मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पोखरा:   बेलायतको स्कटल्यान्ड एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीको निधन भएको छ । ब्याक हिल्टन रोडमा बस्दै आएका पोखराका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको हो । उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदीको छोरी हुन् । आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीको मृत्यु भएको प्रहरील बताएको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा भने समुन्द्री तटमा काम गर्थिन्।

सर्लाही:   जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए।  उनका अनुसार कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो । ट्राफिक कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए। उनका अनुसार महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा निजलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ ।  छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रनि थापाले जानकारी दिए।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवन:    पहाड काट्ने काम नसकिएको भन्दै नारायणगढ–मुस्लिन सडक खण्ड थप तीन हप्ता दिउसो बन्द गरिने भएको छ । सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम अझै नसकिएपछि दिउसो बन्द गर्ने कामलाई निरन्तरता दिएको नाग ढुङ्गा–मुस्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।  बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो ।  सवारीसाधन दैनिक चार घण्टा सवारीसाधन रोकेर गत पुस ७ गतेदेखि काम भइरहेको थियो ।  मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । पहिलो पटक थपिएको म्याद माघ २० गते सकिँदै छ । पुन थप भएको समय अनुसार फागुन १२ गतेसम्म दिउसो समयमा सडक बन्द हुनेछ । ३५ मिटरबाट फोड्न सुरु गरिएको चट्टान १४ मिटर काट्न बाँकी छ । हाई पावरका तीन वटा एक्स्काभेटर प्रयोग गरेर चट्टान फोर्ने काम भइरहेको भए पनि कडा चट्टान भएकाले ढिला भएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।  ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको छ ।  बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

काठमाडौं:      हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ । यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ ।  सिमसार क्षेत्रहरूको द्रुत क्षतिलाई रोक्दै सिमसार संरक्षणका कार्यलाई प्रोत्साहत गर्न जनचेतना जगाउनु दिवसको मुख्य उद्देश्य हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसको मूल नाराका साथ जनचेतना फैलाउँदै बबरमहलस्थित वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गरिने जनाएको छ । यसैगरी निकुञ्ज विभाग र वन तथा भू–संरक्षण विभागको सहकार्यमा राष्ट्रियस्तरको गोष्ठी कार्यक्रम गरी दिवस मनाउन लागेको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए। त्यसैगरी, प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरिरहेका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि ९रामसार महासन्धि० सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन्  १९८७  डिसेम्बर १७ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । सन्धिको पक्षधर भएकाले नेपाल सिमसार संरक्षणका लागि कानुनी रूपमा प्रतिबद्ध छ । रामसार सूचीमा हाल नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत रहेको उपमहानिर्देशक ढकालले बताउनुभयो । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैवविविध बासस्थानमध्ये एक हो, र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । संसारको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् । साथै सिमसारको समृद्ध जैविक विविधताले संसारभरका मानिसको जीवनको गुणस्तर, खाद्य सुरक्षा र पोषणमा समेत टेवा पुग्छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । त्यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । जलवायु परिवर्तन र अत्यधिक दोहनको असर सिमसारमा विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रुपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । निकुञ्ज विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले प्राकृतिक स्रोतको अधिकतम दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएर सुक्खाक्षेत्रको वृद्धि भएसँगै सिमसार संरक्षणमा चुनौती थपिएको बताए । सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहँुदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए । सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको महानिर्देशक ढुङ्गानाले बताए । विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।

