ट्राफिक नियम पालना गर्न झन्झट नमानौं: मुख्यमन्त्री अधिकारी
पाेखरा | बैशाख २५, २०८१
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षीत हुने भन्दै यस्तो आग्रह गर्नुभएको हो ।
‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उहाँले भन्नुभयो ।
शरीरमा रोग लाग्न नदिनका लागि आहार विहारमा ध्यान दिए जस्तैगरी ट्राफिक नियमहरू पालना गर्न झन्झट नमानी सरल रुपमा लिनुपर्नेमा उहाँको जोड छ ।
दुर्घटनाको मूख्य कारण मानवीय लापर्बाही हुने तथ्यांकले देखाएको भन्दै यसलाई घटाउन सबैजना सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारीचालकको लापर्बाहीका कारण हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । यसैगरी यात्रुका कारण ८ दशमलव ८२ प्रतिशत, यात्रीका कारण ६ दशमलव ६८ प्रतिशत र सडकका कारण ६ दशमलव ९५ प्रतिशत दुर्घटना भएका छन् ।
‘यहाँ दिएको डाटा अनुसार दुर्घटनाका प्रतिशतमा मानवीय लापर्बाही नै प्रदान देखियो, नियम उल्लङ्घन कुराले धेरैं क्षती भइरहेको हुन्छ, नियम र पद्धतीमा चल्यौँ भने कहिल्यै समस्या हुँदैन’ मुख्यमन्त्री अधिकारीले थप्नुभयो ।
विद्यालयमा अध्ययनरत भाइबहिनीले जागरणको रुपमा लिएर सचेतना प्रदान गर्न भूमिका खेल्न सकेको खण्डमा सभ्य समाज निर्माणमा सहजता हुने उहाँले सुनाउनुभयो ।
आफ्नो अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन, किशोरीको आत्मरक्षा लगायतको सम्बन्धमा कक्षा ८ र ९ का विद्यार्थीलाई जानकारी दिन पाठ्यक्रम बनाउन सुरु गरेको भन्दै त्यसलाई अब पूर्णता दिएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत मुख्यमन्त्री अधिकारीले जनाउनुभयो । जागरणका कार्यक्रमले सभ्य समाज निर्माणमा सहयोग गर्ने उहाँको विश्वास छ ।
‘विद्यालयका भाइबहिनीले जागरणको रुपमा लिएको खण्डमा सभ्य समाज निर्माण त्यहींबाट सुरु हुन्छ, असभ्य समाजमा दुर्घटना बढी हुन्छ, नियमहरु तोडिन्छ, हामी असभ्य हुन चाहदैनौ’ उहाँले थप्नुभयो ।
ट्राफिकका सबै नियम पालना गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रहरीको अभियानमा आफ्नो सदैव साथ रहने उहाँले बताउनुभयो । सबैको प्रयासका कारण पर्यटकको राजधानी पोखरा ट्राफिक व्यवस्थापनको क्षेत्रमा देशभरकै नमुना ठाउँ बन्ने विश्वास मुख्यमन्त्री अधिकारीले गर्नुभयो ।
गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा ३ सय २२ वटा सवारी दुर्घटना हुँदा १ सय ५५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ । ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म चल्नेछ । शुभारम्भ कार्यक्रम अगाडि पोखराको चिप्लेढुंगाबाट सभागृहहलसम्म मुख्यमन्त्री अधिकारीसमेतको सहभागितामा प्रभातफेरी कार्यक्रम भएको थियो ।
पोखरा: पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जु...
झापा: नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ । सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन...