काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्धदर्शन वैज्ञानिकतामा आधारित भएकाले यसलाई कमजोर हुन नदिइने बताउनुभएको छ ।      नेपाल मण्डल लिटरेचर कल्चर टष्टद्वारा आज आयोजित बौद्ध विद्वान डा अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री ओलीले आफू आज कार्यक्रममा आउँदा प्रशन्न चिन्तन लिएर आउने सोचमा रहे पनि अकल्पनीय रुपमा आजै भएको सौर्य एयरको विमान दुर्घटनास्थलमा पुगेर आउनुपरेकाले भारी मन लिएर आउन विवश भएको सुनाउनुभयो ।       प्रधानमन्त्री ओलीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र मृतकका परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले नेपाली सामाजिक, धार्मिक र प्राकृतिक रुपमा विविधतायुक्त मुलुक भएकाले कसले कुन धर्म मान्छ, मान्दैन भन्ने कुरा बेग्लै भए पनि सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात् गर्ने स्पष्ट गर्नुभयो ।       “नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बुद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथमै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो । राणाकालमा भिक्षुभिक्षुणी हुनुलाई अपराध मानिन्थ्यो । बुद्ध दर्शनलाई जटि बनाइनु हुँदैन । यो वैज्ञानिकतामा आधारित छ । हामी बुद्धका ज्ञान र शिक्षालाई विस्तार गराउने पक्षमा छौँ ।”      धानमन्त्री ओलीले ज्ञानलाई थुपारेर राखेर नबढ्ने भएकाले डा शाक्यले आफूमा भएको ज्ञानलाई वितरण गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले ‘पुस्तकका लेखक एवं बौद्ध विद्वान डा शाक्यले आफ्ना बौद्ध धर्म–दर्शनअनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौँ ? किन मर्छौं ? मानिस भनेको के–हो ? यो भवचक्र किन चलिरहेको छ ? यी सबै प्राणीहरु भनेका के हुन् ? यो ब्रम्हाण्ड भनेको के–हो ? स्वर्ग नर्क आदि लोक भनेको के–हो ? पूर्व जन्म भनेको के हो ? कर्म भनेको के हो ? अनित्य, दुःख र अनात्म भनेका के–हुन् ? कर्म विपाक हुन्छ कि हुँदैन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्र चेतना भनेका के हुन् ?’ जस्ता यावत् प्रश्नहरू बौद्ध दर्शनका पाठकसमक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको बताउनुभयो ।

काठमाडौं:    सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।            सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।       आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर ९एटिसी० अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहनुभएको छ ।       आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझगरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङकानुसार आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको छ । यस शोकको घडीमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।            आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते हुनुभएको छ । उहाँको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुर:     मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।      आज दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७/२८ को विमल थिङको ज्यान गएको र उहाँसँगै काम गर्ने तनहुँका अन्दाजी २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।      थिङको घटनास्थलमै ज्यान गएको थियो । गम्भीर घाइते विकको हेटौँडा–११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो । 

काठमाडौं:    सरकारले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त राज्य बनाउने निर्णय गरेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।            बैठकले बाढीपहिरा जस्ता विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्ले देशका विभन्न भागमा हालै गएको बाढी पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण, पीडित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।            बैठकले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप ‘फ्लड लाइट जडान’ र ‘प्याराफिट’ निर्माणको कार्य तीन सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोकेको छ ।            परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले नेपाल सरकारको रिक्त मुख्यसचिव पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (हाल निमित्त मुख्यसचिव) लीलादेवी गड्तौलालाई कायम मुकायम मुकरर गरेको छ ।       बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेको छ ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।       नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गर्नुभएको छ । उहाँले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन अनुरोध गर्नुभएको छ ।       सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिनुभएको छ । आज बिहान ११:११ बजे काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

पोखरा:     पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको  जानकारी दिनुभएको छ  ।   काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज विहान  दुर्घटना भएको थियोे । दुर्घटनामा विमानमा सवार १८  जनाको निधन भएको छ । उक्त जहाज उड्नेक्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।   यो पनि पढ्नुहोस   सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन “जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उहाँले भन्नुभयो, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ ।”   

काठमाडौं:    सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा आएको छ । केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

