काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

काठमाडौं:   इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।   मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।   मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रतिपरिवार दस लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।’   यस्तै सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको मिसाइल आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाको परिवारलाई जनही दुई लाख रकम दिने निर्णय गरेको छ ।   इजरायल आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले आज​ (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको छ ।   भने आज सरकारले देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने  छ।    परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी थाालेकाे छ ।   इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।   दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ ।   यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको छ ।  

लमजुङ:   लमजुङको सुन्दरबजार नगरपालिका-५ गहतेका ३५ वर्षीय गमबहादुर गुरुङको दक्षिण कोरियाको फाजु क्षेत्रमा मृत्यु भएको छ ।  रोजगारीको शिलशिलामा ६ वर्षअघि दक्षिण कोरिया गएका गुरुङको असोज १७ गते कोरियामा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।  गहतेस्थित कालिका युवा क्लबका पूर्वअध्यक्ष समेत रहेका गुरुङ गत साता सम्पन्न लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले गमबहादुर गुरुङको रातिको काममा जानुअघि निधन भएको बुझिएको बताए । गमबहादुरले काम गर्ने ठाउँ फाजुस्थित कम्पनीमा गएर बुझ्दा उनको गत बुधबार राति ६ बजेतिर निधन भएको बुझिएको बताए । कम्पनीले वाइबालाई दिएको जानकारी अनुसार गमबहादुरसँग एक जना भियतनामी कामदार सँगै बस्दै आएका थिए । उनीहरु दुवै सँगसँगै काम गर्ने समय राति थियो । अध्यक्ष वाइबालाई ‘साहुनी’ ले दिएको जानकारी अनुसार बेलुकाको नियमित ड्युटी समय सुरु हुनु अगावै भियतनामी साथीले खाना खाएर गमबहादुरलाई जोडले बोलाएका थिए । तर उनमा कुनै हलचल नदेखिएको पाएपछि भियतनामी साथीले साहुसँग कुरा गरेर एम्बुलेन्स र प्रहरीलाई खबर गरेको कम्पनीकी साहुनीले जानकारी गराएको वाइबाले बताए । गमबहादुर गुरुङको निधनबारे नेपालमा घरपरिवारलाई जानकारी गराइसकेको र परिवारको निर्णय अनुसार शवलाई छिट्टै नेपाल पठाइने उनले बताए । मृतक गुरुङका श्रीमती, एक छोरी, एक भाइ र बुबाआमा गाउँमै छन् । एक जना दिदी र एक जना बहिनीको विवाह भइसकेको छ । 

बाँके:    नेपालगञ्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदैआएको निषेधाज्ञाको समय पनि घटाइएको छ ।  नगरको अवस्था सामान्य भएपछि नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राति लगाइएको कर्फ्यु दिन प्रतिदिन खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा सोमवार जारी गरिएको सूचनामा विहानबाटै लगाउँदैआएको निषेधाज्ञा ८ घण्टा घटाएर सोमवारदेखि दिउँसो १२ बजेदेखि राति १० बजेसम्म मात्र जारी रहने जनाइएको छ । राति १० बजेदेखि विहान ४ बजेसम्म कफ्र्यु यथावत रहने सो सूचनामा जनाइएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नगरको अवस्था सामान्य बन्दै गएपछि दिनको कर्फ्यु हटाएर निषेधाज्ञा जारी राखिएको बताउनुभयो । तर सोमवारबाट दिउँसोको निषेधाज्ञा पनि ८ घण्टा घटाइएको उहाँको भनाइ छ ।   उहाँले निषेधाज्ञाका कारण विभिन्न कार्यक्रमहरु प्रभावित भइरहेकाले क्रमशः निषेधाज्ञा घटाउँदै लगेर समाप्त गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले हाललाई राति १० बजेदेखि विहान ४ बजेसम्म कर्फ्यु यथावत राखिएको जनाउँदै सो पनि केही दिनपछि हटाइने बताउनुभयो ।   सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बनेपछि गत मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि भने छोट्याउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी गरिएको सूचना सोमवार दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइनेगरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी रहेको जनाइएको छ ।