ताप्लेजुङ:     एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अकस्मात् बिरामी परेपछि ताप्लेजुङबाट हेलिकोप्टरमार्फत काठमाडौं पुर्‍याई उनलाई थप उपचारका लागि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना गरिएको हो । उनलाई सघन उपचार कक्षमा राखेर थप उपचार प्रक्रिया अगाडि बढाइएको पारिवारिक स्रोतले बताएको छ ।  एमाले ताप्लेजुङको बैठकमा सहभागी हुन आएका नेम्वाङसहितका नेताहरू पाथीभरा गेस्टहाउसमा भेला थिए । सोही वेला उठ्न लाग्दा नेम्वाङ बिरामी भएर ढलेका थिए । उच्च रक्तचापका कारण अचानक स्वास्थ्यमा समस्या आएपछि नेम्वाङलाई तमोर अस्पतालमा सामान्य परीक्षणपछि ताप्लेजुङ जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं लैजान सुझाव दिएपछि अपराह्न साढे ४ बजेपछि हेलिकोप्टरबाट लगिएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले बताए । जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएका नेम्वाङलाई प्रारम्भिक उपचारका क्रममा डा। महेश गोसाईंले अचानक बेहोस हुनु ‘स्टोक’ भएको बताए । यसको उपचारका लागि प्रविधि नभएकाले रेफर गरिएको अस्पतालका चिकित्सकले बताएका छन् । नेम्वाङका प्रेस सहयोगी सन्दीप राईका अनुसार उनको सिटी स्क्यान गरिए पनि विस्तृत स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ । उच्च रक्तचापका कारण नेम्वाङको शरीरको दायाँ भागमा समस्या देखिएको प्रारम्भिक स्वास्थ्य परीक्षणबाट देखिएको छ । अस्पतालले भने उनको स्वास्थ्य प्रतिवेदन बाहिर ल्याइसकेको छैन । 

म्याग्दी:      मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ ।  अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताए ।  “चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो”, उनले भने, “तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो ।”  मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिए पनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेकामा पूर्ववडाअध्यक्ष गुरुङले चिन्ता व्यक्त गरे।  खोंचभित्र पहाडबाट तातोपानीको फोहरा निस्कने गर्छ । बर्खामा तातोपानीको फोहोराभन्दा माथि खोलाको सतह पुग्छ । हिउँदमा खोलामा हिँडेर करिब ५० डिग्री सेल्सियस तातोपानीको फोहरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङ्ग्या गाउँका पासाङ छिरिङ गुरुङले बताए ।  “पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहराले मानिसलाई ढलाउला झैँ गर्छ”, उनले भने, “मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ ।” तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ । बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढि गाउँमा पुगिन्छ । ढि गाउँदेखि ३० मिनेट पैदल हिँडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ । साविक सुर्खाङ गाविसको भूगोलमा रहेको यो तातोपानीको मुहान नजिकै सुर्खाङ, ढि, यारा र घारा गाउँ छन् ।  उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि ढि खोलाको तातोपानी नयाँ आकर्षण बन्नसक्ने सम्भावना छ । दिगोरुपमा बाह्रै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको पूर्ववडाध्यक्ष गुरुङले बताए ।  स्थानीयवासीका अनुसार मुस्ताङको पूर्वराजपरिवारका सदस्य स्नानका लागि ढि खोलामा आउने गर्दथे । उनीहरुले मुहान नजिकै स्नानका लागि आउनेहरुका लागि आश्रयस्थल बनाइदिएका थिए । स्थानीयवासीहरु हिउँदयाममा ढि खोलाको तातोपानी नुहाउन जान्छन् । व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन सकिएको छैन । गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले ढि खोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल गरिने बताए । 

काठमाडौं:     सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा लिटरको ४ रुपैयाँले र मट्टितेलमा लिटरको २ रुपैयाँले  मूल्य बढेको छ । यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले  मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरकफरक हुनेछ । यसका लागि निगमले ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र बीरगञ्ज क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५७ रूपैयाँ पर्नेछ । तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा  डिजेल र मट्टीतेलको लिटरको १५८ रूपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको  मूल्य भने देशभर एक सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ पर्ने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

चितवन:    नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मत्यु भएको हो । बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नं। १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए । उनी कांग्रेसको महासमिति सदस्य हुन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गरे । प्रधानमन्त्री दाहालले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको बताए ।   देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै उल्लेख गर्दै उनले विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्ने बताए । विश्वविद्यालयले देशैभरि सबै प्रदेशमा आङ्गिक कलेज स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशमा आठवटा कृषि सङ्काय र एक वनविज्ञान सङ्कायअन्तर्गतका कलेज र दुईवटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गर्दै उनले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरु गर्न सुझाव दिए । प्रधानमन्त्री दाहालले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले वनको वैज्ञानिक व्यवस्थापन गरी काष्ठ एवं गैरकाष्ठ वन पैदावारबाट समुदायको आर्थिक स्थिति र रोजगार प्रवर्द्धन गर्न विश्वविद्यालयले आवश्यक अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनुपर्ने बताए ।