पोखरा: नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको आज (आइतबार) पदस्थापन गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्याग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरेका गरे । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गापनियताको शपथ ग्रहण गराएका थिए । जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनले बासुदेव मिश्रको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । प्रेस युनियन १० औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) विजय लम्साल, उपाध्यक्ष(महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ (सुमन), सह–सचिव सपना अधिकारी र कोषाध्यक्षमा नीराजन अधिकारी सर्वसम्मत निर्वाचित भएका थिए । यस्तै सदस्यमा अजय क्षेत्री, विवेक ढुङ्गाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देवीका तामाङ र सविन विक निर्वाचित भएका थिए । लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया: मन्त्री थापामगर गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापामगरले लोकतन्त्रको लागि मिडिया महत्वपूर्ण अङ्ग भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीको पदस्थापनपछि मन्त्री थापाले लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । ‘लोकतन्त्रमा मिडिया भएन भने मानव अपाङ्ग जस्तै हुन्छ, त्यसैले लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया हो, मन्त्री थापाले भने, ‘मिडियाले अधिकारीको लागि, यथार्थ वस्तु स्थितिको बारेमा सत्य तथ्यको बारेमा मिडियाले जानकारी दिन्छ ।’ उनले देश विकास र समृद्धिको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । निष्पक्ष पत्रकारिताको लागि सबै भन्दा पहिले पत्रकार स्वावलम्बी बन्नुपर्नेमा मन्त्री थापामगरले जोड दिए । उनले गण्डकी प्रदेशलाई पर्यटनको क्षेत्रबाट समृद्धि बनाउन पत्रकारहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने समेत आग्रह गरे । नेपाल प्रेस युनियन कास्कीको पदस्थापन कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्षद्वय गंगाधर पराजुली, रमेश पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस युनियन कास्कीका सल्लाहकारद्वय तारा पाखे र डा। बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नविन सिग्देल, नि वर्तमान कार्यवाहक अध्यक्ष रविना आले, ले शुभकामना मन्तव्य राखेका थिए ।
काठमाडौं: गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको बताउनुभयो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढासमेतका १९ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’’
पोखरा: अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो दोस्रो पुरस्कार हो । छनौट भएका प्रतिभामध्ये पत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी आदर्श समाज र रिसेन्टफ्यूजन नामक अंग्रेजी संस्करणको अनलाईन पत्रिकामा आवद्ध छन् । त्यस्तै अर्का प्रतिभा पत्रकार सन्तोष पोखरेल विगत १६ वर्षदेखि पत्रकारिता सक्रिय छन् । हाल उनी नागरिक दैनिकका लागि गण्डकी प्रदेशको व्यूरोको कमाण्ड सम्हाल्दै आएका छन् । प्रत्येक वर्ष वितरण गरिने भनिएको सो पुरस्कार कोभिड–१९ का कारण गत ३ वर्षदेख़ि स्थगित गरिएको थियो । दोस्रो पटक प्रदान गरिने यो पुरस्कार अन्नपूर्ण दिवसको अवसर पारी यही जेठ २० गतेका दिन वितरण गरिनेछ। यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार पुरस्कृत भएका थिए । यसअघि नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन भएको थियो । समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहाकार अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी भएको प्रतिभा छनौट समिति गठन भएको थियो । छनौट समितिमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरूङ पदेन सदस्य रहने व्यवस्था छ । समितिको आइतबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकारद्वय ढकाल र पोखरेललाई सो पुरस्कार प्रदान गर्ने