मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

सिन्धुली:     लगातारको बर्षाले सिन्धुलीस्थित दुई ठुला राजमार्ग अबरुद्द भएको छ । बिपी राजमार्गको सुनकोसी गाउपालिका–२ कमिरेफाँटमा माथिबाट लेदो झरेर सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यपहाडी राजमार्गमा पनि पहिरो झरेर अवरुद्द भएको छ । मध्यपहाडी राजमार्गको गोलान्जर गा।पा।६ स्थित अक्करेभिर र फिकल गा।पा।२ स्थित सुनाम वेसिमामा पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ । गएरातीदेखि परेको निरन्तर बर्षाका कारण राजमार्ग अबरुद्ध भएपछि पूर्वी पहाड तथा तराइका विभिन्न जिल्लाबाट काठमाडौं आवातजावत गर्ने सयौं सवारी बाटोमै अलपत्र परेका छन् । राजमार्गमा झरेको पहिरो पन्छाउने काम भैरहेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ।   प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।  ‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।  असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।  कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उनले संसदमार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गरेका हुन् । 

पोखरा:     अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सांसदका जिज्ञासाको जवाफमा उहाँले नेपालको संविधान, सोह्रौँ योजनाको सोच, गणतन्त्रका डेढ दशकका उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सांसदहरूले रचनात्मक सुझाव दिनुभएको बताउनुभयो । विगतका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने, बदलिँदो विश्व अर्थव्यवस्था र मुलुकको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र रोजगारीका अवसर सृजना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने स्पष्ट कार्यदिशा निर्धारण गरी आगामी आवका लागि पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचानसहित बजेट बनाइएको, त्यसको कार्यान्वयनबाट यसले लिएको लक्ष्य हासिल हुने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो । सांसदहरुले बजेटले संविधान र नीति तथा कार्यक्रमलाई सम्बोधन नगरेको, सङ्घीयताको सवलीकरणमा जोड नदिएको, शिक्षा क्षेत्रमा बजेट न्यून विनियोजन भएको, कृषिमा लगानी दशक घोषणा भएको तर पर्याप्त बजेट विनियोजन नभएको, बजेटलाई उत्पादकत्व बढाउने गरी बजेट नआएको गुनासो गर्नुभयो । सांसदहरुका जिज्ञासा शान्त पार्दै मन्त्री पुनले भन्नुभयो, “मुलुकको चालु आवको कूल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटको तुलनामा प्रस्तुत बजेट सन्तुलित छ, बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप गतिशील बनाउन निजी क्षेत्रको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी छ ।” उहाँले आगामी आवका लागि कूल खर्च रु १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको र त्यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा ६ दशमलव २ प्रतिशतले मात्र अधिक रहेको बताउनुभयो । चालु आव २०८०र८१ मा चालु खर्च ६५ दशमलव २ प्रतिशत, पुँजीगत १७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थामा १७ दशमलव ५५ प्रतिशत रहेकामा आगामी आव चालु खर्च ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९ दशमलव ७४ प्रतिशत प्रस्ताव गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । “चालु आव २०८०/८१ को तुलनामा चालु खर्चतर्फ न्यून बजेट विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको छ, त्यसैगरी प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदान गरी रु पाँच खर्ब ६७ अर्बअर्थात् कूल विनियोजनको ३० दशमलव ५ प्रतिशत वित्तीय हस्तान्तरणको सुनिश्चितता गरिएकाले प्रदेश र स्थानीय तहमा जाने रकममा पनि चालु आवभन्दा बढी नै विनियोजन गरिएको छ”, मन्त्री पुनले भन्नुभयो ।  सो रकमबाट सञ्चालन हुने क्रियाकलाप तथा सङ्घीय सरकारको कार्यक्रमबाट सञ्चालन गरिने क्रियाकलापबाट प्रादेशिक सन्तुलन कायम गर्न योगदान पुग्ने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो ।

बैतडी:     अमेरिकन फौजी किराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन्।  दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी किराले मकैखेतीलाई असर पुर्‍याएको हो।  किराले मकैको  बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले बताए। ‘किराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ। किराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछि समस्या भएको छ। किरा नियन्त्रणका लागि विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौं,’ उनले भने। विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको जोखिम देखिएको भन्ने गुनासो आएपछि अनुगमन र  विषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताए। ‘किसानले फौजी किराले मकैबालीलाई नष्ट गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौं,’ उनले भने। समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी किरा बढी सक्रिय हुने गरेको छ। मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो। दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि किराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ।  पालिकाका विभिन्न वडामा अमेरिकन फौजी किराको जोखिम देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताए। रिम, कालागाउँलगायतका किसानले फोन गरेर फौजी किराको जोखिम देखिएको जानकारी गराएका छन्। ‘मकैमा फौजी किराको आक्रमणबारे जानकारी पाएपछि वडास्तरबाटै कृषि प्राविधिक पठाएर अनुगमन कार्य गरी विषादीको व्यवस्था गरेको छौं,’ उनले भने। फौजी किरा रातको समयमा बढी सक्रिय हुने गरेकाले जोखिम देखिएको ठाउँमा विषादीको प्रयोग गर्न आवश्यक रहेको  शाखा अधिकृत भट्टको भनाइ छ। गएको चार वर्षयता हरेक वर्ष फौजी किराको जोखिम देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए।   ‘मकैमा फौजी किराको जोखिम प्रत्येक याममा देखा पर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा उत्पन्नको तहबाटै मकैको बोट खान थाल्छ। नियन्त्रणका लागि मुस्किल हुने गरेको छ,’ उनले भने। पालिकाको कृषि शाखाको समन्यमा किसानहलाई ज्ञानकेन्द्रले बिषादी वितरण गर्ने गरेको छ। इमामेक्टिन वेन्जोएट, अल्टाकोर नामक विषादी वितरण गर्ने र एक किसानले मात्रै विषादी प्रयोग गरेर नहुने भएकाले जोखिम देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै किराको जोखिम नियन्त्रण हुने जनाइएको छ। माटोको उपचार गरेर पनि  फौजी किराको जोखिम हटाउन सकिने प्रमुख चौधरीको भनाइ छ। फौजी किराको जोखिम देखा परेकाले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ। बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको भए पनि जंगली जनावर, विभिन्न रोगकिरा, बसाइँसराइका कारण हाल ५ हजार चार सय हेक्टर क्षेत्रफल जमिनमा मात्रै मकैखेती गरिएको केन्द्रले जनाएको छ।  

काठमाडौं:       प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गर्नुभएको हो । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

बागलुङ:      अविरल वर्षाका कारण बागलुङको ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएको बताए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्‍याएको छ । खास गरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

पोखरा:     साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।  कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।