कोरला नाका सञ्चालनको तयारी
म्याग्दी | असोज २३, २०८०
तस्बिर फाइल
म्याग्दी: मुस्ताङमा रहेको नेपाल(चीनबिचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो ।
कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । “अनुमतिपत्र बुकलेट छपाइसम्बन्धी सबै काम पूरा भएको छ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयले पठाएको नमुनाअनुसार चीन प्रवेश पास छपाइ गरेर वितरणका लागि तयारी गरेका छौँ ।” चीनको सिमाना नजिकको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाबाट प्रवेश पासको आवेदन सङ्कलन गरिएको छ ।
बोर्डर पास वितरणका लागि चार कर्मचारीलाई सोमबार लोमान्थाङस्थित इलाका प्रशासन कार्यालय पठाइएको प्रजिअ पन्तले बताउनुभयो । “नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन,” उहाँले भन्नुभयो, “चिनियाँ सुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौँ ।”
कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुई पटक सञ्चालन हुँदै आएको अन्तर्देशीय व्यापार मेला वि।सं।२०७६ देखि भएको थिएन । दसैँअघि नै व्यापार मेला आयोजना गर्ने मुस्ताङका सुरक्षा अधिकारी र जनप्रतिनिधिहरूले पहल गरेका छन् । प्रवेश पास भएका नागरिकहरू जुनसुकै समयमा पनि चीन जाने आउने सुविधा पाउने छन् । असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रजिअ पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबिच बैठक बस्ने तयारी भएको बताउनुभयो ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि।सं।२०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । वि।सं।२०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसै गरी, पस्मिना, जडीबुटी निकासी गर्न पनि सकिने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