निर्णण गरेको हो । समितिले प्रतिभा छनौटका लागि तयार पारेको कार्यविधि बमोजिम प्रतिभा छनौट गरिएको संयोजक राज बहादुर गुरूङले बताए । अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्धन गर्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन तथा प्रसारणमा महत्वपूर्ण भूमिका खेल्ने एक जना सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिदै आएको समितिका अध्यक्ष ललित गुरुङले बताए। पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आउँदो जेठ १७ देखि २० सम्म घान्द्रुकमा आयोजना हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन समारोहमा वितरण गरिने समितिका मिडिया संयोजक टंकराज अधिकारीले जानकारी दिए । महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको अन्नपूर्ण म्याराथन जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको छ । महोत्सवमा विविधि खेलकूद तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धक रहेको सो कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्की, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र राष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउण्डेशन सहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गर्ने भएका छन् ।
पोखरा: पोखरा चेम्बर अफ कमर्स कास्की दक्षिण क्षेत्र एकाइले आयोजना गरेको रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ। पोखरा चेम्बर अफ कमर्सले आज (शनिबार) पोखरा १७ मा आयोजना गरेको रक्तदानमा ४३ युुनिट रगत संकलन भएको हो । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा महानगर वडा न १७ का वडा अध्यक्ष राधिका शाही योगि ,पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेल ,चेम्बर कास्कीका सल्लाहकार योगेन्द्र के सि।चेम्बर दक्षिण एकाइका निबर्तमान अध्यक्ष नगेन्द्र शर्मा भण्डारी महिला चेम्बरका अध्यक्ष सिमा कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सङ्खुवासभा: सङ्खुवासभाको मकालु गाउँपालिका-२ मा पर्ने मकालु बेस क्याम्पमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका-२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिका-२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट हिजो लेक लागेर बिरामी भएका थिए । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै आएका थिए । ‘विष्टमकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिडेका थिए, वडाध्यक्ष शेर्पाले भने, ‘विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत् सेदुवा ल्याउने तयारी भइरहेको छ ।’ सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिन लाग्छ। घटनाका बारेमा आज मात्रै जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ । हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। हिजो झण्डै ६ सय मेगावाट विद्युत् भारत पठाइएको उनले बताए । आज प्रसारण लाइन जाँचको लागि निर्यात बन्द गरेको र भोलिदेखि पुन: नियमित निर्यात हुने उनले बताए । नेपालले केही अघिसम्म दैनिक ४ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा पछिल्ला केही दिन वर्षा भएकाले उत्पादन बढेर निर्यात गर्ने अवस्थामा पुगेको भट्टराईले बताए । तर वर्षा रोकिएमा भने उत्पादन घटेर आयात गर्नुपर्ने अवस्था आउन पनि सक्ने उनको भनाइ छ । प्राधिकरणमा अनुसार हिजो झण्डै सात रुपैयाँप्रति युनिटका दरले निर्यात भएको छ ।
