सिन्धुली: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक(थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आज सुरूङको ‘ब्रेक(थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।” सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।” कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउनुभयो । नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताउनुभयो । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उहाँले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा प्रयोगगरी राष्ट्रको समग्र विकास गरिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गर्नुभयो । यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताउनुभयो । आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा तालरजलासयमा पर्यटन व्यवसाय फस्टाउने उल्लेख गर्नुभयो । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्याउनेछ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।
काठमाडौं: इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कृषि समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन्। गत बैशाख १५ गते सम्पन्न उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन्। नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए। सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको थियो।
काठमाडौं: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसमविज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति देशभर आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा देशका पहाडी भागको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं: प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन दिने एवम् मीठामीठा(तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डदान तथा ब्राम्हणलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उहाँका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज ठूलो मेला लाग्यो । आमा नहुनेहरुले त्यहाँ गएर स्नान गरि पिण्ड एवम् सिदा दान गरेमा आमाको मृत आत्माले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
पोखरा: पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् । पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीको कोखबाट जन्म लिएका थिए । पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारिता थालेका उनी जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ फागुनदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य उनी मञ्चका पूर्व कार्यसमिति सदस्य तथा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव हुन् । गत वर्षमात्र उनलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेको थियो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षीत हुने भन्दै यस्तो आग्रह गर्नुभएको हो । ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उहाँले भन्नुभयो । शरीरमा रोग लाग्न नदिनका लागि आहार विहारमा ध्यान दिए जस्तैगरी ट्राफिक नियमहरू पालना गर्न झन्झट नमानी सरल रुपमा लिनुपर्नेमा उहाँको जोड छ । दुर्घटनाको मूख्य कारण मानवीय लापर्बाही हुने तथ्यांकले देखाएको भन्दै यसलाई घटाउन सबैजना सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारीचालकको लापर्बाहीका कारण हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । यसैगरी यात्रुका कारण ८ दशमलव ८२ प्रतिशत, यात्रीका कारण ६ दशमलव ६८ प्रतिशत र सडकका कारण ६ दशमलव ९५ प्रतिशत दुर्घटना भएका छन् । ‘यहाँ दिएको डाटा अनुसार दुर्घटनाका प्रतिशतमा मानवीय लापर्बाही नै प्रदान देखियो, नियम उल्लङ्घन कुराले धेरैं क्षती भइरहेको हुन्छ, नियम र पद्धतीमा चल्यौँ भने कहिल्यै समस्या हुँदैन’ मुख्यमन्त्री अधिकारीले थप्नुभयो । विद्यालयमा अध्ययनरत भाइबहिनीले जागरणको रुपमा लिएर सचेतना प्रदान गर्न भूमिका खेल्न सकेको खण्डमा सभ्य समाज निर्माणमा सहजता हुने उहाँले सुनाउनुभयो । आफ्नो अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन, किशोरीको आत्मरक्षा लगायतको सम्बन्धमा कक्षा ८ र ९ का विद्यार्थीलाई जानकारी दिन पाठ्यक्रम बनाउन सुरु गरेको भन्दै त्यसलाई अब पूर्णता दिएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत मुख्यमन्त्री अधिकारीले जनाउनुभयो । जागरणका कार्यक्रमले सभ्य समाज निर्माणमा सहयोग गर्ने उहाँको विश्वास छ । ‘विद्यालयका भाइबहिनीले जागरणको रुपमा लिएको खण्डमा सभ्य समाज निर्माण त्यहींबाट सुरु हुन्छ, असभ्य समाजमा दुर्घटना बढी हुन्छ, नियमहरु तोडिन्छ, हामी असभ्य हुन चाहदैनौ’ उहाँले थप्नुभयो । ट्राफिकका सबै नियम पालना गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रहरीको अभियानमा आफ्नो सदैव साथ रहने उहाँले बताउनुभयो । सबैको प्रयासका कारण पर्यटकको राजधानी पोखरा ट्राफिक व्यवस्थापनको क्षेत्रमा देशभरकै नमुना ठाउँ बन्ने विश्वास मुख्यमन्त्री अधिकारीले गर्नुभयो । गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा ३ सय २२ वटा सवारी दुर्घटना हुँदा १ सय ५५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ । ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म चल्नेछ । शुभारम्भ कार्यक्रम अगाडि पोखराको चिप्लेढुंगाबाट सभागृहहलसम्म मुख्यमन्त्री अधिकारीसमेतको सहभागितामा प्रभातफेरी कार्यक्रम भएको थियो ।
बागलुङ: बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय खमबहादुर पुनको मृत्यु भएको हो । घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते भएका पुनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । ‘उपचारका लागि स्वास्थ्य केन्द्रमा ल्याईएका पुनलाई चिकित्सकले मृत घोषित गरेका थिए’ यादवले भने, ‘शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईसकिएको छ ।’
ओखलढुंगा: ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो । सोमबार अपरान्ह उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो निजी खरबारीमा प्रवेश गर्दा उक्त घटना घटेको हो ।
काठमाडौं: अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै प्रश्न उठ्न थालेपछि त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिनुभएको छ । अनुसन्धानका लागि पक्राउ गरिएकाहरू प्रायजसो पहुँचवालाहरू अस्पतालमा बसेर हिरासत छल्ने गरेकोमा जनस्तरबाट नै प्रश्न उठ्ने गरेको थियो। सोमबार लामिछानेले निर्देशन जारी गर्दै दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न निर्देशन गर्नुभएको छ। अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन निर्देशन दिइएको छ । त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउन भनिएको छ । मन्त्रालयले चैत १३ मा मेडिकल काउन्सिललाई त्यसबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेको थियो । सो प्रतिवेदनको आधारमा ३ बुँदे निर्देशन जारी गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

