मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

चितवन:    चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनीष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर  सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय अविनाश फर्टिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।

झापा:    झापाको बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।  स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । घाइते गणेशलाई उपचारका लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईले बताए । विद्यालय सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो । घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । उक्त ग्यास सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत बिर्तामोड ७ बस्ने टीका तामाङकी छोरी १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ । उपचारका लागि उनलाई पनि बीएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

चितवन:     त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ। मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ। ‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका हौं,’ मुग्लिन प्रहरीका वरिष्ठ सई राजेन्द्र अर्यालले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन। गोताखोर परिचालन गरेर खोजी कार्य जारी छ।’ प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ। त्यसैको आधारमा दुर्घटना भएको यकिन गर्न नमिल्ने प्रहरीले बताएको छ। ‘अलि अघिसम्म बत्ती बलिरहेको थियो, अहिले बलेको छैन, गोताखोर परिचालन गरिएकाले यकिन हुन्छ,’ अर्यालले भने। स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको पनि उनले जानकारी दिए।

पोखरा:    माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिए।   श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँ मै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन ।   परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए।   उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०:५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए । दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमान्को नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन । “उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ”, प्रतिभाले भनिन्, “आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।” दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । “त्यो बेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन”, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भनिन्, “सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।” प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ ।  दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । “अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ”, प्रतिभाले पीडा सुनाइन् । सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन्। “भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ”, उनले भनिन्, “तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन्।  अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल कामविशेषले केरला पुगेका थिए। अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए।  प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए । सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन्।  दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो ।   पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ ।  आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताएका हुन् ।  संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याए । माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक(अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । नेपाल भौगोलिक रूपले सानो भए पनि जातीय, भाषिक, सांस्कृतिक विविधता निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्तिका रूपमा रहेको उनको भनाइ छ । उनले माघे सङ्क्रान्ति पर्व खस(आर्य, मगर, राई, थारु, लिम्बू, नेवार, गुरुङ, मैथिली, कुमाललगायत जाति जनजातिको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्वका रूपमा रहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले माघी पर्वले नेपालको सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई प्रमाणित गरेको बताए । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्तिलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । तिल, तरुल, घिउ, सख्खरलगायत परिकार खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँक्री, पूजाआजा, पारिवारिक भेटघाट तथा सामाजिक पुनःमिलन गर्ने पर्वका रूपमा माघीलाई लिइन्छ ।

काठमाडौं:     प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।   माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।  सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।  मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । 

पोखरा:   नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिलिप रानामगरले पाएको छन् । रानामगर मगर विद्यार्थी संघ गण्डकीको उपाध्यक्ष हुन् ।  मगर विद्यार्थी संघ गण्डकीका अध्यक्ष डेक पुनमगरले स्वास्थ्य अवस्थाका कारण रानामगरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताए ।  ‘स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाह अनुसार केही समय आराम गर्न सल्लाह दिएकाले संस्थालाई चलायनमान र गतिशिल बनाउन तीन महिनाका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो’, अध्यक्ष पुनमगरले भने ।  उनले मगर विद्यार्थी संघ गण्डकी प्रदेशको सांगठनिक गतिविधिहरु गरि थप मजबुत र चलायमान बनाउन कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।   

पोखरा:   नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनमा भरत विक अध्यक्षमा निर्वाचित भएका हुन् ।  पोखरामा शनिबार सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघको दशौ साधारण सभा तथा पाँचौ अधिवेशनमा भरतको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।  व्यवसायी संघको प्रथम उपाध्यक्षमा मनबहादुर सुनार, द्धितिय उपाध्यक्षमा सुरेन्द्र विश्वकर्मा (रामदाम), महासचिवमा दिपेश सुनार, सचिवमा सुरेन्द्र बहादुर विश्वकर्मा, कोषाध्यक्षमा अर्जुन कुमार सुनार र सहकोषाध्यक्षमा  रमेश खड्का विक चयन भएका हुन् ।  यस्तै सदस्यहरुमा नरेश वि.क, समीर बराल सुनार, विर बहादुर सुनार, दिपक बिश्वकर्मा, सन्तोष दियाली र  सुरेन्द्र सुनार निर्वाचित भएका हुन् । यस्तै दुईजना सदस्य भने समितिको बैठकले मनोनित गर्ने जनाईएको छ । 

बलेवा:    सञ्जिता अधिकारी आगामी माघ ६ गते  बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुर्ख्यौली कर्मघर देख्नुभएकै थिएन ।   बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहनुहुन्थ्यो । दुर्भाग्य सञ्जिताले श्रीमानको जन्मथलो त टेक्नुभयो । तर त्यो बाटो अब कहिल्यै फर्किनुहुने छैन  । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाउनुभयो । दुर्घटनामा उहाँको परिवारका सबै सदस्य घाइते भएका छन् ।  ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लाग्नुभयो । दीपक पहिलेदेखि नै बेलायत बस्नुहुन्थ्यो । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याउनुभएन । काठमाडौँमै बिहे भयो । उतैबाट बेलायत लाग्नुभयो ।  बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उहाँहरू नेपाल आउनुभयो । करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौँ बस्दै आउनुभएकी सञ्जिताको रहरअनुसार दीपक र उहाँको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुग्नुभयो । “घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई”, दुर्घटनामा घाइते हुनुभएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भन्नुभयो । सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको बताउनुहुन्छ मनकुमारी । गत पुस २६ गते साँझ उहाँहरू गाउँ पुग्नुभएको थियो । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उहाँको परिवारले सात वर्षअघि छाडेर काठमाडौँ पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाउनुभएका दीपक दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ ।  सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको ज्यान गयो ।   सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आउनुभएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।  मृतक सञ्जिताका श्रीमान् दीपक, उहाँका आफन्त विवराज, जोगनारायण गैरे र उहाँकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उहाँकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताउनुभयो । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो ।   थप उपचारका लागि उहाँहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।