म्याग्दी: उम्रेदेखि नै मकैमा फौजी किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् । फौजी किराको प्रकोपका कारण गएको वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश भएका हुन् । यहाँको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको मकै बालीमा रोग तथा फौजी किराको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन पाएका छैनन् । जिल्लाको लेकदेखि बेँसीसम्मका प्रायजसो खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार म्याग्दीको ११ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३७ हजार आठ सय १७ टन मकै उत्पादन हुन्छ । यहाँबाट करिब २५ टन मकैको बिउपर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत ठाउँ जाने गर्छ । ुम्याग्दी मकै खेतीमा आत्मनिर्भर छ, तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किराको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशङ्का छु, कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । उहाँले खानाबाहेक बिउमकै उत्पादन गरी बाहिर जिल्ला पठाइने गरेको जानकारी दिनुभयो । मकै खेती कुल ६० प्रतिशत खेतीयोग्य भू-भागमा गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको खेतीयोग्य भू–भागमा मकै खेतीप्रति हेक्टरमा तीन हजार दुई सय ८० किलोका दरले उत्पादन हुने गर्दछ । जिल्लाको एक हजार ६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना–१, ३, देउती, शीतला र उपल्लो क्षेत्रमा अरुण–१, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ । पोसिलो मकै रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ । त्यसैगरी, उत्पादन राम्रो भए पनि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिबका लागि’ भनी सिफारिस गरेको पोसिलो–१ मकै कृषकले नरुचाएको कृषि प्राविधिकको भनाइ छ। जिल्लामा उत्पादन भएको कुल मकै खेतीको ३७ हजार आठ सय १७ मेट्रिकटनमध्ये २२ हजार सात सय ८४ मेट्रिकटन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ । कृषकहरूले समयमै मल र बिउप्राप्त गर्न नसक्नु, समयमै वर्षा नहुनु तथा मकै हुर्कँदै जाँदा रोग किराको प्रकोप देखिनुजस्ता कारणले यस वर्ष मकै उत्पादन घट्ने अनुमान कृषि प्राविधिकको छ । म्याग्दीमा मकै माघ–फागुनमा लगाइ असारदेखि भदौसम्म थन्क्याउने गरिन्छ । हिउँदेबाली असोज र कात्तिकमा लगाइ फागुन र चैतमा थन्क्याउने गरिन्छ।
पोखरा: पोखराका गायिकाहरुद्वारा स्थापित संस्था हार्मोनीले भित्तेपात्रो विमोचन गरेको छ । पोखरामा शनिबार आयोजना गरिएको एक कार्यक्रमका बीच नेपाली लेखक संघका अध्यक्ष, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भित्तेपात्रोको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले हार्मोनीले अहिले सम्म गरेका काम उदाहरणीय रहेको र अब आफुलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए । “हार्मोनीले छोटो समयमा आफुलाई स्थापित गरेको छ । संगीत क्षेत्रमा महिलाहरु संगठीत भई गरिएका हालसम्मका सबै कार्यक्रम प्रशंसनिय छ । अब थप परिमार्जित गर्दै नयाँपन दिनुपर्ने आवश्यकता छ ।”, उनले भने । कुनै बेला पोखराबाट स्थापित भएका ब्याण्ड र गायक गायिकाहरुले राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै श्रेष्ठले पोखराको संगीत क्षेत्रलाई माथि उठाउन सबै एक भएर लाग्नुपर्ने उल्लेख गरे । हार्मोनीले अब पोखरा केन्द्रित मात्रै कार्यक्रम गर्नुभन्दा पनि अन्य शहरमा समेत कार्यक्रम गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । २०८० सालमा थप रचनात्मक सांगीतिक कार्यलाई प्रस्तुत गरि हार्मोनी अगाडि बढ्ने कुरामा आफु विश्वस्त रहेको भनाई उनको छ । उनले अब पोखराका गायकगायिकाहरु एक भएर अगाडि बढेनै पोखराको सांगीतिक क्षेत्रको श्रीवृद्धि हुने बताए । जसका लागि लेखकसँघ समेत सहयोग गर्न तयार रहेको भनाई उनको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरामा सांगीतिक क्षेत्रमा स्मरणीय काम कसले गर्छ भनेर सोधियो भने स्वस्फुर्त निस्कने नाम हार्मोनी भएको बताए । हार्मोनीका थुप्रै शुभचिन्तकहरु बजारमा धेरै हुँदै गएको भनाई उनको छ । छोटो समयमा आफुलाई गुणात्मक हिसाबले हार्मोनीले प्रस्तुत गरेको उनले बताए । बजारमा प्रतिस्पर्धा धेरै भएता पनि हार्मोनीको कामले संस्थाको गरिमालाई उचो राखेको अभिव्यक्ति उनको छ । