काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

पोखरा:    संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा पुगेका घान्द्रुक चौकीका इन्चार्ज ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।  बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । समितिको आजको बैठकमा सभापति देउवाले साना, मझौला र ठूला किसानको पहिचान छुट्याएर आवश्यक अनुदान तथा ऋण उपलब्ध गराउनुपर्नेमा  जोड दिनुभयो । उहाँले किसानलाई अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिँदै बजेटको अभावमा किसान कार्यक्रम सञ्चालन हुन नसकेको बताउनुभयो । साथै, उहाँले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  रेवतीरमण पौडेलले बैंक तथा वित्तीय संस्थाबाट किसानलाई सहजरूपमा ऋण उपलब्ध हुनुपर्ने बताउनुभयो ।   अर्थसचिव रामप्रसाद घिमिरेले किसानलाई दिएको अनुदान र सहुलियत ऋणबारे समीक्षा गर्न आवश्यक भएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले छिमेकी मुलुक भारतलाई चिनीको आयात खोलिदिन भारतलाई आग्रह गरेको बताउनुभयो ।

काठमाडौं:    नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’ आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

काठमाडौं:    सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायका अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको हो । रायका अनुसार, उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ ।

काठमाडौं:   संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ ।  सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र संघ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र संघका तर्फबाट सम्मान व्यक्त गर्दछु ।” नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकामा शुभेच्छा व्यक्त गर्नुहुँदै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह गर्नुभयो । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो ।  यस्तै, महासचिव गुटेरेसले नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सम्बोधन गर्दै महासचिव गुटेरेसले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरु आफ्नो स्थानबाट उठेर मौनधारण गर्नुभएको थियो ।

बारा:    गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सराफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ ।  पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्यापसनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सराफमा श्राद्धञ्जली अर्पण गरेका थिए ।    मृतक सराफको श्रीमतीसहित दुई छोरा छन्  । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उहाँको निवासमा पुगेका थिए ।  कलैया उपमहानगरपालिकाका प्रमुख  विनोद साह, नेकपा माओवादी केन्द्रका  युवा नेता मुकेश साह, नेपाली काँग्रेसका युवा नेता लुकेश सि‌हलगायत विभिन्न राजनितिक दलका ब्यक्ति नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।  उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत विभिन्न सङ्घ–सङ्गठनहरुले  घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । यस्तै बारा उद्योग वाणिज्य सङ्घले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। सङ्घका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा व्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ ।  एन प्याब्सनले पनि सोमवार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र वास्तविक  अपराधी समात्न नसके चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।   कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले  ती वटा गोली प्रहार हत्या गरेकाले  जिल्लाबासीमा त्रासको वतावरण छाएको छ ।  कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाइकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली  सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ । गोली लागेर सख्त घाइते सराफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा  उहाँको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।  प्रेम सम्बन्धका कारण सराफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि  गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरीसमक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए । घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ  । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।  अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । 

स्याङ्जा:   स्याङ्जाको चापाकोटका एक व्यक्तिले  श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर  हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए । श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि  घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको  उनले बताए ।   साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ थियो । यसअघि पनि बेलाबखत श्रीमतीलाई कुट्ने र  झैझगडा हुने गरेको जानकारी पाइएको र   हिजो साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको उनले बताए । कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भईरहेको र घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले बताए।

बुटवल:    नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस लुम्बिनी पुगेका छन्। मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुगेका हुन्। महासचिव गुटेरेस गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट लुम्बिनी भने हेलिकप्टरबाट आएका हुन्। महासचिव गुटरेसको स्वागतको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पुगेका छन्। महासचिव गुटरेस पोखराबाट सिधै लुम्बिनी पुगेका थिए भने प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट लुम्बिनी गएका हुन्। बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गरे । महासचिव गुटरेस डेढ घण्टा लुम्बिनीमा औपचारिक कार्यक्रममा रहने लुम्बिनी विकास कोषले जनाएको छ। गुटरेसले शान्ति दीप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गर्नेछन्। शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल जानेछन्। सो क्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कला संस्कृति सहित स्वागत गर्ने कार्यक्रम छ। गुटरेसले लुम्बिनीको अवलोकनपछि पत्रकारहरुमार्फत शान्तिभूमिबाट शान्तिको सन्देश सहितको सम्बोधन गर्ने कार्यक्रम रहेको छ। करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। यसअघि सन् २००८ नोभेम्बरमा वान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनीको भ्रमण गरेका थिए। गुटरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन्। सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो। ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ। यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन। तर पनि ड्यागलाई राष्ट्रसंघको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने पहिलो व्यक्ति मानिन्छ। त्यस्तै सन् १९६७ अप्रिलमा ऊ थान्त, सन् १९८१ फेब्रुअरीमा कर्ट वाल्डहिम, सन् १९८९ मार्चमा ह्याभियर पेरिज द कोयरले लुम्बिनीको भ्रमण गरेका थिए। संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्वपूर्ण रुपमा लिइन्छ। ऊ थान्तले सन् १९६७ अप्रिलमा लुम्बिनी भ्रमण गरेपछि उनकै पहलमा लुम्बिनीको विकासका लागि एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो। ऊ थान्तले नै लुम्बिनीको विकासका लागि गुरुयोजना बनाएर सोहीअनुसार अघि बढ्न नेपाल सरकार समक्ष प्रस्ताव गरेपछि जापनिज वास्तुविद् प्राध्यापक केन्जियो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना बनाएका थिए। तर सरकारले ४५ वर्षसम्म पनि लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न सकेको छैन।

पर्वत:    कुश्माको ‘द क्लिफ’मा ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका छन्। उनले बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। ८४ वर्षीय मिसेलले बञ्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तर्गतको रेकर्ड कायम गरेका छन्। यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन्। बञ्जीपछि निकै उत्साहित रहेका क्यानेडियन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए।   राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरिएको छ। बञ्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन्।