म्याग्दी:     म्याग्दीको विकासका लागि ‘लाइफ लाइन’ भनिएका बेनी–जोमसोम र बेनी–दरबाङ सडकले जनतालाई सुविधा बढी दिए कि सास्ती ?  अहिले यही विषयलाई लिएर जिल्लामा बहस हुने गरेको छ । विकासका लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ तर म्याग्दीको सन्दर्भमा भने सडककै कारण जनताले पाएको सास्ती र सुविधाको तुलना गर्नुपर्दा ढुक्कसँग सुविधा बढी भनेर भन्न सकिने अवस्था छैन ।      सुविधाकै लागि भनेर सडक निर्माण गरिन्छ । सडक यात्रीहरुको सुविधाका लागि मात्र नभएर ढुवानी, बजारीकरण र गाउँ र सहरलाई जोड्ने माध्यम पनि हो । म्याग्दीको सदरमुकाम बेनी बजार राष्ट्रिय राजमार्ग (बेनी–मालढुङ्गा–पोखरा) सँग जोडिएको करिब तीन दशक भयो ।      विसं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ सालमा मार्ग खुलेको बेनी–मालढुङ्गा सडक निर्माण भएपछि म्याग्दी राष्ट्रिय राजमार्गसँग जोडिएको थियो । जिल्ला सदरमुकाम बेनी राष्ट्रिय राजमार्गसँग जोडिएको १२ वर्षपछि २०६४ सालमा नेपाली सेनाले बेनी–जोमसोम सडकको ‘ट्र्याक’ खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको हो ।  ७६ किलोमिटर दूरीको यो सडकमार्गबाट हिमालपारिको जिल्ला मुस्ताङलाई देशको सङ्घीय राजधानी काठमाडौँ, प्रदेशको केन्द्र पोखरालगायत देशका अन्य सहरहरुसँग जोड्ने एकमात्र माध्यम हो । कालीगण्डकी नदीको तिरैतिर, अनेकौँ भिर र पहरालाई छिचोल्दै यात्रा गर्नुपर्ने यो सडकको अन्य कुनै विकल्प नहुँदा ज्यानको माया मारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।      यस सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नुका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गत असारयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ ।  वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कंदै गरेका रमेश अधिकारीले जानकारी दिनुभयो ।  “सडक खुलेको १७ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँद्मा सुक्खा पहिरो र वर्षामा बाढीपहिरोका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ” उहाँले भन्नुभयो ।  “राष्ट्रिय गौरवको आयोजना भनेर परिभाषित गरेको कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक जोखिमको पर्याय बनेको छ । यो सडकको न अर्को कुनै विकल्प छ न त सडक वन्द गर्न सकिने अवस्था नै । हिउँद होओस् वा बर्खा भगवान् पुकार्दै ज्यानकै माया मारेर यो सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ,” म्याग्दीको पर्यटन अभियन्ता तथा बेनी बजारका व्यवसायी राजेश शाक्यले बताउनुभयो ।      बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । “ती पहिरोहरुमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा हुन् भने १४ पहिरोलाई जोखिमयुक्त पहिरोको सूचीमा राखेका छौँ,” उहाँले भन्नुभयो ।      कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रु ७० करोडभन्दा बढी लागत लाग्ने बताइएको छ । “अति जोखिमयुक्त र जोखिमयुक्त पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन,” आयोजना प्रमुख झाले भन्नुभयो ।      पाखोबाट खस्ने ढुङ्गा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ । दुई वर्षदेखि बैसरीमा पनि पहिरो खस्न सुरु भएको छ । वैकल्पिक रुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिराले रोकिनुपर्ने अवस्था छ ।       भिर खनेर बनाइएको बेनी–जोमसोम–कोरला सडक, सडक माथि र तल भिर, भिरमाथिको पाखो, भूमिगत पानी र पहिरोले चिराचिरा परेको भूगोलका कारण यो सडकमा पहिरो खसिरहने हुँदा जोखिम बढ्नाका साथै सडक अवरुद्ध हुने गरेको सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले पन्छाउने गरिएको पनि उहाँले जानकारी दिनुभयो ।       वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहने  र ठाउँठाउँमा पहिरो जाने भएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भिरबाट आउने पहिरोले  बेनी–जोमसोम सडकको अधिकांश भाग खतरायुक्त रहेको प्रहरीले जनाएको छ ।      उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत सात वर्षदेखि स्तरोन्नति र चार वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख झाले बताउनुभयो ।  भिरकोट र बाँदरजुङ्गे भिरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो  । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।  गत सोमबार गलेश्वरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि बेनी–जोमसोम–कोरला सडकको उत्पन्न गरेको समाधानविहीन समस्याको विषयमा छलफल भएको थियो । आयोजना प्रमुख झाले विकल्पविहीन सडकले निम्त्याएको जोखिम र समस्याका बारेमा आयोजना एक्लैले केही गर्न नसक्ने र सबै पक्षको उत्तिकै चासो रहनुपर्ने बताउनुभएको थियो ।      “प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरुको ‘लाइफ इन्ड’  हुने गरेको छ”,  रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो, “२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।”      बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।  