चितवन: चितवन भरतपुर महानगरपलिका वडा नं. २९ को नारायणगढ(मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हाम्रा चितवन सम्वाददाता राजेन्द्र आचार्यले जनाएका छन् । काठमाण्डौबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएको र उनिहरुको हालसम्म नाम थर र वतन खुल्न सकेको छैन । घाईतेहरुमध्ये नाम थर वतन नखुलेका अन्दाजी १६÷१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको हो । घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । यसअघि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम कांग्रेसको नाराबाजीबीच पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे। गत जेठ १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनमा वाचन गरेका थिए । तर त्यसबेला कांग्रेसको अवरोध र नाराबाजीका कारण संसद्ले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन । यसअघि जेठ ८ मा कांग्रेसको अवरोधबीच नै धन्यवाद प्रस्ताव पारित भएको थियो । नीति तथा कार्यक्रम पनि कांग्रेसलाई पेलेरै सरकारले पारित गरेको हो । सत्ता पक्षले आइतबार नीति तथा कार्यक्रम पारित गरेपछि अब यही बुधबार बजेट ल्याउँदैछ । नीति तथा कार्यक्रम माथिको छलफलमा सत्ता पक्षका नेता, अर्थमन्त्री वर्षमान पुन तथा प्रतिपक्षी नेता प्रेम सुवाल र चित्रबहादुर केसीले मात्र भाग लिए । यद्यपि आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् । तर उनले त्यसो भने पनि कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै संसद्मा रहेको अवरोधबारे प्रतिपक्षीसँग निरन्तर छलफल भइरहेकाले निष्कर्ष निस्किन लागेको दाहाले बताए । सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ । सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीतिमा हिँडेपछि अब बजेट पनि विरोधबीच आउने अनुमान गरिएको छ ।
काठमाडौं: प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ । ् प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच सभामुख देवराज घिमिरले अनुमति दिनुभएपछि उहाँले सो सर्वेक्षण पेस गर्नुभएको हो । अर्थमन्त्री पुनले भन्नुभयो, “गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको चित्रण तथा विश्लेषण गरिएको छ ।” मुलुकको आर्थिक, सामाजिक परिसूचकमा सुधार हुँदै गएको उल्लेख गर्दै उहाँले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारले मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिनुभयो । अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, बागमती र लुम्बिनीको आर्थिक वृद्धिदर राष्ट्रिय औषतभन्दा माथि रहने अनुमान गरिएको बताउँदै चालु आवमा कूल लगानी २.८ प्रतिशतले बढेर रु १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो । “प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान छ । चालु आवको फागुनसम्म औषत उपभोक्ता मुद्रास्फिति ६.०८ प्रतिशत रहेको छ । राजस्व परिचानलमा क्रमशः सुधार हुँदै गएको छ”, उहाँले भन्नुभयो । अर्थमन्त्री पुनले चालु आवको फागुनसम्म सङ्घीय सरकारको राजस्व सङ्कलन ९.७ प्रतिशतले बढेर रु छ खर्ब ३९ अर्ब पाँच करोड पुगेको जानकारी दिँदै यस अवधिमा सङ्घीय खर्च २।९ प्रतिशतले वृद्धि भई रु आठ खर्ब एक अर्ब ५८ करोड पुगेको उल्लेख गर्नुभयो । “विसं २०८० फागुनसम्म कूल सार्वजनिक ऋण रु २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “आव २०७९/८० मा प्रदेश र स्थानीय तहले सङ्घबाट भएको वित्तीय हस्तान्तरणमार्फत रु तीन खर्ब ९७ अर्ब २६ करोड र राजस्व बाँडफाँडमार्फत रु एक खर्ब २० अर्ब २६ करोड गरी रु पाँच खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् ।” वित्तीय क्षेत्र सुधार हुँदै गएको बताउँदै उहाँले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र निक्षेप एवम् कर्जाको व्यापार दर घट्दै गएको उल्लेख गर्नुभयो । चालु आवको फागुनसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको सञ्जालमा विस्तार, विद्युतीय माध्यमबाट हुने कारोबार, वित्तीय साक्षरता प्रवर्द्धनसँगै प्रतिशाखा जनसङ्ख्या दुई हजार पाँच सय १५ पुगेको जानकारी दिनुभयो ।
