नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

पाेखरा | जेठ २१, २०८१

नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ तस्बिर फाइल

गण्डकी:      उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


७४औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उनले सो कुरा बताएका हुन् ।


आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागेको बताए । उनले राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आफ्नो समुदाय र देशमा नेपालको पर्यटनबारे प्रचारप्रसार गरिदिन आग्रह गरे ।


‘अतिथि देवो भवः’को आदर्श वाक्य उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालीहरु आतित्थ संस्कारका दृष्टिले विश्वभर चिनिएको बताए ।


सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै अग्लो शिखर सगरमाथालगायत अनेकौँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा हेर्न विश्वभरका पर्यटक नेपाल आउने गरेको उनको भनाइ छ ।


उपप्रधानमन्त्री श्रेष्ठले पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटन गतिविधिमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास भइरहेको उल्लेख गरे । उनले ध्यान, योग र आध्यात्मिक पर्यटनका माध्यमबाट पनि पोखराको थप विकास गर्न सकिने दाबी गरे ।


अन्नपूर्ण दिवसका अवसरमा आइतबार नै विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए ।


विश्वमै पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा उक्त पदयात्राको आयोजना गरिएको थियो ।


सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए ।


सोही दिनको सम्झनामा बर्सेनि अन्नपूर्ण दिवस मनाउने गरिन्छ । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रमसहित आज ७४औँ अन्नपूर्ण दिवस मनाइँदैछ ।

चितवन:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताउनुभएको छ ।  नेपाली  कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फ...

थप पढ्नुहोस्

काठमाडौं: मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा न...

थप पढ्नुहोस्