वर्षातको समयमा वर्षाजन्य विपद्का कारणबाट हुने सवारी दुर्घटनालाई दृष्टिगत गर्दै सडकखण्डको म्याग्दी क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा पहिरोग्रस्त लेखिएको सूचनाबोर्ड राखिने, रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा समस्या हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । “रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ,” प्रजिअ ढकालले भन्नुभयो ।       ‘अति जोखिमपूर्ण’ चारओटा पहिरो पहिचान      राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकमा  चारओटा ‘अति जोखिमपूर्ण पहिरो’ पहिचान भएका छन् ।  भूगर्भविद्हरुबाट अहिले भइरहेको भौगर्भिक अध्ययनअनुसार बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरा रहेकामा बैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा पहिचान भएका बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख ध्रुव झाले जानकारी दिनुभयो ।      उहाँका अनुसार गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर पहिरोलाई जोखिमपूर्ण पहिराको सूचीमा राखिएको छ । पहिरोको विस्तृत अध्ययन भइरहेकोले पहिरो नियन्त्रणका लागि लागत अनुमान तथा डिपिआर निर्माण गर्ने काम भने अझै बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।  “बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी खण्डमा पर्ने ३८ किमी सडक खण्डमा पर्ने पहिराको भौगर्भिक अध्ययन भइरहेको छ, अहिलेसम्म चारओटा अति जोखिमयुक्त पहिरो पहिचान गरी सूचीकृत गरिएको छ,” आयोजना प्रमुख झाले भन्नुभयो ।      “बेनी–लेते खण्डमा रहेका ३५ ओटा पहिराहरुमध्ये नौओटा पहिरो मनसुन याममा यात्रा जोखिमपूर्ण रहेका पाइएको छ,” मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजना इन्जिनियर विष्णु चापागाईंले भन्नुभयो,  “यी स्थानमा वर्षा हुने बित्तिकै पहिरो खस्ने भएकाले मनसुन अवधिभरका लागि एस्काभेटर र लोडर स्ट्यान्डबाई राखेका छौँ । यो सडकमा यात्रा गर्दा अलि सचेत हुनुपर्ने देखिएको छ ।”      मनसुन सुरु भएपछि बेनी–लेते खण्डका यी पहिरोहरूले दिनमा कहीँ न कहीँ यातायात अवरुद्ध हुन्छन् । पहिरोग्रस्त भिरमाथिबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकाले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन् ।  अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुइठे र खामभित्ता पहिरोमा जमिनभित्र मूल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकाले अति कम्प्लेक्स देखिएकाले पहिरोभित्र पाइप छिराएर होरिजेन्टल ड्रेनमार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।      जति पन्छायो त्यति खस्छ फापरखेतको पहिरो      डेढदशक देखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँ पटक मर्मत गरिए पनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो झनझन् भयानक बन्दै सधैँको टाउको दुखाइ बनेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने यो पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।      पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाइ छ ।      “यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ, वैकल्पिक सडकमा सरोकारवालाले ध्यान नदिँदा समस्या ज्यूँका त्यूँ छ,” मङ्गला गाउँपालिका–१, कुहुँका दीपशिखा माविका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले भन्नुभयो । उहाँले अहिलेको अवस्थामा प्रयोग भइरहेको वैकल्पिक सडकमा मोटरसाइकलबाट आवतजावत गर्नसमेत निकै समस्या भएको बताउँदै तत्काल वैकल्पिक सडक र बेलिब्रिज निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।      बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्गमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । “बर्खाको समयमा वैकल्पिक मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ, अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ”, अध्यक्ष रोकाले भन्नुभयो ।      मङ्गला गाउँपालिका–३ पखेर लुलियाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथि बेलिब्रिज तथा पखेरदेखि लुलियाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले हालै प्रस्तावित स्थानको अध्ययनसमेत गरेको थियो । प्रस्तावित स्थानमा जग्गा पर्ने स्थानीयको असहमति तथा बजेटको सुनिश्चितता नहुँदा वैकल्पिक मार्गले गति लिन नसक्दा यो बर्खामा यात्रुलाई निकै सास्ती भएको छ ।      सडक विभागले फापरखेत–पखेर जोड्ने एक सय पाँच मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सो क्षेत्रबाट मार्ग व्यवस्थित बनाउन सकेमा हिउँदमा फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नुपदैन । फापरखेतमा करिब दुई सय मिटर सडक पहिरोग्रस्त छ ।  सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेत्रमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर जोखिममा परेको छ । २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्गेपहिरो मुख्य चुनौती बनेको छ । 

काठमाडौं:   काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।   उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।   यो पनि पढ्नुहोस   २१ वर्ष ४ महिना बुढो भएकाे थियो जहाज      विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो ।   उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।         सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।