मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताउनुभयो । “हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।” जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क।बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उहाँको महत्त्वपूर्ण योगदान गर्नुभएको उल्लेख गर्नुभयो । एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गर्नुभएको थियो । उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते हुनुभएको थियो ।

काठमाडौं:     प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता भएर विदेशमा बस्नेलाई मतदानको अधिकारबाट वञ्चित नगराउने मुद्दा विश्वव्यापी सरोकारको विषय भएको बताउनुभयो । उहाँले विद्यमान संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय तथा कानुनी अभ्याससमेतका आधारमा कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका सचिव रविलाल पन्थले बसाइँसराइ नागरिकको अधिकार र आवश्यकताको विषय हुने भएकाले विदेशमा रहेका मतदातालाई मताधिकारबाट वञ्चित नगर्ने सवालमा आयोग गम्भीर रहेको बताउनुभयो ।  उहाँले गत निर्वाचनमा कतिपय जिल्ला र क्षेत्रमा ५० प्रतिशतभन्दा कम मत खसेको पाइएकाले आप्रवासनको समस्याका कारण त्यसो भएको हुनसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा यससम्बन्धी विज्ञ, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकार भएकाहरुबीच छलफलपछि रायसुझाव तयार गर्ने कार्यसूची छ । सर्वोच्च अदालतले २०७४ चैत १७ गते विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा मतदान दिने कानुनी प्रबन्ध गर्न आदेश दिएपछि आयोग र नेपाल सरकारले कार्यान्वयनका लागि पहल गर्दै आएका छन् ।

काठमाडौं:      स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

काठमाडौं:     राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् ।  बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो।  विसं २०५१ मा कम्युप्टर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् । 

काठमाडौं:      मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् ।  गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । चट्याङबाट क्षति सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना (असार ११ र १२ गते)को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर मृत्यु भएको उहाँले बताउनुभयो ।

तनहुँ:    तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।” गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गर्नुभयो । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्”, गुरुङले भन्नुभयो । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।” आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो वडाले एक होनहार युवा गुमाएको छ ।” रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।

लमजुङ:     अविरल बर्षासंगै लमजुङको दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको सँख्या पाँच पुगेको छ । गएराती देखि शुरुभएको बर्षासँगै क्व्होलासोथार गाउँपालिका–३ बगुममा तीन घर बगाउदा एकै परिवारका चारजनाको मृत्यु भएको हो ।   अविरल वर्षासंगै बगुमस्थित पच्यु टोलमा पहिरो गएको हो । स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र चित्र घलेको घर पहिरोले बगाएको हो । पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ बर्षिया नम्रता गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।     यो पनि पढ्नुहोस   लमजुङ पहिरो: बेपत्ता वृद्धको शव भेटियो, तीन जना अझै बेपत्ता मध्यराती गएको पहिरोमा परेर बेपत्ता भएकाहरुको विहान ११ः३० पछि मात्रै शव फेला परेको क्व्होलासोथार गाउँपालिका वडा नम्वर–३ का अध्यक्ष आशविर गुरुङले जानकारी दिनुभयो । स्थानियसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि पनि घटनास्थल पुगेर शव खोजी कार्य गरेका हुन् । सदरमुकामदेखि घटनास्थलसम्म पुग्दा बाटोमा पहिरोकै कारण सडक अवरुद्ध भएकोले जिल्लाबाट खटिएको सैनिक प्रहरीको टोलि घटनास्थल पुग्न निकै समय लागेको थियो । त्यसैगरी गएरातीकै पहिरोका कारण दोर्दी गाउँपालिका–९, स्याउतमा पनि एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले कोठामा सुतिरहेका १६ बर्षिय विकल सुनारको मृत्यु भएको हो । पहिरोमा परेर गम्भीर घाईते भएका विकललाई उपचारको लागी लमजुङ अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । स्थानियका अनुसार विकल एसईई दिएर नतिजाको पखाईमा थिए । सोहि पहिरोमा परेर विकलका दाजु १८ वर्षिय विमल सुनार पनि घाईते भएका छन् । घाईते सुनारको लमजुङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । त्यसैगरी बर्षासँगै भएको चट्याङका कारण क्होलासोँथार–७ चरागाउँमा पनि एकजनाको मृत्यु भएको छ । घटनाबारे जानकारी आएसँगै प्रहरी चौकी गिलुङबाट प्रहरी टोली चरागाउँ पुगेर घटनाको पुष्टि गरेको हो । चट्याङबाट मृत्यु हुनेमा चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेल रहेका छन् । मंगलबार राती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताएका छन् । यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिनुभयो । चट्याङका कारण सदरमुकाम बेसीशहर नगरपालिका ६, शेराका मदन परियारको एउटा गोरु मरेको छ । विभिन्न क्षेत्रमा बिद्दुतिय सामाग्रीमा क्षति पुगेको खवर प्राप्त भएका छन् ।

कैलाली:     कैलालीका दुई स्थानमा बुधबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहान करिब साढे सात बजे जोशीपुर गाउँपालिका–३ भितरियामा चट्याङ लागेर ३१ वर्षीय जयराम डगौराको निधन भएको छ ।  आफ्नो घरदेखि करिब तीन सय मिटर टाढा खेतमा आली बनाइरहेका जयराम चट्याङ लागेर घाइते भएका थिए । दुर्घटनापछि घाइते जयरामलाई आफन्तले उपचारको लागि स्थानीय एक क्लिनिकमा पुराएकोमा उपचार क्रममा निधन भएको हो । बुधबार बिहान ८ बजेतिर धनगढी उपमहानगरपालिका– १८ एफगाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । घर नजिकको खेतमा रोपाई गरिरहेका शालिम चट्याङ लागेर घाइते भएकोमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   आज  बिहानको चट्याङबाट कैलालीको जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय राम बहादुर चौधरी र घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत तथा १० वर्षीया खिमा कठायत घाइते भएका छन् ।

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा दुई पक्षीय हीत, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधै नेपालको विकास प्रयासमा योगदान पु¥याएको बताउनुभयो । उहाँले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिÞक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताउनुभएको थियो ।।