काठमाडौंः आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । चैत्र मसान्त २०८० सम्म नेपालको विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ बराबरको पुगेको नेपाल राष्ट्र बैकले जनाएको छ । नेपाल राष्ट्र बैकले आइतबार जारी गरेको ९ महिनाको नेपालको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ बराबरको पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्क बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । २०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिले कुल गार्हस्थ्य उत्पादनमा ३३.५ प्रतिशत कुल आयातमा १०४ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगका अनुपात २८.९ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गर्नुभएको छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान कांग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र सोमबार बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरेको पनि स्पष्ट पार्नुभयो ।आइतबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सोमबार ९भोलि० बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगेपनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’’ यता, प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।
म्याग्दीः म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो । पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो । छ्यारछ्यारेमा पुल निर्माण भएपछि निस्कोटको दरबाङसँग सिधा यातायात सम्पर्क स्थापित भएको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । “१५ वर्षअघि सडकले जोडिए पनि निस्कोटमा बर्खामा यातायात सञ्चालन बन्द हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ ।” पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदीप जुम्ली जेभीसँग वि.सं. २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रष्ट’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्टिल ट्रस्टमाथि ढलान गरी दुवैतर्फ फुटपाथ बनाइएको छ । हिउँद याममा म्याग्दी खोलाबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने र बर्खायाममा पूर्णरुपमा सवारी आवागमन बन्द हुने गरेको अवस्थामा पक्की पुल निर्माण भएपछि राहत भएको मङ्गला–५ छिस्वाङका तिलक गौतमले बताउनुभयो । उहाँका अनुसार यो पुल निर्माण भएसँगै निस्कोटका साथै मङ्गला गाउँपालिकाको छिसवाङ, टिकवाङ र मालिका गाउँपालिकाको रुम र छिमेकी जिल्ला बागलुङको तारा खोलाका सर्वसाधारणसमेत लाभान्वित भएका छन् । निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जालले विस्तार भएको छ ।
काठमाडौं: प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होममा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा बिस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताउनुभयो । “नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य छ भन्ने देखाएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।” नेपालका अस्पतालमा नर्स बिरामीको अनुपातअनुसार दरबन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जाने गरी नीतिगत व्यवस्था गरिने बताउनुभयो ।
काठमाडौं: हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै विभागले मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आगामी २४ घण्टामा मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
धनगढी: वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । डीएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । सोही दिन कञ्चनपुर जिल्ला अदालतले ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
काठमाडौं: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो । “सुशासनका लागि कानुन र प्रशासनिक विधि चाहिन्छ, कानुनको शासन स्थापित गर्नैपर्छ, तर कानुन र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आम नागरिक राष्ट्रप्रति इमान्दार होउन्, कानुन र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैँले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशासन कायम हुन्छ ।” समाज तथा व्यक्तिको मनमा रहेको नकारात्मकता हटाउन वैज्ञानिक र प्रामाणिक विधिका रुपमा योगध्यान रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले योगध्यानलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल योगध्यानको उद्गम थलो र उपयुक्त वातावरणका रुपमा रहेको जनाउँदै उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत योगध्यानको महत्व तथा यसका प्रभावका बारेमा विशेष योजना