पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार स...

काठमाडौं:   नेकपा एमालेका नेता टोप बहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।  

काठमाडौं:    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले प्रहरीलाई अनुमति दिएको छ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री खाणसहितका १२ जनामाथिको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डौले थप समय हिरासतमा राख्न अनुमति मागेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजीत राईका छोरा निरज राई फरार रहेका छन् । यस्तै आज (आइतवार) नेपाली कांग्रेसका नेता एवम् पूर्वसभासद् आङटावा शेर्पा र पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दुवै जनालाई जिल्ला अदालत काठमाण्डौले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । रामेछापका शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । यस्तै रामबहादुर थापा गृहमन्त्री हुँदा उहाँका सल्लाहार रहेका इन्द्रजीत राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक पनि संलग्न रहेका प्रमाणहरू भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

बागलुङ:    वर्षापछि आएको बाढी र पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक बन्द भएको छ। बागलुङ नगरपालिका-१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ-कुश्मीशेरा सडक बन्द भएको हो। आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको छ। तीन वर्षअघिदेखि सुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए।   सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन्। सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन्। ‘पहिरो अहिले नै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ’, खड्काले भने, ‘भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ।’

काठमाडौं:   वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै २ वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताएका छन् ।   उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन्। “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ”, जारी सूचनामा भनिएको छ, “अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन।” यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो। सोही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ र उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ। दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किंदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने हुन्छ।   यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले  अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गर्ने तयारी गरेको र प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम समेत रोकिएको थियो। रासस  

काठमाडौं:    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सानु भण्डारीलाई भेटेको आरोप लागेको छ । 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।    बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ ।   हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रासस

काठमाडौं:   थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गर्नुभएको हो । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताउनुभयो । उहाँका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिनुभयो । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतिक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् । RSS

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ।   उनीहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले  जानकारी दिएका हुन् ।   छलफल संसद्मा विधाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ।

पोखरा:    पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक ३३ वटै वडाहरूमा गर्ने गरी सुरु गरेको छ ।  अभियानको रूपमा महानगरका सबै वडाहरूमा गरिने यस प्रकारको तयारी बैठक नगरप्रमुख धनराज आचार्यले वडा नं।२५ बाट सुरु गर्नुभएको हो ।  पोखरा महानगरपालिका वडा नं. २५ मा आयोजित तयारी बैठकमा बोल्दै प्रमुख आचार्यले आगामी आवका लागि योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारलाई विशेष ख्याल गर्न अनुरोध गर्नुभयो । “वडा स्तरमा योजनाहरू तर्जुमा गर्दा सम्बन्धित वडाको आवश्यकता र प्राथमिकता पहिलो सर्त हुनुपर्दछ, उहाँले भन्नुभयो, वडामा रहेका सबै सरोकारवालाहरूको भेला मार्फत विधिसंगत तवरले तर्जुमा गरिएका योजनाहरू मात्र वडाको योजना बैङ्कमा सूचीकृत गरिनु पर्दछ ।”  योजना तर्जुमाका नाममा धेरै समय खेर जाने र परिणाममुखी योजनाहरू नबन्ने विगतका कमजोरीहरूलाई सुधार गर्दै अव चार वर्षका लागि आवश्यक योजनाहरू एकै पटक तर्जुमा गरी वडा वडामा योजना बैङ्क तयार गरिने उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा सम्पन्न गर्न सकिने र स्रोतको सुनिश्चितता हुने योजनाहरू मात्र छनौट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय विकासको दीर्घकालीन सोचलाई ध्यानमा राखी योजनाहरू निर्माण गर्ने बेला आएको प्रमुख आचार्यले बताउनुभयो ।  महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि वर्तमान नेतृत्व तत्पर रहेको बताउँदै उहाँले महानगरमा विभिन्न दातृ निकायहरुको सहयोगमा २३ अर्ब बढीको लगानीमा नयाँ परियोजनाहरू सञ्चालनको तयारीमा रहेको बताउनुभयो । सुस्त प्रायः बनेको पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको समन्वयलाई महानगरको नयाँ नेतृत्वले तदारुकताका साथ पुनर्स्थापित गरी अरबौँ रुपैयाँ लगानीको वातावरण तयार गरेको उहाँले बताउनुभयो ।  समृद्ध महानगर निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा वडामा यस्तो प्रकारको कार्यक्रम गर्न लागिएको हो । समग्र पोखराको समुचित विकास नयाँ नेतृत्वको स्वार्थ हुने भन्दै उहाँले यस अभियानमा हातेमालो गर्न महानगरवासीलाई आग्रह समेत गर्नुभयो । वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नो वडाका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गर्ने बताएका छन् । सो क्रममा आवश्यक विधि, प्रक्रिया र पद्धतिको पूर्ण पालना गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।  तयारी बैठकमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायत स्थानीयहरूले नागरिकको आधारभूत आवश्यकता, भौतिक विकास, विपद् जोखिम न्यूनीकरण, पर्यटन विकास, कृषि, सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि मानव संसाधनको विकास लगायतका विषयमा योजनाहरू केन्द्रित गरिनु पर्ने बताए ।  वडा नं. २५ बाट सुरु भएको योजना तर्जुमा तयारी बैठक हालसम्म वडा नं. २४ र ५ मा समेत सम्पन्न भैसकेको छ । महानगरका अन्य वडाहरूमा यो कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।