्रममा गएराति दुई समूहबीच झडप भएको थियो । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए । उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।