काठमाडौं:   रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्...

गोरखा:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।  गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमका बिच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख समेत गरे ।  गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क  निर्माणमा आफ्नो ध्यान जाने बताए ।  गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।

काठमाडौं:    सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिनुभयो ।  “ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिसकेको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताउनुभयो । “ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।  अध्यक्ष शर्माले ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाईसमेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको बताउनुभयो । ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको ठमेल पर्यटन विकास परिषद र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलको आज बिहानको बैठकले गरेको गरेको छ ।  ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसी क्यामरा जडान गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयसमेत हालै गरेको थियो ।

काठमाडौं:    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ । बिहिबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।  वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

धनगढी:    धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक मृत फेला परेका हुन्। बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। उनको परिवार धनगढीमा बस्दै आएको थियो। कामबाट बिदा मागेर उनी धनगढी आएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तनहुँ:    तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन्  । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो ।  फौजी कीराले मकैमा क्षति भएको  स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिए । फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उनले बताए । उनले भने, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी  प्रयोग पनि भएको छ ।” आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी छरिएको जानकारी दिए । उनले भने, “हालसम्म गाउँपालिकाको वडा नम्बर २ ढापटारमा समस्या देखियो, जानकारी पाउनेबित्तिकै हामीले कीटनाशक औषधि छरेर  किसानलाई यसबारेमा सचेत पारेका छौँ ।” विषादी प्रयोगबारे जानकार किसानले रोग नियन्त्रण गरिरहेका छन् ।  रोग नियन्त्रणका लागि जैविक विषादी झोल (निम, खुर्सानी, तितेपानी, लसुन, असुरो) प्रयोग गर्न सकिने केसीले बताए । मसिनो माटो, बालुवा, काठको धुलो, खरानी हालेर पनि कीरा नियन्त्रण गर्न सकिने उनले जानकारी दिए । 

चितवन:    त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्। गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोकाको शव भेटिएको हो। उनको शव बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको छ। गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो। बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको थियो। मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ। दुर्घटनामा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोका, २८ वर्षीया अन्जना रोका, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोका र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।

सप्तरी:     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ  । लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत राजेशकुमार झाले राससलाई जानकारी दिनुभयो ।  वडा सदस्य रायको ७० वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ  । न्यायिक समितिमा रही निजले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । गाउँपालिका तथा मातहतका कार्यालय ९अति आवश्यक सेवाबाहेक० आज बन्द रहने गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । दिवङ्गत रायको दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ । दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सद्गत गरिने वडा नं ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले बताउनुभयो  ।

पोखरा:     सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले २१ औ स्थापना दिवस मनाएको छ । स्थापनासँगै नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले सामुदायिक सेवा केन्द्र वगरका हरेक गतिविधि उत्कृष्टता रहेको बताए ।  ‘सामुदायिक सेवा केन्द्रका हरेक गतिविधिले समाजका विकृति विसंगती न्यूनिकरण गर्न प्रहरीलाई सहयोग पुगेको छ’ प्रहरी उपरीक्षक थापाले भने, ‘आगामि दिनमा पनि संस्था गतिविधि क्रियाशिलता रहने विश्वास व्यक्त गर्दछु ।’ कास्की जिल्लामा सामुदायिकको सक्रियता नमुनाको रुपमा रहेको उनको भनाई थियो । वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सामुदायिक सेवा केन्द्र बगरले गर्ने हरेक गतिविधिमा आफ्नो कार्यालयको तर्फबाट सहयोग रहने बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले प्रहरी र नागरीक वीचको सम्वन्ध जोड्ने काममा सामुदायिक सेवा केन्द्र अग्रणी भागमा रहेको बताइन् ।  कार्यक्रममा अस्थायी प्रहरी पोष्ट वगरका इन्चार्ज कृष्णबहादुर लामिछाने प्रहरी वरिष्ठ नायव निरीक्षक बाट प्रहरी निरीक्षकमा पदोन्नती भएकोमा सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा रामजी पौडेल, सदस्य लागु औषध नियन्त्रण तथा समाज स्ुधार आमा समूहकी अध्यक्ष कल्पना आचार्य बास्तोला सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष धर्मराज आचार्य, सामुदायिक सेवा केन्द्र वगरका निवर्तमान अध्यक्ष रामभूषण पराजुलीले र सचिव शिवराज अधिकारीले बोलेका थिए ।