पोखरा: पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम)मा पिसीएम फेस्टिवल सम्पन्न भएको छ । पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले यो कार्यक्रम आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट क्लबले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले कलेका सबै विद्यार्थीहरुको मिलनसँगसँगै उनीहरुको प्रतिभा पहिचान र प्रदर्शनीका लागि यो कार्यक्रम फलदायी रहेको बताइन् । ‘कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फूटन र सबै सेमेस्टरमा भएका विद्यार्थीको मिलन पनि हो ।’ – प्राचार्य श्रेष्ठले भनिन्– ‘स्पोर्टस् मीट बाहेक अरु कार्यक्रमले विद्यार्थीहरुलाई मिलन गराउन नसकिरहँदा यो अर्को मीठो अवसर बनेको छ ।’ हरेक बर्ष तालिका नै बनाएर ५ वटा विशेष कार्यक्रम गर्दै आएको पिसीएममा यो वर्षदेखि ुपिसीएम फेस्टिवलु पनि थपिएको छ । यस कार्यक्रममा विद्यार्थीले आर्ट्स, स्टल म्यानेजमेन्ट लगायत गायन तथा नृत्य प्रस्तुति गरेको क्लबका अध्यक्ष मिलन कँडेलले जानकारी दिए । औपचारिक कार्यक्रम पछि व्यान्ड र डिजेले आफ्नो प्रस्तुति राखेका थिए । आर्ट प्रतियोगितामा सविना सुनार सर्वोत्कृष्ट भइन् । शौरभ लामिछाने द्वितीय, ऋसुता हमाल तृतीय तथा स्वर्णिम शाक्य र एसिका गुरूङ तृतीय भए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन एञ्जिला सुवेदी र सम्राट गुरूङले गरेका थिए ।
पोखरा: गायक विनोद वानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार बेलायत प्रस्थान गर्दैछन् । बेलायतमा हुने दुई कार्यक्रममा आफ्नो प्रस्तुती राख्न उनी बेलायत जान लागेका हुन् । पोखरामा रहेर सांगीतिक फाँटमा स्थापित बनेका गायक वानियाँ पहिलोपटक बेलायत भ्रमणमा निस्कन लागेकोमा उत्साहित छन् । त्यहाँ हुने कार्यक्रममा आफ्ना चर्चित गीतहरू सुनाउदै माहोल रमणीय बनाउने उनको तयारी छ । गोर्खा कप आफ्टर पार्टीु उनी सहभागी बन्ने कार्यक्रम हो । मे २६ तारिखमा अल्टरसट लण्डनमा यो कार्यक्रम हुनेछ। जहाँ वानियाँसँगै सुगम पोखरेलको प्रस्तुति समेत रहनेछ । कार्यक्रमको आयोजकमा डि एण्ड जि इन्टरटेनमेन्ट, केप्लर इन्टरटेनमेन्ट, सिग्नेचर, गेरे गुरुङ, दिपेश राई, मनोज गुरुङ छन् । जुन १ तारिख अल्टरसट लण्डनमा ुमेलोडी विथ विनोद वानियाँु कार्यक्रम हुनेछ । सहारा यूकेको सपोर्टमा हुने कार्यक्रम भव्य बनाउन दीपक खड्का, मीन गुरुङ, तुलाराम गुरूङले मिहेनत गर्दैछन् । कार्यक्रम बेलुका ७ बजेबाट बिहान १ बजेसम्म चल्नेछ । दुवै कार्यक्रममा सहभागी भएर रमाउन लण्डनमा रहेका नेपालीलाई उनले आग्रह गरेका छन् । यसैबीच गायक वानियाँलाई पोखराको सहारा क्ल्बले एक कार्यक्रम आयोजना गरेर बिदाइ गरेको छ । उनी खेल गीत मार्फत समेत चर्चामा छन् । उनले आवाज भरेको पहिलो खेल गीत सहारा क्लबको रहेको थियो । जुन गीतले सहारा क्लबलाई चिनाउन महत्त्वपूर्ण भुमिका खेल्यो । क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले क्लब र वानियाँको सहकार्य लगायतको विषयमा बोलेका थिए । बिदाइ कार्यक्रममा क्लबका अध्यक्ष केशवराज बराल सहित पूर्वअध्यक्षहरू र वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी बने । विदाइ कार्यक्रममा बोल्दै गायक वानियाँले सहारा क्लबले गरेको विश्वासका कारण खेल गीत तर्फको यात्रा सुरु गर्न पाएको बताए । सहकार्यको सुरुवात देखि हालसम्म क्लबले गरेको साथ सपोर्टप्रति आभार व्यक्त गरे । ुक्लबको सदस्यको रुपमा गरेको माया र सद्भावना दुतको रुपमा गरेको बिदाईले थप उत्साह थपेको छु उनले भने । २०५७ सालमा ुमाया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका वानियाँको पहिलो एलबम थियो ुमान्छे’ । त्यसपछि ‘डाउट’ र ‘प्रोफाइल’ एलबम बजारमा आए । वानियाँले नेपाली फिल्म ‘दयारानी’ मा गाएको गीत समेत चर्चामा छ ।
