स्याङजा: स्याङजाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । गल्याङ नगरपालिका–२ गराङ्दी का १४ वर्षीय युनिक रानाको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पावलसिंह लामाले जानकारी दिए । मङगलवार बिहान ६ जना साथीहरु सहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए । झण्डै दुई घण्टाको खोजबिन पछि उद्धार गरी गल्याङ नगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।
काठमाडौं: राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।
काठमाडौं: राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट बिमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ । यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहनुभएको छ । उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि निर्वाचन हुन लागेको हो । उम्मेदवारी दर्ता गर्रापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभयो । आफूलाई आफ्नो दलले यो जिम्मेवारी दिएकाले धन्यवाद दिनुभयो । उहाँले राष्ट्रियसभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, काँगेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएका पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । आफूले स्थानीय रुपमा पनि काम गरेको जानकारी दिँदै उहाँले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई समेत धन्यवाद दिनुभयो । उहाँले जनताको मन छुने खालका ऐन, कानुन बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै सबै आफ्नै साथीभाइ भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।
काठमाडौं: भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । यसैगरी भारतको हिन्दुस्तान टाइम्सले सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको जनाएको छ । भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।
स्याङजाः स्याङजाको आँधिखोलामा पौडि खेल्ने क्रममा १ जना बेपत्ता भएका छन । गल्याङ नगरपालिका–२ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता रहेको प्रहरीले जनाएको छ । मंगलवार बिहान अन्य ६ जना साथिहरु सहित पौडि खेल्न गएका राना खोलामा बेपत्ता भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता रानाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका १ र २ नम्बरको सिमानामा ४ दिन अगाडिदेखि लागेको डढेलो बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको १ र २ नम्बरको वडाको सिमानामा ४ दिन अगाडि लागेको डढेलो गुराँसेको बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको वडाध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए । ‘ताराखोला गाउँपालिका १ र २ जोड्ने सिमानाको धुरीमा ४ दिन अगाडि आगो लागेको देखिएको थियो’, वडाध्यक्ष घर्तीले भने, ‘४ दिन अगाडि लागेको आगो बस्तीतीर आउने देखिएपछि हिजो र आज बस्ती जोगाउन स्थानीयसहित लागि परेका थियौं, दिउँसो खाना खाने समयमा बस्तीमा आगो पस्दा क्षति पुग्यो ।’ ताराखोला गाउँपालिका २ का वडाध्यक्ष घर्तीका अनुसार जंगलको बीचमा रहेको बस्ती जोगाउन अग्नि रेखा बनाएपनि बस्तो जोगाउन नसकिएको सुनगाभा न्यूजसँग बताए । ‘बस्ती जोगाउन हामी स्थानीयहरुसँग लागि परेका थियौं, आज बिहान अग्नि रेखा बनाएर बस्ती जोगाउने प्रयास गरेका थियौं’, उनले भने, ‘ बस्ती जंगलको बीचमा छ, बस्ती तल र माथी झाडी र खडेरीका कारण सुकेका स्याउला घाँसमा डढेलो बढ्दा नियन्त्रण गर्न सकेनौं ।’ स्थानीय नर बहादुर परियार खरको घर गोठ,हरिलाल परियारको खरको घर गोठ,अमृत परियारको २ वटा गोठ इश्वरा परियारको ढुङ्गाको घर र खरको गोठ, याम बहादुर परियारको खरको गोठ फुलकुमारी परियारको खरको घर र गोठ डढेलो जले नष्ट भएको हो । डढेलोका कारण घर जलेर नष्ट भएपछि उनीहरुलाई दाजुभाई घरमा राखिएको वडा कार्यालयले जनाएको छ । उनका अनुसार २ घरसहित ५ वटा गोठ जलेर नष्ट हुँदा ४ वटा बाख्रा, १ वटा बोका, १ पाठी, २ वटा भैसी, १ वटा राँगो जलेर मृत्यु भएको छ । भने, आगोले २ वटा भैसीको केही भाग समेत जलेको छ । आगोले जलेका २ वटा भैसीको गाउँपालिकाबाट भेटेनरी डाक्टरले उपचार गरिरहेको वडाध्यक्ष घर्तीले बताए । ४ दिन अगाडि लागेको डढेलो पूर्ण रुपमा नियन्त्रणमा नआउँदा वस्ती जोखिमै रहेको स्थानीयहरुले बताएका छन् । आगलागी हुँदा मानवीय क्षति भने भएको छैन् ।