काठमाडौं:    इजरायलबाट कास्की अन्नपूर्ण २ घर भएका सुरज भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्दारको पहल गरिदिन आग्रह गरेका छन् ।   उनले प्रधानमन्त्रीलाई पत्र लेख्दै उद्धारमा पहल गरिदिन आग्रह गर्दै ‘आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर हेर्न बाध्य भएको उल्लेख गरेका छन् ।    विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ– प्रधानमन्त्रीज्यू, हाम्रो आत्मबल घटेको छ, सपनाको संसार भत्किँदै गइरहेको छ, हामीलाई देश आउने वातावरण बनाइदिनुहोस ​​सुरज भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको इन्दको चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ । हाम्रो आत्माबल घट्टै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन । आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ ।  बंकरमा लुक्यो भने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ । हामी हाम्रा सुदुरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ । आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमा नै रमाउनेछौं । हामी नेपालको ‘३’ विश्वविद्यालयबाट यहाँ छौ ।  १ कृषि तथा वन विज्ञान विश्वविद्यालय  २ त्रिभुवन विश्वविद्यालय ३ सुदुरपश्चिम विश्वविद्यालय सँगसँगै यहा अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहनेछ । यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ । युद्धको चपेटामा परेको नेपाली सुरज भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालय (हाल ठेगाना)​ – Kadesh Barnea, Israel ±972512825166 (नेपाली ठेगाना) – अन्नपूर्ण गा।पा – २ कास्की

काठमाडौं:    हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ । आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनामा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली संपर्कबिहिन भएको बताउनु भएको थियो । इजरायलमा रहेका मध्य सुदुर पश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्क विहिन भएको मन्त्री साउदले सदन समक्ष जानकारी गराउनु भएको थियो । मन्त्री सउदले इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरुको उद्वारकालगि समन्वय संयन्त्र स्थापना गरेर नेपालीहरूको अवस्था पहिचान, उद्दारको कार्य अघि बढाइएको जनाकारी गराउनु भएको छ । यसैबीच इजरायलको सुरक्षा परिषदले लडाकु समूहहरु हमास र प्यालेस्टाइनी इस्लामिक जिहादविरुद्धको युद्धलाई आक्रमणको चरणमा लैजाने निर्णय गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ ।इजरेली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई आगामी चौबीस घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सारिने बताएको छ । सेनाका अनुसार प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको हो। दक्षिणी इजरायलका विभिन्न क्षेत्रमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ । हमासको आक्रमणमा र भिडन्तमा परी ६ सय इजरेली मरिएका छन् भने सयजना भन्दा बढी इजरेली नागरिलाई अपहरण गरिएको छ । दुई पक्षबीच भिडन्तमा सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू पननि मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरेली सेनाले जनाएको छ। गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको हवाई आक्रमणमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन् । हिजबुल्लाह समूहले तीनवटा इजरेली चौकीमा रकेट आक्रमण गरेपछि इजरेली सेनाले लेबननमा पनि आक्रमण गरेको छ।इजरेललेआक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिकहरू मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ। कति इजरेलीहरूलाई हमास लडाकुहरूले बन्धक बनाएका छन् भन्ने अझै स्पष्ट नभएको बी बी सीलेजनाएको छ । इजरायल प्यालेस्टाईन तनावबारे छलफल गर्न राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आज आपत्कालीन बैठक बस्दै छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सहयोगका लागि प्रस्ताव गर्नु भएको छ ।