हेटौँडा: मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो। सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको छैन। मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ। उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक करिब डेढ घण्टा ढिलो गरी मात्र सुरु भएलगत्तै नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले अवरोध गरेको थिए । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको मागबमोजिम संसदीय छानिबन समितिको कार्यदलको बैठक जारी रहेको भन्दै बैठक सञ्चालन सहजीकरणका लागि आग्रह गर्नुभएको थियो । “सांसदहरुले बोल्न पाउनुपर्छ भन्ने मागलाई सभामुखले बोल्न दिएन भनेर प्रचार गर्ने कुरा होइन, बोल्ने वातावरण कसरी बनाउने र बैठकलाई कसरी अगाडि बढाउने भन्ने कुरामा सत्तापक्ष र प्रतिपक्ष उत्तिकै जवाफदेही र जिम्मेवार छन्”, उहाँले भन्नुभयो, “त्यो जिम्मेवारीका साथ अगाडि बढ्न सदस्यहरुलाई आसन गर्न आग्रह गर्दछु ।” तर प्रतिपक्षी दलले बैठकमा अवरोध जारी राखेपछि उहाँले आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको घोषणा गर्नुभयो । सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची थियो । त्यस्तै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची पनि समावेश थियो । आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने, सांसद प्रेम सुवालले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा थियो । साथै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र उद्योगमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय भएको थियो । त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने पनि कार्यसूची निर्धारण भएको थियो । आगामी आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा सदस्यहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र प्रधानमन्त्री दाहालले उक्त छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने विषय पनि कार्यसूचीमा थियो । नीति तथा कार्यक्रममा प्राप्त संशोधनहरु र राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि समावेश थियो ।।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताउनुभयो । “तालिममा सिकेको सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ ।” नेपाल प्रहरी, कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी रूपमा अपराध नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा मानव अधिकारको संरक्षण गर्न स्थापित संस्था भएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले एक्काइसौँ शताब्दीका चुनौतीहरूको सामना गर्नसक्ने दक्ष एवम् व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । विज्ञान र प्रविधिमा भएको तीब्र विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । नागरिक र प्रहरीबिचको सम्बन्धलाई थप उचाइमा पु¥याउनका लागि हरसम्भव राष्ट्रले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ । शान्ति सुव्यवस्था बहाल राख्न ठुलो सङ्ख्यामा जनशक्ति परिचालित हुनुपर्ने प्रहरीको जनशक्ति दक्षता तथा कार्यकुशलताले सङ्गठनको प्रभावकारितालाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै प्रधानमन्त्रीले सङ्गठनको लागि चुस्त र दक्ष जनशक्ति तथा समयानुकूल र व्यावसायिक तालिम अत्यावश्यक हुने उल्लेख गर्नुभयो । तालिमलाई थप गुणस्तरीय र व्यावहारिक बनाउन तालिमका विषयवस्तु समयानुकूल परिमार्जन गर्नुपर्ने र आधुनिक प्रशिक्षण विधि तथा मापदण्डको अबलम्वन गर्नका लागि काभ्रेको पनौतीमा नयाँ संरचनाहरू निर्माण भइरहेका प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सुरक्षा र हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहलमार्फत् यी संरचनाहरूको निर्माण कार्यको सहजीकरण एवम् निर्माण सम्पन्न गर्नका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यक्रम छ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यक्रम छ । यसैगरी प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्ने कार्यक्रम पनि रहेको छ । आजको बैठकमा “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ । बैठकमा “संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची पनि रहेको छ । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम पनि रहेको छ । बैठकमा सभामुखले प्राप्त संशोधनहरु र राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

