मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:    नेपाल विद्युत् प्राधिकरणले बिजुली उपभोग गरेका उपभोक्तालाई बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउने सम्बन्धी सूचना निकालेर आजदेखि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखेर आवेदन दिन भनेको हो । प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिनेछ । डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहक र प्राधिकरणबीच बक्यौता विद्युत् महसुलको विवाद छ । प्राधिकरणले महसुल नबुझाउने उद्योगको विद्युत् लाइन काटेको छ । बक्यौता रहेका केही उद्योगले महसुल रकम बुझाउन थालेपछि उनीहरुको लाइन जोडिएको छ ।

इलाम:   इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए । ३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौं:    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमा पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । आयोगले पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।

काठमाडौं:    राष्ट्रियसभा निर्वाचनका लागि ५२ जनाले उम्मेदवारी दिएका छन्। सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८ र अन्य समूहतर्फ २१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार कोशीमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ जनाले उम्मेदवारी दिएका छन्।  निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुने आयोगले जानकारी दिएको छ।     

पोखरा:  राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा  चार दलका ८ जनाको उम्मेदवारी दर्ता भएको छ । पोखरास्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर कांग्रेसका २ माओवादीका १ जना, एमालेका ३ र राप्रपाका २ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।  गण्डकी प्रदेशमा  गठबन्धनबाट अन्यमा गोरखाका किरणबहादुर श्रेष्ठ, अपांग/अल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।   श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।   यस्तै नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।    राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । गण्डकीमा अन्य, महिला र अपाङ्गतारअल्पसंख्यकमा १र१ गरी तीन क्लस्टरमा निर्वाचन हुनेछ । गण्डकी प्रदेशबाट निर्वाचित भई राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।

काठमाडौं:    नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टुङ्गो लगाएको छ । लामो छलफल र विवादकाबीच कांग्रेसले आज बिहान उम्मेदवार चयन गरेको हो । कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । यस्तै, बाग्मती प्रदेशमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ । यस्तै, कर्णालीमा कृष्णबहादुर रोकाया तथा सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ । शेखर कोइराला पक्षले चारजना उम्मेदवार पाउनुपर्ने दाबी गरे पनि तीन जना पाएको छ । उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।  केन्द्रीय समिति बैठकले अहिलेसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाए पनि त्यसअनुसार नभएको थापाको भनाइ छ ।

पोखरा:   सवारी ज्यानसम्बन्धी मुद्धामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले बानियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत मंसिर २४ गते पोखराको लेखनाथमा बीएए ००४१ नम्बरको कारले ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् हेमजाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमिकी २४ वर्षीया भावना बरालको निधन भएको थियो । यस मुद्धामा अदालतको आदेश आउनु अघि शुक्रबार र आइतबार पीडित पक्षले अदालत परिसरमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका थिए ।

काठमाडौं:   नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सबै १९ सिटकै उम्मेदवार टुंगो लगाएको छ । महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका छन् । एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । मधेशबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बागमतीबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यकरअपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका धु्रबराज विश्वकर्मा उम्मेदवार बनाउने भएको छ । गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन उम्मेदवार बन्ने भएका छन् । लुम्बिनीमा महिला तर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्ती उम्मेदवार हुनेछन् । कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विक उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी उम्मेदवार बन्ने भएका छन् । ११ सिटका लागि ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ । प्रमुख प्रतिपक्षी दल एमालेले सबै पदमा उम्मेदवारी दिने भएको छ ।

काठमाडौं:   नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ । सत्ता गठबन्धनको आज बसेको बैठकले संयुक्तरुपमा उम्मेदवार उठाउने निर्णय गर्दै सिट बाँडफाँट गरेको थियो । सोही बाँडफाँटमा माओवादी केन्द्रको भागमा छ सिट परेको थियो । सत्तागठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो । राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त सदस्यका लागि निर्वाचन हुँदैछ ।