काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदको अवसरमा आज शुभकामना दिंदै उहाँले ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको र मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको बताउनुभएको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । शुभकामना सन्देशमा प्रधानमन्त्रीले हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका पनि बताउनुभएको छ । ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
काठमाडौं: एक महिनाको व्रत पछि आज इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र हुने भएको छ । एक महिना व्रत रोजा आज समाप्त हुने भएको हो । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरू दिनमा निराहार बस्छन् । बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि ‘एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठुलो विशेषता हो । रमजानामा व्रत बस्ने र साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुसी हुने र एक आपसमा इद मुबारक बधाई सटासट गर्ने प्रचलन रहँदै आएको छ ।
मुस्ताङ: सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै गुफाको गाउँले परिचित उपल्लो मुस्ताङको लोमान्थाङ गाँउपालिका वडा नम्बर २ मा रहेको छोसेर गाँउमा पुगेर युनाइटेड क्लबले वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि लोमान्थाङ गाँउपालिका वडा नम्बर २ का अध्यक्ष कर्मा नामग्याल गुरुङले पर्यटन र सामाजिक क्षेत्रमा काम गर्दै आएको पोखरामा रहेको युनाइटेड क्लबले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुफै गुफाको गाँउ छोसेरमा आएर आफ्नो वार्षिकोत्सव मनाएकोमा धन्यवाद ब्यक्त गरे । छोसेर गाँउ पछिल्लो समय गुफा गाँउले परिचित भइरहेको सन्दर्भमा पोखरामा रहेर पर्यटन प्रवद्र्धनको क्षेत्रमा समेत काम गर्दै आएको युनाइटेड क्लबले आफ्नो वडामा रहेको छोसेर गाँउमा आइपुगेर कार्यक्रम गरिरहदा आफु निकै हर्षित रहेको वताउदै युनाइटेड क्लवको प्रगतिको कामना समेत गरे । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र दैवी प्रकोपको क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा १३ औँ वार्षिकोत्सव गण्डकी प्रदेशकै ऐतिहांसिक ठांउ लोमान्थाङ गाउपालिकामा रहेको गुफाको गाँउले परिचित छोसेरमा आएर वार्षिकोत्सव मनाउन पाउदा खुसी लागेको बताए । त्यस्तै क्लबका संस्थापक सह सचिव सन्तोष सिग्देलले युनाइटेड क्लब १३ औं वर्ष प्रवेश गरिरहदा संस्थाले लिएको उद्देश्य र लक्ष्य हांसिल गर्न अग्रसर भइरहेको आफुले महशुस गरेको वताउदै सामाजिक काममा लाग्ने युनाइटेड क्लबको अनुसरण गरेमा समृद्ध समाज बन्ने बताए । एघारौ पोखरा महोत्सबवाट करिव १५ लाख बचत क्लबले गत पुष २७ देखी माघ १० गते सम्म आयोजना गरेको एघारौं पोखरा महोत्सवबाट १४ लाख ८२ हजार ६ सय ९९ रुपैैयाँ बचत गरेको छ । वार्षिकोत्सव समारोह मार्फत महोत्सवको आय ब्याय सार्वजनिक गर्दै एघारौ पोखरा महोत्सवबाट कुल आम्दानी ७६ लाख ४ हजार ४ सय गरेको र खर्च ६१ लाख २१ हजार ७ सय १ रुपैया खर्च भइ १४ लाख ८२ हजार ६ सय ९९ रुपैैयाँ बचत भएको क्लबका कोषाध्यक्ष तथा एघारौं पोखरा महोत्सवको अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन, (सेती खोंच एक साहसिक पर्यटकीय गन्तब्य)का लागि हरेक विद्यामा १५ प्रतिशत छुट्याइने छ भने केही रकम क्लबको आफ्नै जग्गामा आवासिय छात्राबास निर्माणको लागि छुट्याइने क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाँले बताए । स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट दशौं महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार पोखरा जुलोजिकल पार्क निर्माणका लागि प्रदान गरिसकेको बताउदै क्लबका अध्यक्ष राजु श्रेष्ठले पोखरा जुलोजिकल पार्क प्रदेश सरकारले प्रदेश गौरवको योजनामा पारी पञ्चवर्षिय योजनामा पारी २८ करोड भन्दा बढी बजेट बिनियोजन गरी जिल्ला डिभिजन बन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माणकार्य अगाडी बढेकाले एघारौं पोखरा महोत्सवबाट चिडियाखाना निर्माणका लागी क्लवले कुनैपनि रकम नछुट्याइएको बताए । पर्यटन प्रवद्र्धनका लागी छुट्याइदै आएको उक्त रकम एघारौं पोखरा महोत्सव देखी पर्यटन प्रवद्र्धन (सेती खोंच एक शाहसिक पर्यटकीय गन्तब्य)का लागी छुट्याइने बताउदै हरेक महोत्सवमा पोखराको बीच भागबाट बग्ने सेती नदी संरक्षणका लागि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया छुट्याइदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ लगायतले बोलेका थिएभने क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेकोका कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तब्य राखेका थिए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताउनुभएको छ । बालुवाटारमा शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाईसमेत दिनुभयो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । सो क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । भेटमा प्रधानमन्त्रीले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा सङ्कट आएको बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाउने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवर्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एक–अर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ । निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु । निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्ने कुनै पनि कानुन बनाउँदैनौँ ।” निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्नेगरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मैले तपाईंहरूको साधारणसभामा नै भनिसकेको छु ‘निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ ।’ निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन । मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ ।” भेटमा प्रधानमन्त्रीले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूले राम्रो नेतृत्व छान्नुभएको छ । नयाँ नेतृत्वले सरकार र अन्य क्षेत्रसँग बलियो सहकार्य गर्नेछ । हामी सबै मिलेर अर्थतन्त्रका चुनौती छिचोल्दै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्नेछौँ ।”
काठमाडौं: यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आज (शुक्रबार) देखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ । गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक रहनुभएको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहनुभएको छ । संयन्त्रको कार्यारम्भ भएको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नरगराउन निर्देशन दिनुभयो । सो अवसरमा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो । उक्त संयन्त्र यही वैशाख ११ गतेसम्म कायम रहनेछ । बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।
लमजुङ: डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसरह नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो । डुम्रे बेँसीसहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, “ सडक मर्मत गर्नका लागि आगामी जेठको पहिलो हप्तासम्म सडक बन्द गर्न लागेका छौँ ।” सडक निर्माण अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण हुने भएको छ । सो अवधिमा यात्रुवाहक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारी भने उदीपुर बजारमै पूर्ण रूपमा रोक लगाइएको उहाँको भनाइ छ । यहाँ दुई वर्षदेखि निरन्तर पहिराका कारण अस्थायी रूपमा सडक व्यवस्थापन गर्दै आए पनि दैनिकजसो सुक्खा पहिराले पटक पटक सडक अवरुद्ध हुने मात्र नभई ज्यानै जोखिममा रहँदै यात्रुहरू यात्रा गर्न बाध्य हुँदै आएको थियो । उदीपुरमा पहिराले सडक भत्किएसँगै विसं २०७८ भदौदेखि नै यात्रुहरूले सास्ती भोक्दै आएका छन् । सोही पहिराका कारण विभिन्न सवारी साधन दुर्घटनासमेत भएको थियो । त्यस्तै, यस सडक खण्ड बन्द हुने भएपछि बेँसीसहर नगरपालिकाले वैकल्पिक सडकको स्तरोन्नति गरेको छ । सोही स्थल नजिकैबाट करिब एक किलोमिटर सडक नगरपालिकाको रु १० लाखमा सडक स्तरोन्नति सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
तनहुँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड भएको छ । दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ । उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको वाग्लेका सहयोगी ई. श्रीराम न्यौपानेले बताए । प्रहरीले गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
गुल्मी: गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर-३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कुँवरलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । धुर्कोट गाउँपालिका वडानम्बर-३ हाडहाडे बर्दवास जंगलमा बिहिवार देखि लागेको आगो निभाउन गएका बेला शरिरको बाहिरि भाग पुरै जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन् । बिहिवार दिउँसो जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाकोघर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताउनुभयो । आगलागिबाट इस्मा गाउँपालिका वडानम्बर ५ वस्ने रुद्रबहादुर कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले कच्ची घर र ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची कटेरो जलेर पुर्ण रुपमा नष्ट भएको छ । गोठमा बाँधेको छवटा माउँ बाख्रा पनि जलेर मरेको प्रहरीले जनाएको छ । त्यस्तै शिबलाल कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्चि घर, ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्ची गोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । गर्मीयाम सुरुभएसँगै आगलागिका घटनाहरु दैनिकजसो वढदै गएका छन् । जिल्लाका आधा दर्जन बढी स्थानमा आगलागीका घटना भइरहेका छन् । त्यस स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय जनप्रनिधिहरु खटिएर नियन्त्रणमा लिने काम गरिरहेका छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । विभागले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव आठ डिग्री तथा अधिकमत तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस छ ।