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले कार्यक्रम कहिले गरियो भन्दा पनि के गरियो भन्ने विषय महत्वपूर्ण हुने बताए । हार्मोनीले स्थापना पश्चात अहिले सम्म जेजे कार्यक्रम गरिरहेको छ आफैमा स्तुत्य रहेको उनले बताए । उनले काम महत्वपूर्ण भएको उल्लेख गरे । हार्मोनीले नेपाली सांगीतिक फाँटमा नयाँ आयाम थपेको उनले बताए । विविधताले शहरलाई सुन्दर बनाउने हुँदा विविधतालाई संरक्षण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । हार्मोनीकी अध्यक्ष इतु जोजिजूले संस्थाले समाजमा आफुलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । सबैको सल्लाहबमोजिम नै पोखराको सांगीतिक क्षेत्रलाई उचो राख्न कार्यमा हार्मोनी तत्पर रहने भनाई उनको छ । आफ्ना कार्यक्रमलाई परिमार्जित गर्दै संगठीत रुपमा हार्मोनी अगाडि बढ्ने उनले बताइन् । कार्यक्रममा गायक रामभक्त जोजिजू र गायिका रजनी रिदम राईले गीत प्रस्तुत गरेका थिए । उपाध्यक्ष कौशल्या गुरुङले स्वागत, सचिव सानू जोजिजूले संचालन गरेको कार्यक्रममा गायक सन्तोष बस्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखराका गायकगायिका देखि संगीत अनुरागीहरुको उपस्थिति थियो ।
ढोरपाटन: हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ । बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ । सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ । नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु छ लाखले उद्यान निर्माणको सुरुआत गरेको छ । नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि हरेक वडामा बालउद्यानलगायतका संरचना आवश्यक हुनेहुँदा हरिचौरमा यस वर्ष उद्यान निर्माण गर्न थालिएको वडाध्यक्ष पवन हमालले बताउनुभयो । उहाँले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बालउद्यान निर्माण गर्न थालेको जानकारी दिनुभयो । बालउद्यानसँगै ढल व्यवस्थापनलगायतका कामसमेत गरिरहेको छ । बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ । उद्यानसँगै बगैँचासमेत व्यवस्थापन गरिनेछ । अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्री राखिएको उहाँले बताउनुभयो । अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउनुहुन्छ । आफूहरुले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रुपमा विकास गर्न थालिएको उहाँको भनाइ छ । “यस वर्षदेखि हामीले बजार व्यवस्थापन गर्नुका साथै बालउद्यान निर्माण गर्न थालेका छौँ, बजार तीव्ररुपमा विस्तार हुँदैछ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकैछिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्नका लागि बालउद्यान निर्माण गरेका हौँ”, अध्यक्ष हमालले भन्नुभयो, “खासगरी बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी यो निर्माण गरेका हौँ, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिनेछौँ, उद्यानमा फूलबारी हुनेछ, बालबालिका खेल्ने सामग्री अहिले नै राखेका छौँ थप सामग्री व्यवस्थापन गर्दै जानेछौँ ।” अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्डअनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रुपमा विकास गर्ने अध्यक्ष हमालले बताउनुभयो । यहाँ रहेका साँघुरो र अप्ठ्यारो सडकमा बेलाबेला दुर्घटना हुने गरेको भन्दै अहिले ढलान गरेको उहाँ बताउनुहुन्छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यकरण गरी व्यवस्थित बजार बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताउनुभयो । बजारमा तीव्ररुपमा भवनहरु बनिरहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्डअनुसार बनाउनुपर्ने प्रवक्ता भण्डारी बताउनुहुन्छ । यहाँ ऐतिहासिक गलकोट दरबार छ । हरिचौर हुँदै पर्यटकीयस्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचना बनाउन थालिएको उहाँको भनाइ छ । प्रवक्ता भण्डारी भन्नुहुन्छ, “हरिचौर बजार पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, यहाँ दैनिक आन्तरिक पर्यटक घुम्न आउने गर्छन्, यहाँको गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न आउने पर्यटकले एकैछिन थकान मेटाउनका लागि र बालबालिकालाई ‘रिफ्रेसमेन्ट’ गराउनका लागि पार्क निर्माण भएको छ, अहिले सामान्यरुपमा निर्माण भए पनि यसलाई थप व्यवस्थित बनाउने योजना छ ।”