बलेवा:    पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ रु’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै  जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् रु कहिले बन्छ होला है रु’ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको जैमिनीघाटमा बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको छेवैमा व्यवसाय गरेर बसेका हरि केसीले सुन्दै आएका प्रश्न हुन् यी ।  बर्खामा उर्लिने हिउँदमा निरन्तर बगिरहने कालीगण्डकीमा पक्की पुल बन्न थालेको सात वर्ष बित्यो । कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसकेका देखिन्छन् । अहिलेसम्म पुलले सानोतिनो आकार मात्र लिएकाले पुल बनिहाल्छ जस्तो नलाग्ने सर्वसाधारण बताउँछन् । जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको काम सात वर्षदेखि चलिरहेको छ । “विभिन्न कारणले लामो समयदेखि काम अगाडि बढ्न सकेन् । अघिल्लो वर्ष धेरै काम भएको छ । अब २० प्रतिशत काम मात्रै बाँकी छ”, सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर किरण पोखरेलले भन्नुभयो, “कठिन काम सकियो । निर्माण कम्पनीको म्याद पनि सकिएको छ । म्याद र बजेट थप भए अबको एक वर्षमा पुल निर्माण सम्पन्न हुन्छ ।”  उहाँले पाँच वर्षसम्म अलपत्र रहेको कामले अघिल्लो वर्ष गति लिएको बताउँदै अघिल्लो वर्ष मात्रै ४५ प्रतिशत काम भएको जानकारी दिनुभयो । पोखरेलका अनुसार त्यसभन्दा अघिको वर्ष करिब ३५ प्रतिशत काम भएको थियो । “पुलका पिल्लर बनिसकेका छन् । ढलान स्लापको काम बाँकी हो । आसपासका एप्रोज रोड र पुल जोगाउन तारजालीको लागि भिओ गर्नुपर्ने छ”, पोखरेलले भन्नुभयो, “कूल बजेटको १५ प्रतिशत भित्रै हुने गरी भिओ बनाउने योजना छ । भिओ भएको बजेट स्वीकृत हुँदा आगामी असारसम्म पुल तयार हुन्छ ।”  जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देवस्थान जोड्ने गरी विसं २०७३ असोज ९ गतेदेखि पुल निर्माण थालिएको थियो । प्राविधिक कारणले लामो समयसम्म काम रोकिएको थियो । काम थालेको पाँच वर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेकामा गत आवमा भएको कामसमेत गरेर ८० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले जनाएको छ ।  बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचनाको काम सकिएको छ । कालीगण्डकी नदीको बिचमा दुईवटा पिल्लर तयार भएका छन् । पाँचौँ पटक म्याद थपका लागि निवेदन दर्ता गराएको निर्माण कम्पनीले जनाएको छ ।  “कामको गति हेर्दा म्याद नथप्नुपर्ने कुनै कारण छैन”, इन्जिनियर पोखरेलले भन्नुभयो, “भिओ स्वीकृत हुने नहुने मुख्य प्रश्न हो ।” उहाँका अनुसार रु १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ मा तीस महिनाभित्र काम सक्नेगरी सम्झौता भएको थियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रूपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ ।  समयमै पुल नबन्दा तीन वर्ष अघि भदौमा आएको पहिरोले मध्यपहाडी लोकमार्ग एक साता अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न नपाएको स्थानीय हरि केसीले बताउनुभयो । कालीगण्डकी कोरिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाईसमेत कोरिडोरको पहुँचमा ल्याउने उहाँको भनाइ थियो । उहाँका अनुसार ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नुपर्दैन ।

पोखरा:     कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नम्बर ९ ले वडा कार्यालयबाट प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको छ ।   मुक्तिनाथ बिकास बैंक हेम्जा शाखा र माछापूच्छ्रे गाँउपालिकाको समन्वयमा आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । उनले वडामा सामाजिक सुरक्षा भत्ता रकम लाभग्राही २ सय ८४ जना मध्ये १ सय ५० जनालाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए ।  ‘चाडपर्वलाई लक्षित गरि त्रैमासिक  अगावै वितरण गरेको रकमले लाभग्राहिरु निकै उत्साहित हुनुहुन्छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘वडा कार्यालयबाट सुरक्षा भत्ता वितरण गर्दा ग्रामीण भेगका स्थानीयहरुलाई धेरै सहज भएको छ ।’ सरकारले प्रत्येक ३/३ महिना पूरा भए पछि चौथो महिनाको पहिलो हप्ता भित्र लाभग्राहिले पाउने गरि बैकले वितरण गर्दै आएको छ ।