काठमाण्डौँ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए। उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे । प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पारे। आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
चितवन : जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।” उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।
कञ्चनपुर : कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
काठमाण्डौँ : देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर ( नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम २३ दशमलव सात डिग्री सेल्सियस छ ।
लमजुङ : गएराती परेको अविरल वर्षाका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका ७ भोजेका सोमा विश्वकर्माको घरमा पहिरोले क्षति पुर्याएको छ । मंगलबार परेको अविरल वर्षाको कारण क्व्होलासोथार गाउँपालिका ७ का सोमा विकको घरमा क्षति पुर्याएपछि परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्व्होलासोथार ७ का वडा अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । उनका अनुसार पहिरोले घरमा बस्न नमिल्ने गरी क्षति पुर्याएकाले छ । केही दिन यता अविरल वर्षाको कारण देशको धेरै ठाउँमा बाढी पहिरोको जोखिम हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गर्दै आएको छ ।
बागलुङः अविरल वर्षाका कारण बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कस्थित दन्ठुमा पहिरोले एक घर र गोठमा क्षति पुर्याएको छ । मंगलबार राति बेलुका करिब साढे ८ बजेको समयमा पहिरो जाँदा स्थानीय राम बहादुुर क्षेत्रीकोे घर र गोठमा क्षति पुर्याएको हो । घर माथिदेखि बारी भत्काउदै आएको पहिरोले घर र गोठमा पूर्ण क्षति पुर्याएको छ, ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकली रोका पुनले सुनगाभा न्यूजसँग भनिन्, ‘घर पूर्णरुपमा क्षति भएपछि अहिले क्षेत्रीको परिवार टोप बहादुर दर्जीको घरमा आश्रय लिएर बसेका छन् ।’ उनले पहिरोमा पुरिएको घरका अधिकांश समाग्रीहरु झिक्न नसकेको जानकारी दिइन् । ‘घरगोठमा क्षति पुर्याएपछि मोबाइलसहित विभिन्न अत्वाश्यक सामानहरु समेत पहिरोमा परेको छ, सदस्य पुनले भनिन्, ‘त्यै पहिरोको कारण स्थानीय चित्र बहादुर क्षेत्रीको घर समेत जोखिमा परेको छ ।’ अझै पानी थप पर्दै गयो भने तलका बस्तीलाई जोखिम हुने देखिएको छ ।’ वर्षाका कारण अमरभुमी स्वास्थ्य चौकीको पुरानो भवनमा समेत पहिरोको जोखिममा परेको उनले बताइन् ।
दमौली : दमौली स्थित सत्यवती माध्यमिक विद्याललयले अभिभावकको दायित्वबोध गर्ने उद्देश्यले मङ्गलबार दमौलीमा अभिभावक सचेतना कार्यक्रम गरेको छ । अभिभावक बालबालिकाको पहिलो पाठशाला भएकोले शैक्षिक र व्यवहारिक विकासका लागि अभिभावक सचेतना कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो । सचेतनाले शैक्षिक विकासमा महत्वपूर्ण हुने भएकाले विद्यालयले समय समयमा यस्ता कार्यक्रम आयोजना गर्ने उहाँले बताउनुभयोे । नियमित रुपमा विद्यालयमा आउने गरेको र समस्या गुनासो भएमा सिधा सम्पर्क गर्न उहाँले अभिभावकलाई आग्रह उहाँले गर्नुभयो । शैक्षिक क्रियाकलापमा अभिभावकको सहभागीको नारालाई सार्थक बनाउँदै अभिभावकसँग निरन्तर अन्तरक्रिया गरिने अध्यक्ष काफ्लेले प्रतिबद्धता व्यक्त गर्नुभयो । अभिभावकलाई मनोविद डा.सिता भण्डारीले गाली गरेर भन्दा फकाएर, माया दर्शाएर बालबालिकाको मन जित्नु पर्ने बताउनुभयो । साथै उहाँले विद्यार्थीको रुची अनुसारको ऐश्छिक विषय रोज्न दिनु पर्ने बताउनुभयो । ‘उनीहरुको मनोविज्ञान र क्षमता सुहाउँदो वातावरण सिर्जना गरेर रूचिको क्षेत्र पहिचान गरी पढ्नका लागि प्रेरित गर्नुपर्छ मनोविद डा.भण्डारीले भन्नुभयो । विद्यालयका प्राचार्य एकबहादुर गुरुङले बालबालिकाका लागि घर परिवार पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भएकाले अभिभावक सचेतना कार्यक्रम निकै आवश्यक विषयवस्तु भएको बताउनुभयो । कार्यक्रममा करिब एक हजार अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देल, सहायक प्रधानाध्यक अशोक गिरी लगायतले बालबालिकालाई मोबाइलमा नभुल, टिभीमा नहेर भन्ने तर अभिभावक टिभी र मोबाईलमा रमाउने गर्न नहुने कुरामा जोड दिनु भएको थियो । साथै अभिभावक पनि किताब लिएर बस्ने हो भने बालबालिकालाई पनि पढ्न मन लाग्ने उहाँहरुको जोड थियो । कार्यक्रममा मनोविद् डा. सिता भण्डारी, पूर्व शिक्षक लालप्रसाद भट्टराई लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम उपयोगी मूलक लागेको अभिभावक व्यास नगरपालिका–१२ निवासी बिना थापाले बताउनुभयो । ‘बालबालिकालाई फकाउने तरिकाले सिक्ने अवसर मिल्यो’ थापाले भन्नुभयो । आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । यो तनहुँमा सबैभन्दा धेरै पढ्ने विद्यालय हो । यस विद्यालयमा २ हजार ७ सय विद्यार्थी अध्ययन गर्छन् ।
बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन् । उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।
‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म पनि बाँझै छन् । केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि पर्याप्त वर्षा नभएकाले न किसान रोपाइँमा व्यस्त हुन पाएका छन् न त भएका रोपाइँमा पनि असारे गीत सुनिएको छ । नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहास नै बनेका म्याग्दीकी पुरानो लोकगायिका धनकुमारी थापाले बताउनुभयो । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत नसुनिएको लोकगायिका थापाले बताउनुभयो । मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको थापाले बताउनुभयो । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् । नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो । पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महतले बताउनुभयो । “रोपाइँमा त सुनिन छाड्यो, छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिदैन”, उहाँले भन्नुभयो । पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमकिता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर राकेश शर्माले बताउनुभयो । नेपाली लोकगीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतको संरक्षण र संवद्र्धन भने हुन सकेको छैन । संस्कृतिमूलक गीत लोप हुँदैछन् । यस्ता गीतलाई संरक्षण गर्न अतिआवश्यक रहेको बूढापाकाको भनाइ छ । आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । “पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमेभुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्दथे”, बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो, “तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।” ‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’ यस्तै–यस्तै शब्दहरूमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्मा झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसके”, उहाँले भन्नुभयो । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली–ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उहाँले सुनाउनुभयो । अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । “कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, बेनी नगरपालिका–४ का कृषक नारायण पौडेलले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।” कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलन भएका बूढापाका बताउँछन् । यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार प्रकाश श्रेष्ठले बताउनुभयो । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘लेकको चरी बेँसीमा झर्यो पाकेको बर खान हाड–मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान असारमास कुटेका चिउरा म कति साँचुला सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।’

