काठमाडौं: राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । मंगलबार दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।
पोखरा: पोखरामा सुन जस्तो देखिने ४५ थान पहेँलो धातु प्रहरीले फेला पारेको छ । पोखरा महानगरपालिका–१५ टुटुङ्गा ढुङ्गेसाघुको पुल नजिक झाडीमा बेवारिसे अवस्थामा कालो झोलाभित्र सुन जस्तो देखिने ४५ थान पहेँलो धातु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हिजो (सोमबार) बिहान अन्दाजी साढे आठ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखराका सशस्त्र प्रहरी कर्मचारीहरु बाहिरी अभ्यासको क्रममा खटिएको अवस्थामा उक्त वस्तु फेला परेको कास्की प्रहरीले जनाएको छ । सुन जस्तो देखिने वस्तु वेवारिसे अवस्थामा भेटिएको सूचनापछि अनुुसन्धानका लागि खटिएको प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि, सुनचाँदी व्यवसायी संघ तथा स्थानीयको रोहबरमा बरामद गरी चेकजाँच गर्न पठाउँदा उक्त वस्तु सुन नभएको पत्र आज सुनजाँदी व्यवसायी संघ कास्कीबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा कारको ठक्करबाट मृत्यु भएका एक पैदल यात्रीको दुईसाता बितिसक्दा पनि अझै सनाखत हुन सकेको छैन् । बागलुङ बसपार्कबाट जिरोकिमीतर्फ जाँदै गरेको कारले दुईजना पैदल यात्रीलाई गत पुस ९ गते मध्यरातमा पस्र्याङचोकमा ठक्कर दिएको थियो । कारले पैदल यात्रीलाई ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो । कारको ठक्करबाट मृत्यु भएका बागलुङको ढोरपाटन नगरपालिका घर भई पोखरा बस्ने ढालेन्द्र छन्त्यालको शव केही दिन पछाडि परिवारले बुझेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले सुनगाभा न्यूजलाई जानकारी दिए । यस्तै कारको ठक्करबाट मृत्यु भएका अन्दाजी ३०/३५ वर्ष जस्तो देखिने पुरुषको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । कारको ठक्करबाट मृत्यु भएका पैदलय यात्रीको शव पोष्टमार्टम पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङले चलाएको बा १३ च ३७२१ नम्बरको कारले गत पुस ९ गते मध्यरातामा दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले बिजुली उपभोग गरेका उपभोक्तालाई बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउने सम्बन्धी सूचना निकालेर आजदेखि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखेर आवेदन दिन भनेको हो । प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिनेछ । डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहक र प्राधिकरणबीच बक्यौता विद्युत् महसुलको विवाद छ । प्राधिकरणले महसुल नबुझाउने उद्योगको विद्युत् लाइन काटेको छ । बक्यौता रहेका केही उद्योगले महसुल रकम बुझाउन थालेपछि उनीहरुको लाइन जोडिएको छ ।
इलाम: इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए । ३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमा पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । आयोगले पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।
काठमाडौं: राष्ट्रियसभा निर्वाचनका लागि ५२ जनाले उम्मेदवारी दिएका छन्। सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८ र अन्य समूहतर्फ २१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार कोशीमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुने आयोगले जानकारी दिएको छ।
पोखरा: राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा चार दलका ८ जनाको उम्मेदवारी दर्ता भएको छ । पोखरास्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर कांग्रेसका २ माओवादीका १ जना, एमालेका ३ र राप्रपाका २ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यमा गोरखाका किरणबहादुर श्रेष्ठ, अपांग/अल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएका हुन् । राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । गण्डकीमा अन्य, महिला र अपाङ्गतारअल्पसंख्यकमा १र१ गरी तीन क्लस्टरमा निर्वाचन हुनेछ । गण्डकी प्रदेशबाट निर्वाचित भई राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टुङ्गो लगाएको छ । लामो छलफल र विवादकाबीच कांग्रेसले आज बिहान उम्मेदवार चयन गरेको हो । कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । यस्तै, बाग्मती प्रदेशमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ । यस्तै, कर्णालीमा कृष्णबहादुर रोकाया तथा सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ । शेखर कोइराला पक्षले चारजना उम्मेदवार पाउनुपर्ने दाबी गरे पनि तीन जना पाएको छ । उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । केन्द्रीय समिति बैठकले अहिलेसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाए पनि त्यसअनुसार नभएको थापाको भनाइ छ ।