काठमाडौं: सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो । आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकस्थित मेश्रम बराह माविलाई गुरुङ चलचित्र शिरसुवा टिमले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ब्रेज मेश्रों फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित गुरुङ कथानक चलचित्र शिरसुवाको टिमले विद्यालयलाई आज एक कार्यक्रमको आयोजना गर्दै २ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । घान्द्रुकस्थित मेश्रम माविमा कक्षा ११ र १२ सञ्चालनका लागि फिल्मको आम्दानीबाट २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको पोखरा प्रतिनिधि अमृत लामा गुरुङले बताए । उनका अनुसार घान्द्रुकमा छायाङ्कन गरिएको गुरुङ कथानक चलचित्र शिरसुवाको आम्दानीबाट २ लाख मेश्रम माविमा कक्षा ११ र १२ कक्षा सञ्चालनार्थ सहयोग गरिएको हो । उनले उक्त चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन भएपछि बेलायतमा ७ पटक प्रदर्शन भइसकेको छ । मेश्रम माविमा कक्षा ११ र १२ सञ्चालनार्थ गठित अर्थ संकलन उपसमितिका संयोजक कमल गुरुङले सबैको साथ सहयोगमा कक्षा सञ्चालन गर्न सफल भएको बताए । ‘हामीले गाउँमा नै कक्षा ११ र १२ सञ्चालन गर्न सफल भएका छौं, कक्षा सञ्चालनमा सबैको साथ सहयोग अनिवार्य छ, गुरुङले भने, ‘घान्द्रुकमा छायाङ्कन भएको चलचित्र शिरसुवाले पनि कक्षा सञ्चालनका सहयोगार्थ भनेर नै फिल्म तयार गरेको छ, हामी यसमा आभारी छौं ।’ चलचित्र शिरसुवाका निर्माण समूहले घान्द्रुुकमा रोधीं क्लबको भवन निर्माण गर्नका लागि ५ लाख रुपैयाँसमेत आर्थिक सहयोग गरिसकेको छ । मेश्रम बराह माविमा २०७४ सालमा अस्थायी अनुमति लिएर कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन भइरहेको छ । हाल सो विद्यालयमा ११ र १२ मा गरी करिब ५० बढी विद्यार्थी अध्ययनरत छन् ।
ढोरपाटन: बागलुङको तमानखोला गाउँपालिकामा कृषि संकलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट संकलन केन्द्र निर्माण गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज(वस्तुलाई संकलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए। ‘तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म संकलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ’, उनले भने। अध्यक्ष मगरले तमानखोला–१ स्थित बोङ्गादोभानमा केन्द्र बन्ने भन्दै उक्त केन्द्र निर्माण भएपछि कृषकलाई राहत हुने बताए। अहिले किसानले उत्पादन गरेका वस्तुले बजार पाउन नसकेको भन्दै केन्द्र बनेपछि गाउँगाउँबाट कृषि उत्पादन संकलन गरेर यहाँ ल्याउने र बिक्री वितरण गरिने उनले जानकारी दिए। ‘यहाँका धेरै किसानले तरकारी, फलफूललगायत अन्य कृषिजन्य वस्तु उत्पादन गर्दै आएका छन् । उत्पादनले सजहरुपमा बजार पाएको छैन’, अध्यक्ष मगरले भने, ‘पालिका केन्द्र सञ्चालनमा ल्याएसँगै बजारीकरणको जिम्मा लिएर कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने योजना बनाएको छ । किसानलाई उचित मूल्य दिलाउन हामीले योजना बनाएर लाग्नेछौँ । संकलन केन्द्रमा छवटै वडाबाट उत्पादन ल्याइनेछ ।’ यही चैत ४ गते सम्झौता भएर केन्द्रको काम सुरु भएको छ । धमनी देउराली निर्माण सेवाले आगामी जेठ मसान्तमा सक्नेगरी ३० लाखमा निर्माणको जिम्मा लिएको गाउँपालिकाका इन्जिनियर अर्जुन यादवले बताए। केन्द्रमा पशुजन्य वस्तु र कृषि उत्पादन संकलन गर्ने फरकफरक कोठाहरू निर्माण हुने उनको भनाइ छ । केन्द्रमा दुई वटा ‘कोल्ड रुम’ समेत बन्ने उहाँले जानकारी दिए। स्थानीय प्रेमबहादुर पुनले गाउँमा उत्पादन भएका तरकारीले बजार नपाउँदा कृषकहरू मारमा पर्दै आएको भन्दै संकलन केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिल्ने बताए। तमानखोलामा ठूलो बजार नरहेको हुँदा किसानले डोकोमा बोकेर बुर्तिबाङ बजारसम्म पुर्याउनुपर्ने बाध्यता रहेकामा उक्त बाध्यताको अन्त्य हुने उनको भनाइ छ । गाउँपालिकाले निर्माण गरिरहेको उक्त केन्द्रमा सबै वडाबाट तरकारी तथा कृषिजन्य उत्पादन संकलन गरी ल्याउने र ठूला(ठूला बजारमा यहीँबाट ‘सप्लाई’ गर्ने हुँदा बजार र उचित मूल्य पाउनेमा आशावादी रहेको पुनको भनाइ छ ।