ल्याइने बताउनुभयो । योगध्यान स्वजागरणको वैज्ञानिक विधि भएको र आफूले विगत लामो समयदेखि योग तथा ध्यानको अभ्यास गर्दै आइरहेको र त्यसबाट लाभसमेत लिइरहेकोसमेत उहाँ जानकारी गराउनुभयो । यसअघि आफू गृहमन्त्री हुँदा मन्त्रालय र मातहतका निकायमा नियमित रुपमा योगध्यानको अभ्यास हुने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबाट सकारात्मक नतिजा हासिल भएको उदाहरण सुनाउनुभयो । ध्यान विज्ञान कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, मन्त्रालयका वरिष्ठ कर्मचारी, रादहानी विभाग र कन्सुलर सेवा विभागलगायत निकायका करिब एक सय कर्मचारीको सहभागिता छ । कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक रमेश नेपाल, एलपी भानु शर्माले प्रशिक्षण दिने कार्यक्रम छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यलाई उपस्थित हुन आह्वान गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१र ८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । “सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, सूचनामा भनिएको छ । सबै सांसदलाई उक्त दिन २स्४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइ सक्न भनिएको छ ।
बागलुङ: यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते हुनुभयो । घाइते बुढामगर र घर्तीमगर अहिले पनि अस्पतालमै उपचाररत हुनुहुन्छ । आगलागीमा परी मृत्यु हुनुभएका देवसिंहको पारिवारिक अवस्था निकै कमजोर छ । ज्याला मजदुरी गरी परिवारको लालनपालनमा गर्दै आउनुभएका कामीको मृत्युले यतिबेला उहाँको परिवार विछिप्त छ । समस्यामा परेको उहाँको परिवारलाई तमानखोला गाउँपालिकाले मलम लगाउने प्रयास गरिरहेको छ । देवसिंहको मृत्यु भएको केही दिनमै गाउँपालिकाले घरमै पुगेर एक लाख राहत उपलब्ध गराएको थियो । घाइते दुवै जनाको उपचारका लागि ७५–७५ हजार सहयोग गरेको छ । मृतक कामीको आर्थिक अवस्था कमजोर भएकाले गाउँपालिकाले उहाँका कान्छा छोरा टोपबहादुर विकलाई कक्षा १२ कक्षासम्म बालगृहमा राखेर पढाउने निर्णय गरेको । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । टोपबहादुरले अहिले कक्षा ९ मा पढ्दै हुनुहुन्छ । देवसिंहको परिवारमा दुई छोरा, दुई छोरीसहित श्रीमती हुनुहुन्छ । जेठो छोरा र छोरीले केही वर्ष अगाडिनै पढाई छोडेका थिए । कान्छि छोरी अझै विद्यालय जान थाल्नुभएको छैन । गाउँपालिकाले तीन वर्षदेखि वडा नम्बर ३ तमान गाउँमा बालगृह सञ्चालन गरेर अनाथ तथा बेसहारा बालबालिकाको पालनपोषण र पढाउने काम गर्दै आएको अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित भएका बालबालिकालाई पालिकाले बालगृहमा आश्रय लिई पढाउने जिम्मा लिएको छ । बुबाको मृत्युपछि पारिवारको नाजुक अवस्थाका कारण पढ्नबाट वञ्चित हुने अवस्थामा पुगेका टोपबहादुर पालिकाले आफ्नो सम्पूर्ण जिम्मा लिएपछि खुसी हुनुभएको छ । अब आफूलाई कक्षा १२ सम्म पढ्नलाई कुनै समस्या नहुने उहाँले बताउनुभयो । “बाबाले अरुको ज्याला मजदुरी गरेर हामीहरुलाई पाल्नुभएको थियो, जसोतसो पढाउँदै आउनुभएको थियो, उहाँको मृत्यु भएपछि अब पढ्न नपाउने भएँ भन्ने चिन्ता लागेको थियो, तर गाउँपालिकाले मेरो लागि ठूलो योगदान गर्ने भयो”, टोपबहादुरले भन्नुभयो, “मैले मेहनत गरेर पढ्नुपर्छ, बाबाले देखेको सपना पूरा गर्नेछु, पढ्न नपाइएला कि भन्ने डरबाट मुक्त भएँ ।” गाउँपालिकाले तमानगाउँमा घर भाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने २९ जना बालबालिका छन् । गाउँपालिका अध्यक्ष बुढामगरले आर्थिक अभावमा अब कुनै पनि बालबालिकाले पढ्नबाट वञ्चित हुनु नपर्ने बताउनुभयो । स्थानीय सरकार नागरिकको सुख दुःखमा साथ दिने सरकार भएको हुँदा कोही पनि शिक्षादिक्षा र भोको पेट बस्न नपर्ने उहाँको भनाइ छ । बालबालिकालाई पालनपोषण गर्ने, कक्षा १२ सम्म पढाउने, विभिन्न किसिमका सीपमूलक तालिम दिने र रोजगारीको व्यवस्थासमेत मिलाउने अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गर्दै आएको हो । बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ । बालगृह सञ्चालनमा आएपछि धेरै बालबालिका शिक्षाको पहुँचमा आएको भन्दै सेवा पनि गुणस्तरीय दिने गरी काम गरिरहेको अध्यक्ष बुढामगरको भनाइ छ । “खास गरी आमाबाबा गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरि उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने कामको थालनी गरेका छौँ यसले धेरैलाई राहत मिलेको छ”, उहाँले भन्नुभयो, “बालगृहमा बस्न थालेपछि बालबालिकाको पढाइमा पनि सुधार भएको छ, उहाँहरुलाई यहाँ आश्रय मात्रै दिने होइन, असल र दक्ष नागरिक बनाउने हाम्रो जिम्मेवारी हो, सोहीअनुसार काम गरी रहेका छौँ ।”

